कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सर्पका साथी

गोविन्द पोखरेल

काठमाडौँ — गत शुक्रबार बिहान मात्रै मोरङ, उर्लाबारीको सेक्टर वन कार्यालय परिसरमा भेटिए प्रेम विष्ट । सामुमा थिए— दुई गोमन सर्प । कार्यालयका कर्मचारीलाई सर्पबारे ‘ब्रिफिङ’ दिनमा व्यस्त देखिन्थे प्रेम ।

सर्पका साथी

यी दुवै सर्प प्रेमसँग बितेको ६ महिनादेखि साथै छन् । झन्डै मार्न लागिएका यी सर्पलाई उर्लाबारीको झारसाँदी र मंगलबारेबाट उद्धार गरेर प्रेम आफैंले ल्याएका थिए । साउन पहिलो साता मात्रै पनि प्रेमले मंगलबारे चोकबाट दुई धामनको उद्धार गरेर साथमा राखेका छन् ।

यो त हालैका महिनाको गतिविधि भयो । यो महिना मात्रै उनले १७ वटा सर्पलाई मारिनुबाट जोगाएका छन् । अघिल्लो वर्ष प्रेमले ३७ वटा सर्पलाई मारिनुबाट जोगाए । उनी सर्पलाई केही महिना आफूसँगै राखेर जंगलमा लगेर छाडिदिन्छन् ।

विषालु सर्पलाई ६/७ महिनासम्म साथै राख्छन् । यसका लागि जाली लगाइएको एउटा बाकस बनाएका छन् । ‘सर्पले एकपटक खाएपछि केही दिनसम्म पुग्ने भएकाले सर्पलाई आहारा ख्वाइरहनुपर्दैन,’ प्रेम भन्छन्, ‘आहाराका लागि भने कार्यालय परिसरमै छाडिदिन्छु । आफूले नोटिस (रुँगालुझैं) गरिरहने भएकाले सर्प भाग्न पाउँदैनन् ।’आहाराका लागि विष्टले यदाकदा सर्पलाई जिउँदो भ्यागुता दिने गरेका छन् ।


यी सर्पप्रेमी विष्ट नेपाल प्रहरीका पूर्व प्रहरी हवल्दार हुन् । हाल उनी जिल्ला वन कार्यालय, मोरङअन्तर्गत सेक्टर वन कार्यालय मंगलबारेमा सशस्त्र वनरक्षक रूपमा कार्यरत छन् ।

वनरक्षकसँगै उनी सर्पसम्बन्धी जनचेतना फैलाउने काममा स्वेच्छामा लागिपरेका छन् । वन कार्यालय अवलोकन भ्रमणमा आउने विद्यार्थीलाई दिनुपर्ने सूचना होस् अथवा गाउँघर चहारेर दिनुपर्ने ‘सर्पज्ञान’ होस्— प्रेम कहींकतै पनि पछि सर्दैनन् ।


भोजपुरमा जन्मिएका विष्ट सर्पसँगै सानैदेखि नजिकिने गर्थे । सर्पसँग भय होइन, उनी प्रेम राख्थे । प्रेमले ९ वर्षको उमेरदेखि सर्प समात्न थालेका हुन् । २१ वर्षसम्म उनी नेपाल प्रहरीमा सेवारत रहे ।

प्रहरीमा छँदा तीन हजारभन्दा बढी गोमन/करेट सर्पको उद्धार गरी सुरक्षित स्थानमा छाडिसकेका ४७ वर्षे प्रेम ३ बर्षयता वन कार्यालयसम्बद्ध छन् । यो पूर्वी भेगमा कुनै ठाउँमा सर्प देखियो भने विष्टलाई फोन आइहाल्छ ।

प्रेमले भने ‘प्रकृतिको सम्पत्ति प्रकृतिकै हुने’ भन्ठानेर समातेका सर्प कोसीटप्पु वन्यजन्तु आरक्षणलगायतका जंगल क्षेत्रमा छाड्ने गरेका छन् ।

प्रेमले प्रत्यक्ष रूपमा र हाकाहाकी सर्प समातेको देख्दा वन कार्यालयका कर्मचारीहरू छक्क पर्छन् ।

कार्यालय प्रमुख तारणीप्रसाद चौधरी भन्छन्, ‘सुरुसुरुमा प्रेमले विषालू सर्पलाई खेलाएको देख्दा आङ जिरिङ्ङ हुन्थ्यो । प्रेमकै कारण अहिले हामी सबै सर्प संरक्षण अभियानमा सँगै छौँ ।’

प्रेमका अनुसार, नेपालमा ८२ प्रजातिका सर्प पाइन्छन् । कमन गोब्रा, नाजा गोब्रा र किङ कोब्रा गरी नेपालमा ३ प्रजातिका गोमन पाउने उनले बताए । हालै उद्धार गरिएका गोमन भने नाजा प्रजातिका हुन् ।

सर्पको आनीबानी बुझ्ने हो भने सर्पले कुनै बिगार नगर्ने विष्टले बताए । ‘सर्पलाई चलाउनुहुँदैन,’ उनी भन्छन्, ‘सर्पलाई अवरोध पुर्‍याउने अथवा उसको बासस्थान विनाश गरिदिएमा भने ऊ डस्न आउने हो । ’

अधिकांश मानिस सर्पले डस्नेबित्तिकै आत्तिन्छन्, त्यही भएर आत्तिएरै मर्नेको संख्या बढी भएको विष्टले दाबी गरे । आफूलाई पनि २०७१ साउन १५ गते सिन्धुली, जितपुरमा विषालु सर्पले टोकेको स्मरण गर्दै उनले सुनाए, ‘सर्पले हातमा टोक्दा म आत्तिइनँ, बरु बोलिरहें । अचेत अवस्थामा पुग्नुअघिसम्म पनि कुराकानी गरिरहें । सर्पको टोकाइबाट मरिन्छ भन्ने सोचाइ नल्याएकै कारण म बाँचेको थिएँ ।’

सर्पको टोकोइबाट बच्नका लागि ‘एन्टि–स्नेक भेनम’ आवश्यक पर्छ । यो भेनम विषालू सर्पबाटै निकालिन्छ । यो औषधि नेपालमा पाइँदैन, भारतबाट अनुदानमा ल्याइने गरिएको छ ।

भारतमा सर्पको संख्या कम भएकाले नेपालबाट सर्पको तस्करी हुने गरेको विष्टको दाबी छ । बिशेषगरी भारतीय सपेराहरू नेपाल आएर सर्प नचाउने बहानामा भारततर्फ सर्प तस्करी गर्ने गरेको विष्टले बताए ।

नेपालमा पनि एन्टी–स्नेक भेनम उत्पादनका लागि सुनसरीको बराह क्षेत्र नगरपालिकामा सरकारले स्वीकृति दिइसकेको छ ।

तर, वन मन्त्रालयले सर्पसम्बन्धी नियमावली तयारी गर्नमा ढिलाइ गरेकाले सर्पको संकलन, प्रजनन र पालनका लागि समस्या उब्जिएको उनले जानकारी दिए । प्रेमको एउटै चाहना छ— सर्पको टोकाइबाट औषधोपचार नपाएर कोही नेपाली नमरुन् ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?