काठमाडौँ — संवत् ४० को दशकमा एउटा कविताले तरंग ल्याएको थियो, ‘पोथी बास्नु हुँदैन’ । नारी विद्रोह र चेतनाको बिगुल फुक्ने यही कविताका कारण कुन्ता शर्मा उनको थातथलो धरानबाट टाढा–टाढासम्म चिनिएकी थिइन् । खासमा राजनीतिक चेतना र प्रगतिशील गतिविधिमा जोडिएकै कारण उनी कवितामा विद्रोह लेख्थिन् ।
वामपन्थी राजनीतिका आडमा सांसदसम्म बनेकी कुन्ता आफ्नै पारिवारिक असमन्जस र संघर्षका कारण लामो समय लेखनबाट थन्किएर बसेकी थिइन् । उनको २०५२ सालमा प्रकाशित कवितासंग्रह ‘म उभिएको ठाउँ’ पछि अहिले बजारमा आएको छ— मेरो मान्छे ।
सांग्रिला बुक्सबाट आएको कवितासंग्रह ‘मेरो मान्छे’ मा झन्डै ५ दर्जन कविता छन् जसमा केही (शीर्षकसहित) केही भने लामा कविता छन् । समीक्षक पुरुषोत्तम सुवेदीले कवि कुन्तालाई ‘जीवन र लेखन दुवैमा अत्यन्त संवेदनशील, जुझारु र सृजनशील’ भनेका छन् । कृतिमा डा. दुर्गाप्रसाद भण्डारीको प्राज्ञिक टिप्पणी पनि समेटिएको छ तर लगातार ४ वर्षयता अल्जाइमरलगायतको रोगले थलिएका विद्वान् भण्डारीले कहिले र कुन सन्दर्भमा कुन्ताबारे लेखेका थिए, यो स्पष्ट नपारेर पाठक झुक्याउने काम भएको छ । ७१ वर्षीया कवि कुन्ताले ‘जीवनका सारा घटना, संवेदना, खिन्नता र प्रसन्नताहरू कविता बनेका छन्’ भनेर उद्घोष गर्नु नै ‘मेरो मान्छे’ को निचोड हो । कविता कृतिको भूमिकामा लामो गन्थन आवश्यक थिएन ।
नेपाल–भारत दुवैतर्फ प्रकाशनगृह थालेको सांग्रिला बुक्सले यही दोहोरो बजार आधारमा २५० पृष्ठको काव्यकृति ‘मेरो मान्छे’ को नेपाली मूल्य २ सय ९५ र भारु २ सय २५ राखेको छ ।