कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कि त जोत हलो...

योगदान
भीमदत्त स्मृति दिवस
लालबहादुर ऐरी

काठमाडौँ — तरुण उमेरमै भीमदत्त पन्तले परिवर्तन र फेरबदलका अनेक सूत्र पहिल्याए । २६ वर्षे उमेरमै ज्यान गुमाएका यी अल्लारेको नामै काफी थियो— साहुमहाजन र थिचोमिचोमा रमाएकालाई ठेगानमा ल्याउन । डडेल्धुरा, डोटी, बझाङ, बैतडीका गाउँगाउँमा पुगेर उनी भन्थे, ‘गरिबका नाममा बनेका तमसुकहरू सबैले जलाइदिनू, नजलाया राम्रो हुन्या छैन ।’

कि त जोत हलो...

कि त जोत हलो

कि त छोड थलो
यदि हैन भन्या,
अब हुन्या छैन भलो ।
नारा यही थियो । जहाँ पी पन्त अर्थात् भीमदत्त पन्त र सहयोगी जान्थे साहु, सामन्त र जाली फटाहको भगाभाग । गाउँमा शोषण गर्दै आएका साहुमहाजन घरबाट भाग्थे । भीमदत्त फर्किएको खबर थाहा पाएपछि मात्रै उनीहरूको मन शान्त हुन्थ्यो र गाउँ फर्कन्थे । गरिब निमुखामा भने खुसियाली छाउँथ्यो । भीमदत्तको नामै काफी थियो— दीनदु:खीका लागि ।
***

धनगढीमा भारतीय सेनासँग भिडन्तपछि केही सहयोगीसहित भीमदत्त बुढर पुगे । डोटी–डडेल्धुराको सीमा ल्वालेकमा भावी योजना बनाउँदै थिए उनी । डडेल्धुरा पठाएका सहयोगी मोहसिंह सेटी पक्राउ परे । उनैमार्फत सरकारलाई सबै सूचना प्राप्त भयो । सरकारले भीमदत्तको टाउकाको मूल्य तोक्यो, ‘जिउँदै वा मारेर ल्याउनेलाई ५० हजार रुपैयाँ!’
भीमदत्त भने रातमा एक हितैषी हमजाली मगरको घरमा र दिनमा जंगलमा बसिरहेका हुन्थे । भीमदत्तकै मित लालबहादुर थापाको नेतृत्वमा सिपाही टोली बुढर पुग्यो । गाउँलेलाई लालबहादुरले भीमदत्तलाई बचाउन आएको भनेर छल गरे र सक्दो सूचना संकलन गरे । साउन १७ गते राति हमजालीकै घरमा खाना खाइरहेका भीमदत्तमाथि सिपाहीको गोली चल्यो । घाइते अवस्थामा आँगनमा निकालियो र सिपाही भिम्वा दियालले खुकुरीले उनको टाउको छिनाले ।


२०१० साउन १७ गते । २६ वर्ष ८ महिना ७ दिनको उमेरमा मारिएका पन्तको टाउको डडेल्धुरा सदरमुकाम ल्याइयो । बाँसको टुप्पोमा टाउको गाडेर बजार परिक्रमा गराइयो । परिवारलाई काजकिरियासमेत गर्न दिइएन, सक्दो प्रताडना दिइयो । अरू कसैले क्रान्ति गर्ने आँट नगरून् भन्ने निहितार्थ त्यसमा थियो ।


भीमदत्तले शोषण, अत्याचार, थिचोमिचोविरुद्ध उठाएका मुद्दा अहिले पनि समाज रूपान्तरणका मूल बुँदा हुन् । उनले त्यही बेला भनेका थिए, ‘म अहिले जे भन्दै छु, पछि त्यही हुन्छ ।’ हुन पनि यसै नाममा धेरैले राजनीति गरे, व्यवस्थाहरू पनि परिर्वतन भए । तर, सवाल र मुद्दाहरू उस्तै छन् । आज पनि पश्चिमा गाउँपाखाले ‘कि त जोत हलो...’ बिर्सेका छैनन् ।
१५ वर्षे उमेरमा भारतको सिंहाई (उत्तराखण्ड) बाट म्याट्रिक पास गरेर भीमदत्त विसं १९९८ मा घर फर्किए । विवाह यसअघि नै भइसकेको थियो । घर फर्केको केही दिनमै उनका बुवाको निधन भयो र काजकिरिया सक्नासाथै भीमदत्तले सामाजिक अन्यायविरुद्ध लड्ने विचार लिइहाले । बुवाको निधनपछि अंशबन्डाका क्रममा ऋणको पनि अंश लाग्यो । भीमदत्तले खलंगाका साहुलाई छ सय रुपैयाँ तिर्नुपर्ने भयो । तिर्ने कुनै विकल्प नभएपछि आफ्नो भागमा परेको खेत सस्तोमा बेचेर ऋण चुक्ता गरी तमसुक च्यात्न लगाए । उनको स्वभाव र शैलीबाट साहुहरू त्रस्त भए । यही स्वभावसँगै गरिब र निमुखालाई सहयोग गर्ने उनको अभियान अघि बढयो ।

जनता जागरण
भीमदत्तले जब अन्याय अत्याचारविरुद्ध गाउँमा आवाज उठाउन थाले, साथ दिने कमै भए । साहुमहाजनको भय छँदै थियो, गाउँलेको चेतनास्तर निकै कमजोर थियो । सुदूरपश्चिमका अधिकांश गाउँमा विद्यालय थिएनन् । ‘भीमदत्तले जनस्तरमा चेतना वृद्धि नभएसम्म अन्यायको विरोध गर्न सहज छैन भन्ने बुझेरै गाउँगाउँमा विद्यालय खोल्ने अभियान चलाएका थिए,’ डोटेली इतिहासकार भोजराज भट्टराई भन्छन् । उनले सुरुमा गाउँ नजिकको आइतमा विद्यालय स्थापना गरे । केही दिन आफैंले पढाए । लगत्तै काशी गिरीको सहयागेमा गाउँको पारिपट्टि बिरखममा पाठशाला खोले । संस्कृतमा पढाइ हुने पाठशालालाई गाँउलेहरूको राम्रै सहयोग रहयो । डडेल्धुराकै रुवाखोला, रूपाललगायत बैतडीको तल्लो स्वराडमा स्थानीय बासिन्दाको सहयोग लिएर उनले केही विद्यालय खोलेको कल्याण ओझाद्वारा लिखित ‘भीमदत्त’ नामक पुस्तकमा उल्लेख छ ।

क्रान्ति घरबाटै
समाजमा ऋणको नाममा शोषण मात्रै होइन, दासत्व थियो । अशिक्षित ऋणीलाई साहुले ५ सय रुपैयाँ दिन्थे तर तमसुकमा पाँच हजार लेख्थे । एक पटक दिएको ऋण छोरा–नातिका पालासम्म तन्किरहन्थ्यो । भीमदत्तको घरमा उनका बुवाका पालाका ऋणका तमसुकहरू छँदै थिए । गाउँले सबैलाई आफ्नो घरमा भेला पार्दै सबै तमसुक च्यातेर जलाए । र, उद्घोष गरे, ‘गरिबका नाममा बनेका यस्ता तमसुक सबैले जलाइदिनू, नजलाया राम्रो हुन्या छैन ।’


भीमदत्त केही सहयोगीसहित डडेल्धुरा, डोटी, बझाङ, बैतडीका गाउँगाउँमा पुगे । सबैलाई तमसुक च्यात्न भने । तमसुक नच्यात्ने ठालुको कपाल मुण्डन गरेर गाउँ घुमाउने, जुँगा उखेलेर सजाय दिन थाले । साहुहरूमा त्रासदी फैलियो । कसैले तमसुक आफैं च्याते भने कसैले लुकाए, कोही तमसुक बोकेर गाउँबाटै भागे ।


क्रान्तिप्रति गरिब निमुखा जनताको साथ समर्थन मात्रै होइन, भीमदत्तको लोकप्रियता पनि उसैगरी बढयो । भीमदत्तले गाउँगाउँमा जातीय विभेदविरुद्ध सहभोज, जनै फाल्ने, बाँझो खेतमा रोपाइँ, महिला जागरण, विभेद प्रतीकका रूपमा रहेको ओल्के पर्व बन्द गराउन अभियान चलाए । ठालुहरूसँगै गाउँलेले पनि उनलाई पागल भन्न भ्याए ।

काण्डैकाण्ड
अगाडि सालगाडी आयो, पछाडि माल आयो ।
गरिबको जय होइ जाउ, ठालुको काल आयो ।।
भीमदत्तका गीत, कविता गरिब निमुखा जनताको मुखैमा झुन्डिए । आफ्नो अभियानमा अविचलित उनी ‘जय जनता’ भनेर सम्बोधन गर्ने हुनाले जनता बाजेका नामले परिचित थिए । २००७ सालको क्रान्तिमा सक्रिय भए । ‘अपेक्षित परिर्वतन नभएपछि भीमदत्त निकै निराश भए,’ भीमदत्त स्मृति प्रतिष्ठानका अध्यक्ष उमेश भट्ट भन्छन्, ‘गरिबमाथिको शोषण कम नभएपछि उनलाई २००७ सालको क्रान्ति धोका हो भन्ने लाग्यो ।’

भन्सार कब्जा
नुन, तेल, लुगाफाटोका लागि भारतमा निर्भर रहनुपर्ने बाध्यता थियो । भारतबाट नेपालका लागि कोटा तोकेर यस्ता आधारभूत कुरा कञ्चनपुरको सीमाबाट नेपाल ल्याइन्थ्यो । पहाडबाट ३/६ महिना, एक वर्षमा ब्रह्मदेव पुगेर नुन, गुड, तेल ल्याउने चलन थियो, यसरी जाने मानिसलाई ‘हटारु’ भनिथ्यो । ब्रह्मदेव भन्सारमा जैदेव सुब्बा हर्ताकर्ता थिए । उनकै योजनामा २००९ साल पुसमा भन्सार कर्मचारी र ठेकेदार मिलेमतोमा खाद्य सामग्री/लत्ताकपडा गोदाममा लुकाएर कृत्रिम अभाव सिर्जना गरिएको थियो । महिनौंको पदैलयात्रा गर्दै पहाड छिचोलेर बह्मदेव पुगेका ‘हटारु’ रित्तै हात घर फर्कन थाले ।


कारीगाउँमा रहेका भीमदत्तले यो खबर पाएपछि ब्रह्मदेवका लागि हिँडे । बाटोमा रित्तै हात फर्किंदै गरेका हटारुलाई ‘हिँड म दिन्छु नुन’ भन्दै फर्काउँदै लगे । ‘किसान राज जिन्दावाद’ को नारा लगाउँदै बह्मदेवसम्म पुग्दा भीमदत्तका पछाडि ठूलै जत्था तयार भयो । यही जत्था बलमा भन्सार कब्जा गरे । तीन महिनासम्म भन्सार नियन्त्रणमा राखेर सर्वसाधारणलाई नुन, गुड, तेल र लुगाफाटो बाँडे । धनगढीबाट चैत २७ गते सिकार खेल्ने निहुँमा आएका बडाहाकिम धैर्यशमशेरको टोलीले उनलाई पक्राउ गरी बोरामा बाँधेर बेलौरी लग्यो । डाका, लुटेरालगायतका आरोप जोडेर जेल हालियो ।

यसरी भागे जेलबाट
भीमदत्तलाई जेलमा कठोर यातना दिन थालियो । पन्तले जेलकै कर्मचारीमार्फत मित्र मुल्ली पधानसँग सम्पर्क बढाए । पधानकै अगुवाइमा भीमदत्तको रिहाइको माग राख्दै २००८ चैत ५ र ६ गते सर्वसाधारणले बेरौरी ठाना घेरे । सरकारलाई दबाब परेपछि जेलभित्र पन्तलाई खुकुलो पार्दै सेवा–सुविधा थप गरियो । खुकुलोपनकै फाइदा उठाएर दुई वर्षपछि भीमदत्त जेलबाट भागे, २०१० असार १० मा । भाग्नमा जेलर श्रीप्रसादको ठूलै सहयोग रहयो । जेलबाट एक झोला गोली र पेस्तोलसमेत लुटेर ल्याए । रेडियोबाट भीमदत्त जेल तोडेर भागेको समाचार फुकियो ।

सशस्त्र क्रान्ति
जेलबाट भागेपछि भीमदत्त डडेल्धुरातिर लागे, कल्याण ओझाले लेखेका छन्, ‘अब सशस्त्र क्रान्तिको योजना बनाउन थाले ।’ उनी कारीगाउँमा रहेको खबरले खलंगाका साहुमहाजन त्रस्त भए । यसैबीच, डडेल्धुरा गौंडाका प्रशासक मोहनबहादुर सिंहले पक्राउ पुर्जी जारी गरे । असार २३ गते भीमदत्त र प्रशासक सिंहबीच गौंडामै चर्काचर्की भयो । सहयोगी मुल्ली पधान, गर्भु रानासहित पन्तलाई पक्रेर रातारात बेलौरी लगियो । तर, बाटैमा भीमदत्तले सिपाहीलाई प्रभावमा राख्न सकेका थिए । भीमदत्त भने लुलान क्षेत्रमा बसे । युवा र पूर्वसैनिकलाई जम्मा गरेर सैन्य तालिम चलाउन थाले । घरमा बन्दुक रहेका स्थानीयसँग बन्दुक सहयोग मागे । केही समय सैन्य तालिम चलाएर मुक्ति सेना नै बनाएपछि उनी बह्मदेवतिर लागे । भन्सार घेराउ गरी कब्जामा लिए । सुब्बा जयदेव, डिट्ठा धर्मसिंह रावल र सुबेदार जागेराज ऐरलाई नियन्त्रणमा लिए । तीनै जनालाई हातखुट्टा बाँधेर महाकालीमा बगाइदिए । धन्य, एक देउकीको सहयोगमा उनीहरू बाँच्न सफल भए । त्यसपछि भीमदत्तले बेलौरी पुगेर माल अड्डा, पुलिस थाना, बैंक कब्जामा लिए । आएको पैसा आफ्ना सेना र गरिबलाई बाँडे । यो सफलताबाट मुक्ति सेनामा युवाहरूको संख्या बढ्दै गयो ।
***

भीमदत्तको क्रान्ति प्रभाव बढ्दै गयो । क्रान्ति दबाउन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले भारत सरकारको सहयोग मागे । भीमदत्तको मुक्ति सेना धनगढी कब्जा गर्ने योजनासहित बहडेमा रहेका बेला भारतीय सेनाको घेरामा पर्‍यो । पाँच घण्टा भिडन्तमा परेपछि भीमदत्तले आफ्ना सेनालाई ‘युद्ध छाडेर ज्यान जोगाएर’ भाग्न आदेश दिए । दुई सय ५० जना मुक्ति सेनालाई भारतीय सेनाले नियन्त्रणमा लियो । सपुर्दगी गरी नेपाल पठाइएका उनीहरू २०१३ मा राजबन्दीलाई आममाफी दिने क्रममा छुटे ।


भीमदत्त कुनै राजनीतिक दलसँगको आस्थाबाट निर्देशित थिएनन् । कुनै राजनीतिक दर्शन वा सिद्धान्तबाट निर्देशित थिएनन् । उनको क्रान्तिका मुद्दाहरू सामाजिक रूपान्तरण लक्षित थिए । भीमदत्तले कल्पना गरेको समतामूलक, न्यायमूलक, विभेदरहित समाज अहिले पनि बनिसकेको छैन । अहिले भीमदत्तलाई सम्भिँmदै गर्दा हामी समृद्ध मुलुकको ठूलो सपना साँचेर बसेका छौं ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?