समालोचनाको गुटबन्दी

टिप्पणी
विमोचन समारोहमा बोल्ने वक्ताहरू पहिल्यै ‘रेडिमेड’ भइसकेका हुन्छन्– बोल्ने सीमा र प्रपञ्चबारे । अझ कृतिकार बाहनवाला छ भने घरबाट विमोचनस्थल र विमोचनस्थलबाट घरसम्म बाहनसुविधा प्रदान गरिन्छ । अचेल तारेहोटलमा विमोचन समारोह सम्पन्न हुनु कुनै नौलो कुरा होइन ।
डा.रामदयाल राकेश

काठमाडौँ — नेपाली समीक्षा गुटबन्दी र दलबन्दीमा फँसेको छ । आफ्नो गुटको लेखक छ भने उसको आँखा चिम्लेर प्रशंसा गरिन्छ । आफ्नो दलको दौंतरी लेखक छ भने उसको दोषलाई देखाउने गरिंदैन । समालोचना र समीक्षा होइन, यहाँ ‘परिचय’ हावी भएको छ ।

समालोचनाको गुटबन्दी

आलोचना अब रचनालाई विश्लेषित गर्नुको सट्टा चम्चा र धेरैजसो मात्रामा घटिया साहित्य निर्मित गर्ने माध्यम बनिरहेको छ । हिन्दीका सबैभन्दा ठूलो आलोचक सबैभन्दा ठूलो जोकर बनिसकेको छ । असली कुरो के छ भने यदि तपाईंको विषयवस्तुमा दम छ भने यी तथाकथित नामूदहरूको चुप्पीको बाबजुद आफ्नो ठाउँ बनाइहाल्छ नत्र जति पनि प्रारम्भिक हाइप बनाए पनि व्यर्थ सावित भइहाल्नेछ ।’ (कृति : तहलका , लेखक : अनिल यादव)


नेपाली साहित्यको समालोचनाको पनि यस्तै हालत छ । अचेल समालोचना लेखिन्न, प्रशस्तिगान लेखिन्छ कि गालीगान । पुस्तकको आवरण पृष्ठ हेरेर र अन्तिम पृष्ठमा लिखित लेखकका बारेमा केही लेखकीय मत पढेर समालोचना लेखिन्छ । वास्तवमा यो पुस्तक परिचय हो तर यस्ता पुस्तक परिचय लेख्नेले आफूलाई सबैभन्दा ठूलो समीक्षक भन्ने गर्दछ । मेरो त समीक्षा क्षेत्रमा कोही प्रतिद्वन्दी नै छैन भनेर अन्तर्वार्ता दिने गर्दछ । आफ्नो अहंकार र अहंको अभिव्यक्ति गरेर आत्मसन्तुष्ट हुने गर्दछ । विडम्बना त के छ भने यस्ता स्वयंघोषित समीक्षकको अन्तर्वार्ता पनि विशेष बेलबुट्टा लगाएर छापिन्छ । वास्तवमा यस्ता समीक्षकले समीक्षाशास्त्रको अध्ययन नगरीकन समीक्षा गरिरहेका हुन्छन् । आफ्नो मनको कुण्ठा र ग्रन्थिको गाँठोलाई फुकाल्ने गर्दछ ।


वर्तमान नेपाली समीक्षा रक्सी, रसरंग र रुपैयाँ पैसामा सीमित हुँदै गएको छ । बेलुका जति रक्सीको ताप चढ्छ, भोलिपल्ट त्यति नै समीक्षाको तापक्रमलाई तरंगित गर्ने गरिन्छ । धेरैजसो समीक्षकले जे लेखेर दिन्छन्, साज सज्जासँग त्यही छापिन्छ । जे लेखे पनि सदर हुन्छ ।


जे जसो औपचारिक लेखन पूरा गर्नुपर्ने बाध्यता हुन्छ नै । कुनै ठूलो पदाधिकारी लेखक छ भने उसको कृतिको कमीकमजोरी र त्रुटिलाई ‘नजरअन्दाज’ गर्ने गरिन्छ । यदि कुनै स्तरीय लेखक छ भने उसलाई तल्लो स्तरमा झारेर उसको मनोबललाई कमजोर तुल्याउने गरिन्छ । यसरी समीक्षा लेखन सस्तो भइराखेको छ नेपाली साहित्यमा ।


वास्तवमा पुस्तक परिचय लेख्नेलाई थाहा छैन कि समीक्षा कति किसिमको हुन्छ । समीक्षाको नाममा पुस्तक परिचय लेखनलाई ‘टेक्स्ट्युवल क्रिटिसिजम’ भनिन्छ । यसमा पुस्तकमा मात्र केन्द्रित भएर समीक्षा लेख्ने गरिन्छ । यसबाहेक पुस्तकबारेमा मात्र होइन, लेखकको बारेमा पनि लेख्ने गरिन्छ जसलाई ‘क्रिटिकल एप्रिसिएसन’ भनिन्छ । यसमा लेखक र उसको कृति बारेमा टीकाटिप्पणी, आलोचना–प्रत्यालोचना गर्ने गरिन्छ । कुनै पनि कृतिमा गुणैगुण हुँदैन अथवा दोषैदोष मात्रै हुँदैन । समीक्षकको मुख्य उद्देश्य हो— गुण र दोष औंल्याउनु अर्थात् नीरक्षीर(पानी–दूध)लाई विवेकपूर्ण ढंगबाट छुट्याउनु । तर, अहिलेको नेपाली समीक्षामा प्रशंसै प्रशंसाको पुल बाँधिन्छ कि गाली नै गालीको गन्धा पोखरी खनिन्छ ।


नेपाली समीक्षा गुटबन्दी र दलबन्दीमा फँसेको छ । आफ्नो गुटको लेखक छ भने उसको प्रशंसा आँखा चिम्लेर गरिन्छ । आफ्नो दलको दौंतरी लेखक छ भने उसको दोषलाई दोखाउने गरिंदैन । यसरी निष्पक्ष समीक्षाको नेपाली साहित्यमा खडेरी पर्न थालेको छ । कुनै ठूलो पदाधिकारी प्राज्ञिक क्षेत्रको छ भने उसको नाम पटकपटक र प्रसंगवश हो कि होइन आफ्नो स्तम्भमा पुनारावृत्ति गरेपछि विदेशको सयर गर्ने सुअवसर प्रदान गर्ने गरिन्छ । यस्तै कुनै पुरस्कारको प्रलोभन मात्रै होइन, प्राप्ति पनि हुने गर्दछ । सर्त एउटै छ— उसको नाम वारवार उल्लेख गरेर आफ्नो स्तम्भलाई कथित ‘स्तरीय’ तर ‘सस्तो’ बनाउनु ।


नेपाली साहित्यको हरेक विधामा अभूतपूर्व प्रगति भइराखेको कुरोलाई सहजै स्वीकार गर्न सकिन्छ । हरेक विधामा केही न केही रचना प्रतिदिन प्रकाशित भइराखेको छ । यो निश्चयै राम्रो संकेत हो तर विमोचनको विकृति पनि उत्ति नै विकराल हुँदै गएको छ । कुनै पनि कृतिको विमोचन समारोहमा विरोधको स्वर सुनिंदैन । के प्रत्येक दिन विमोचित हुने प्रत्येक कृति कालजयी कृति हुन् त ? कदापि पनि होइनन् तर विमोचन समारोहमा बोल्ने वक्ताहरू पहिल्यै ‘रेडिमेड’ भइसकेका हुन्छन्— बोल्ने सीमा र प्रपञ्चबारे । अझ कृतिकार बाहनवाला छ भने घरबाट विमोचनस्थल र विमोचनस्थलबाट घरसम्म बाहनसुविधा प्रदान गरिन्छ । अचेल तारेहोटलमा विमोचन समारोह सम्पन्न हुनु कुनै नौलो कुरा होइन । यहाँ भोजभतेर नहुने कुनै असम्भव कुरो होइन । कहिलेकाहीं यसमा संक्षेपीकरण पनि हुने गर्दछ । साधारण समारोहपछि लेखक, समीक्षक र मन परेका साथीभाइको साथमा विशेष रमाइलो गर्ने गरिन्छ ।
प्रत्यक्ष राजनीतिभन्दा साहित्यको क्षेत्रमा कम राजनीति हुने होइन । राजनीतिबाट सबै क्षेत्र प्रभावित हुनु स्वाभाविक हो तर साहित्य क्षेत्र झन् बढी प्रभावित भइराखेको छ । प्राज्ञिक क्षेत्रमा राजनीतिको प्रभाव प्रगाढ रूपमा प्रतिलक्षित हुने गर्छ । सिर्फ साहित्य पढेर समीक्षा लेख्न सकिन्न आजकल । यस सहस्राब्दीमा समीक्षकले सबै थोकको अध्ययन गर्नुपर्छ ।
नेपाल र नेपाली साहित्यको सन्दर्भमा नामूद (सक्षम) समीक्षकहरूले समीक्षा लेख्न छाडिसकेका छन् । जस्तो— तारानाथ शर्मा, केशवप्रसाद उपाध्याय, अभी सुवेदी, मोहनहिमांशु थापा, गोपीकृष्ण शर्मा आदि । वास्तवमा भन्ने हो भने सृजनशील साहित्यकार स्वत: स्वतन्त्र हुन्छन् । उनीहरूलाई ‘डिक्टेट’ गर्नु घातक हुन सक्छ । केही तथाकथित नामूद आलोचकहरू अहिले आफ्नो अनुकूल माहोल बनाउन र गुटबन्दी गर्नमा सक्रिय देखिन्छन् । यस्तो प्राज्ञिक धूमिल वातावरणले गर्दा साहित्यको समीक्षाशास्त्रमा पनि प्रदूषण व्याप्त हुँदै गएको छ तर यो प्रदूषण क्षणिक कालका लागि मात्र हो ।


सबै रचनात्मक कृतिहरूको समीक्षा उत्तरआधुनिकताको कसीमा गर्न सकिन्न । चेरिल ग्लोट फेल्टीले सन् १९८९ देखि ‘इकोक्रिटिसिज्म’ शब्दलाई समालोचनाको क्षेत्रमा प्रयोग गर्न थालेका छन् । यो पर्यावरणीय समीक्षा सिद्धान्त सन् १९९० को दशकदेखि विश्वव्यापी मान्यता एवं विस्तार पाउन थालेको छ । तसर्थ उत्तरआधुनिकताको अवमूल्यन दिनानुदिन अनुभव हुन थालेको छ । आञ्चलिकता पनि उत्तरआधुनिकताको एउटा नयाँ आयाम हो । आञ्चलिक कृतिहरू पनि अचेल निकै लेखिने गरिएको छ र यो सर्वथा स्वागतयोग्य कुरा हो । आञ्चलिक रंगमा रंगिएका कृतिहरूको कालजयी महत्त्व हुने गर्छ ।


नेपाली समालोचनाको सबैभन्दा दुर्बल र दयनीय पक्ष हो— कृतिको सम्यक् समालोचना नगरी कृतिकारलाई रिझाउने काम गर्नु । कृतिकारलाई पनि आफ्नो दुर्वल पक्ष थाहा हुँदैन, जबसम्म समीक्षकले त्यो आंैल्याउँदैन । सृजनशील साहित्यकारलाई क्षणिक आत्मसन्तुष्टि दिने खालको समीक्षा मन पर्छ तर त्यो चिरस्थायी हुँदैन ।

प्रकाशित : श्रावण १२, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?