ह्यात्रुङ खसिरहेछ...

तस्बिर
निनाम कुलुङ ‘मंगले’

काठमाडौँ — मान्यज्ञानमा एउटा प्रश्न छ, ‘नेपालको अग्लो झरना कुन हो ?’ यसको जवाफ धेरैलाई थाहा छ । तर, जवाफमा आउने हयात्रुङ झरनाको थातथलोबारे भने थाहा छैन । तेह्रथुम जिल्लाको साविक सम्दु र इसिबु गाविस (हाल फेदाप गाउँपालिका ४ र ५ ) सीमामा यो झरना पर्छ ।

ह्यात्रुङ खसिरहेछ...

हयात्रुङ झरनालाई स्थानीय लिम्बु आदिवासीले ‘हात्ती–लेङे’ भनी पुकार्छन् भने पूरै खोलाको नामचाहिँ ‘हिंवा खोला’ हो । तर, पर्यटक–आगन्तुकले भने ‘हयात्रुङ’ भनेरै चिन्छन् ।


जनश्रुतिअनुसार, राणा शासनकालमा सरकारी कर्मचारी धनकुटा हुँदै ओलाङचुङगोलासम्म भोटको कर उठाउन आवतजावत गर्थे । त्यस क्रममा हात्ती लिएर मेयोङलुङ, (म्याङलुङ) हुँदै जलजले, सिम्ले, इसिबु, सम्दु, संगपु, खाम्लालुङ, हाङ्पाङ, चाँगे, तम्बरखोला हुँदै ओहोर–दोहोर चल्थ्यो । त्यही क्रममा साविक सम्दु–६ र ७ को सीमामा गोदाम राख्ने चलन थियो । अहिले पनि हात्ती बाँध्ने गरेको ढुंगाको ठूलो र अग्लो किलो (खाँबो) देख्न सकिन्छ । यो ठाउँलाई अझसम्म पनि ‘गोदाम’ भन्ने गरिन्छ ।


कथनअनुसार, यसरी आउने–जाने क्रममा एक दिन ‘हिंवाखोला’ बाट चिप्लिएर एउटा हात्ती मर्‍यो । ‘त्यो बेलादेखि उक्त झरनाको नाम लिम्बु भाषामा ‘हात्ती लडयो’ भन्ने अर्थमा हात्तीलेङे नाम रहन गयो,’ फेदाप गाउँपालिकाका प्रमुख हरि चोङ्बाङ अथ्र्याउँछन् ।


नेपालकै अग्लो (तीन सय ६५ मिटर) ‘हयात्रुङ झरना’ को महत्त्व निकै भए पनि भगौलिक दूरी, विकटता र प्रचारप्रसार कमीले गर्दा यो पूरै ओझेलमा छ । पछिल्लो समय कच्ची सडकको पहँुच पुगेको हुनाले छिमेकी जिल्लाहरूबाट आन्तरिक पर्यटक हयात्रुङ झरनाको रमित हेर्न आइपुग्छन् । तर, हयात्रुङ झरनाको आसपास कुनै होटल, चियापसल, बस्ने ठाउँ केही नभएको कठिनाइको अवस्था पनि छँदैछ ।


विशेषत: भदौ–असोज–कात्तिक महिनामा आकर्षक र स्पष्ट बहाव देख्न सकिने झरनालाई ध्यानमा राखेर ‘हयात्रुङ झरना महोत्सव’ आयोजना गर्ने योजना पनि अहिले अघि बढेको छ । आन्तरिक मात्रै नभएर विदेशी पर्यटकलाई पनि हयात्रुङ झरनाको अवलोकन गराउन वसन्तपुर, तीनजुरे, मिल्के, जलजले, मंगलबारे, गुफापोखरी, मेन्छयाम ढाप (तरुनी गुफा) मजुवा, सेखिम्बा, हयात्रुङ झरना (सम्दु) आठराई (संक्रान्ति बजार) सम्मको पदयात्रा मार्ग (बढीमा १३ दिनको) खोल्न सकिन्छ । यहाँबाट विश्वकै अग्लो हिमाल कञ्चनजंघा (सेवालुङ), कुम्भकर्ण (फक्तालुङ) लगायत कैयौं अन्य हिमाल पनि राम्रोसंँग देख्न सकिन्छ । खामलालुङ हुँदै आठराई जाने बाटोमा ‘ली: ढुंगा’ भन्ने ठूलो ढुंगो छ । कथनअनुसार महिला र पुरुषले उक्त ढुंगोलाई जसले पिसाब गरेर वारपार गराउन सक्छ, उसले बाजी जित्ने भनी प्रतिस्पर्धा गर्दा महिलाले जितेको किंवदन्ती पनि यहाँ प्रचलित छ ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?