कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रुसमा नेपाल झल्को

पर्यटन
रुसको नेपाल हाउस घुमेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विट गरेका छन्— नेपालबाहिर नेपालको प्रतिमूर्ति यसले देखाएको छ । आफ्नो संस्कृति, वास्तुकला प्रस्तुत गरेको छ । यसमा (इथ्नो वल्र्ड) नेपालले महत्त्वपूर्ण स्थान ओगटेको देख्न पाउँदा खुसी लाग्यो ।
राजु घिसिङ

काठमाडौँ — रुसको राजधानीबाट करिब ९० किलोमिटरको यात्रामा कलुगा पुगेपछि ‘इथ्नो वल्र्ड’ को प्रवेश गरेलगत्तै एउटा गेटमा देखिन्छ— वेल्कम टु नेपाल हाउस । यो ठ्याक्कै काठमाडौंको न्युरोड गेटजस्तै छ । गेटभित्र दुवैतिर पाटी छन्, जसले भक्तपुर वा पाटन दरबार क्षेत्रको झल्को दिन्छ ।

रुसमा नेपाल झल्को

अझ भित्र तीनवटा ढुंगेधारा छन्, जसको तल र माथि खोपामा मूर्ति सजाइएका छन् । बायाँतर्फका म्हानेले बौद्ध वा स्वयम्भूको याद दिलाउँछ । म्हाने घुमाइनसक्दै ठूलो घण्टानिर पुगिन्छ । काष्ठकलाले भरिपूर्ण मुख्य ढोकामा प्रवेश गर्नुअघि चैत्य पार गर्नुपर्छ, जहाँ रुसका बौद्धमार्गी शैलीमा बट्टाभित्र बत्ती बाल्न सकिन्छ । ढोकाभित्र बज्रसँगै बुद्धका दुई मूर्ति सजाइएका छन् ।


प्यागोडा शैलीमा निर्मित उक्त नेपाल हाउसको संरचनाले विश्वकै शक्तिशाली देशमा पुगेर पनि नेपालभित्रै भएजस्तो महसुस गराउँछ । ‘त्यसैका लागि नेपाल हाउस बनाइएको हो,’ इथ्नो वल्र्डका अध्यक्ष रुस्लान बाइरामोभले भने, ‘नेपाली कला, संस्कृति र जीवन देखाउनकै लागि नेपाल हाउस निर्माण गरिएको हो ।’ इथ्नो वल्र्ड सन् २००६ मा स्थापना गरिएको थियो । मस्कोस्थित नेपाली दूतवास र गैरआवासीय नेपाली संघको सहयोगमा नेपाल हाउस २०११ मा निर्माण सम्पन्न भएको थियो ।


इथ्नो वल्र्ड ८४ हेक्टरमा फैलिएको छ । नेपाल हाउसले आधा हेक्टर (९.८२ रोपनी) ओगेटेको छ । नेपाल हाउसनजिक दक्षिण एसियाली संस्कृति झल्काउने भारत र श्रीलंकाको पनि संरचना बनाइएका छन् । साइबेरिया, बेलारुसलगायतलाई समेटेर रुसको विविधता, मंगोलिया, ताजकिस्तानलाई समेटिएको मध्यएसियालीसहित विभिन्न ६ क्षेत्रका सांस्कृतिक पक्षलाई देखाउने संरचना इथ्नो वल्र्डमा तयार गरेर प्रदर्शनीमा राखिएको छ ।


प्रतिव्यक्ति ६ सय रुबल (रु. १,०३८) तिरेर गत वर्ष आठ लाखले इथ्नो वल्र्डको अवलोकन गरेको तथ्यांक छ । ‘मस्को र र यस वरिपरिका धेरै आउँछन् । उनीहरूको मुख्य आकर्षण नेपाल हाउस नै हो । बुद्धको जन्मभूमि र सगरमाथा भएको देशबारे धेरैले चासो राख्छन्,’ अध्यक्ष रुस्लानले भने, ‘हामीले विश्वका सबै देशका संस्कृतिलाई एउटै थलोमा देखाउन खोजेका छौं । विद्यार्थी र बाहिर जान नसक्ने मानिसहरूलाई विश्वका कला, संस्कृति र शिक्षा यही देखाउन चाहन्छौं । यसले कला–सांस्कृति आदनप्रदानमा सहयोग गर्छ ।’
संसरमा विविधता भएर पनि एकता सम्भव भएको देखाउने प्रयास इथ्नो वल्र्डमा गरिएको उल्लेख गर्दै उनले भने, ‘संसार एउटै हो । हामी शान्त हुनुपर्छ भन्ने चाहन्छौं ।’ मल्लकालीन शैलीमा प्यागोडा, न्युरोडको गेट, घण्टा, बज्र, चैत्य पाटी निर्माण गरिएको नेपाल हाउसका आर्किटेक्ट प्रकाश तुलाधरले बताए । ‘नेपालको मल्लकालीन संस्कृतिलाई झल्काउने प्रयास गरिएको हो,’ उनले भने ।


अध्यक्ष रुस्लानका अनुसार इथ्नो वल्र्ड र रुसमा रहेका नेपालीहरूको ३० लाख डलर (तीस करोड रुपैयाँ बढी) लगानीमा नेपाल हाउस निर्माण गरिएको हो । ‘निर्माणमा प्रयोग भएका इँटाबाहेक सबै सामग्री नेपालबाट ल्याइएको हो । त्यो ५० टन बढी थियो,’ गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव बद्री केसीले भने, ‘मूर्ति बुङमती र पाटनका कलाकारले बनाएका हुन् । आँखी झ्याल र कलात्मक ढोका, घण्टा, म्हाने पाटनमा तयार पारिएको हो ।’


गत वर्ष करिब ८ हजार रसियनले नेपाल भ्रमण गरेको सन्दर्भमा केसीले भने, ‘नेपाल हाउस हेरेपछि धेरैले नेपालबारे जानकारी लिन्छन् । यसले नेपालको पर्यटन उद्योगलाई पनि प्रवद्र्धन गर्छ ।’ रुसमै व्यवसाय गरिरहेका उनी नेपाल हाउस निर्माणमा सुरुबाटै संलग्न थिए । नेपाल हाउस निर्माणमा रुसका लागि नेपालका पूर्वराजदूत सूर्यकिरण गुरुङ, एनआरएनएका पूर्वअध्यक्षद्वय उपेन्द्र महतो र जीवा लामिछानेलगायतको योगदान महत्त्वपूर्ण थियो । नेपाल हाउसमा रेस्टुराँ, हल, २० वटा कोठा (होटलको रूपमा प्रयोग) पनि नेपाली शैलीमै बनाइएका छन् ।


रुस भ्रमणको क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेतृ हिसिला यमीले पनि सोमबार नेपाल हाउसको अवलोकन गरे । जीवा लामिछानेद्वारा गरिएको ट्विटमा भट्टराईले भनेका छन्, ‘नेपालबाहिर नेपालको प्रतिमूर्ति यसले देखाएको छ । आफ्नो संस्कृति, वास्तुकला प्रस्तुत गरेको छ । यसमा (इथ्नो वल्र्ड) नेपालले महत्त्वपूर्ण स्थान ओगटेको देख्न पाउँदा खुसी लाग्यो ।’


नेपाल हाउसको पछाडिको डिजाइन नारायणहिटी दरबारसँग मिल्दोजुल्दो छ । अगाडि राखिएको चिम्नी अलि परबाट हेर्दा लुम्बिनीको अशोकस्तम्भजस्तै देखिन्छ । त्यसैले चिम्नी गृहलाई गुम्बज शैलीमा ढालिएको एनआरएनएका महासचिव केसीले बताए । विश्वको सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्ण कदको सालिक पनि स्थापना गरिएको छ ।


‘जो गए पनि एकदमै प्रभावित भएर फर्कने गरेका छन्,’ एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेले भने । फोटो खिच्नेहरूको भीड मुख्य प्रवेशद्वारसँगै ढुंगेधारा, म्हाने र चैत्यमा लाग्दोरहेछ । रसियन शैलीमा चैत्यमा बत्ती बालेपछि तातियानाले भनिन्, ‘नेपालजस्तै लाग्छ । यहाँ बेलाबेला आइरहन्छु ।’ बुद्ध जन्मस्थल लुम्बिनी पुगिसकेकी उनी बौद्धमार्गी हुन् । रुसको तीन राज्य (बुरियातिया, काल्मिकिया र तुभा) बौद्धमार्गीको ठूलो संख्या भएको उनले बताइन् । सन् १९९२ मा दलाई लामाको भ्रमणयता रसियन बौद्धमार्गी तिब्बतियन गुरुबाट प्रभावित रहेछन् ।


इथ्नो वल्र्डसँगै वल्र्ड हेरिटेजको रूपमा ४५ देशका घर पनि सजाइएका छन् । यहाँ ब्राजिल र श्रीलंकाको बीचमा रहेको घरले काठमाडौं उपत्यकाका परम्परागत नेपाली घरको अनुभव गराउँछ । बाहिर नेपाली राष्ट्रिय झन्डा फहराइएको छ भने भित्र बौद्ध, हिमालयको आकृति कुँदिएको छ । नेपाली जीवनशैली र प्राकृतिक सौन्दर्य झल्कने तस्बिरहरूसँगै बुद्ध मूर्ति, गिद्ध र राजा त्रिभुवनले नेपालमा व्यवसाय गर्न ल्याइएका रसियन बोरिस लिसानेविचको अर्धकदको सालिक पनि हेर्न सकिन्छ ।


मस्कोमा नेपाली व्यवसायीद्वारा सञ्चालित रेस्टुराँ औरा र ओम शान्तिले पनि नेपालीपन झल्काउने गर्छ । औरामा चन्द्रशमशेरका तस्बिरदेखि भित्तामा सजाइएका मण्डलाहरूका चित्रले मन लोभ्याउने गर्छ । ओम शान्तिमा भने दलाई लामाको दरबार र ल्हासालाई राखिएको छ । हुन त सेन्ट पिटर्सबर्गको नेभ्स्की होटल एस्टरको डाइनिङ हलमा झुन्डाइएका बौद्ध र पशुपतिका योगीहरूका तस्बिरले पनि मन छुने गर्छ ।

रुस्लानको नेपाल मोह
‘धेरैपल्ट नेपालको भ्रमण गरेको छु,’ इथ्नो वल्र्डका अध्यक्ष रुस्लान बाइरामोभले भने, ‘पहिलोपल्ट सन् २००४ मा पुगेको थिएँ । सिमिकोट हुँदै कैलाश पर्वत गएको थिएँ । नेपाल असाध्यै मन पर्‍यो । त्यसैले जमिन किनेलगत्तै नेपाल हाउस बनाउनुपर्छ भनेर लाग्यौं । दूतावास र नेपाली साथीहरूले राम्रो सहयोग गरे ।’


‘हामीले लुम्बिनीमा रसियन गुम्बा बनाइरहेका छौं । हामी थप सहयोग गर्न तयार छौं,’ ४९ वर्षीय रुस्लानले भने, ‘यस्तै खालको (इथ्नो वल्र्ड) नेपालमा पनि बनाउने चाहना छ । काठमाडौं वा त्यसको नजिक बनाउन चाहन्छौं । त्यसले तीन करोड नेपालीसँगै विद्यार्थीलाई धेरै ज्ञान दिनेछ ।’


‘म आफैं पनि हिमाली भेगमा जन्मिएको मान्छे हुँ,’ अजरबैजानी बुबा र रसियन आमाका यी छोराले भने, ‘दुई संस्कृतिमा हुर्किए । सानैमा बुबाले संसारको नक्सा देखाएका थिए । ११ वर्षको हुँदासम्म सबै देशको नाम, राजधानी र भूगोलबारे राम्रो ज्ञान लिइसकेको थिए । १८ वर्षको छँदा पहिलोपल्ट योगको किताब पढेको थिए, त्यसले आकर्षित गर्‍यो । अनि पूर्वीय शास्त्र र धर्मबारे रुचि जाग्यो । तीस वर्षयता यसैमा लागिरहेको छु ।’


विद्यार्थी छँंदै व्यापार थालेका उनको रुचि मानवीय किसिमको व्यवसायतिर थियो । त्यसैले उनले रुसकै एक गाउँमा देखेको छाप्रोजस्तै मस्कोस्थित आफ्नो घरमा बनाएका थिए । ‘त्यो छाप्रोले धेरैलाई आकर्षित गर्‍यो । मान्छेको भीड लाग्न थाल्यो,’ उनले भने, ‘त्यसपछि परम्परागत रसियन घर बनाए । यो पनि आकर्षणको केन्द्र बन्यो । अनि संसारका सबै खालका जनजातीय प्रारूपका घर बनाउने सोंच आयो । जमिन भाडा लिएर काम पनि थालिहाले । संसारका सबै देशको कला, संस्कृति जीवनशैली देखाउने योजना छ । सबै देशलाई पुग्ने गरी जमिन पनि छ्ट्याएका छौं ।’
Twitter: @rghising

प्रकाशित : श्रावण १२, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?