हिउँका फूलहरू

नियात्रा
म चाहन्थँे– हाम्रो यस घुमाइमा भेनिसा पनि हामीसँगै हुन् । भेनिसा फ्रान्जकै अफिसकी कर्मचारी । मायालु मुस्कान, मीठो बोली र सौहार्द व्यवहार । कमसेकम उनीसँग एक छिन भए पनि नजिकैबाट संगत गरूँ भन्ने लागेको थियो ।
भीष्म उप्रेती

काठमाडौँ — संसारले हेर्दा हिमालहरूले भरिएको देशको बासिन्दा हुँ । विदेश जाँदा पनि सोध्छन् कतिले त, ‘सगरमाथा कति पटक चढेका छौ ?’ तर आफूले भने हिउँलाई छुने र हिउँसँग खेल्ने अवसर भने विदेशमा आएको बेलामा मात्र पाइन्छ । पहिलो पटक हिउँलाई छोएर मैले त्यसलाई अनुभूत गरेको तिब्बतमा हो, २०५० सालमा । त्यसपछि यदाकदा यस्तो अवसर आएको छ । गएको फेब्रुअरीको तेस्रो साता यसरी नै आयो मेरो अगाडि ।

हिउँका फूलहरू

एयरपोर्टबाट बाहिर निस्कनासाथ चिसो हावाले सातो लियो । तुरुन्तै कारमा बसिहालूँजस्तो, तर गाडी हिँडेका बाटाहरूबाहेक सर्वत्र सफा दिनमा आकाशमा देखिएका सेता बादलहरूजस्ता हिउँका थुप्रा र अनेकौं आकारहरू मात्र देख्दा भने बाहिरै बसिरहूँ र यिनै हिउँका फाल्साहरूसँग खेलिरहूँजस्तो लागिरहयो । ड्राइभरले कारमा फटाफट हाम्रा सुटकेस र हाते ब्यागलाई राखेर भने, ‘छिटो बस्नुस् कारमा । बाहिर चिसो छ ।’


हामीले केही भनेनौँ । उनको निर्देशनलाई मानेर कारभित्र बस्यौं । हामी अर्थात् मेरा साथी प्रेम न्यौपाने, उहाँकी श्रीमती जानुका भाउजू र म । तर मैले सोचेँ— यस किसिमको मौसमसँग दिक्क भएका उनीहरूलाई यो हिउँको चिसो मात्र होइन, यसको कोमलता र नाजुकता पनि बिझाउँदो होला ।


बाटोभरि जता फर्के पनि सेताम्य हिउँ मात्रै । ड्राइभरबाहेक हामी तीनै जना भौतिक देहलाई कारमै छोडेर निस्कियौं हिउँसँग खेल्न ।
‘मैले त यसरी हिउँ देखेकी नै थिइनँ,’ जानुका भाउजूले भन्नुभयो ।
‘यसैगरी हिउँकै संसार त मैले पनि देखेको थिइनँ,’ प्रेमजी पनि भन्दै हुनुहुन्थ्यो ।


मचाहिँ गएको नोभेम्बरमा सगरमाथा आधारशिविरतिर जाँदा देखेका हिउँका थुप्रा, हिउँ पहिरो, खुम्बु ग्लेसियर र हिउँकै बुट्टाहरूलाई पनि सम्भँmदै थिएँ ।
हामीले हिउँका कुराहरू गर्दै रमाएको कुरा ड्राइभरले पनि भेउ पाएछन् क्यार, भने, ‘यो साताभरि नै म्युनिखमा हिउँ पर्छ । अझ सिंगै युरोपमै पर्छ भन्ने अनुमान छ ।’
हामी होटलमा गयौं । होटलबाहिरको आँगन पूरै सेताम्य । कोठाको पर्दा तानेर बाहिर हेर्‍यो घरका छानाहरू सबै सेताम्य । दुबोले भरिएका हरिया सडक किनार सबै सेताम्य । पार्क गरेर राखेका कारका छाना, ऐना र बनेट सबै सेताम्य । फेरि एक पटक जीवनको अनिवार्य पक्ष प्राकृतिक सेतो रङको उत्सव भइरहेको जस्तो ।


म्युनिख बसुन्जेल हरेक दिन घाम लाग्ला कि भन्यो हिउँ नै पथ्र्यो या दिन धुम्म पथ्र्यो रिसाएको अनुहारजस्तो । तर, जब बुर्बुर खस्न थाल्थ्यो मसिनो सेतो हिउँ, मेरो मन भने चंगा जसरी उडूँ भन्थ्यो । मैले त नेपालमा गुराँस फुलेको देखेको हुँ । २ दिनसम्म लगातार गुराँस फुलेर राताम्य भएको जंगलमा हिँडेको छु । लालुपाते, बुकी, सयपत्री, डालिया, गोदावरी आदि अनेकौं फूल फुलेको देखेको छु । बारीभरि बरु पहेँलै तोरीका फूलहरू फुलेपछि साथीभाइहरूसँग रमाउँदै ‘हरबरहरबर तोरीको फूल’ गाउँदै आलीआली, कान्लाकान्ला कुदेको छु । तर, यसरी रूखरूखमा, सानाठूला बिरुवामा, फूलका बोटहरू, गमलामा, बाटाका किनारमा सर्वत्र सेतो हिउँ फुलेको कहाँ देखेको छु!


हामीलाई आतिथ्य दिइरहेको बैंक नोट छाप्ने कम्पनी जीसेके एन्ड डेब्रिएन्टका अधिकृत फ्रान्जसेले भेट हुनेबित्तिकै सोधे, ‘मौसम कस्तो छ ?’ युरोपेलीहरू सामान्यतया भेटमा मौसमका कुरा गर्छन् । ‘एकदम रमाइलो । सबैतिर फुलेका हिउँका फूलहरूले छोइएको छु गहिरोसँग,’ भनेँ ।
उनी मुस्कुराए सन्तोषले ।


जीसेके एन्ड डेब्रिएन्टको मुख्य कार्यालयको सातौं तलामाथि फ्रान्जहरूले हामीलाई नोट छपाइसँग सम्बन्धित विभिन्न विषयहरूमा प्रस्तुतीकरण दिइरहेका थिए । म उनीहरूलाई पनि सुन्दै थिएँ । तर, म अलि धेरै त उनीहरूको आँखा छलेर झ्यालबाट बाहिर बरालिन पुगिहाल्थेँ । रूखहरूमा पात थिएनन््, फूलहरू पनि थिएनन्् । पातहरू भएका भए हरिया हुन्थे, फूलहरू भएका भए विभिन्न रङहरू हुन्थे । तर, सर्वत्र सेतै मात्र फुलेर पनि रूखहरू मुस्कुराइरहका थिए । अनि कसरी मनलाई बाँधेर राख्न सक्थेँ अफिस कोठाभित्र वा जीसेके एन्ड डेब्रिएन्टका अधिकारीले गरेको प्रस्तुतीकरणभित्र । हिउँका फूलहरू फुलेका रूखहरू कपासका बोटहरूजस्ता लाग्थे । यो लाग्नु पनि जीवनको एउटा नयाँपन रहेछ । चिसोले यति गहिरोसँग ठिहिर्‍याउँदासमेत मुस्कुराइरहेको प्रकृति देख्दा जीवन हरहालतमा मुस्कुराउनकै लागि हो भन्ने भावनाले ग्वाम्लांगै अँगालो हाल्यो । मैले हिउँको बीचमा फेरि न्यानो अनुभव गरेँ ।


दोस्रो दिन पनि दिनभरि हिउँ पर्‍यो फुसफुस, मानौं सफा सेतो बादल झरिरहयो ससाना टुक्राहरूमा, मानौं मेरा मनका अनेकौं भावनाहरू मनकै आकाशबाट झरिरहे । सोचेँ— प्रकृति कविता लेखिरहेको छ यतिबेला । र, कविताका भावहरू फूलका बोट, हाँगा, जमिन, घरका छतहरू र गाडीका छतहरूमा जताततै थुप्रिएका छन्, सल्बलाइरहेका छन् ।
हामी कार्यालयभित्र मात्र बसेनौं, मेरो मन निकै तुलबुल भइरहयो बाहिर खुला ठाउँमा गएर प्रकृतिले लेखेका कविताहरू हरफहरू छुन र भावहरू अनुभूत गर्न । काम चाँडै सकियो, आधा दिनमै । हाम्रो कार्यक्रमलाई सहजीकरण गरिरहेका फ्रान्ज निकै दयालु र मानीय भावना भएका रहेछन् । उनले भने, ‘लन्च खाएपछि हामी बाहिर जाने, घुम्न ।’
मैले उनलाई हेरेँ कृतज्ञतापूर्ण नजरले । ‘साँच्चै ?’ जिज्ञासु पनि थिएँ ।


‘हो, शतप्रतिशत ।’ उनी मुस्कुराए ।


म चाहन्थँे हाम्रो यस घुमाइमा भेनिसा पनि हामीसँगै हुन् । भेनिसा फ्रान्जकै अफिसकी कर्मचारी । मायालु मुस्कान, मीठो बोली र सौहार्द व्यवहारले त्यसै पनि सुन्दर भेनिसाको सुन्दरतालाई अझै दोब्बर चौब्बर बनाएका थिए । कमसेकम उनीसँग एक छिन भए पनि नजिकैबाट संगत गरूँ र जर्मन केटीका मनका भावहरूलाई अलिकति भए पनि पढूँ लागेको थियो । केटीहरूका भावनाहरू र यी हिउँका कोमलताबीच केही तादात्म्य पनि हुन्छ कि! कल्पना गर्दै थिएँ, उनी यात्रामा सँगै भए क्षणभरकै लागि भए पनि जीवनमा हिउँले लेखेका कविताको स्वाद अझ गाढा हुन्थ्यो होला, सोचेँ । तर, उनी हामीलाई नै हस्ताक्षर गरेर दिनुपर्ने कागजातहरू बनाउन व्यस्त हुने भइन् त्यस दिन दिनभरि नै । जाने बेलामा मैले उनलाई हेरेँ र विस्तारै भनेँ, ‘एउटा न्यानो मुस्कानचाहिँ देऊ न है, यो चिसो दिनमा यात्रालाई न्यानो बनाउन चाहन्छु ।’


त्यसपछिको भेनिसाको मुस्कान मलाई लाग्छ, मेरो म्युनिख यात्राभरिको सबैभन्दा ठूलो प्राप्ति हो । म अहिले पनि त्यसलाई आफूभित्र अनुभव गर्छु न्यानोसँग ।


हामी ओलम्पिक भिलेज गयौं जहाँ सन् १९७२ मा ओलम्पिक खेल हुँदा इजरायलका जेलमा रहेका २३४ जना प्यालेस्टाइनी बन्दीहरूलाई छुटाउनुपर्ने माग गर्दै ब्ल्याक सेप्टेम्बर नाम गरेका प्यालेस्टाइनीको समूहले ११ जना इजरायली खेलाडीलाई बन्धक बनाएर हत्या गरेका थिए । प्रहरीसँगको दोहोरो झडपमा ब्ल्याक प्यान्थरका ८ जना लडाकुसमेत मारिएका थिए र ३ जना समातिएका थिए । फ्रान्जले त्यसबेला इजरायली खेलाडीहरू बसेको घरसमेत देखाए । त्यो आतंकवादको त्रासदीपूर्ण नमुना थियो । टावरको टुप्पामा चढेर हेर्दा त ओलम्पिक स्टेडियम, पार्क, ओलम्पिक भिलेज मात्र होइन, सम्पूर्ण म्युनिख नै इन्द्रकमल फूलभैंm सेताम्य फुलेको देखेँ ।


हामी सिटी सेन्टरमा हिँडिरहेका थियौं । हिउँ फुसफुस गर्दै र पछिपछि अलि ठूला फाल्सा भएर खस्न थाल्यो । हिउँ पर्‍यो, अब कतै बस्ने कि सुरक्षित भएर ? फ्रान्जले भने ।
होइन, आज हिउँसँगै हिँड्ने । चिसो हिउँको तातो अनुभूति सँगाल्ने र नेपाल लिएर जाने, भनेँ । उनी मुस्कुराए ।


हिउँले जीवनलाई कहाँ रोक्तो रहेछ र ? युवायुवतीहरू बाटामा हिँडी नै रहे । वृद्धवृद्धाहरू हिँडी नै रहे । केटाकेटीहरू हिँडी नै रहे । गाडीहरू कुदी नै रहे । माया गर्नेहरूले माया गरी नै रहे । मलामी जानेहरू पनि मलामी गई नै रहे । गिर्जाघरमा मैनबत्तीहरू बलिरहे । जीवनको लय कहीँ पनि भत्किएन, बिग्रिएन, कहीँ पनि जमेर अडिएन । सोचेँ— रूख, पानी, हावा, माटोजस्तै हिउँ पनि जीवनको अभिन्न हो, जीवन हो । जीवनसँग जीवन मिसिएर लय बनाउन फेरि किन डराउनु ?


हामी हिँड्यौं मज्जासँग र काँधकाँधमा हिउँका थुप्रोहरू बोक्यौं । हिउँका सेता फूलहरूलाई छोएर तिनको कोमलता अनुभव गर्‍यौं ।


म्युनिखभन्दा केही घण्टा टाढाको सानो पहाडी गाउँ लुजिन्थाल पनि गयौं हामी । लुजिन्थाल पुग्दा नेपालको सम्झनाले अति धेरै समात्ने रहेछ । यहाँ सुन्दर र ठूलो तालसमेत रहेछ फेवातालको झल्झली याद दिलाउने । तर, सबै एकदम स्थिर, जमेका । पहाड, जंगल र पानी भएको यति सुन्दर बस्तीसमेत सम्पूर्ण सेताम्य र जमेर एकदम स्थिर भएको ।
‘हरियाली त हामीसँगै छ मनग्गे, हामीभित्रै छ । तर, मानिसको निश्छलता र निर्दोषिताजस्तो सेतोपन त हामीलाई चाहिएको नै छ । प्रकृतिले हामीलाई हाम्रै आवश्यकताअनुसार दिएकी छन् आज, होइन त भीष्म सर ?’ प्रेमजीले भन्नुभयो । प्रेमजीले हृदयकै बोली बोल्नुभयो ।


मैले प्रेमजीका यी शब्दशब्दलाई, वाक्यहरूलाई च्याप्पै समातेँ र छातीमा राखेँ ।


पाँच दिनको बसाइपछि जब हामीले म्युनिख छोडयौं र आ–आफ्ेनो बाटो लाग्यौं, त्यसै दिनदेखि घाम लाग्यो झलमल्ल दिनभरि ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?