१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खाडीका पाँच व्यथा

श्रम–कथा
पर्वत पोर्तेल

काठमाडौँ — रेगिस्तानी भूमिमा दिनहुँ सयौं र हजारौं नेपालीले श्रम–पसिना बगाइरहेकै छन् । घरपरिवार पाल्ने र अलिक सुखचैनको जीवन बिताउने झिनो सपना पालेर श्रमजीवी बन्न गएकामध्ये केहीको हालत भने साँच्चै दुर्दान्त देखिन्छ, सुनिन्छ । सपनाबाट हठात ब्युँझेर कहालीलाग्दो विपना भोगिरहेका केही प्रतिनिधि पात्र यहाँ आफ्नो कहर सुनाइरहेका छन् ।

खाडीका पाँच व्यथा

कुल गार्हस्थ्य उत्पादनको तीस प्रतिशत हिस्सा ओगटेको वैदेशिक रोजगारीको सामाजिक असरको वाछिटा घरभित्र मात्रै सीमित छैन । स्थानीय तहको निर्वाचनपछि गठन भएका नगर र गाउँपालिकाको न्यायिक समितिका वैदेशिक रोजगारीका असरहरू देखिन थालेका छन् । न्यायिक समितिमा वैदेशिक रोजगारसम्बद्ध कस्ता मुद्दाहरू आउँछन् ? न्यायिक समितिमा आएका पाँच प्रतिनिधि मुद्दामा सम्बद्ध पाँच पात्रका व्यथा केलाउँदा थाहा हुन्छ, कसरी वैदेशिक रोजगारी रेमिटयान्स स्रोतमा मात्रै सीमित छैन ।

...

पात्र एक : सुनितादेवी गामी । ठेगाना : झापा, विर्तामोड–८ गरामनी । उमेर : ३५ वर्ष । दुई साताअघि सुनितादेवीको घर (झुप्रो) पुग्दा उनी छिमेकबाट सकीनसकी दगुर्दै आइन् । उनले मधुरो स्वरमा भनिन्, ‘के चाहियो, कसलाई खोज्नुभयो ?’ मैले उनी सुनितादेवी नै भएको पत्तो पाएपछि कुराकानी सुरु गरें । त्यसपछि पो थाहा भयो, उनका कुराहरूमा तालमेल मिलिरहेको थिएन । उनी न सामान्य रूपमा बोलिरहेकी थिइन् न उनको उपस्थिति नै सामान्य देखिएको थियो । असामान्य मनोदशामा भेटिएकी उनलाई सोधें, ‘तपाईंलाई कसले यस्तो बनायो ?’


यही प्रश्नको उत्तरमा उनले जे बताइन्, त्यसले वैदेशिक रोजगारीको कहर प्रतिनिधि कथा बताइरहेको थियो । २०६६ मंसिरमा भारतीय बाटो प्रयोग गरेर उनी साउदी अरब पुगेकी रहिछन् जसबारे उनका पति श्रीनारायण बेखबर थिए । घर सल्लाहबिना पतिको आँखा छलेर उनी राहदानी बनाउन भद्रपुर पुगेकी थिइन् । ‘विदेश जाने बेलामा मात्रै मैले थाहा पाएँ,’ श्रीनारायणले भने, ‘त्यसअघि नै थाहा पाएको भए, कुनै हालतमा जान दिन्नथें । तर, अन्तिम समयमा रोक्न सकिनँ ।’


लेखपढ गर्न नजान्ने सोझी त्यसमाथि मधेसी समुदायकी सुनिता (गाउँले दलाल) ले बिछ्याएको जालोमा कतिबेला परिन्, उनैले थाहा पाइनन् । दलालले देखाएको लोभ र प्रलोभनमा फसेर जब साउदी पुगिन्, तब मात्रै उनले वास्तविकता थाहा पाइन् । साउदीको एक मालिकले उनलाई लामो समय बन्धक बनायो । नेपालमा फोन गरेर ‘पुगें है’ सम्मचैं भन्न पाइन् । त्यसपछि लामो समय सम्पर्कविहीन ।


करिब ८ वर्षपछि सुनिताका देवर प्रमोदलाई साउदीबाट कसैले फोन गरेर भन्यो, ‘हामीले तपाईंकी भाउजूलाई उद्धार गरेर घर फर्काउँदै छौं, काठमाडौंमा रिसिभ गर्न जानुहोला ।’ साउदीमा कार्यरत बुटवलकी भीमा पौडेल नाम गरेकी ती महिलाको सहयोगमा उनी बन्धनमुक्त भएर घर फर्किएकी थिइन् ।


उनी २०७३ चैत २८ गते काठमाडौं आएको राहदानीमा उल्लेख छ । पति श्रीनारायण, देवर प्रमोद उनलाई रिसिभ गर्न एयरपोर्ट पुगेका थिए । उनलाई पौरखी नेपाल नामक संस्थाका कर्मचारीले एयरपोर्टबाट बाहिरिनेबित्तिकै उद्धार गरेछ । पौरखीमा करिब एक साता राखेपछि उनलाई गाउँ ल्याइयो । मान्छे चिन्न सक्ने अवस्था थिएन । पतिलाई देख्दा चिच्याएर काँपेकी थिइन् ।


एक वर्षयता उनी निरन्तर मानसिक रोगको औषधि सेवन गरिरहेकी छन् । पतिले काठको मिस्त्री काम गरेर पत्नीको उपचार गरिरहेका छन् । स्थानीय गरामनी बजारदेखि करिब डेढ किलोमिटर दक्षिणमा सानो फुसको घर छ । एक कठ्ठा जमिनमा रहेको यो झुप्रोमा बडो कष्टसाथ उनीहरू बस्छन् । हावाहुरी चल्दा र ठूलो पानी परेका बेला छिमेकीकहाँ आश्रय लिनुपर्ने अवस्था छ । सुनिताले पैसा पठाएपछि घर बनाउने योजना थियो । तर, तुहियो । ‘बिहान–बेलुकी खान र औषधि खर्च धान्नै सकिरहेको छैन,’ श्रीनारायण विलौना गर्छन्, ‘घर बनाउने सपना त सपना मात्रै हो ।’
...

पात्र २ : टीकामाया नेम्बाङ, ३२ को खास घर त दक्षिण झापाको पृथ्वीनगर हो । तर, बितेका सात वर्षदेखि उनको थातथलो झापा भद्रपुर, घोडामारामा छ । घोडामारा प्रहरी चौकीनजिकै बहिनी भावना तामाङको घर छ । हो, त्यहीं आश्रित छन् उनी ।


सुनितादेवीजत्तिकै दर्दनाक छ टीकाको व्यथा । वैदेशिक रोजगारका क्रममा लेबनानमा ३ वर्ष बिताइन् । केही रकम पनि घर पठाउँदै थिइन् । तर, अचानक टीका ‘पागल’ भएर फर्किंदै गरेको खबर परिवारले पायो । टीकाको दाजु श्रीप्रसाद नेम्बाङ केही दिनअघि कतारमा दुर्घटनामा परेका कारण कोमामा गइसकेका थिए । टीकामाया लेबनान जाँदा भर्खर १७ पुगेर १८ वर्ष टेकेकी थिइन् । ५ कक्षा पढ्दापढ्दै छाडेकी थिइन् । यसैबीच ‘गाउँले दलाल’ जाल थापेर आइहाले । राहदानी बनाउनेदेखि दिल्ली हँुदै लेबनानसम्म पुर्‍याउने काम दलालको ।
उता घरेलु कामदारको रूपमा काम गर्दागर्दै उनले शारीरिक यातना सहनुपर्‍यो जसले उनलाई विक्षिप्त बनायो । तीन वर्ष निकै संघर्ष गरेर बिताएकी टीकामायालाई घरधनीले पागल भएपछि फिर्ता पठाइदिएको थियो । ‘दिदी आउने खबर सुनेर लिन गयौं,’ भावनाले भनिन्, ‘तर, दिदी त प्लेनबाट ओर्लनेबित्तिकै घर (झापा) पुगिसकिछन् ।’


घर पुग्दा उनी पूरै बिरामी थिइन् । सुरुमा डराउने, चिच्याउने, टोलाउने, कसैसँग नबोल्ने आदि समस्या देखियो । घरपरिवारको सहयोगमा केही समय उपचार पनि गरियो । तर, रोग बिसेक भएन । ‘दबाई खान थालेपछि पूरै शरीर सुन्नियो,’ भावनाले भनिन्, ‘त्यसपछि दबाई पनि ख्वाउन छाडियो ।’ आर्थिक अभावले उनको समयमा उपचार हुन पाएन । त्यही कारण उनी अहिले ‘पागल’ बनेकी छन् । ‘७ वर्षदेखि दिदीको गुहु–मूत सोहोरेर बसेकी छु,’ उनले भनिन्, ‘राज्यबाट कुनै क्षतिपूर्ति पाएकी छैन ।’

...


पात्र ३ : झापा विर्तामोडकी ३० वर्षीया मनमाया (परिवर्तित नाम) दुई वर्षअघि जोर्डन उडेकी थिइन् । उनीसँग धन कमाउने सपनाको चाङ थियो । त्यही सपनाले जसोतसो उनलाई जोर्डन पुर्‍याएको थियो । तर, त्यहाँ पुगेको करिब वर्ष दिनपछि उनको जीवनमा गम्भीर आघात पर्‍यो ।


जब उनी ड्युटी सकेर अबेर राति कोठामा फर्किंदै थिइन्, त्यही क्रममा एउटा अपरिचित व्यक्ति उनीमाथि जाइलाग्यो । उनी बलात्कारको सिकार भइन्, उनको गर्भ बस्यो । आफू गर्भवती भएको कुरा उनले न पतिलाई भन्न सकिन् न त माइतमै सुनाउने साहस गरिन् । अन्तत: पेटको अवैध भ्रूण हुर्किंदै गयो । उनी गर्भवती बनेको कुरा कम्पनीले थाहा पायो । त्यसपछि घर पठाउने निधो गर्‍यो । करिब दुई महिनाअघि आठमहिने गर्भ बोकेर उनी घर आइपुगिन् । सोझै विर्तामोडस्थित घर गइन् । पेट बोकेकी श्रीमती देखेर पति र परिवारका सदस्य छाँगाबाट खसेझैं भए । परिवारको सल्लाहमा घर निकाला गरियो । कुम्लो–कुटुरो बोकेर उनी कचनकवल–२ स्थित माइतीको शरणमा पुगिन् ।


माइतीकै आश्रयमा एक महिनाअघि बच्चा पनि जन्माएकी उनी अहिले न्याय खोजीमा भौंतारिरहेकी छन् । राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायले उनलाई न्याय दिलाउन लागिपरेको छ । मानवअधिकार आयोग प्रदेश १ की प्रमुख मञ्जु खतिवडा भन्छिन्, ‘उनलाई परिवारबाट केही भरणपोषणसम्म गराउन लगाउने पक्षमा हामी छौं ।’
...

पात्र ४ : कल्पना दर्जी (२९) पनि माथिका तीन पात्रलाई झैं बाध्यता र लहैलहैले खाडी पुर्‍यायो । नाजुक आर्थिक अवस्था । कमजोर पारिवारिक स्थिति । बेरोजगार पति । यी तीन कारणले उनलाई जबर्जस्ती कुबेत पुर्‍यायो । पाँच वर्षीया छोरीको मायाले पनि उनको गन्तव्य रोकिएन ।


अवैध बाटोबाट धेरै महिला खाडी पुर्‍याइन्छ । त्यहाँ पुर्‍याउने एजेन्टहरू गाउँमा छयापछ्याप्ती छन् । खासगरी महिलालाई खाडी पुर्‍याउने मुख्य मान्छे भनेकै आफन्त, नातेदार तथा परिवारका सदस्य हुन्छन् । उनलाई पनि नातेदार दिदी रोजिना परियारले दिल्ली हुँदै बिरानो मुलुक कुबेत पुर्‍याइन् ।


सुरुमा उनले जसका घरमा श्रम गरिन्, त्यहाँ धेरै सास्ती बेहोर्नुपर्‍यो । सानो गल्ती गर्दा पनि मालिक–मालिक्नी दुवैले यातना दिए । खान नदिने तर यातना ज्यादा दिने भएकाले उनी दुब्लाएर सिद्रो भएकी थिइन् । उनी एक दिन तीनतले बिल्डिङबाट हामफालेर भागिन् । नेपाली साथीभाइको सहयोगमा अर्को घरमा काम गर्न थालिन् । पहिलाभन्दा त्यहाँ थोरै राम्रो थियो, तलब पनि राम्रै थियो । खानलाउन समस्या थिएन ।


तर, दुर्भाग्य! महिना दिनअघि अचानक उनी थलिइन् । स्थानीय अस्पतालमा उपचार गराउँदा पो थाहा भयो, उनका दुवै मृगौला फेल भएछन् । छोरी पढाउने र घर व्यवहार सम्हाल्ने उनको सपना चकनाचुर भयो ।


कुबेतको दूताबास र नेपाली श्रमिकहरूको सहयोगमा उनलाई घर पठाइयो । दुई साताअघि उनी नेपाल ओर्लिइन् । उनलाई मृगौला फेल भएको अझै पत्यार लागेन । काठमाडौंको मानव अंग प्रत्यारोपण केन्द्रमा पुन: जाँच गरेपछि रिपोर्ट नेगेटिभ आयो । अब भने मृगौला फेल भएकै रहेछ भन्ने निष्कर्षमा पुगिन् । झापाको घर आएकै दिनदेखि उनी नियमित डायालोसिस गराइरहेकी छन् । तर, घरको नाजुक स्थिति त छँदैछ । स्थानीयवासीले उनको उपचारका लागि समिति बनाएर चन्दा संकलन पनि सुरु गरेका छन् । स्थानीयको सक्रियतापछि उनमा आत्मविश्वास जागेको छ । थकित मुद्रामा भन्छिन्, ‘अबचाहिँ केही वर्ष भए पनि बाँच्छुजस्तो लागेको छ ।’
...

पात्र ५ : बुद्धशान्ति ३ का कुमार दर्जीको व्यथा भिन्न छ । दुई वर्ष साउदीमा पसिना बगाएर गत चैत १४ गते घर फर्किएका थिए कुमार । घर आएको तीन महिना नबित्दै श्रीमती ताराले घोर्ले छोरो जन्माइन् । ‘श्रीमतीलाई व्यथाले च्यापेपछि मात्रै गर्भवती रैछे भन्ने थाहा पाएँ,’ कुमारले बिलौना गरे । बच्चाको बाबु खोज्दै जाँदा जो मान्छे पुष्टि भयो, त्यो थाहा पाएर त उनी झन्डै अचेत भए । आफ्नै मामाको छोरा (मामली भाइ) मक्कर कार्की डोलीले उनकी पत्नीलाई गर्भवती बनाएको रहेछ । उनीहरूबीच लामो समयदेखि अवैध सम्बन्ध रहेको पनि पुष्टि भयो ।


घरमा श्रीमती भएका मक्करले प्रहरीसमक्ष भाउजूसँगको अवैध सम्बन्ध छताछुल्ल पारे । स्थानीयवासी, भद्रभलाद्मी र प्रहरीको रोहवरमा उनले भाउजूलाई अपनाउने र गाउँ नै छाडेर हिँड्ने कागज गरे । असली पीडित थिए, कुमार । उनकी श्रीमती त अर्कैले लग्यो लग्यो, रेगिस्तानमा रगत, पसिना चुहाएर पठाएको पैसा पनि उनले गुमाए । ज्यादै निराश भावमा भन्दै थिए, ‘श्रीमती त गईगई, एकसुको पनि बाँकी नराखी गई ।’

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?