अर्थपरक यात्रा

कान्तिपुर संवाददाता

काठमाडौँ — आफूले देखेको नयाँ कुरा र भोगाइलाई आफूसँगै राख्ने धेरै हुन्छन् । तर, जसले ती अनुभव पुस्तकाकार रूपमा बाहिर ल्याउँछन्, उनीहरू मूल्यांकन र तुलनाको तुलोमा चढिहाल्छन् । अहिले नियात्राकार गीता रेग्मी पनि यस्तै अनुभूतिको तुलना लिएर बजारमा आएकी छन्, ‘पत्थरै पत्थर’ संग्रहमार्फत ।

अर्थपरक यात्रा

यसअघि ‘परिचय’ कथासङ्ग्रह र ‘पुस्तान्तर’ संयुक्त कथासंग्रह ल्याएकी रेग्मीका कविता तथा नियात्रासंग्रह (पश्चिमाहरूको देशमा) पनि प्रकाशित भइसकेका छन् । पछिल्लो नियात्रा ‘पत्थरै पत्थर’ भने शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।


बर्मा, थाइल्यान्ड र मलेसिया घुम्दाका रोचक अनुभूतिहरू ‘पत्थरै पत्थर’ मा छन् । मगनमस्त भएर आफू घुम्नु र आफूसँगै पाठकलाई पनि घुमाउन सक्नु एउटा सफल नियात्राको विशेषता हो । नियात्राकार रेग्मीले २०७० सालताका भ्रमण गरेका मुलुकमध्ये बर्मा सेरोफेरोका १६ र अरू ८ वटा यात्रा अनुभूति थाइल्यान्ड–मलेसिया सम्बद्ध छन् ।


रेग्मीको यात्रा सन्दर्भ पनि उत्तिकै रमाइलो छ । काठमाडौँ बस्ने कलावती दिदी आफ्ना माइती भेट्न बर्मा जान लागेको अवसरमा नियात्राकार रेग्मी पनि सहयात्री बनेर गएकी थिइन् । पुस्तौंपुस्तादेखि बर्मामा नेपालीको बसोबास रहेको पाइन्छ । बर्मावासीले लगाएको लुंगी र टिसर्ट पहिरनले नियात्राकारलाई सधैंजसो अनौठा लागिरहेकै हुन्छ । अझ बाटोमा हिँडेका विद्यार्थी, लुंगीमै फुटबल खेलिरहेका खेलाडी र ट्राफिक प्रहरीसमेत लुंगीमै भेटिँदा उनलाई अचम्मै लाग्छ । अनुहार सुन्दर बनाउन भनेर बर्मेली महिलाले खरानी घसेजसरी अनुहारमा दल्ने सेतो लेपन पनि अचम्मलाग्दो देखिन्छ । बर्मेली घर, चोक र समग्र समाजका बारे पनि उनको कृतिले धेरै कुरा बोलेको छ । अधिकांश बौद्ध धर्मावलम्बी बस्ने बर्मामा देखिएका बौद्ध स्तूपाहरू देखेर पनि नियात्राकारको मन उद्वेलित हुन्छ । नोबेल पुरस्कार विजेता आङ सान सुकीको देशमा पाइला टेक्न पाउँदा पनि लेखकलाई गर्व अनुभूति हुन्छ । त्यही खुसीमा उनी सुकीको कार्यालय हेर्नैका लागि भए पनि पुग्छिन् । बर्मामा पनि हिंसा भड्किरहने थलो मोगोक जानका लागि लेखकले गरेको सङ्घर्ष पुस्तकमा झल्किन्छ । विभिन्न खाले गहनामा प्रयोग हुने पत्थरको व्यापार गर्ने र हरदम व्यस्त रहने बर्मेली मन–वचनका सुकोमल पाएकी छन् उनले ।


पुस्तकमा बर्माको तुलनामा थाइल्यान्ड र मलेसियाको यात्रा–वर्णन निकै कम देखिन्छ । सुनेको थाइल्यान्ड र देखेको थाइल्यान्डमा निकै भिन्नता रहेको भन्दै उनले अनुभवलाई आत्मपरक भावमा लेखेकी छन् ।


मलेसिया भ्रमणको इतिवृत्ति ‘मान्छेको बिस्कुन’ शीर्षक नियात्रामा बढी आएको छ । समय गणनामा अत्यन्त छोटो यात्रा क्रममा लेखकले क्वालालम्पुरस्थित नेपाली दूतावासमा देखिएका नेपाली श्रमिक युवाहरूको बयान गरेकी छन् ।


नयाँ ठाउँ घुम्न पाइने लोभमा सँगै हिँडिरहेका साथीभाइलाई फकाउँदै–फुल्याउँदै विभिन्न ठाउँ घुम्न लैजाने लेखक अक्कल गजबकै छ । नयाँ ठाउँ घुम्दा त्यहाँको जीवनशैली, रहनसहन र संस्कृति अध्ययन हुनु स्वाभाविक हो । तर, त्यसलाई कसरी आत्मसात् गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । नियात्रा पुस्तकमा अनावश्यक रूपमा केही पारिवारिक गन्थनहरू पनि समेटिएको छ । भाषिक अशुद्धि पनि उत्तिकै देखिन्छ ।
—प्रभा बराल

प्रकाशित : श्रावण १२, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?