चपु चमक

फुटबल
घरेलु महिला फुटबलमा विभागीय टिमले राज गरिरहेको छ । यसपालि राष्ट्रिय लिगमा पुलिसलाई हराएर रौतहट तेस्रो भयो । यही रौतहटको चन्द्रनिगाहपुर (चपु) महिला फुटबलको उर्वर भूमि हो ।
राजु घिसिङ

काठमाडौँ — चलनचल्तीको बोलीमै मात्र भए पनि ‘स्मार्ट’ जमानामा चन्द्रनिगाहपुरको नाम छोटयाइएको छ— चपु । पूर्व–पश्चिम लोकमार्गको नयाँ नगर चपु पहिला रात्रि बसमा लुटपाट भइरहने स्थानको रूपमा कुख्यात थियो । दुई दशकअघिसम्म रौतहटको तत्कालीन यस गाउँलाई रात्रि बसबाट छिचोल्नेहरू अहिले पनि चपु भनेपछि सतर्क हुन्छन् । त्यस बेलाको यो बदनाम स्थानको महिला टिम अहिले नेपाली फुटबलकै उर्वर भूमिको रूपमा प्रतिष्ठित बनेको छ ।

राष्ट्रिय महिला टिमको कप्तानी गरिसकेकी अनु लामाले नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ३५ गोल गरेकी छन् । तर, उनको यो सफलता चपु छाडेयता हात लागेको हो । घुँडाको शल्यक्रिया गरेपछि गत साता मैदानमा फर्केकी उनको ‘गोल मेसिन’ फेरि उस्तै लयमा फर्किन अझै समय लाग्नसक्छ । ठीक यही समयमा लमजुङकी सावित्री भण्डारी नयाँ गोल मेसिनको रूपमा अगाडि आएकी छन् ।


सावित्राले चार खेलमा १२ गोल गरेसँगै मंगलबार एपीएफ क्लबले उपराष्ट्रपति १७ औं महिला राष्ट्रिय लिगको उपाधि रक्षा गर्‍यो । उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट फरवार्डको अवार्ड भने रौतहट जिल्ला फुटबल संघकी १६ वर्षीया रश्मिकुमारी घिसिङले हात पारिन् । हुन त उनले चार गोल मात्र गरेकी थिइन् । तर, ती गोल कति महत्त्वपूर्ण थियो भन्ने राष्ट्रिय लिगमा बनेको कीर्तिमानले नै सावित गर्छ । उनको ह्याट्रिकको सहयोगमा रौतहटले पहिलो खेलमा काठमाडौंलाई ४–० ले हराएको थियो । उनकै गोलमा रौतहटले पुलिसमाथि १–० को जित रच्यो र रौतहट राष्ट्रिय लिगमा विभागीय टिमलाई पहिलोपल्ट पारजित गर्ने इतिहास बनायो ।

Yamaha


‘१६–२४ वर्षका खेलाडीको हाम्रो टिमले विभागीय टोलीलाई पराजित गर्नु नै सबभन्दा ठूलो उपलब्धि हो,’ रौतहटका प्रशिक्षक नूरराज काफ्लेले भने, ‘यो टिमका कम्तीमा ४–५ खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने आशा छ ।’ उनको टिम यसपालिको लिगमा तेस्रो भयो । एपीएफ च्याम्पियन र आर्मी उपविजेता । यी दुईसँग भने रौतहट हारेको थियो । चपुकै खेलाडीको टिमले भरिएको मध्यमाञ्चलले तेस्रो प्रधान सेनापति कप २०७३ को सेमिफाइनलमा अञ्जना रानामगरले तीन पेनाल्टी रोकेपछि आयोजक आर्मीलाई पराजित गरेको थियो । उसलाई फाइनलमा भने एपीएफले हराएको थियो । त्यसर्थ चपुका खेलाडीको समूहले पराजित गर्न नसकेको एक्लो टिम एपीएफ रहेको छ ।


विभागीय टिमका खेलाडीहरूको जागिर नै यस्तो हुन्छ कि उनीहरूको मुख्य काम नै खेल्ने हो । र, उनीहरू सफलता हात पार्ने योजनामा नियमित प्रशिक्षण गर्छन् । यस्तो अवसर पुलिस, एपीएफ र आर्मीबाहिरका खेलाडीलाई हुँदैन । त्यसमाथि महिला फुटबललाई हाम्रो देशमा सम्भावना भएर पनि अलि हेपिएकै छ । खासै लगानी गरिंदैन । त्यसैले पनि एक गैरसरकारी संस्थाको सहयोगमा चपुमा भइरहेको प्रशिक्षणबाट आएका खेलाडीको टिम रौतहटले नेपाली महिला फुटबलमा तहल्का मच्चाइरहेको हो ।


चपुमै भएको छनोटको फाइनलमा कैलालीलाई हराएर रौतहटले लिग खेल्ने अवसर पाएको थियो । लिगमा रौतहटले कैलालीका तीन खेलाडीलाई पनि अवसर दियो । उसका बाँकी २० खेलाडी चपुकै हुन् । यो लिगमा उत्कृष्ट प्रदर्शन गरेकाले नै रश्मिसहित टिम रौतहटका नौ खेलाडी (मनीषा राउत, सपना राई, समीक्षा घिमिरे, रोजिना श्रेष्ठ, अस्मिता वैद्य, मेनुका आलेमगर र दिलकुमारी रानामगर) एएफसी यू १८ च्याम्पियनसिपको छनोट खेल्ने नोपली टिमको बन्द प्रशिक्षणमा छनोट भएका छन् । अर्को साता भुटानमा साफ यू १५ च्याम्पियनसिप खेल्ने नेपाली टिममा चपुका सात खेलाडी छन् ।


पछिल्लोपल्ट नेपाली राष्ट्रिय महिला टिमले खेलेको साफ च्याम्पियनसिप २०१६ मा चपुका आठ खेलाडी थिए । कप्तान रेनुका नगरकोटीसहित गोलकिपर अञ्जना रानामगर, नमिता दली, डिफेन्स पूनम जर्घामगर, अञ्चली वाइबा, मिडफिल्डर अञ्जली योञ्जन, सपना लामा र फरवार्ड सुधा थोकर सिलिगुढीमा सेमिफाइनल खेलेको नेपाली टिममा थिए । उमेर समूह र राष्ट्रिय टिममा मात्र होइन, घरेलु फुटबलमा राज गरिरहेका विभागीय टिममा पनि चपुकै खेलाडीको वर्चस्व छ । एपीएफका ११, आर्मीका नौ, पुलिसका दुई खेलाडी
चपुकै हुन् ।


चपु महिला फुटबलरको उर्वर भूमि कसरी बन्यो त ? प्रशिक्षक नूरराज काफ्ले भन्छन्, ‘शेरबहादुर (दर्लामी) गुरुले धरान जाँदा त्यहाँको महिला टिमले फुटबल खेलेको देख्नुभएको रहेछ । फर्केर उहाँले चपुमा पनि त्यस्तै राम्रो टिम बनाउनुपर्छ भनेर २०५८ सालमा ट्रेनिङ सुरु गर्नुभयो । त्यसैको निरन्तरताले नै चपु महिला फुटबलको केन्द्र बनेको हो ।’ दर्लामी २०७१ मंसिरमा बितेयता उनका भाइ चित्रकुमार मगर र काफ्लेले नियमित ५० भन्दा बढी महिला खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् ।


‘पहिला बा–आमाले हात–खुट्टा भाँचिन सक्छ भनेर नखेल्नू भन्थे । जबरजस्ती गएर खेल्न थाले । त्यसै फुटबल खेल्ने बानी पर्‍यो,’ १३ वर्षअघि तुलसीलाल अमात्य मैदानमा बलसँगको अभ्यास थालेकी मेनुका नगरकोटीले भनिन्, ‘अचेल खेल्न जाऊ, आफ्नो टिमलाई जिताउनुपर्छ भन्छन् ।’ दुई वर्ष एपीएफमा रहेर घर फर्केकी उनले २०७२ सालयता रौतहटको कप्तानी गर्दै आएकी छन् । उनकी बहिनी रेनुका राष्ट्रिय टिमकी प्लेमेकर हुन् । यी दिदी–बहिनीले एपीएफमा छँदा एकसाथ खेलेका थिए भने मेनुका घर फर्केयता एक–अर्काविरुद्ध दुईपल्ट खेलिसकेका छन् ।


प्रशिक्षक काफ्लेका अनुसार चपुमा नियमित अभ्यास गर्ने खेलाडीहरू १० देखि २४ वर्षका छन् । स्कुल जानेहरू साँझ र अरू बिहान २–२ घण्टा अभ्यास गर्छन् । ‘स्कुल जान नमान्नेलाई खेलाउँदैनौं । त्यसैले पनि छोरी फुटबल खेलेकोमा अभिभावक खुसी छन्,’ एएफसी सी लाइसेन्स कोर्स गरेका प्रशिक्षक काफ्लेले भने, ‘आर्थिक रूपमा निम्न वर्गका छोरीहरू धेरै आउँछन् । उनीहरूलाई फुटबल सिकाउन बा–आमा नै मैदानमा पुर्‍याउन आउँछन् । फुटबल खेलेरै चपुका धेरैले पुलिस, आर्मी र सशस्त्रमा जागिर पाएका छन् । छोरीले खेलेरै
जागिर खाइदिए हुन्थ्यो भन्ने अभिभावक चाहना गर्छन् ।’


अनु लामा, लक्ष्मी पौडेल, नमिता दली, सुधा थोकर, पुनम जर्घामगर, सपना लामा, रेनुका नगरकोटी र अञ्चली वाइबा चपुका पहिलो पुस्ताका खेलाडी हुन् । उनीहरूले नेपाललाई साफ वुमेन्स च्याम्पियनसिपको सुरुका तीन संस्करणमा फाइनल पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका थिए । दक्षिण एसियाली खेलकुद (साग) पनि दुईपल्ट रजत पदक जिते । गत वर्ष पाल्पा–स्याङ्जामा भएको २८ जिल्ला सहभागी प्रतियोगितामा रौतहट उपविजेता भएको थियो । कोकाकोला कप छात्रा फुटबलको पछिल्ला पाँच संस्करणको च्याम्पियन पनि चपुकै खेलाडी समावेश रौतहटका जनज्योति उमावि (३) र दुर्गा मावि (२) भएका थिए ।


दशकयता हातेमालो वनको मैदानमा अभ्यास गरिरहेका चपुका चेलीहरूलाई २०६२ सालदेखि प्लान इन्टरनेसनल नेपालले खेल सामग्री र प्रशिक्षकको तलब उपलब्ध गराइरहेको छ । ‘लैंगिक समानता र महिला सशक्तीकरणका लागि सहयोग गरिएको हो,’ प्लान इन्टरनेसनलका एरया म्यानेजर नेत्रप्रसाद उपाध्यायले भने, ‘केटीहरूको आत्मविश्वास, खेल कौशल र स्तरलाई प्रोत्साहन गरिरहेका छौं । खेलको माध्यमबाट महिलालाई सशक्त बनाउने यो एउटा तरिका हो । यसले विश्वास, अनुशासन र व्यावसायिकता ल्याउने सोच थियो र १३ वर्षयता हेर्दा त्यस्तै भइरहेको छ पनि ।’


यसपालि एसईईमा ३.२ जीपीए ल्याएकी रश्मिले कोकाकोला कप २०७३ को एउटै खेलमा १० गोल गरेकी थिइन् । उनले पाल्पा–स्याङ्जाको प्रतियोगितामा १० गोल गरेर उत्कृष्ट फरवार्डको अवार्ड जितेकी थिइन् । यसपालिको राष्ट्रिय लिगको छनोटमा सात गोल गरेकी उनलाई नेपाली महिला फुटबलमा सम्भावित स्टारको रूपमा हेरिएको छ । ‘राष्ट्रिय खेलाडी भएर देशमा नाम कमाउने सपना छ,’ साम्बा (सावित्रा) का समर्थक रश्मिले भनिन् । उनीसँगै चपुको अर्को पुस्ता पनि अगाडि बढिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि महिला फुटबलको पहिले एकेडेमी चपुमै सञ्चालन गर्ने घोषणा गरेको छ । यसको लागि उसलाई तीन करोड २० लाख रुपैयाँ फिफाले दिनेछ । त्यसले महिला फुटबलमा चपुको चमक अब घट्नेछैन ।
Twitter: @rghising

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

न बुझिन्छ, न बुझाइन्छ

समाज
म मैथिल समुदायमा हुर्के–बढेकी केटी । एकाबिहानै हजुरबुवाले गाउनुभएको ‘पराती’को मीठो लय कानमा पथ्र्यो । उत्सवहरूमा सोहर, समदाओन, डहकन, बटगवनी, महेशवाणी गाइन्छ । दसैंमा झिझिया सुनेँ तर यीमध्ये कुनै गीत पनि परीक्षामा लेख्न सकिनँ ।
शिल्पा कर्ण

काठमाडौँ — हामीकहाँ बुझेर पढिंदैन, केवल रटिन्छ मात्रै । समाज बुझाइ र सामाजिक शिक्षाका किताबहरू गफका शास्त्रझैं लाग्छन् । हामीकहाँ विद्यार्थीको बौद्धिकता र क्षमता मापन गरिने विज्ञान र गणितजस्ता विषय मात्रै पढाइन्छ । समाजशास्त्र कहींकतै हराइरहेको छ । यो समाज बुझ्ने र बुझाउने यहाँ न शिक्षक छन्, न प्राध्यापक ।

सोसल पढाउने टिचर किन यति बोरिङ हुन्छन् ?’ एसईई दिएर प्लस टु पढ्ने तयारीमा रहेकी बहिनीले एकाबिहानै प्रश्न गरिन् । सुरुमा हाँस उठ्यो प्रश्न सुनेर । ‘सोसल टिचर मात्रै ? हामीलाई त सबै टिचर बोरिङ लाग्थे,’ तुरुन्तै म जवाफी बनें ।


जवाफ त दिएँ । तर, उनको प्रश्नले केही बेर सोच्न बाध्य बनायो । अनि आफ्नै स्कुले जीवन सम्झेँ । विद्यार्थीका लागि अधिकांश शिक्षकका बारे समान धारणा वा ‘पूर्वाग्रह’ हुन सक्छ । जस्तो : गणित पढाउने शिक्षक जति (शिक्षिका होइन) छुच्चा हुन्छन् । सामाजिक र नेपाली पढाउने शिक्षकलाई केही आउँदैन । अंग्रेजी पढाउने शिक्षक निकै ट्यालेन्ट हुन्छन् (सरकारी स्कुलका हकमा) आदि–इत्यादि ।’


आफ्नो औपचारिक विद्यार्थी जीवन सम्झिनुपर्दा स्नातक पढ्दासम्म ४ वटा शैक्षिक संस्था पुग्नुपर्‍यो । सबै सरकारी वा सामुदायिक विद्यालय र कलेज थिए, पठनपाठन माध्यम नेपाली थियो । कक्षा ५ सम्म बाल मन्दिरमा पढेँ । एक जना गणितकी शिक्षिका थिइन्, राम्रै पढाउँथिन् । नढाँटी भन्दा केही छुच्ची पनि लाग्थिन् । विद्यालयमा सबै विषय पढाउने शिक्षिका मात्रै थिए ।


सायद ५ कक्षासम्मका विषय थिए— हाम्रो नेपाली, गणित, मेरो सेरोफेरो र अंग्रेजी । कक्षा ५ मा पढ्दा होला, नयाँ शैक्षिक विधिको प्रयोग गर्न थालिएको थियो । २/४ दिन खल्ती–खल्ती भएको सेतो कपडालाई ब्ल्याकबोर्डमाथि टाँगेर त्यसमा विभिन्न चित्र बनाइएका कार्ड राखिएका थिए । त्यसैलाई देखाएर पढाइयो, बाहिरबाट हेर्न आएका रमिते र अनुगमनकर्तालाई पनि देखाइयो ।


त्यसबेलाको प्राथमिक तह अर्थात् ५ कक्षा पढेपछि अर्को सरकारी विद्यालयमा भर्ना भएँ । त्यहाँ ‘विद्यार्थीको बौद्धिकता र क्षमता मापन गरिने विषय’ विज्ञान र गणित पढाउने शिक्षक पुरुष थिए । एक जना मिस अंग्रेजी पढाउनुहुन्थ्यो, मिस पनि साह्रै छुच्ची लाग्नुहुन्थ्यो, अंग्रेजीका शब्दार्थ कण्ठ गरिएन भने हत्केला रातै हुनेगरी छडीले पिट्नुहुन्थ्यो ।


कक्षा ८ अर्थात् त्यसबेलाको माध्यमिक तहमा पनि पढाउने धेरैजसो पुरुष थिए । सामाजिक शिक्षा र नेपाली पढाउने दुई जना शिक्षिका हुनुहुन्थ्यो । खै, किन आफू विद्यार्थी हुँदा पनि यी विषय पढाउने शिक्षिकालाई कहिल्यै ‘ट्यालेन्ट’ भन्न सकिएन । बुझ्न सक्दिनँ यी विषयका दोष थिए वा लिंगका, ती विषयमाथि भेदभाव थियो वा शिक्षकमाथि ।


यसरी अहिलेसम्म आफू वरपरको समाज अध्ययन गर्ने अवसर विद्यालय जान थालेदेखि नै सुरु भयो । अक्षर चिन्न थालेपछि किताबबाट समाज चिन्ने पहिलो पुस्तक थियो— मेरो/हाम्रो सेरोफेरो । त्यसका चित्रले आकर्षित गर्थे, आफ्नै वरपरका चित्र लाग्थे । पछि सामाजिक अध्ययन भन्ने विषयमा पनि समाज बुझाउन खोजिएको थियो । तर, मैले बुझिनँ, मलाई लाग्छ धेरैले बुझेनन् । कक्षा १० सम्म जति पनि सामाजिक शिक्षा पढियो, ती सबै परीक्षा उत्तीर्ण गर्नका लागि थिए ।


अहिले आफू बसेको समाज हेर्दा लाग्छ, मैले अझ समाज चिनेकै छैन । समाजशास्त्रको अध्ययन सहज छैन, निकै गहन छ । देश विदेशका छाडौं, आफ्नै देशका पनि हरेक समाजका हरेक पाटा बुझ्न सम्भव छैन । तर, विद्यार्थीको उमेर र कक्षाअनुसार पाठ्यक्रममा राखिएका ‘समाज’ पनि धेरैले बुझ्न सकेका छैनन् ।


परीक्षामा हरेक प्रश्नको एउटा निश्चित ‘प्याटर्न’ मा जवाफ लेख्थे, म मात्र होइन— मैले चिनेका मेरा साथी पनि । मानौं, त्यो गणित र विज्ञान हो जहाँ २ गुणा २ बराबर ४ हुन्छ अथवा दुई हाइड्रोजन र एक अक्सिजन मिल्दा पानी बन्छ । शिक्षकहरूले लेखाउने प्रश्नोत्तर उस्तै हुन्थे, सिर्जनशीलता, मौलिकता र विद्यार्थीको आफ्नो जवाफका लागि पटक्कै स्थान हुँदैनथ्यो ।
पाठ्यक्रम विकास केन्द्रले विद्यार्थीलाई समाज, सामाजिक मूल्य मान्यता, रीतिरिवाज, एकता र सद्भावसँग परिचित गराउन सिकाउने उद्देश्यले यो विषय र यसको पाठ्यक्रम ‘डिजाइन’ गरेको होला । तर, एउटा विद्यार्थीको नाताले मैले यी कुराहरू कहिल्यै बुझिनँ, अनुभव गर्न पाइनँ । सामाजिक शिक्षकले हाम्रो समाजलाई केवल किताबका केही घोकन्ते प्रश्नोत्तरमा सीमित गराइदिएझैं लाग्छ । जबकि यसले हाम्रो वरपरको समाजलाई किताबसँग जोड्नुपर्ने हो । सामाजिक विषय कुनै रट्ने किताब होइन, तिमीहरूकै वरपरको वातावरण, सेरोफेरो बुझ्ने विषय हो भनेर बुझाउन, पढाउन सक्नुपर्ने हो ।


अझ अहिले निजी र अंग्रेजी माध्यमका विद्यालयमा पढ्ने बहिनीलाई हेर्छु र दोधारमा पर्छु— पढेका हुन् कि रटेका हुन् ? पढाउने शिक्षकले आफूले लेखाएभन्दा एक शब्द यताउति भए कि नम्बर काट्ने रहेछन् । कोर्सभन्दा बाहेकका एउटै शब्द वा शब्दार्थ विद्यार्थीलाई थाहा पाउनै मुस्किल छ । प्रयोगात्मक क्रियाकलाप भनेर सामाजिक विषयमा पनि अभ्यास गराउन दिइएका हुँदा रहेछन् । तर, शिक्षकले गराउँदैनन् । न मैले गरेँ, न मेरा बहिनी र नयाँ पुस्ताका विद्यार्थीलाई गराइएको देख्छु । यसरी विद्यार्थी समाज बुझ्नबाट वञ्चित भइरहेझैं लाग्छ ।
कक्षा १० अर्थात् एसएलसी परीक्षाको बेला सम्झिन्छु । जतिखेरसम्म म सामाजिक शिक्षा भनेको ‘गफ दिने विषय’ भन्ने बुझ्थेँ । हामीलाई सामाजिक पढाउने शिक्षकले दिनहुँ कुनै किताब ल्याएर त्यसबाट लेखाउनुहुन्थ्यो । हामी पनि खुइँखुइँ साथ्र्यौं । घर गएर न सामाजिक शिक्षा किताब पल्टाइन्थ्यो, न अघि कक्षामा पाठ सारेको कपी पल्टिन्थ्यो । बरु गणित र विज्ञान पढ्थेँ, गृहकार्य गर्थें ।


एसएलसीमा आफ्नो समुदायमा गाइने गीत लेख्न प्रश्न आएको थियो, सायद १० अंकभारको । सातो गयो, कुन गीत लेख्ने । छेउको साथीले हातमा चिट थमायो । सार्ने धुनमा सारेँ— पछि हेर्दा त गेसपेपरको उक्त पानामा सुदूरपश्चिममा गाइने देउडा गीत सारेकी रहिछु । परीक्षा सकिएपछि थाहा भयो, म मात्र होइन कक्षाभरिका सबैले देउडा नै लेखेका रहेछन् । नेपालको पूर्वी जिल्लामध्येमा पर्ने स्थानमा कसरी देउडा गीत गाइन्छ होला, अहिले सम्झिँदा आफ्नो मूर्खता मात्र होइन, एकैसाथ शिक्षकको कमजोरी पनि देख्छु ।


म मैथिल समुदायमा हुर्के–बढेकी केटी । एकाबिहानै हजुरबुवाले गाउनुभएको ‘पराती’ (बिहानी भजन) को मीठो लय कानमा पथ्र्यो । महिनैपिच्छे पूजा हुन्थ्यो र ममी, काकी, हजुरआमा भगवती, धर्मराज र कुलदेवताको गीत गाउनुहुन्थ्यो । विवाह उत्सवहरूमा सोहर, समदाओन, डहकन, बटगवनी, महेशवाणी आदि गाइन्छ । दसैंमा झिझिया सुनेँ तर यीमध्ये कुनै गीत पनि परीक्षामा लेख्न सकिनँ अथवा पाइनँ । एक हिसाबले सही गरेजस्तो पनि लाग्छ, किनकि यदि मैले मैथिलीमा लेखेको भए कापी जाँच्नेले बुझ्थे कि बुझ्दैनथे अथवा अंक दिन्थे कि दिँदैनथे ?


अहिले मलाई लाग्छ त्यसबेला न म, न त मेरा शिक्षकले ‘सामाजिक विषय’ बुझ्न सकेका थिए । शिक्षकले बुझेका भए पो विद्यार्थीलाई बुझाउँथे । हामीलाई किताबभन्दा बाहिर हाम्रो संस्कृति र समाज कहिल्यै पढाइएन, न अभ्यास गराइयो । ‘आफ्नो समाजमा गाइने गीत भोलि सबैले कक्षामा सुनाउनुपर्छ है’ भनेर शिक्षकले भन्नुभएको भए सायद म घर गएर ममीसँग कुनै मैथिली गीत सिकेर आउनेथिएँ । तर सकिनँ, अहिले पनि गाउन सक्दिनँ । जबकि हाम्रो हरेक पूजा, व्रतबन्ध, सबैमा आवाजजस्तो भए पनि गीतको लय नबिगारी गाउनु अनिवार्य हुन्छ । तर, समाज नबुझेको हाम्रो पुस्ताले यसलाई कसरी निरन्तरता देला खै ?


हुन त सामाजिक विषयमै इतिहास, भूगोल, रहनसहन र संस्कृति सबै समेटिएका थिए । ती घोक्नैपर्ने थिए तर धेरै कुरा यस्ता पनि थिए जुन हामीले बुझ्नुपर्ने थियो । हामीेलाई पढाएको जस्तो नभई हाम्रै समाज बुझाएको जस्तो लाग्नुपर्ने थियो तर लागेन ।


समाजशास्त्र कर्मचारीले सहज विषय लिएर पास गरी बढुवाका लागि दाबी गर्ने मात्र विषय होइन । न त नामका लागि स्नातक वा स्नातकोत्तर पास गरेको छु भनेर देखाउने विषय हो । यो साह्रै गह्रौं विषय हो, अध्ययनको विषय हो, समाज विज्ञान हो, समाजको गणीत हुन्छ ।


गणित, विज्ञान, स्वास्थ्य तथा जनसंख्या शिक्षा, लेखा, अंग्रेजीजस्ता विषयगत शिक्षक आवश्यक भए शिक्षक सेवा आयोगमा लड्न सो विषय नै पढेको हुनुपर्छ । जबकि सामाजिक अध्ययन पढाउन समाजशास्त्र वा समाज विज्ञान विषय नै पढेको खोजिन्न ।


अहिले राजनीतिशास्त्रमा म पढ्दै छु, ‘मानिस एक राजनीतिक प्राणी हो ।’ तर त्यसभन्दा धेरै अघिदेखि पढेकी छु, ‘मानिस एक सामाजिक प्राणी हो ।’ राजनीतिक भने पनि अथवा सामाजिक भने पनि निश्चयै यो समाज परिवर्तनशील छ । तर, हरेक समाजका विशेषता छन्, तिनलाई कायम राख्न सामाजिक अध्ययन अनिवार्य छ । पर्याप्त प्रयोगात्मक क्रियाकलाप जरुरी छ, ताकि भविष्यमा कुनै विद्यार्थीले आफ्नै समाज र संस्कृतिबारे सोधिएको प्रश्नमा समेत गाइड वा गेसपेपर च्यात्नु नपरोस् ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT