२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

श्रम–शिविर आडैमा विश्वकप

कतार वर्ल्डकप–२०२२
होम कार्की

काठमाडौँ —  खाडी मुलुक कतारमा सन् २०२२ मा हुन लागेको विश्वकपलाई लिएर वाहिरी विश्वले हरतरहले आलोचना गरिरहेकै भए पनि आफूले श्रम–पसिना पोखेको कतारी भूमिमा आँखैसामु फुटबलको रौनक हेर्न हजारौं नेपाली कामदार प्रतीक्षारत छन् । एक दिन, दुई दिन गर्दै अब प्रतीक्षाको घडी टुंगिनै लागेको छ ।

श्रम–शिविर आडैमा विश्वकप

पोखराका सञ्जीव रानाभाटको बासस्थान (इज्दान भिल्ला) पारि अल–वक्रा स्टेडियम धमाधम बनिरहेको छ । यो स्टेडियमको दैनिकी उनले तीन वर्षयता नियमित हेरिरहेका छन् । बिहान ६ बजेदेखि नै स्टेडियममा कामदारको चहलपहल सुरु भइसक्छ । त्यो चहलपहल राति अबेरसम्म जारी रहन्छ । हेर्दाहेर्दै स्टेडियमले आकार ग्रहण गरिसक्यो । यतिखेर छाना छाउने काम सकिनै लागेको छ ।


‘यसको अन्तिम स्वरूप हेर्न अब धेरै दिन छैन,’ गत जनवरी अन्तिम साता दोहाको अल–वक्रामा भेटिएका सञ्जीव उत्साहित देखिन्थे, ‘अबको चार वर्षपछि आँगनमै विश्वकप हेर्न पाइने भयो, निकै प्रफुल्लित छु ।’


कतार प्रवेश गर्दा सञ्जीवले ‘कुनै दिन विश्वकप हेर्न पाइएला’ भन्ने कल्पना पनि गरेका थिएनन् । यो सन् २००४ तिरको कुरा हो । त्योबेला कतारको भौतिक अवस्था निकै कमजोर थियो, विकास गतिले लय पत्रँmदै थियो । आगोको भुङ्ग्रोजस्तो भू–धरातलमा फुटबल खेलिन्छ भन्ने लागकै थिएन । ‘मेरै अगाडि रंगशाला बन्ने क्रम रोकिएको छैन । विश्वास गर्न गाह्रो भइरहे पनि अब भने विश्वकप हुने निश्चितजस्तै भयो,’ उनले भने, ‘रसियामा पुगेर कतारी अमीर तमिमले वल्र्डकप–२०२२ को जिम्मा लिएर फर्किसके । अब घरआँगनको विश्वकप हेरेरै घर फिर्ने हो ।’

अलवक्रा स्टेडियम

अल–वक्रा कतारको सवैभन्दा परम्परागत र सानो सहर हो । यही सहरभित्र निर्माणाधीन अल–वक्रा स्टेडियमबाट हमाद अन्तर्राष्ट्रिय बिमानस्थलसम्मको दूरी झन्डै १५ किमि जति मात्रै छ । फेरि विमानस्थलको गेटबाटै स्टेडियमसम्म पुग्ने रेल दौडिने भएको छ । यो ट्रयाकमा परीक्षणका रूपमा रेल दौडिसकेको छ । ‘कतारी सर्वसाधारण रेल चढ्लान् वा नचढ्लान् । तर, यो हाम्रै लागि बन्दै गरेको हो भन्दा पनि हुन्छ,’ बक्रामै भेटिएका तनहुँका राकेश श्रेष्ठले भने, ‘विश्वकप लक्षित आयोजनाहरू अन्तिम चरणतिर प्रवेश गरिरहेको देख्दा विश्वकप पनि नजिकै आएजस्तो लाग्न थालेको छ ।’


४० हजार सिट क्षमता भएको अल–वक्रा आउँदो डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ । विश्वकप सकिएपछि २० हजार क्षमतामा झारेर बाँकी २० हजार क्षमताको रंगशाला अरू देशलाई दिइने योजना छ । यसरी बनिबनाउ रंगशाला पाउन सक्ने मुलुकमा नेपालको नाम पनि जोडिएको छ । यो स्टेडियम वनाउन एक हजारभन्दा बढी नेपालीको पसिना मात्रै बगेको छैन, सुखीपुर–४, सिरहाका २९ वर्षीय अनिलकुमार पासवानले ज्यान नै गुमाए ।

अलखोर स्टेडियम

कतारको हतार
२ डिसेम्बर, २०१० मा ज्युरिचमा बसेको २२ सदस्यीय फिफाको कार्यकारणी समितिले मतदान प्रक्रियाबाट प्रतियोगिताका लागि कतारलाई आयोजक राष्ट्र छानेको थियो । कतारले सन् २०२२ मा विश्वकप आयोजना गर्न ४ बिलियन डलर खर्च लाग्ने प्रक्षेपण गर्‍यो । यसमा होटल, सडकजस्ता पूर्वाधार जोडिएको छैन । गर्मी समयमा कतारको तापक्रम ४५ डिग्रीसम्म पुग्ने भएकाले फुटबल खेलाउन सम्भव थिएन । जसलाई जाडो याममा सारिएको छ । विश्वकप २०२२ का लागि १२ वटा स्टेडियम बनाउने घोषणा गरिएको थियो । अब स्टेडियम ८ वटामै सीमित हुने देखिएको छ । ‘खलिफा अन्तर्राष्ट्रिय स्टेडियम’ त गत मे महिनाबाट चालु भइसकेको छ । यो स्टेडियममा कतारको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘अमीर कप’ को फाइनल खेल आयोजना गरी उद्घाटन गरिएको थियो । सन् २००६ मा एसियन कप खेलाउन बनाइएको खलिफालाई स्तरोन्नति गरी २०२२ का लागि तयार गरिएको यो पहिलो स्टेडियम हो । ४० हजार दर्शक अट्ने क्षमता रहेको यही स्टेडियममा २०१९ मा विश्व एथलेटिक्स च्याम्पियनसिप खेल आयोजना हुँदै छ ।


कतारको दोस्रो प्रमुख सहरको नाम हो— अलखोर । दोहाबाट ६० किमि उत्तर रहेको अलखोरमा निर्माणाधीन अल बायट स्टेडियम भने ‘शंखेकीरा’ आकारमा बन्दै छ । ६० हजार दर्शक अट्ने क्षमता रहेको यसमा सेमिफाइनल खेल हुनेछ । खेल सम्पन्न भइसकेपछि ३० हजार सिट भने अरू मुलुकलाई ‘डोनेट’ गरिनेछ । यतिखेर स्टेडियममा छाना छाउने काम धमाधम भइरहेको छ । सन् २०१८ को अन्त्यसम्म यसको निर्माण सम्पन्न हुने लक्ष्य छ । यो स्टेडियममा एक भारतीय कामदारको हृदयाघात भएर ज्यान गएको एउटा मात्रै घटना सार्वजनिक भएको थियो । त्यसबाहेक अरू मानवीय क्षति भएको घटना बाहिर आएको छैन ।


अल रयैन स्टेडियम बनाउनका लागि कामदारले ५० लाख घण्टा (५ मिलियन म्यान आवर) श्रम गरिसकेका छन् । यति लामो समय काम गर्दा कुनै दुर्घटना खबर बाहिर आएको छैन । ‘बिनामानवीय क्षति स्टेडियम बनाउने हाम्रो लक्ष्यमा अल रायैन सफल देखिएको छ,’ अल रायैनका प्रोजेक्ट म्यानेजर अब्दुल्लाह अल फिहनीले विश्वकपबारेको आफ्नो सूचना वेबसाइटमा भनेका छन्, ‘यो हाम्रा लागि ठूलो उपलब्धि हो ।’


नेपाली कामदारका लागि कल्याणकारी कामहरू पनि भइरहेकै छन् । यो स्टेडियममा काम गर्ने झन्डै दुई हजार नेपाली कामदारलाई नेपाली कम्पनीले सप्लाई गर्न पाएको छ । ‘नेपाली कम्पनीले फिफाको मापदण्ड पूर्ण रूपमा लागू गरेको’ भन्दै उच्च नम्बर दिएपछि निरीक्षणमा जाने विदेशीहरू नेपाली कम्पनीकै क्याम्पमा पुग्ने गरेका छन् । ‘हामीले फिफाको मापदण्ड पूरा गर्न सक्दा उत्साहित छौं,’ नाम उल्लेख गर्न नचाहने नेपाली कम्पनीका व्यवस्थापकले भने, ‘यसलाई कायम राखिराख्न निकै चुनौती छ । यो मापदण्ड अब प्रतिष्ठाको विषय पनि बनेको छ ।’ अल रैयन स्टेडियम पनि ४० हजार क्षमताकै हो । सन् २०१९ सम्ममा निर्माण सम्पन्न भइसक्ने योजना छ । फिहानीका अनुसार विश्वकप सकेपछि यो स्टेडियमलाई निकालेर फुटकल फयान मुलुकलाई प्रदान गरिनेछ ।


कतार फाउन्डेसनको स्टेडियमलाई ‘मरुभूमिको हीरा’ पनि भनिएको छ । ‘एजुकेसन सिटी’ भित्र निर्माणाधीन यो स्टेडियमलाई सन् २०१९ भित्र खुला गर्ने योजना छ । ४० हजार दर्शक अट्ने क्षमता रहेको यसको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । यसमा क्वाटरफाइनलमाथिका खेलहरू हुनेछन् ।


दोहाबाट १५ किमि उत्तरतिर पर्छ, लुसेल स्टेडियम । निर्माणाधीन यो स्टेडियममा उद्घाटन र फाइनल खेल हुँदै छ, यसको सिट क्षमता ८० हजारको छ । कतार–चीनका कम्पनीले संयुक्त रूपमा बनाइरहेको यो स्टेडियम लुसेल सिटीभित्र छ । यो सिटीमा दुई लाख मानिस बस्न मिल्ने गरी संरचना बनाइएको छ । ‘हामीले २०१६ को अन्त्यबाट स्टेडियम बनाउन थालेका हौं । थोरै समयमा हामीले धेरै काम गरिसकेका छौं । हरेक दिन स्टेडियमको स्वरूप परिवर्तन भइरहेको छ,’ लुसेल स्टेडियमका प्रोजेक्ट म्यानेजर तमिम इल अवेडले आफ्नो वेबसाइट सूचनामा भनेका छन् । यो स्टेडियम बनाउन कम्तीमा ३५ सय कामदारले दैनिक पसिना बगाइरहेका छन् । फाइनल हेर्न आउनेका लागि यो स्टेडियममा लुसेल सिटीभित्र मात्रै चल्ने छुट्टै ‘लुसेल म्ेरटो रेल’ निर्माणाधीन छ । लुसेल सिटी र लुसेल स्टेडियम बनाउनका लागि एक लाख ७० हजार कामदारले काम गरिरहेका छन् ।


‘गहफिया’ अर्थात् अल थुमामा स्टेडियम । अरबी पुरुषले टाउकोमा लगाउने टोपी (गहफिया) को आकारमा यो स्टेडियम बन्दै छ । यसको डिजाइन गएको अगस्टमा मात्रै पूरा भएको हो । यो अरू स्टेडियमभन्दा पछि अर्थात् सन् २०२० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । क्वाटरफाइनलसम्मका खेलहरू आयोजना हुने यसको क्षमता ४० हजार दर्शक अट्ने बराबर छ ।


दोहाको मुटु मानिएको वेस्ट वे नजिक बन्ने अर्को स्टेडियम हो, रस अवु अवोउड स्टेडियम । ४० हजार सिट क्षमताको यो स्टेडियम स्थानान्तरण गर्न मिल्ने (ट्रान्सफरेवल) रूपमा निर्माणाधीन छ । यो वनाउन पश्चिमा मुलुक हुँदै जहाजबाट सिधै निर्माण सामग्री ल्याउने योजना छ । समुद्रछेउमा बन्न लागेको यो स्टेडियम आफैंमा रमितलाग्दो हुनेछ । स्टेडियम सन् २०२० भित्रमा निर्माण सम्पन्न हुने जनाइएको छ ।


कतारले रंगशाला सुरक्षामा एकदमै सचेतता अपनाएको देखिन्छ । अन्तर्राष्ट्रिय ट्ेरड युनियन महासंघ –आईटीयूसी) ले फुटबल खेलाउने बेलासम्म स्टेडियम बनाउने ४ हजार कामदारको मृत्यु हुने अनुमान गरेको थियो । आईटीयूसीले लगाएको आरोप पुष्टि हुन नदिन कतारले स्टेडियमभित्रको कार्यस्थल सुरक्षामा विशेष ध्यान दिइरहेको छ । कामदारका बासस्थान, खानपिनदेखि काम गर्ने अवधिमा पनि कडाइ गरेको छ । कतार फाउन्डेसनले तयार गरेको श्रमिक अधिकारको मापदण्ड र श्रम कानुनलाई पूर्ण रूपमा लागू गरेको छ । ‘अहिलेसम्म तलबमा कुनै समस्या छैन । एउटा कोठामा चार जनालाई राखिएको छ । बस्ने क्याम्पको सुप्रिम कमिटीबाट निरीक्षण भइरहेको छ,’ अल–वक्रा स्टेडियममा कार्यरत महेन्द्र लामाले भने, ‘दिनमा तीन पटक खाना खुवाउँछ— ब्रेकफास्ट, लन्च र डिनर । आफूखुसी बाहिरको खाना खान पाइँदैन । दिनमा ८ घण्टा नियमित र २ घण्टा ओभरटयाम गर्न पाइने सुविधा छ । वार्षिक रूपमा अनिवार्य एकमहिने घर बिदा पाउने व्यवस्था छ ।’


कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराला स्टेडियममा काम गर्ने नेपालीबाट अहिलेसम्म एउटै पनि उजुरी नआएको बताउँछन् । ‘हामीलाई स्टेडियममा काम गर्ने नेपालीका बारे तथ्य–तथ्यांक त्यति थाहा हुँदैन,’ राजदूत भन्छन्, ‘जव कुनै समस्या आउँछ, त्यसपछि मात्रै हामीलाई थाहा हुन्छ । तर, अहिलेसम्म कुनै समस्या आएको जानकारीमा छैन ।’

प्रकाशित : श्रावण १२, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?