१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

रंगीन दुनियाँका नायक

पात्र
हिमेश

काठमाडौँ — राजनीतिमा इमरानले धेरै उतारचढावपूर्ण यात्रा तय गरे, अनेक असफलतासहितको । त्यति बेला धेरै पाकिस्तानीलाई के लागेको थियो भने इमरान राजनीति गर्ने खालका मान्छे होइनन् । उनलाई सर्वत्र हाँसोको पात्र बनाइयो । तर, इमरानले हरेस भने खाएनन् । सुरुआती दिनका चुनावमा उनले हुनसम्म हन्डर खाए । निकै नमीठा हारहरू बहोरे तर कुनै पनि समय लडेर ढलेनन् ।

रंगीन दुनियाँका नायक

इमरान खानले दुई फरक मात्र होइन, ठ्याक्कै विपरीत व्यक्तित्व बनाए र उत्तिकै शानले व्यतीत पनि गरे । इमरान सुरुका दिनमा कस्ता थिए, उनले एकपल्ट लगाएको टी–सर्टमा लेखिएको वाक्यले पूरापूर बयान गर्छ । लन्डनको कुनै नाइट क्लबबाट बाहिर निस्केयता खिचिएको उनको तस्बिर खुबै चर्चित छ । त्यस तस्बिरमा देखिएको टी–सर्टमा लेखिएको थियो—‘बिग ब्वाइज प्ले एट नाइट ।’ उनी दिउँसो क्रिकेट खेल्थे, राति त्योभन्दा ठूलो खेलाडी भएर रंगीन दुनियाँमा कहींकतै हराउँथे ।


उनी साँच्चै कति ‘ह्यान्डसम’ थिए भने एक समय लन्डनका युवती इमरानको एक झल्को पाउन खुबै तड्पिन्थे । लन्डनको माथिल्लो वर्गमा उनको राम्रो घुलमिल थियो । उनी एक समय राजकुमारी डायनासँग देखिन्थे, अर्कोपटक मिक ज्याक र स्टिङजस्ता चर्चित गायकसँग । उनी बेलायतका टेबोलोइड पत्रपत्रिकाका लागि नियमित खुराक हुने गर्थे । सीधा स्पष्ट भाषामा भन्दा उनी ‘प्ले ब्वाई’ नै थिए, एक गज्जब आकर्षणका पात्र ।


लाहोरको धनाढ्य परिवारमा जन्मे–हुर्केका इमरानले इंग्ल्यान्डमा पढे, त्यो पनि अक्सफोर्डमा । भनिन्छ, पाकिस्तानी समाजलाई दुई वर्गमा विभाजन गर्न सकिन्छ । पहिलो वर्ग— गरिब र सडकमै हुर्के बढेको । दोस्रो वर्ग— निकै धनी र पश्चिमा पाराको रहनसहनमा बाँचेको । आफूलाई कोही बेलायती गोराभन्दा कम सोच्दैन थिए । उनीहरूको जीवनशैली साँच्चै अद्भुत हुन्थ्यो । इमरान खान दोस्रो वर्गका थिए । उनले त्यसलाई चर्कोे तरिकाले केही समय इंग्ल्यान्डमा बिताए ।


अक्सफोर्ड छँदै पनि उनी क्रिकेटमा उम्दा खेलाडी थिए, पाकिस्तानी क्रिकेट टिममा प्रवेश पाउन उनलाई गाह्रो भएन । १९ वर्षको उमेरमै उनले पाकिस्तानी क्रिकेट टिममा प्रवेश पाए, पछि कप्तान पनि भए । विश्व क्रिकेटले अहिलेसम्म पाएका केही खास अलराउन्डरमा उनी पनि गनिन्छन्— इयान बोथम र कपिल देव जत्तिकै । उनी जति राम्रोसँग ब्याटिङ गर्न सक्छन्, उत्तिकै राम्रोसँग बलिङ पनि गर्न सक्छन् । ब्याट र बल दुवैमा उत्तिकै राम्रो खेलाडी हत्तपत्त कहाँ पाइन्छ र ?


पाकिस्तानी क्रिकेटमा इमरानजत्तिकै हैसियत भएका खेलाडीमा पर्छन्— जावेद मियाँदाद । उनलाई नै उछिनेर इमरान कप्तान भएका थिए । उनीहरूको दोस्ती कहिल्यै जम्न सकेन । बरु झगडा मात्रै गरे । ठीक यहाँनिर त्यही वर्गको कुरा आउँछ । इमरानकै भाषामा ‘जावेद सडकमा हुर्के बढेका व्यक्ति हुन्, त्यसैले उनमा मिजास भन्ने केही चीज छैन ।’ उनको खेल्ने शैलीमा पनि ‘सडकछाप शैली’ पाइन्थ्यो । जावेद भने इमरानलाई ‘बाहिरीया’ भन्थे र, सक्दो तल्लो भाषा प्रयोग गरेर गाली पनि गर्थे ।


कप्तान भएयता त इमरानले एक्लैजस्तै पाकिस्तानी क्रिकेट चलाए । उनी आफूलाई मन पर्ने खेलाडीलाई टिममा राख्थे, नचाहनेलाई बाहिर फाल्थे । पाकिस्तानी क्रिकेट भन्नु नै इमरान भएको थियो । यस्तै–यस्तै तरिकाबीच पाकिस्तानले सन् १९९२ को वान–डे विश्वकप पनि जित्यो । पाकिस्तानका लागि क्रिकेट दोस्रो धर्म थियो, यस्तोमा इमरानको ख्याति र प्रतिष्ठा पाकिस्तानमा निकै उचालियो । त्यसमाथि इमरानले आफ्नी आमाको सम्झनामा क्यान्सर हस्पिटल बनाए, गरिबलाई सेवा गर्ने घोषणा गरेर । सन् १९९५ मा आएर इमरानले इंग्ल्यान्डका धनाढ्य गोलस्मिथ परिवारकी छोरी जेमिमासँग विवाह पनि गरे । यी जेमिमा सिनेमा बनाउने काम गर्थिन् । समाचारमा भने सधैं छाइरहन्थिन् । इमरानसँग विवाह गरेपछि यो जोडा अझ गज्जबको सावित भयो ।


लगभग यहाँ आएर इमरानको पहिलो व्यक्तित्व समाप्त हुन्छ । अब दोस्रो व्यक्तित्व सुरु हुन्छ— जुन वास्तवमै फरक मात्र थिएन, ठ्याक्कै विपरीत पनि । र, यो व्यक्तित्वलाई अझ कडा रूपमा तिखार्ने काम गरिरहेका छन् इमरानले । उनले आफू युवा छँदा जे जति गरे, ती सबै गलत हो भनेर अहिलेको युवालाई शिक्षा र पाठ पढाउने भए । बिस्तारै इमरानलाई राजनीतिको नशा पनि चढ्यो । उनले लगभग २२ वर्षअगाडि सन् १९९६ मा तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टी पनि गठन गरे ।


त्यसयता उनले धेरै उतारचढावपूर्ण यात्रा तय गरे, धेरै असफलतासहितको । त्यति बेला धेरै पाकिस्तानीलाई के लागेको थियो भने इमरान राजनीति गर्ने खालका मान्छे होइनन् । उनलाई सर्वत्र हाँसोको पात्र बनाइयो । कम्तीमा इमरानले हरेस भने खाएनन । सुरुआती दिनका चुनावमा उनले हुनसम्म हन्डर खाए । निकै नमीठा हारहरू बहोरे तर कुनै पनि समय
लडेर ढलेनन् ।


त्यसबीचमा उनले लिएका राजनीतिक अडान अनौठा छन् । विश्वास गर्न नसकिने खालेका छन् । इमरान आफैंले पनि आफूलाई बिस्तारै कडा मुसलमानका रूपमा देखाउन थाले । सेप्टेम्बर ११ को आतंककारी घटनायता त इमरानमा १ सय ८० डिग्रीको परिवर्तन आउन थाल्यो । उनी त्यति बेलादेखि अमेरिकाको चर्को विरोधी भएर निस्के । अमेरिका मात्र होइन, पूरा पश्चिमकै । उनको आरोप थियो— पश्चिमले इस्लाम र आतंकलाई एकै ठाउँमा राखेर एकै नजरले हेर्न थाल्यो ।


पकिस्तानमा परवेज मुसर्रफले ‘कु’ गरेर देश सेनाको हातमा लिंदा पनि इमरान त्यसकै समर्थक भए । त्यति बेला अमेरिकाले पाकिस्तानमाथि आरोप लगाएको थियो, आतंकवादविरुद्धको लडाइँमा साथ दिएन भनेर । तर, इमरानले यस मुद्दामा अमेरिकाकै विरोध गरे । हुँदाहुँदा उनी तालिवानको समर्थक भए र जसरी तालिवानले आफ्नै पाराले न्याय गर्थे, त्यसको पनि पक्षधर भए । पाकिस्तानकै कतिपय कानुन एकपक्षीय थिए, इमरान त्यसका पनि समर्थक निस्के ।


इमरानले त एकपल्ट मलाला युसुफलाई ‘सीआईएको एजेन्ट हो’ भनेर पनि ठोकुवा गरे । भलै, यी मलाला तिनै किशोरी हुन् जसलाई तालिवानले गोली प्रहार गरेको थियो । अहिलेको पाकिस्तानका अधिकांश मध्यम वर्ग अझ गरिब भएका छन्, देशको टाउकोमा रहेको ऋण अझ बढ्दो छ । पाकिस्तानी समाजमा घृणा र हिंसा उत्तिकै व्याप्त छ । जति पनि पाकिस्तानीले यस विषयमा दिक्दारी माने र यसपटकको चुनावमा इमरानलाई साथ दिए ।


यता इमरानले अंग्रेज पत्नी जेमिमालाई छाडेयता दुईपल्ट विवाह गरिसके । उनको दोस्रो श्रीमती थिइन्, पत्रकार रेहम खान । उनी निकै खुला स्वभाविककी थिइन् । उनीहरूको सम्बन्ध लामो समय टिकेन । दुवै एक वर्षभन्दा केही बढी मात्र सँगै रहे । इमरानलाई छाडेयता उनी आफ्ना पूर्वपतिका सबैभन्दा खरो आलोचक भएकी छन् । र, यसैमा केन्द्रित रहेर पुस्तक पनि लेखेकी छन् । इमरानको अहिलेकी पत्नी बुसरा भने कट्टर मुसलमान हुन् ।


यसैबीच, पाकिस्तानी राजनीतिका दुई ठूला पार्टी भने झन्–झन् कमजोर हुन थालेका थिए । वंशवादमा चलेका यी दुई पार्टी थिए— नवाज सरिफको पाकिस्तान मुस्लिम लिग र भुट्टो परिवारको पाकिस्तान पिपुल्स पार्टी । यी दुईले लामो समय पाकिस्तानको सत्ता कब्जा गरे तर दुवैले पाकिस्तानी जनतालाई खुसी राख्न सकेनन् । उल्टै दुवै भ्रष्टाचारमा लिप्त भए, त्यसको सरासर फाइदा अरू कसैलाई होइन, इमरानलाई राम्रैसँग प्राप्त भयो । यी सबैको नतिजा त हो— अहिले इमरानको पार्टी चुनावी नतिजामा सबैभन्दा ठूलो पार्टी भएको ।


त्यहाँको सबैभन्दा ठूलो पत्रिका ‘डन’ ले त अब इमरानबाहेक अरू कोही प्रधानमन्त्री हुन सक्दैन भनेर ठोकुवासमेत गरिसकेको छ । केही सानासाना पार्टीको समर्थनमा इमरान प्रधानमन्त्री हुनेछन् । केही स–साना पार्टी भने उनकै समर्थक भइसके । उनी आफैं पनि कतिसम्म ढुक्क छन् भने उनले घोषणा नै गरिसकेका छन्—‘म अब यसरी पाकिस्तान हाँक्नेछु, जुन असअघि कसैले गर्न सकेका थिएनन् ।’ इमरानले तयार पारेको उनको दोस्रो व्यक्तित्व यही हो ।


सबै कथा यहाँनिर भने सकिन्न । एउटा ठूलो प्रश्न अझै कायम छ र सबैले सोध्ने गरेका छन्— इमरानलाई सत्तासम्म पुर्‍याउने काम कसले गरेको हो त ?
यसको उत्तर सबैलाई थाहा छ, त्यो हो— पाकिस्तानी सेना । सेनाको सहयोगबिना पाकिस्तानमा केही पनि सम्भव छैन । विरोधीले त खुलमखुला आरोप नै लगाएको छ— सेनाले चुनावमा धाँधली गरेर इमरान र उनको पार्टीलाई जिताएको हो । खासमा इमरान त सेनाकै उम्मेदवार पो हो ।


यो तथ्य न त सेनाले स्विकारेको छ, न इमरानले । यस्तो स्विकारोक्ति आउने पनि छैन । सायद पाकिस्तानको अहिलेको राजनीतिको सार एउटा कार्टुनबाट खिच्न सकिन्छ । त्यसमा देखाइएको छ— क्रिजमा रहेका इमरानलाई आर्मीले सिकाइरहेको छ— क्रिकेट कसरी खेल्ने हो भनेर । अब पाकिस्तानको भविष्य धेरै हदसम्म इमरान र सेनाको सम्बन्धले नै तय गर्नेछ । क्रिकेटकै भाषामा भन्दा उनीहरू कस्तो साझेदारीमा चल्ने हुन्, त्यो हेर्नुपर्नेछ ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?