१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चपु चमक

फुटबल
घरेलु महिला फुटबलमा विभागीय टिमले राज गरिरहेको छ । यसपालि राष्ट्रिय लिगमा पुलिसलाई हराएर रौतहट तेस्रो भयो । यही रौतहटको चन्द्रनिगाहपुर (चपु) महिला फुटबलको उर्वर भूमि हो ।
राजु घिसिङ

काठमाडौँ — चलनचल्तीको बोलीमै मात्र भए पनि ‘स्मार्ट’ जमानामा चन्द्रनिगाहपुरको नाम छोटयाइएको छ— चपु । पूर्व–पश्चिम लोकमार्गको नयाँ नगर चपु पहिला रात्रि बसमा लुटपाट भइरहने स्थानको रूपमा कुख्यात थियो । दुई दशकअघिसम्म रौतहटको तत्कालीन यस गाउँलाई रात्रि बसबाट छिचोल्नेहरू अहिले पनि चपु भनेपछि सतर्क हुन्छन् । त्यस बेलाको यो बदनाम स्थानको महिला टिम अहिले नेपाली फुटबलकै उर्वर भूमिको रूपमा प्रतिष्ठित बनेको छ ।

चपु चमक

राष्ट्रिय महिला टिमको कप्तानी गरिसकेकी अनु लामाले नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ३५ गोल गरेकी छन् । तर, उनको यो सफलता चपु छाडेयता हात लागेको हो । घुँडाको शल्यक्रिया गरेपछि गत साता मैदानमा फर्केकी उनको ‘गोल मेसिन’ फेरि उस्तै लयमा फर्किन अझै समय लाग्नसक्छ । ठीक यही समयमा लमजुङकी सावित्री भण्डारी नयाँ गोल मेसिनको रूपमा अगाडि आएकी छन् ।


सावित्राले चार खेलमा १२ गोल गरेसँगै मंगलबार एपीएफ क्लबले उपराष्ट्रपति १७ औं महिला राष्ट्रिय लिगको उपाधि रक्षा गर्‍यो । उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट फरवार्डको अवार्ड भने रौतहट जिल्ला फुटबल संघकी १६ वर्षीया रश्मिकुमारी घिसिङले हात पारिन् । हुन त उनले चार गोल मात्र गरेकी थिइन् । तर, ती गोल कति महत्त्वपूर्ण थियो भन्ने राष्ट्रिय लिगमा बनेको कीर्तिमानले नै सावित गर्छ । उनको ह्याट्रिकको सहयोगमा रौतहटले पहिलो खेलमा काठमाडौंलाई ४–० ले हराएको थियो । उनकै गोलमा रौतहटले पुलिसमाथि १–० को जित रच्यो र रौतहट राष्ट्रिय लिगमा विभागीय टिमलाई पहिलोपल्ट पारजित गर्ने इतिहास बनायो ।


‘१६–२४ वर्षका खेलाडीको हाम्रो टिमले विभागीय टोलीलाई पराजित गर्नु नै सबभन्दा ठूलो उपलब्धि हो,’ रौतहटका प्रशिक्षक नूरराज काफ्लेले भने, ‘यो टिमका कम्तीमा ४–५ खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने आशा छ ।’ उनको टिम यसपालिको लिगमा तेस्रो भयो । एपीएफ च्याम्पियन र आर्मी उपविजेता । यी दुईसँग भने रौतहट हारेको थियो । चपुकै खेलाडीको टिमले भरिएको मध्यमाञ्चलले तेस्रो प्रधान सेनापति कप २०७३ को सेमिफाइनलमा अञ्जना रानामगरले तीन पेनाल्टी रोकेपछि आयोजक आर्मीलाई पराजित गरेको थियो । उसलाई फाइनलमा भने एपीएफले हराएको थियो । त्यसर्थ चपुका खेलाडीको समूहले पराजित गर्न नसकेको एक्लो टिम एपीएफ रहेको छ ।


विभागीय टिमका खेलाडीहरूको जागिर नै यस्तो हुन्छ कि उनीहरूको मुख्य काम नै खेल्ने हो । र, उनीहरू सफलता हात पार्ने योजनामा नियमित प्रशिक्षण गर्छन् । यस्तो अवसर पुलिस, एपीएफ र आर्मीबाहिरका खेलाडीलाई हुँदैन । त्यसमाथि महिला फुटबललाई हाम्रो देशमा सम्भावना भएर पनि अलि हेपिएकै छ । खासै लगानी गरिंदैन । त्यसैले पनि एक गैरसरकारी संस्थाको सहयोगमा चपुमा भइरहेको प्रशिक्षणबाट आएका खेलाडीको टिम रौतहटले नेपाली महिला फुटबलमा तहल्का मच्चाइरहेको हो ।


चपुमै भएको छनोटको फाइनलमा कैलालीलाई हराएर रौतहटले लिग खेल्ने अवसर पाएको थियो । लिगमा रौतहटले कैलालीका तीन खेलाडीलाई पनि अवसर दियो । उसका बाँकी २० खेलाडी चपुकै हुन् । यो लिगमा उत्कृष्ट प्रदर्शन गरेकाले नै रश्मिसहित टिम रौतहटका नौ खेलाडी (मनीषा राउत, सपना राई, समीक्षा घिमिरे, रोजिना श्रेष्ठ, अस्मिता वैद्य, मेनुका आलेमगर र दिलकुमारी रानामगर) एएफसी यू १८ च्याम्पियनसिपको छनोट खेल्ने नोपली टिमको बन्द प्रशिक्षणमा छनोट भएका छन् । अर्को साता भुटानमा साफ यू १५ च्याम्पियनसिप खेल्ने नेपाली टिममा चपुका सात खेलाडी छन् ।


पछिल्लोपल्ट नेपाली राष्ट्रिय महिला टिमले खेलेको साफ च्याम्पियनसिप २०१६ मा चपुका आठ खेलाडी थिए । कप्तान रेनुका नगरकोटीसहित गोलकिपर अञ्जना रानामगर, नमिता दली, डिफेन्स पूनम जर्घामगर, अञ्चली वाइबा, मिडफिल्डर अञ्जली योञ्जन, सपना लामा र फरवार्ड सुधा थोकर सिलिगुढीमा सेमिफाइनल खेलेको नेपाली टिममा थिए । उमेर समूह र राष्ट्रिय टिममा मात्र होइन, घरेलु फुटबलमा राज गरिरहेका विभागीय टिममा पनि चपुकै खेलाडीको वर्चस्व छ । एपीएफका ११, आर्मीका नौ, पुलिसका दुई खेलाडी
चपुकै हुन् ।


चपु महिला फुटबलरको उर्वर भूमि कसरी बन्यो त ? प्रशिक्षक नूरराज काफ्ले भन्छन्, ‘शेरबहादुर (दर्लामी) गुरुले धरान जाँदा त्यहाँको महिला टिमले फुटबल खेलेको देख्नुभएको रहेछ । फर्केर उहाँले चपुमा पनि त्यस्तै राम्रो टिम बनाउनुपर्छ भनेर २०५८ सालमा ट्रेनिङ सुरु गर्नुभयो । त्यसैको निरन्तरताले नै चपु महिला फुटबलको केन्द्र बनेको हो ।’ दर्लामी २०७१ मंसिरमा बितेयता उनका भाइ चित्रकुमार मगर र काफ्लेले नियमित ५० भन्दा बढी महिला खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् ।


‘पहिला बा–आमाले हात–खुट्टा भाँचिन सक्छ भनेर नखेल्नू भन्थे । जबरजस्ती गएर खेल्न थाले । त्यसै फुटबल खेल्ने बानी पर्‍यो,’ १३ वर्षअघि तुलसीलाल अमात्य मैदानमा बलसँगको अभ्यास थालेकी मेनुका नगरकोटीले भनिन्, ‘अचेल खेल्न जाऊ, आफ्नो टिमलाई जिताउनुपर्छ भन्छन् ।’ दुई वर्ष एपीएफमा रहेर घर फर्केकी उनले २०७२ सालयता रौतहटको कप्तानी गर्दै आएकी छन् । उनकी बहिनी रेनुका राष्ट्रिय टिमकी प्लेमेकर हुन् । यी दिदी–बहिनीले एपीएफमा छँदा एकसाथ खेलेका थिए भने मेनुका घर फर्केयता एक–अर्काविरुद्ध दुईपल्ट खेलिसकेका छन् ।


प्रशिक्षक काफ्लेका अनुसार चपुमा नियमित अभ्यास गर्ने खेलाडीहरू १० देखि २४ वर्षका छन् । स्कुल जानेहरू साँझ र अरू बिहान २–२ घण्टा अभ्यास गर्छन् । ‘स्कुल जान नमान्नेलाई खेलाउँदैनौं । त्यसैले पनि छोरी फुटबल खेलेकोमा अभिभावक खुसी छन्,’ एएफसी सी लाइसेन्स कोर्स गरेका प्रशिक्षक काफ्लेले भने, ‘आर्थिक रूपमा निम्न वर्गका छोरीहरू धेरै आउँछन् । उनीहरूलाई फुटबल सिकाउन बा–आमा नै मैदानमा पुर्‍याउन आउँछन् । फुटबल खेलेरै चपुका धेरैले पुलिस, आर्मी र सशस्त्रमा जागिर पाएका छन् । छोरीले खेलेरै
जागिर खाइदिए हुन्थ्यो भन्ने अभिभावक चाहना गर्छन् ।’


अनु लामा, लक्ष्मी पौडेल, नमिता दली, सुधा थोकर, पुनम जर्घामगर, सपना लामा, रेनुका नगरकोटी र अञ्चली वाइबा चपुका पहिलो पुस्ताका खेलाडी हुन् । उनीहरूले नेपाललाई साफ वुमेन्स च्याम्पियनसिपको सुरुका तीन संस्करणमा फाइनल पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका थिए । दक्षिण एसियाली खेलकुद (साग) पनि दुईपल्ट रजत पदक जिते । गत वर्ष पाल्पा–स्याङ्जामा भएको २८ जिल्ला सहभागी प्रतियोगितामा रौतहट उपविजेता भएको थियो । कोकाकोला कप छात्रा फुटबलको पछिल्ला पाँच संस्करणको च्याम्पियन पनि चपुकै खेलाडी समावेश रौतहटका जनज्योति उमावि (३) र दुर्गा मावि (२) भएका थिए ।


दशकयता हातेमालो वनको मैदानमा अभ्यास गरिरहेका चपुका चेलीहरूलाई २०६२ सालदेखि प्लान इन्टरनेसनल नेपालले खेल सामग्री र प्रशिक्षकको तलब उपलब्ध गराइरहेको छ । ‘लैंगिक समानता र महिला सशक्तीकरणका लागि सहयोग गरिएको हो,’ प्लान इन्टरनेसनलका एरया म्यानेजर नेत्रप्रसाद उपाध्यायले भने, ‘केटीहरूको आत्मविश्वास, खेल कौशल र स्तरलाई प्रोत्साहन गरिरहेका छौं । खेलको माध्यमबाट महिलालाई सशक्त बनाउने यो एउटा तरिका हो । यसले विश्वास, अनुशासन र व्यावसायिकता ल्याउने सोच थियो र १३ वर्षयता हेर्दा त्यस्तै भइरहेको छ पनि ।’


यसपालि एसईईमा ३.२ जीपीए ल्याएकी रश्मिले कोकाकोला कप २०७३ को एउटै खेलमा १० गोल गरेकी थिइन् । उनले पाल्पा–स्याङ्जाको प्रतियोगितामा १० गोल गरेर उत्कृष्ट फरवार्डको अवार्ड जितेकी थिइन् । यसपालिको राष्ट्रिय लिगको छनोटमा सात गोल गरेकी उनलाई नेपाली महिला फुटबलमा सम्भावित स्टारको रूपमा हेरिएको छ । ‘राष्ट्रिय खेलाडी भएर देशमा नाम कमाउने सपना छ,’ साम्बा (सावित्रा) का समर्थक रश्मिले भनिन् । उनीसँगै चपुको अर्को पुस्ता पनि अगाडि बढिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि महिला फुटबलको पहिले एकेडेमी चपुमै सञ्चालन गर्ने घोषणा गरेको छ । यसको लागि उसलाई तीन करोड २० लाख रुपैयाँ फिफाले दिनेछ । त्यसले महिला फुटबलमा चपुको चमक अब घट्नेछैन ।
Twitter: @rghising

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?