साधुटार सेरोफेरो

पर्यटन
नारायण तुम्बापो

काठमाडौँ — कुम्भकर्ण हिमालसंँग जोडिएजत्तिकै चिटिक्कको पोखरी छ । पोखरीमा कञ्चनजंघा पहाडी चुचुराको स्पष्ट छाया देखिन्छ । पाँचथरको फिदिम–८, साधुटार प्रकृतिको रोमान्स थलो पो हो कि झैं देखिन्छ ।

हिउँदको खुला मौसममा हिमाल आमनेसामने हुन्छ । आँखैअघि गुराँस, बुकी, सुनाखरीको सौन्दर्य देखिन्छ । धुपी–सल्ला सुसाएको सुन्छि । बुर्कुसी मारौं कि जस्तो हुने घाँसेचउर छ । साधुटार मात्रै होइन, साधुटार सेरोफेरो नै यस्तै छ— मनमोहक, आनन्दमयी ।


साधुटारमा केही बर्ष अघिसम्म पनि यस्तो रौनक थिएन । संयोगले पाइप फुटेर जमेको पानी र आकाशे पानी थपिंदैं गएर बनेको पोखरी यति चित्ताकर्षक बन्यो, यो आसपासका हिमालको प्रतिच्छाया हेर्ने ऐनाझैं बनिदियो । अहिले पाँचथरका फिदिम वा राँके पुग्ने जोकोही पनि साधुटारको रमित हेर्न पुगिहाल्छन् । त्यहाँ पोखरीमा खेलिरहेका राजहाँस र वरपर रमिरहेका तरुन–तन्नेरीको भीड साँच्चिकै मोहक देखिन्छ ।

Yamaha


साधुटार नजिकै पूर्वतिर सुकेटार, दक्षिणमा पौवाभञ्ज्याङ र सिलौटी बसेका छन्— मिलेका दाजुभाइझैं । दक्षिण पश्चिममा छ लव्रेकुटी । हिउँ पर्दा पौवाभञ्ज्याङ, सिलौटी, लव्रेकुटी, सुकेपोखरी, साधुटारको सबै छेउभित्ता सेताम्मे देखिन्छ । हिउँ सिजनमा तरुन–तन्नेरीहरू बरफ होली खेल्न साधुटार सेरोफेरोमा आइपुग्ने गरेका छन् ।


सिलौटी राष्ट्रिय विभूति किरात धर्म प्रवर्तक महागुरु फाल्गुनन्दको समाधिस्थल हो भने लव्रेकुटी ‘तपोभूमि’ । दुई अलग टापु हुन्— लव्रे र सिलौटी । यी दुब प्रकृतिले बनाएको भ्यू–टावर हो कि झैं लाग्छ । साधुटार सेरोफेरोमा राँके बजार, इथुङ, रानीटार, कान्छी दोकान, लालीखर्क पनि उत्तिकै सुन्दर बस्ती छन् ।


मेचीमार्ग हँुदै झापाबाट बस चढ्दा होस् या ताप्लेजुङबाट तल झर्दा— पाँचथरको पौवाभञ्ज्याङ, कान्छी दोकान ओर्लिएर साधुटार सेरोफेरो घुम्न सकिन्छ । समुद्र सतहदेखि २५ सय मिटर उचाइमा साधुटार सेरोफेरो पर्छ । साधुटार हिउँदमा हिउँ खेल्ने र गर्मी सिजनमा सिरसिरे सिरेटोमा रम्ने गन्तव्य बनेको छ । यहाँ स्थानीय उत्पादन भुटेको मकै, बान्टे कटुस र लेकाली टिमुरको अचारसँग उसिनेको लोकल आलु खान पाइन्छ । दूधजन्य दही, मोही, घिउ, छुर्पी, ललिपप र स्याउ, किवी पनि किनी खान पाइन्छ । बसोबासका लागि होमस्टे सुविधा छ । यसरी प्रदेश–१ को साधुटार सेराफेरो चम्कँदो छ, अन्तु डाँडोजस्तै ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

‘म्युजिक भनेको गानाबजाना मात्रै होइन’

कुराकानी
कान्तिपुर संवाददाता

काठमाडौँ — क्लासिकल गिटारवादनमा नाम कमाएका किशोर गुरूङ नेपाली लोकसंगीत विधाका समेत स्थापित अध्येता हुन् । उनले गुरूङ जातिको घाटु संस्कृतिमाथि अमेरिकाको हवाई विश्वविद्यालयबाट शोध गरेका छन् । उनको शोध पुस्तक ‘घाटु : अ न्यारेटिभ रिच्युवल म्युजिक ट्रेडिसन एज अब्जर्ड बाई द गुरूङ्ज अफ नेपाल’ विश्वसंगीतको शब्दकोश मानिने ‘गारालान्ड इन्साइक्लोपेडिया’ मा समेटिएको छ ।

उनले तयार पारेको ‘संगीतको आवश्यक शब्दकोश’ पनि नेपालीपछि अंग्रेजी संस्करणमा प्रकाशित हुने क्रममा छ । गुरूङले ‘इथ्नोम्युजिकोलोजी’ विषयमा जर्मनीको हाइडलवर्ग युनिभर्सिटी, अमेरिकाको सेन्ट लरेन्स युनिभर्सिटीलगायतमा विद्वत् प्रवचन दिएका छन् ।


किशोर एक दशकयता ‘फोकल डिस्टोनिया’ रोगको सिकार भएका छन् । यो नसासम्बन्धी रोग हो, प्राय:जसो म्युजिसियनलाई हुने । एकोहोरो वा एकोहोरिएर काम गर्ने अवस्थामा मस्तिष्कले त्यो एकोहोरोपनालाई ‘रिजेक्ट’ गरेको अवस्थामा यो रोग लाग्न सक्छ । किशोरका हकमा भने बाजा बजाउँदा चलाउने औंलाको नसामा पर्ने असरले बाजा बजाउनै नसकिने अवस्था आएको थियो, यो एउटा महारोग हो— म्युजिसियनका लागि । जस्तो, किशोरलाई हिजोआज ठूलो गिटार बजाउन मुस्किल पर्छ । आफू साथमा मिनी–गिटार (स्वनिर्मित) राखेका छन् । दुई वर्षअघि मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ का भरमा अहिले किशोरको जीवन चलिरहेको छ । आफूले पढिरहेका पुस्तक, संगीतको ट्रेन्ड र बुझाइका बारे किशोर भन्छन्–


हामीकहाँ अचम्म के छ भने यहाँ म्युजिक खासै जान्नु पर्दैन । खासमा म्युजिक कम्पोजर भनेको औपचारिक ज्ञान भएको, म्युजिक लेख्न वा अन्य जानकारी भएको भन्ने हुनैपर्छ । बाहिरी विश्व र अन्तर्राष्ट्रिय रूपमा ‘सङ राइटिङ’ भनिन्छ, कम्पोजर भनिंदैन । हामीकहाँ के सङ–राइटर, के कम्पोजर जस्तो अनुभूति हुन्छ कहिलेकाहीं ? यता जसले गीत बनायो, उसले एरेन्ज गर्न नसक्ने भएकाले अर्को व्यक्तिको सहयोग लिइएको अवस्था छ, रहन्छ । त्यही कारणले गर्दा ‘एरेन्जमेन्ट’ एकै किसिमको जस्तो हुने गरेको हो । एरेन्जमेन्टमा कुनै नौलोपना देखिन्न, सुनिन्न । थोरबहुत संगीत विधामा ‘टेक्निकल’ क्षेत्रको स्तरोन्नति भए पनि एरेन्जमेन्ट, गीतको शब्द पक्ष निकै कमजोर (वर्ड–प्ले मात्रै) भएर गएको म देख्छु । सबैले देख्ने र बुझ्ने गरी भनौं न, हामीकहाँ नारायणगोपालपछिको ‘ग्याप’ खोइ पुरियो र ? रिक्तता उस्तै छ ।


म्युजिक भनेको गानाबजाना र मनोरञ्जन मात्रै होइन, यो प्राज्ञिक र बौद्धिक कुरासमेत हो । हामीकहाँ म्युजिक मन पराउनु भनेको धुन मन पराउनु र शब्दमा तानिनुजस्तो मात्रै भएको छ । तर, यो सही होइन । विशुद्ध संगीतले अझ गहिरिएर संगीत बुझ्न र हेर्न सिकाउँछ, झन्डै संगीतमा प्राविधिक विषयको पनि जानकार गराउँछ । ‘इन्स्ट्रुमेन्टल म्युजिक’ मा विशेष गहिराइ हुन्छ संगीतको, बुझाइ र शिल्पीको । अर्कातिर, लोकसंगीतको व्याख्या, दायरा र क्षेत्र एकदमै व्यापक छ । यो नेपालमा मात्रै होइन, विश्वमै छरिएको विषय हो । अंग्रेजीमा ‘इथ्नोम्युजिकोलोजी’ भनिए पनि नेपालीमा यो शब्दको ठेट अर्थ र सटीक व्याख्या पाउनै मुस्किल छ । आजको पश्चिमा दुनियाँले लोकसंगीतलाई ‘विश्व संगीत’ भन्न थालेको छ । ‘इथ्नोम्युजिक’ लाई बुझाउन शब्द र अर्थको अभाव भएर पनि हुन सक्छ ।


हिजोआज हामीकहाँ संगीत विषयको औपचारिक पढाइ र सोधीखोजी खुबै हुन थालेको छ । संगीतमा प्रयुक्त हुने पढाइ र बुझाइका अधिकांश शब्दहरू नेपालीमा पाउनै मुस्किल छ । पश्चिमा जगत्मा पनि इटालियन भाषा र शब्दावलीबाट जन्मेका ‘टर्मिनोलोजी’ लाई संगीतको शब्दकोशमा प्रयोग गरिएको छ । विश्वभर नै इटालियन शब्दार्थलाई संगीतको साझा भाषा मान्ने गरिन्छ । जर्मनी, कोरिया, जापान सबैतिर यही (इटालियन) समानअर्थी टर्मिनोलोजी प्रयोग गर्छन् ।


बाजागाजा र परम्परागत संगीतको कुरा गर्दा नेपालमा पनि विशेषगरी नेवारी समुदाय भने निकै समृद्ध छ । उनीहरूले प्रयोग गर्ने बाजाहरू जस्तो : तियान्च (सारंगीजस्तै), खि, धिमे, पोंगा निकै मौलिक छन् । जस्तो रेट्ने बाजामा उर्मी (धिमाल जातिको) मात्रै मौलिक देखिन्छ । अर्कातिर, झाझर, ढोलकजस्ता बाजाहरू दक्षिण एसियाभर नै उपयोग हुन्छ । यसमा पनि लोकसंगीतको सिद्धान्तले ‘डिफ्युजनिस्ट’ (विनिर्माणजस्तै) सिद्धान्तलाई खुबै मान्ने गरेको छ जहाँ जातजाति र समुदाय एक थलोबाट अर्कोमा बसाइसराइ गर्दा बाजागाजा (वाद्यवादन) पनि सरेको हुन्छ । जस्तो पश्चिमा विद्वान् (ब्रिटिस अध्येता केरोल टिंगी) ले नौमती बाजामा एउटा अध्ययन गरेर किताब निकालेकी छन् जहाँ नौमतीलाई भारतबाट आयातित बाजा भनिएको छ । सारंगी पनि त्यस्तै हो । नगरा, टेम्को, कर्नाल, नर्सिङ आदि भारतबाट आएको हो भनिएको छ । यो त ‘हार्डवेयर’ कुरा हो, बरु हामी ‘सफ्टवेयर’ कुरा गरौं न ।
यो बाजा बजाउने तरिका, शैली र शिल्पी भनेको सफ्टवेयर हो । यो हाम्रोमा अलग छ, अरूतिर निकै भिन्न । हाम्रो अलग पहिचान र विशेषता पनि यही हो । सिद्धान्तत: सांगीतिक ‘डिटेल्स’ भनेको प्राविधिक कुरा हो, त्यही भएर यहाँ धेरैलाई मतलब छैन । यहाँ यतिसम्म छ कि यहाँ स्वयम् संगीतकारले पनि ‘टेक्निकल डिटेल’ बुझ्न नचाहेको वा नखोजेको स्थिति छ ।


जस्तो आफ्नोपनाको शब्द ‘क्वाइन’ गर्ने कुरामा आफ्नै नेपाली गीत–संगीतमा जोडिएका भावार्थलाई उपयोग किन नगर्ने भनेर मैले शब्दकोश (संगीतको आवश्यक शब्दकोश) मा त्यस्तै प्रयोग गर्न चाहेको छु । यो कोश तयार गर्ने क्रममा संगीतमा प्रयुक्त नेपाली शब्दको खोजी नै आफैंमा मुस्किलको काम भयो । जस्तो : लोकनृत्यमा प्रयोग गरिने शब्दमा ‘अल्ला सिसिलिआना’ भनेको इटालीको सिसिली प्रान्तमा सुन्न र देख्न सकिने लोकनृत्य शैली हो । यस्तै, स्कटल्यान्डको शैलीलाई ‘अल्ला स्कुज्जेसी’ भनिन्छ, भेनेसियाको शैलीलाई ‘अल्ला भेनेसियाना’ भनिन्छ । अब हाम्रो चुड्के गीतको शैलीलाई नामकरण किन नगर्ने (?) भनेर मैले शब्दकोशमा ‘अल्ला चुड्के’ नाम दिएको छु । मैले ‘अल्ला तामाङ सेलो’ नाम पनि दिएको छु ।

(किशोरले आफैं बनाएको १० इन्च लम्बाइ र ५ इन्च चौडाइको मिनी–गितार)


अहिले मैले १६ जना विद्यार्थीलाई कलेज लेभलकै भर्सनमा म्युजिक सिकाइरहेको छु । यो झन्डै ४ वर्षे कोर्स हो । कक्षामा एउटा मुख्य बाजाबाहेक गायन, नोटेसन, इतिहास, प्राविधिक पक्ष, अर्केस्ट्रेसन सबै सिकाउँछु । म्युजिक सिद्धान्त सिक्न सबै कुरा जान्नैपर्छ । बाजा पनि ‘मोनोफोनिक’ र ‘पोलिफोनिक’ हुन्छ । एउटा बाजाबाट एकचोटिमा एकभन्दा बढी आवाज निस्कने अवस्था ‘पोलिफोनी’ मा हुन्छ, फेरि गायन भनेको ‘मोनोफोनी’ हो । बाँसुरी, सेक्सोफोन ‘मोनोफोनिक’ हो । गिटार, पियानो र हारमुनियम ‘पोलिफोनिक’ हो ।


समग्रमा हेर्ने हो भने हाम्रो संगीत क्षेत्र निराशाजनक छ, अरू क्षेत्र हेरीकन सांगीतिक विकासको गति उत्साहजनक छैन । सामान्य कुरा सम्झनुस् न— सिम्फोनी अर्केस्ट्रालाई कसले सहयोग गर्ने यहाँ ? बीबीसीको जस्तै हाम्रो रेडियो नेपालको अर्केस्ट्रा किन हुन सक्दैन ? किनभने यहाँ सोचाइ नै छैन । म एउटा उदाहरणमा भन्छु— म सरकारी छात्रवृत्तिमा छानिएर (सन् १९९२) अमेरिका पढ्न गएको थिएँ जहाँ शिक्षा मन्त्रालय, योजना आयोगका प्रतिनिधिसमेत छनोट समितिमा थिए । मसँगै अमेरिका पढ्न गएकाहरू बंगलादेश, मलेसियाका पनि थिए । उनीहरू पढाइ सकेर फिर्नेबित्तिकै सरकारी प्रबन्धमा जागिरे भइसकेका थिए । हामीकहाँ भने म पढेर फर्किएँ तर न सोधपुछ छ अथवा न ‘तँ के गरिखान्छस्’ भनेर चासो राखिएको छ । हाम्रो समग्र सिकाइ, बुझाइ र पद्धति नै ‘कृतघ्न’ हो कि जस्तो लाग्छ ।


म अहिले ‘डस्ट’ भन्ने पुस्तक पढ्दै छु, एक फ्रेन्च वैज्ञानिकको । सुरुमा पृथ्वीमा कीटाणु उत्पन्न हुनै पनि धूलो चाहियो, त्यही कीटाणुबाट मानव जीवन उत्पन्न भएको हो भन्ने तर्क छ यसमा । नेपालीमा भने दोहोर्‍याएर शंकर लामिछाने पढ्दै छु— गोधूलि संसार । मेरा विद्यार्थीलाई पनि यो पढाउँदै छु । मेरो सिरानीमै हुने अरू किताब हुन्— बाबुराम आचार्यको ‘नेपालको संक्षिप्त वृत्तान्त’, डा.तारानाथ शर्माको ‘नेपाली साहित्यको ऐतिहासिक परिचय’ आदि । पछिल्ला दिनमा भने चिनियाँ पियानोवादक एवं लेखक लेङलेङको आत्मकथा (जर्नी अफ अ थाउजेन्ड माइल्स : माई स्टोरी) पढ्दै छु ।


एकैसाथ बाबा (अम्बर गुरुङ) का केही कम्पोजिसनहरू रेकर्ड गर्दै छु । जस्तो— यो लटमा बैरागी काइँलाको ‘खोजिरहेछु निस्तार प्यार’ र ईश्वर वल्लभको ‘मलाई भाँचिदे, मलाई मारिदे’ जस्ता गीतहरू परेका छन् । बाबाका १ सयभन्दा बढी गीतहरू रेकर्डमा छैनन्, त्यसलाई रेकर्ड गर्ने योजना छ मेरो ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT