१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मामुरगन्जमा बीपी र म

बीपी स्मृति दिवस
डा ध्रुवचन्द्र गौतम

काठमाडौँ — त्यो समयलाई सबैले ‘कडा–काल’ भन्थे । सिकारु लेखक ध्रुवचन्द्र गौतमले राजनीतिज्ञ एवं साहित्यकार बीपी कोइरालालाई बनारसमा पहिलो पटक भेटेका थिए । भेटवार्तापछि बीपीले भनेका रहेछन्, ‘चिठी लेख्नुहोला । कि डराउनुहुन्छ ?’ दुर्भाग्य † त्यो कडा–कालमा ‘डराएर’ होइन, बरु बीपीको पत्राचार ठेगानै नपाएर ध्रुवचन्द्रले कहिल्यै चिठी लेख्न पाएनन् ।

मामुरगन्जमा बीपी र म

साउन ५, २०७५ को साँझ काठमाडौंबाट हिंडेको हाम्रो ५ जनाको ‘काफिला’ राप्ती नदी किनारको एक रिसोर्ट–कुटीमा बसेर चिया पिइरहेको थियो । पुरुषोत्तम बस्नेत, डा. गोविन्दराज भट्टराई, डा. ज्ञानू पाण्डे, राजेन्द्र पराजुली र म साथै थियौं । ‘कुटी’ मैले किन भनें भने जुन छाप्रोमुनि बसेर हामी चियापान गरिरहेका थियौं, त्यसको छानो फुसको थियो । छेउमा कतै राप्ती बहिरहेको थियो, खर लहलह थियो ।


त्यहाँ चर्चा थियो—राप्तीकै । सँगै चर्चामा जोडिएर आइरहन्थे— साहित्यकार बीपी कोइराला । २०५० सालमा कति भयानक भएको थियो, त्यसपछि यो बर्खामा मात्रै हात्तीसमेत तर्न तर्सने गरी भयानक भएको थियो राप्ती । बताइरहेका थिए— यहाँसम्म पानी नै पानी थियो, घरभित्रै पस्यो । यो कथा बताइरहेका थिए, रिसोर्टका मालिक र राजनीतिक सचेतक रामचन्द्र अधिकारी । उनको स्वास्थ्य भने उमेरभन्दा पनि निकै स्फूर्त, ताजगीयुक्त देखिन्थ्यो । त्यहाँ हामीसित धनराज गिरी पनि थिए, गजलकार र गणितज्ञ । त्यही गणित बलका भरमा गिरीले रामचन्द्रजीको उमेर कति होला भन्नुस् त भनेर सोध्दा सुरुमा हामी अल्मलियौं । पछि सही उमेर थाहा पाएपछि पो रामचन्द्रको स्वास्थ्य ‘राज’ खुल्यो । उनी साइकलमा दिनदिनै लामो चक्कर लगाउँदा रहेछन्, सौराहा एकफेरो ।


हाम्रो त्यो ‘काफिला’ का सबै जना ‘बीपी ट्रस्ट’ सँग सम्बद्ध थिए । त्यहाँ हामी बीपी स्मृति–दिवस मनाउन गएका थियौं । बीपी स्मृति दिवसको औपचारिक समारोहपछि चियापानमा हामी जुटेका थियौं । सबै कुराकानी र गफगाफको केन्द्रमा बीपी नै थिए । ‘स्थायी’ भन्छन् नि संगीतमा, त्यो ‘स्थायी’ भने, बीपीको स्मृति नै थिया ।


स्मृति कार्यक्रम बीपी ट्रस्टसँग चितवनकै विभिन्न संघसंस्था जस्तो : नोपली लेखक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ आदिसँग मिलेर गरिएको थियो । यो दिवसको अवसरबारे मलाई ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले बताएका थिए । सारा व्यवस्थापन उनैले गरेका थिए । काफिलाका एक पुरुषोत्तम बस्नेत मेरा धेरै पुराना मित्र हुन्, अझ सबभन्दा पुरानामध्ये एक त, एउटा रमाइलो त्यो थियो । बीपीसँग काठमाडौंमा पहिलो भेट पुरुषोत्तम बस्नेतद्वारा नै भएको थियो, २०३५ सालमा, चाबहिलमा । बस्नेतका दुई पुस्तक ‘नेपाली कांग्रेसको इतिहास’ पढेर म झनै प्रभावित भएँ, उनको विद्वताबाट । स्मृति–सभामा पनि उनले सभापतिको आसनबाट कैयौं ‘नायाब’ ऐतिहासिक जानकारी दिए ।


डा. गोविन्दराज भट्टराई मेरा आत्मीय साहित्यिक मित्र हुन् । उनले बताए— विश्वका ७० हजार लाइब्रेरीमा नेपाली साहित्यकारमध्ये सबभन्दा बढी देवकोटाका कृति पुगेका छन्, त्यसपछि बीपीकै हो । उनले हाम्रो अवस्था (दुरवस्था) पनि बताए, हाम्रा कति पुस्तक पुगेका छन् ? अथवा हामी कहाँ छौं ? डा.भट्टराईले यो तथ्य–तथ्यांक सुनाइरहँदा मैंले गालिबको एउटा शेर सम्झें :
हम वहाँ हैं जहाँ से हम को भी
खुद हमारी खबर नहीं आती ।
डा. ज्ञानू पाण्डे, विद्यार्थीकालदेखि नै बौद्धिक थिइन्, अहिले त झन् विशिष्ट छिन् । त्यतिकै विशिष्ट बोलिन् पनि । बीपीको सम्झना सार्थक किसिमले भयो । त्यहींका अन्य विद्वान्, सांसदले सारगर्भित बोले र, आश्वासन पनि आसलाग्दो दिए । एक जना गीता वाग्लेको विशेष म उल्लेख गर्न चाहन्छु । पहिले प्रतिनिधिसभाकी सांसद, अहिले प्रदेशकी । स्पष्टवादी स्वभावकी लागिन् उनी । आउने दिनमा ‘ट्रस्ट’ लाई आवश्यक सहयोग गर्ने आश्वासन उनले दिएकी थिइन् । काठमाडौं हिंड्ने दिनको ‘दिवा–भोज’ उनैले आफ्नातर्फबाट हामीलाई दिइन् । आफ्नै गाडीमा हामीलाई एयरपोर्ट पुर्‍याइदिइन् । सबले महसुस गर्‍यौं गीता वाग्ले, ‘मनकी सफा’ हुन् । पछि उनैले बताएपछि थाहा भयो—उनी ‘थाहा’ अभियन्ता रूपचन्द्र विष्टकी बहिनी हुन् ।


हामीले साउन ६ गतेको सट्टा ५ गते नै बीपी स्मृति–दिवस मनाएका थियौं । त्यसदिन बिहानैदेखि कति प्राध्यापक, लेखकहरूसित भेट भयो । जस्तो केदारनाथ खनाल, हरिहर पौडेल, सरिता तिवारी, गायत्री श्रेष्ठ आदि । उदयराज निकै बौद्धिक पाठक हुन । उनी विश्व साहित्यका राम्रा जानकार हुन्, तिनीसँग पनि भेट भयो । एक शिक्षिका लक्ष्मी बराल पनि भेट भइन् जसले मेरो ‘उपसंहार अर्थात् चौथो अन्त्य’ र अन्य किताबको कुरा गरिन् । यही लाग्यो— बाहिर पनि मेरा पाठक रहेछन् ।


यस्ता भेटघाट त अनगिन्ती भए । सबैजसो बीपीको नाममा आएका थिए । रमाइलो के भयो भने हल टन्नै भरियो । अन्य कतिपय कार्यक्रमविपरीत, अन्त्यसम्म सबै बसिरहे धैर्यपूर्वक । बीपीको स्मृति दिवसको त्यो कार्यक्रम यति सफल थियो कि राप्ती किनारमा चियापानमाझ राजेन्द्र पराजुलीले भने— डा. साहेब आज मनाउनुपर्छ ।


यो ‘मनाइने’ अर्थमा साँझ सांस्कृतिक कार्यक्रम थियो, लोक–नृत्यहरूको । त्यस्तो मैले द्वारिका श्रेष्ठको ‘जंगल लज’ मा विगतमा प्रशस्तै हेरेको थिएँ । त्यसकारण म भने गइनँ । बरु एक्लै कोठामा आनन्द ग्रहण गर्दै, बीपीसँग भएका भेटघाटहरू सम्झिरहें ।
***

२०२७ सालतिर हामी केही जना एक प्रकारले पारिवारिक भ्रमणमा बनारस गएका थियौं । नेपाली धर्मशालामा बस्यौं । एक दिन अचानक, भुवन ढुंगाना (त्यस बखत कोइराला) सँग भेट भयो । उनले भनिन्, ‘बीपीसँग भेट्ने हो ?’
‘किन नभेट्ने ?’
‘त्यसो भए म भोलिलाई टाइम लिएर आउँछु, यहींबाट जाउँला ।’
भोलिपल्ट दुवै जना मामुरगन्ज भन्ने ठाउँमा रिक्सामा गयौं ।
भेट्न मात्र गएको, बीपीले ‘सँगै लन्च नै गर्न’ भनेपछि झन् बढी निकटस्थ भइयो । लगभग दिनभर । भुवन त भित्र गइन्, अरू नातेदारसँग भेट्न । बीपीसँग म मात्रै बसिरहें । तिनताक बीपी छेउमा आउनेहरूमा राजनीतिक प्रश्न नगर्ने त को होला र ? मलाई भने थाहा थियो— बीपी राजनीतिज्ञ मात्रै होइन, कुनै उच्च कोटिका साहित्यकार समेत हुन् ।
‘तपाईंका कथा मैले पढेको छु’,भेटघाटमा बीपीले मतिर फर्केर भनेका थिए । मलाई त्योभन्दा के चाहियो ? एउटा भर्खरै लेखिएको लेखक ‘नौसिखिया’ लाई ? ‘रूपरेखा’ केही र एक दुई कथा ‘मधुपर्क’ मा छापिएको लेखक थिएँ । प्रोत्साहनलाई भनेको भए पनि म उनको भनाइले प्रोत्साहित भएकै हुँ ।


त्यस बखतसम्म बीपीका त कैयौं कथा पढिसकेको थिएँ, आईएमा रहेको ‘शत्रु’ देखि एमएमा पढेको ‘कथा कुसुम’ मा प्रकाशित कथासम्म । बीएमा ‘शत्रु’ कथाका कृष्ण रायको मनोविज्ञान व्याख्या गर्दा ताराप्रसाद गुरु संस्कृतको एक श्लोक भन्थे :
‘न कश्चित् कश्यचिन्मित्र, न कश्चित् कश्यचिन् रिपु ।’ अर्थात् (कोही कसैको शत्रु हुँदैन, कोही कसैको मित्रु हुँदैन ।)
बीपी कोइरालासित मैले त्यस दिन उनकै कथाबारे प्रश्न गरिरहें । उनले आफ्नो कथाबाहेक, विश्व–कथाबारे पनि बताए । उनीसँग विश्व–साहित्यबारे जति पनि ज्ञान थियो, मलाई त्यही लाग्यो त्यस क्षण । त्यसै क्रममा उनले आफ्नो धारणा राख्दै भने, ‘म पैसाका लागि लेख्न चाहन्नँ ।’
मैले भनें, ‘यो आदर्श त उचित हो, तर सान्दाजु हामीजस्ताले त्यो धान्न सक्लाऔं सधैं ?’
‘हुँदैन तर त्यो आदर्श राख्नुपर्छ । त्यसले लेखकलाई इमानदार राख्न मद्दत गर्छ ।’
त्यसबाट मैले एउटा ज्ञान जरुर पाएँ, आफूमा संशोधन पनि केही गरें— पैसा पाइन्छ भन्दैमा नलेख्ने । लेखेपछि पैसा खोज्न भने परिस्थितिले लगाउँथ्यो, त्यो खराब लागेन । म त्यही गर्छु पनि । आज धेरै समयदेखि कथा लेखेको छैन भने ‘पैसाकै लागि नलेखेकै’ कारणले हो । नत्र त बलजफ्ती लेखे पनि केही पैसा त आउँदो हो ।
उठ्ने उठ्ने बेलामा मैले लगभग अन्तिम प्रश्न गरें, ‘हजुरलाई आफ्ना उपन्यासमध्ये कुन मन पर्छ ?’
त्यो प्रश्नको उत्तर नदिएर उनले मुसुक्क हाँस्दै मलाई उल्टै सोधे । मैले सम्भवत: अप्रचलित कुरा भनेको थिएँ कि के हो, म भन्न सक्दिनँ । तर त्यस बखत पढेको उनको जुन उपन्यासको प्रभाव परेको थियो, त्यही भनें,
‘नरेन्द्र दाइ ।’


उनले भने, ‘मलाई पनि त्यही मन पर्छ ।’
उनले मेरो मन राख्न पनि त्यो उत्तर दिएका थिए कि साँच्चिकै ?
मैले त्यस बखत छुटयाउन सकिनँ । यो भेटवार्ता र संवादबारे मैले सौराहाको बीपी स्मृति–सभामा पनि बोलेको थिएँ ।
बीपीसँग भेटेको कति वर्षपछि एक दिन चाबहिलमा मकहाँ चक्र बाँस्तोला रात्रि–भोजका निम्तिमा आउँदा मैले ‘नरेन्द्र दाइ’ र
बीपीले दिएको जवाफको प्रसंग बताएको थिएँ ।


चक्रजीले भने, ‘त्यो हुन सक्छ किनभने ‘नरेन्द्र दाइ’ उपन्याससँग उहाँको बेग्लै ‘अटयाचमेन्ट’ थियो । चक्र बाँस्तोला स्वस्थ भएको भए यो कुरा पुन: भन्थे होलान् । वास्तवमा चक्रजीकै तर्कपछि म झन् सन्तुष्ट भएको थिएँ, बीपीको ‘नरेन्द्र दाइ’ प्रतिको धारणा साँच्चिकै रहेछ ।


बीपीसँग त्यस दिन मात्र होइन, जति पटक भेट्दा पनि देखें, उनीमा आडम्बर पटक्कै पाइन । हिंड्ने बेलामा उनी स्वयं बाहिरसम्म हामीलाई छोड्न आए । त्यस्तोमा मान्छे एउटा एकदम ठिटयौले लेखक, एक इतिहास बनाउने लेखकबाट अभिभूत कति हुन्छ कि हुँदैन ? बाहिर बरन्डामा चक्र बाँस्तोला कुर्ता–पाइजामा लगाएर झोला भिरेर उभिएका भेटिए, मेरो उनीसितको प्रथम भेटका रूपमा ।


‘कडा–काल’ यति थियो कि, मैले मसित आएका नातेदार र कुनै साथीलाई पनि यो भेटबारे ठयाम्मै भनिनँ । ‘कडा छ नेपालमा’ भन्ने कुरा त बीपीलाई पनि थाहा थियो । उनले हिंड्ने बेलामा भने, ‘चिठी लेख्नुहोला । कि डराउनुहुन्छ ?’
मैले भनें, ‘होइन, डराउँदिनँ हजुर, म लेखिहाल्छु नि ?’
बीपीको त्यस बखतको सरलता आज पनि सम्झन्छु । त्यस दिन भुवनजी र म त फक्र्यौं । कसैलाई भनिनँ, म कहाँ गएको थिएँ ।
बीपीको एउटा कुरा भने सत्य भयो । मैले चिठी भने साँच्चिकै लेखिनँ । तर डराएर भने होइन, बरु बीपीको ठेगाना मसँग भएन । त्यो खोज्दै हिँड्नु त फेरि ‘डरलाग्दो’ नै हुन्थ्यो । त्यसकारण ठेगाना खोजिनँ ।
आफूलाई सान्त्वना अवश्य दिएँ, म डराएको त पक्कै होइन किनभने डराएको भए त जाँदै जाने थिइनँ नि ? त्यसकारण डराएर चिठी नलेखेको होइन, त्यही भनिरहें आफूलाई । त्यो असत्य पनि थिएन ।
राप्ती किनारमा चियाँ खाँदै सुरु भएको स्मृति–प्रसंगहरू, आधी रातसम्म बीपीसँगको यही भेटबारे सम्झँदै बितेको थियो ।
***

एउटा अर्को प्रसंगको पनि सम्झना भएको थियो त्यस आधी रातसम्ममा, जुन त्यो भेटघाटको प्रसंगभन्दा भिन्न छ । एमएमा २००६ सालमा प्रकाशित र सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित ‘कथा–कुसुम’ का दुइटा कथाको सम्झना हुन्छ । कथाहरू पढ्दै जाँदा ‘परिबन्द’ पढें— पुष्करशमशेरको । मैले नोटमा लेखें— बेस्ट स्टोरी अफ द कलेक्सन । त्यसपछि बीपीको ‘सिपाही’ पढें, त्यसपछि फेरि लेखें— बेस्ट स्टोरी अफ द कलेक्सन । यसरी लेखें । तर पछि ‘सिपाही’ मैले बारम्बार पढें । मलाई लाग्छ, ‘सिपाही’ आज पनि नेपाली कथा–साहित्यको एक उत्कृष्ट कथामध्ये पर्दछ । पछि हिन्दीका ठूला कथाकार फणीश्वरनाथ रेणुले पनि एक प्रसंगमा भनेका थिए— आफूलाई पढेका कथाहरूमा उनलाई एउटा बंगाली कथा ‘नीला आँखा’ (अनूदित) र बीपीको ‘सिपाही’ मन पर्छ । उनको विचार थाहा पाएपछि ‘म ठीक रहेछु’ भने मेरो विश्वास झन् दृढ भयो ।


बीपीसँग पछि पनि भेट भयो । तर बीपीसँगको त्यो पहिलो, सबभन्दा लामो र यादगार भेटकै प्रसंग क्षणक्षण सम्झिरहेको थिएँ ।


त्यो प्रमाणित भएजस्तो कसरी भयो भने वर्षौंपछि, जब म बम्बईमा पीएचडीका लागि गएको थिएँ । मेरा एक रुममेट थिए— श्रीहर्ष कोइराला, बीपीका माहिला छोरा । एक पटक उनी बीपीलाई भेट्न जाने भए । मैले भनें, ‘श्रीहर्षजी मैले वर्षांैअघि बीपीसँग भेटेको थिएँ, त्यो उहाँलाई याद छ कि छैन, सोध्नुहोला ।’


केही समयपछि बम्बईबाट फर्केपछि उनले भने, ‘तपाईंसँग भेटेको र साहित्यिक कुरा गरेको बाबा (बीपी) लाई एकदम याद रहेछ, अहिले पनि ।’
अनि मलाई मज्जा लागिरहयो, धेरै लामो समयसम्म ।

प्रकाशित : श्रावण १२, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?