भूकम्प स्मृति–कथा

कान्तिपुर संवाददाता

काठमाडौँ — च्यासल फुटबल ग्राउन्डको सबैभन्दा तल्लो सिँढीमा बसेर कमिलाहरूको रमिता हेरिरहेथें । झन्डै एक बित्ता अग्लो दरबार थियो उनीहरूको । कति हतारमा दौडिएका हुन् कुन्नि, घरीघरी त बिसाउनु नि † हामी यो एउटा संसार भन्छौं तर यहाँभित्र अनेकौं संसार अटाएको हुँदो रहेछ ।

भूकम्प स्मृति–कथा

उपन्यासको सुरुआत यसरी हुन्छ । प्रगति राईको ‘बिर्सिएको मृत्यु’ उपन्यासले तीन वर्षअघि आएको भूकम्पको सेरोफेरो नेपाली साहित्यमा उभ्याएको छ । भूकम्पले घरपरिवार गुमाएको एउटा युवामा उत्पन्न मनोदशालाई उपन्यासमा उतारिएको छ । उपन्यासभित्र एकातिर अचानक एक्लिएको युवाको पीडाको पहाडलाई उत्खनन गरिएको छ भने अर्कातिर ती युवालाई बचाउने र सही गन्तव्य देखाउने सहयात्रीको कथा पनि छ । उपन्यासको प्लट सिन्धुपाल्चोक र काठमाडौं एयरपोर्ट नजिक सिनामंगलतिरको छ । त्यहाँ साँच्चै गोलो आकारको पीपलको रूख पनि छ । यसैको आसपासमा ‘कोसेली’ ब्रान्ड नाम दिएर एउटा टहरामा कथा घुमाइएको छ ।


पीडा, संघर्ष र चेतनाको संयोजनले उपन्यासलाई ‘टिपिकल’ बन्न सहयोग पुर्‍याएको छ । साहित्य कल्पना मात्र होइन यथार्थ र अनुभवको ‘फ्युजन’ पनि हो भन्ने कुरा लेखकले उपन्यासमा पुष्टि गरेकी छन् । उनी जीवनबारे यसरी लेख्छिन्, ‘सायद् अस्तित्वहरू टुक्रिएर अनेकन् आकार–प्रकारमा विभाजित हुनु नै जीवन होला ।’


आफ्नो अघिल्लो उपन्यास ‘लेखककी स्वास्नी’ मा खरो महिलावादी देखिए पनि ‘बिर्सिएको मृत्यु’ भने केही भिन्न लाग्छ । ‘आइमाईहरू सुन लाउन पाए बोकासँग पनि बिहा गर्छन्, सम्पत्तिवाल भेटे बूढाखाडा केही भन्दैनन्’ भनेर उपन्यासकार राईले भिन्न दृष्टि फ्याँकेकी छन् ।


शब्द–भाषा विन्यासका मामिलामा उपन्यासकार अलिक कमजोर देखिएकी छन् । कतिपय वाक्य विन्यास पढ्दा हाई आउने अवस्था उब्जन सक्छ । भाषा त्रुटिका हिसाबले पनि कृति कमजोर बन्न पुगेको छ । ‘उनी बोलिसकेर पनि मेरो प्रतिक्रिया थिईन’ (पृ.१०९) र ‘हिँड्नका लागि देहव्यापारीझैं चौबाटोहरू लमतन्न छन्’ (पृ.१३५) जस्ता वाक्यले के भन्न खोजेको हो, पाठकले भेउ पाउँदैन ।


उपन्यासले भूकम्प कथालाई लिएर सामाजिक सम्बन्धहरूलाई सुटुक्क सम्बोधन गरेको पाइन्छ । उपन्यासले जतिसुकै दु:खमा पनि आशाको त्यान्द्रो चुँडाउन हुन्न भन्ने सन्देश दिन भ्याएको छ ।
– सुन्दर शिरीष

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?