सत्ता–शक्तिको तोड

इतिहास
काल माक्र्सले आफ्नो प्रसिद्ध निबन्ध ‘लुइस बोनापार्टको अठारौं ब्रुमेर’ मा लेखेका थिए, ‘इतिहास दोहोरिन्छ... पहिलो पटक त्रासदीका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा ।’
यादव देवकोटा

काठमाडौँ — सत्तासीनहरू शक्तिशाली पनि भए भने तिनको त्यो सत्ता–शक्तिको तोडले इतिहासको लयलाई भत्काउन सक्छ । र, सिंगो मुलुकले निरीहतापूर्वक त्यसको मोल चुकाउन विवश हुनुपर्छ । उदाहरण हाम्रै इतिहासमा छन् । पढ्ने मात्रै कि इतिहासबाट सिक्ने पनि ? यो बेग्लै बहसको विषय हो ।

भारतमा उपनिवेश लादेर बसेको इस्ट इन्डिया कम्पनीलाई नेपाली भूगोल नाघेर व्यापारको मार्गलाई तिब्बतसम्म लम्ब्याउनु थियो । त्यसका लागि ऊ नेपाली भूगोलमा आफ्नो आधिपत्य कायम गर्न हरसम्भवका उपाय र बहानाको खोजीमा थियो । यस्तोमा नेपाली पक्षले कुनै पनि तवरले आफ्नो दाबी नपुग्ने बुटवल र थपमा स्युराज (शिवराज) माथि धरपकड बढाएपछि अंग्रेजले बुटवल र स्युराजसहित नेपाली पक्षले पछिल्ला दिनमा हडपेका विवादित स्थानमाथिको दाबी छाड्न दबाब दिँंदै लर्ड हास्टिङले गोरखपुरमा खटिई बसेका मजिस्ट्रेटमार्फत काठमाडौंलाई पत्र लेखे । त्यसमाथि छलफल गर्न भारदारहरूको बैठक बिहान नौ बजेदेखि राति आठ बजेसम्म बस्यो (प्रिन्सेप, हेनरी टि–हिस्ट्री अफ द पोलिटिकल एन्ड मिलिटरी ट्रान्जेक्सन्स इन इन्डिया डयुरिङ द माक्र्वेज अफ हस्टिङ्स, पृ ७५) । अनुभवी भारदारहरू युद्धको पक्षमा नभए पनि मुख्तियार जनरल भीमसेन थापाले युद्धकै पक्षमा जोड दिए । नेपाल–अंग्रेज युद्धको मोर्चा खुलेर लडाइँको खाल थामिंदासम्म नेपाली पक्ष आफ्नो एकतिहाई भूगोल गुमाउन विवश भइसकेको थियो ।

आरम्भ
सत्तासीनहरू शक्तिशाली पनि भए भने तिनको सत्ता–शक्तिको तोडले इतिहासको लयलाई भत्काउन सक्छ । र, सिंगो मुलुकले निरीहतापूर्वक त्यसको मोल चुकाउन विवश हुनुपर्छ । उदाहरण हाम्रै इतिहासमा छन् । पढ्ने मात्रै कि इतिहासबाट सिक्ने पनि ? यो बेग्लै बहसको विषय हो ।


पृथ्वीनारायणका छोरा प्रताप सिंहमा राज्य विस्तारको कुनै जुनुन थिएन । तन्त्रविद्याका ‘पुरश्चर्यार्णव’ जस्ता पुस्तक लेख्ने र देउभाजु कीर्तिराजानन्द उपाध्यायहरूसँग तन्त्र विद्या सिक्नमा उनको रुचि थियो । सिक्कामा श्रीश्री भवानी लेखिने गरेकोमा नयाँ सिक्का छपाउन लगाई तन्त्रदेवी मानिने श्री गुहयश्वेरी लेखाउने र तुलजा भवानीमा गुहयश्वरीको तन्त्र अनुष्ठान गरी पुनश्चरण गराउनेमा उनको ज्यादा समय व्यतीत भयो ।


रणबहादुर जसरी हुर्किए र उनले सत्ता र शक्तिको मनमौजी खेलोमा जसरी आफूलाई समाहित गराए, त्यसले अन्तत: उनको दारुण अन्तको बाटो मात्रै खनेन, नेपाली सत्ताकेन्द्रमा अस्थिरताको हुन्डरी पनि हुलिदियो । बट्टाई र साँढे जुधाएर मनोरञ्जन लिने शासक अन्तत सत्ता र शक्तिका लागि भएको साँढे जुधाइमै छिनालिए । जुधाउन जम्मा गरिएका साँढे चराउन पशुपति छेउमा गौचरन खडा गरेका उनले आफ्नो शासनकालमा अस्थिरताको अत्यासलाग्दो छनक दिए र गए ।

उन्माद एक
जब, रणबहादुरले सत्ताको बागडोर आफ्नो हातमा लिए, त्यसपछि दरबारभित्र आफ्नै खलकको हत्याको शृंखला सुरुआत गरे । अहिलेको परोपकार भवन भएको ठाउँतिर तत्कालीन समयमा रहेको बन्दीगृहमा कैद गरिएको अवस्थामा विसं १८५४ असार १४ को राति हत्याराहरू पठाई बहादुर शाहको हत्या गराए रणबहादुरले (आचार्य, बाबुराम–भीमसेन थापा : यिनको उत्थान तथा पतन, पृ २१) ।


रणबहादुरकी जेठी पत्नी राजराजेश्वरी (बुद्धिलक्ष्मी ?) तर्फ छोरी मात्रै भएको थियो भने कान्छी सुवर्णप्रभाको तर्फबाट रणउद्योत शाह र शमशेर शाह नामका छोराहरू जन्मिइसकेका थिए । रणउद्योत स्वभावत: राजगद्दी उत्तराधिकारीको रूपमा दावेदार थिए, राजाको जेठो छोरा राजा हुने थितिका आधारमा ।


विसं १८५२ को शिवरात्रिमा पशुपति दर्शनमा तिरहुतबाट आएकी विधवा ब्राह्मणी कान्तवती मिश्रको रूप, यौवन र सुन्दरताको खबर सुनेपछि रणबहादुरको आदेशमा कान्तवतीलाई पक्राउ गरी म्यानमा हालेर वसन्तपुर दरबार ल्याइयो (आचार्य, उही, पृष्ठ १६) । सत्तासीन सनकी राजाको हठपूर्ण विवाह प्रस्तावबाट आजित उनले आफूबाट जन्मेको छोरालाई राजगद्दीको उत्तराधिकारी बनाउने असम्भवजस्तो प्रस्ताव कान्तवतीको मोहक यौवन र सौन्दर्यमा लठ्ठिएका रणबहादुरले वाचासहित स्वीकार गरेपछि कान्तवती र रणबहादुरबीच शाहहरूको मूलभवन गोर्खा दरबारमा विसं १८५२ को उत्तराद्र्धमा बिहे भयो (आचार्य, उही, पृ १७) ।


गीवार्णयुद्ध जन्मिएको वर्षदिन नपुग्दै कान्तवती क्षयरोगबाट ग्रसित भएपछि ‘साँढे वैद्य’ लक्ष्मीनारायण दाहाल र त्यसवखतका प्रख्यात वैद्य मिलह्म वैद्य उपचारमा खटाइए । मिलह्मले कान्तवतीको उपचारका लागि गेरुवा वस्त्र धारण गरी ब्रह्मचर्य–व्रतमा बस्नुपर्ने बताएपछि रणबहादुरले म पनि रानीसँगै गेरुवा धारण गर्छु भनी स्वामी बन्न कस्सिएपछि त्यसको आलोचना गरेका राजगुरु गजराज मिश्र, श्रीकृष्ण शाह निर्वासित हुन बाध्य पारिए (आचार्य,उही, पृ २३,२४) । रेसुंगाका स्वामी शशिधर मरासिनीले स्वामी निर्वाणानन्द नामकरण गराइदिए रणबहादुरको (सुवेदी, राजाराम–नेपालको तथ्य इतिहास, पृ १९८) र राजपाठ त्यागेको घोषणा गर्दै गीर्वाणयुद्धलाई राजतिलक दिलाई सत्ताबाट बाहिरिए ।


कान्तवती मरेपछि अर्धपागलझैंं बनेका रणबहादुरले कान्तवतीको उपचारमा संलग्न मिलह्म वैद्यको औषधि बनाउने हात तेल पेल्ने कोलमा हालेर पेल्न लगाउँदै हत्या गरे भने लक्ष्मीनारायणको आँखामा सिउँडीको चोप खन्याएर चारपाटा मुडी भारततर्फ लखेटियो । उनीहरूकी पत्नी दमाईलाई सुम्पिइयो । पशुपतिनाथको मुर्तिलाई तोपले उडाउन कस्सिएका उनलाई भारदारले रोके पनि ‘तुलजा भवानी’ को मुर्ति उखेली मसानघाटमा मिल्काइदिएका थिए । स्वयम्भूको ‘हारती माता’ को मुर्ति उखेलिदिए । भक्तपुरको ‘बेताल’ को मुर्ति बन्चरोले फोरे भने कुम्भेश्वरको शिवलिंगमा दिसा लेपन गराइदिए । कान्तवतीको उपचारमा लागेका ठूला–साना तान्त्रिक–वैद्य–पण्डितहरू अपमानित गरिए, डामिए, सर्वस्वहरण गरिए । त्यसै बखतदेखि दरबारको कुदृष्टिबाट बच्न वैद्य–तान्त्रिकहरू पलायन भए र देशमा वैद्य–तन्त्र विद्या निम्छरो हुँदै जान थाल्यो । बिफर नै नआएका कलिला बच्चाहरू काठमाडौं निकाला गरिए । गीवार्णयुद्ध नुवाकोट लगिए । स्वयं रणबहादुर देउपाटनबाट पाटन सरे (पाँडे, भीमबहादुर–राष्ट्रभक्तिको झलक, पृ ८३) ।


पछि नुवाकोट पुगेका रणबहादुरले सत्ता र शक्तिको सनकमा बिनाकुनै अपराध सरदार अमरसिंह थापा (बडा) र रणबम पाँडेलाई खुट्टामा बाँधेर झुन्डयाइदिए भने परशुराम थापालाई छालामा राखेर घिर्सादै बजार घुमाइदिए । सरदार प्रवल रानालाई श्रीमतीको पोसाक पहिराएर बजार घुमाए ।


रणबहादुरको उद्दण्ड स्वभावबाट आजित नुवाकोटमा गीर्वाणयुद्धको भारदारीसभामा कार्यरत भारदारले रणबहादुर र राजराजेश्वरीसमेतलाई नजरबन्दमा राख्ने मतो गरेपछि त्यसमा असहमत बलभद्र शाह नुवाकोटबाट पाटन गई रणबहादुरलाई नुवाकोट योजनाको पोल खोलिदिए । त्यसबाट आक्रोशित रणबहादुरले राजगद्दी आफैंंले फिर्ता लिएको भन्दै पाटनमा नयाँ भारदारी सभा घोषणा गरे । यसरी पाटन र नुवाकोट गरी देशमा एकसाथ द्वैध सत्ताको अवस्थाबाट नेपाल गुज्रियो ।


रणबहादुर पक्षधरले नुवाकोटको ककनीमा गद्दीनसीन राजा गीर्वाणयुद्धविरुद्ध किल्लाबन्दी गरे । तारादल, रणशेर, रणभीम, देवीदत्त पल्टनहरू रणबहादुरको पक्षमा गए पनि बाँकी देशभर खटिएको सैनिक बल गीवार्णयुद्धको पक्षमा उभिँदै नुवाकोट दरबारमा हाजिरी जनाउन आइपुग्यो । उक्त फौज लिई पाटन हान्न बढेका काजी दामोदर पाँडे ककनीको किल्ला भत्काई मुड्खु आइपुगेको खबर सुन्नासाथ रणबहादुर भागेर बनारसतिर लागे । त्यसरी भाग्दा रणबहादुरसँगै बनारस जाने हूलमा थिए— भीमसेन थापा, रंगनाथ पौडेल, दलभञ्जन पाँडे, रणध्वज थापा, उदय गिरीलगायत ५० जना पुरुष र ४ बग्गी महिला पनि (पन्त, नयराज–भीमसेन थापा, पूणर््िामा, पूर्णाङ्क ३२,पृ २२०) ।

अवसान एक
पछि अनेक परिबन्द मिलेर विसं १८६० मा रणबहादुर नेपाल फर्किए । नेपाल फर्किएपछि भीमसेन थापाको सल्लाहमा गेरुवस्त्र फालेर राजदरबार छिरे । यसै क्रममा विसं १८६३ वैशाख १६ को राति राज्यकोषको १८ हजार रकम हिनामिना भएको भन्दै त्यसउपर छलफल गर्न पहिले त्रिभुवन प्रधानको स्वामित्वमा रहेको र पछि रणबहादुर र भीमसेनको चाँजोपाँजोले कीर्तिमानसिंह बस्न्यातकी आमा चित्रावतीको नाममा बकस दिइएको हालको रणमुक्तेश्वरको भवनमा भारदारी कचहरीको आयोजना भयो ।


सवालजवाफ क्रममा रणबहादुरले शेरबहादुरलाई हियाउँदा रिसाएका शेरबहादुरले आफूले भिरिराखेको तरबार झिकेर रणबहादुरमाथि प्रहार गरे । रणबहादुरको पेटमाथि तरबार बज्रियो । शेरबहादुरले तत्काल अर्को प्रहार थपेर रणबहादुरको बीभत्स अवस्था सिर्जना गरी भाग्न लाग्दा उनी जंगबहादुरका पिता बालनरसिंह कुँवरद्वारा गिँंडिए । रगतको आहलमा बीभत्स रूपमा डुबेका रणबहादुरको तत्कालै मृत्यु भयो । सत्ताको वालिग भएपछि आफ्नै काका बहादुर शाहलाई जेलभित्रै हत्या गरेको एक दशक पनि नपुग्दै रणबहादुर आफ्नै भाइबाट बीभत्स रूपमा मारिए । यसरी, सत्ता र शक्तिको उन्मादले टीठलाग्दो अवसानको नियति बेहोर्‍यो ।


फ्रान्सिस बुचनान हयामिल्टनका अनुसार, रणबहादुरले शेरबहादुरलाई लडाइँमा पठाउन खोजेको तर शेरबहादुरले रणबहादुरलाई हामी दुवै एउटै बाबुका छोरा हौं । लडाइँमा जानैपर्ने हो भने दाजु अघि लागे म पछयाउँछु भनेपछि क्रोधित रणबहादुरले शेरबहादुरलाई तत्काल पक्राउ गरी लगेर काट्न आदेश दिए । त्यसपछि कसैले याद नगरेको अवस्थामा शेरबहादुरले कम्मरको तरबार निकालेर रणबहादुरमाथि प्रहार गरिदिए (एन एकाउन्ट अफ द किंगडम अफ नेपाल, पृ २६०) ।

उन्माद दुई
बनारसबाट फर्किएका रणबहादुर र उनको टोलीलाई लिन थानकोट फेदी पुगेका मूल–काजी दामोदर पाँडे र सरदार प्रवल राना रणबहादुरको आदेशमा पक्रिई खुट्टामा नेल, हातमा हत्कडी पहिराएर ल्याई लुमडी (भद्रकाली) नेरको सत्तलमा बन्दी बनाएर राखियो । राति पहरेदार निदाएको मौकामा प्रवल रानाले भाग्ने मतो गर्दा ‘पाल्पा पुग्न सके पृथ्वीपाल सेन आफ्नो पक्षमा अउने र पाल्पा–पर्वतदेखि गढवालसम्म आफ्नो नियन्त्रण कायम गर्न सक्ने तर त्यसो गर्दा आफ्ना दिवंगत पिता काजी कालु पाँडे, दाजु काजी वंशराज पाँडे र आफैंले समेत प्राणको बाजी लगाई, रगत पसिना बगाई जोडेको मुलुक आफ्नै हातले दुई टुक्रा हुने र कालान्तरमा नेपाल नै फिरंगीहरूको सिकार बन्ने’ भनेर भाग्न अस्वीकार गरेका दामोदर पाँडेलाई १८६० चैत ३ गते लुमडी नजिकको घाट (अहिलेको सहिदगेटनेर ?) मा गिंडियो । दामोदर पाँडेका कलिला छोराहरू ललितबम, रणकेशर, गजकेशर पाँडे बिनाकसुर त्यहीँ गिँडिए । टक्सारी भीम खवास र उनका एक छोरालाई विष्णुमती लगेर काटियो । खवासका अर्का एक छोरालाई टौदहको पोखरीमा डुबाएर मारियो भने अर्का छोरालाई तीन दिनसम्म खुट्टामा पासो लगाई रूखमा झुन्डयाउँदा पनि नमरेपछि काटेर मारियो । शंखधर खवासलाई खाडल खनी कुमसम्म पुरेर कपालमा खोटो दली आगो लगाई जिउँदै पोलियो । सरदार इन्द्रमान खत्री, द्वारे समनसिंह र सुवेदार मानधनलाई पनि गिँंडियो र भीमसेन थापाको सत्ता आरोहको यात्रा रगतको भेलबाट रंगीन बनाएर सुरु गरियो ।


वनारस छँदै सल्लाह भएको थियो— रणबहादुर नेपाल फिरेपछि नेपालको वैधानिक मन्त्रिपरिषद् भंग गरि आपसमा पद बाँडफाँड गर्ने । सोही पूर्वयोजनाअनुरूप सरदारबाट हटाइएका भीमसेन थापा एकैचोटि काजी भए । उनका पिता र भाइ पनि काजी भए ।


विसं १८४४ मा १२ वर्षको उमेरदेखि रणबहादुरको बालसखा बनेका भीमसेन थापा पछिबाट रणबहादुरको अंगरक्षक नै बन्न पुगे (उपाध्याय, श्रीरामप्रसाद–नेपालको समीक्षात्मक इतिहास, पृ १९३) । त्यसबखत एकै समय अमरसिंह थापा नामका दुईजना भारदारहरू नेपाल दरबारमा कार्यरत थिए । भीमसेनका पिता सानाकाजी भनेर चिनिइन्थे भने राष्ट्रिय विभूति अमरसिंह थापा बडाकाजीका रूपमा । बडाकाजी विसं १८४१ अघि नै सरदार भइसकेका थिए भने त्यसबखत भीमसेनका पिता जमदार पदमा कार्यरत थिए । विसं १८५६ मा सुवेदारबाट एकैचोटि सरदार भएका थिए उनी र उनकै खान्गीमा भीमसेन पनि सुवेदारबाट सिधै सरदार भएका थिए (नेपाली, चित्तरञ्जन–भीमसेन थापा र तत्कालीन नेपाल, पृ २५३–२५४) ।
यहींनेर थपौं, विरोधीहरूको दमन गरी सत्ता हातमा लिएपछि भीमसेन थापा, रंगनाथ पौडेलहरूले बनारसमा छँदै बनाएको योजना मुताविक पृथ्वीनारायणका माइला भाइ महोद्यामकीर्ति र साहिँला भाइ दलमर्दन शाहका सन्तानहरू बसिरहेको घर कब्जा गरे । महोद्यामका सुस्त मनस्थितिका जेठा छोरा पहलमानसिंहका भीमप्रताप र भीमरुद्र नामका छोरा थिए । माहिला बलभद्रका कुनै सन्तान थिएनन् । उनी राजराजेश्वरीको संरक्षक भएर बनारसबाट फर्कंंदा रौतहटको बडरहवामा मरेका थिए । कान्छा श्रीकृष्ण शाहको मृत्यु भएकाले उनका छोरा वीरभद्र पनि पहलमानसिंहकै छोराहरूसँग एउटै भवनमा बस्थे । उता, पृथ्वीनारायणका अर्का भाइ दलमर्दन शाहको वृद्धावस्थामा जन्मेका छोरा कुलचन्द्र (कुलदीप ?) शाह दस वर्ष आसपासका मात्रै थिए । दलमर्दनको मृत्यु भइसकेकाले कुलचन्द्र आमासँग पुख्र्यौली घरमा बस्थे ।


तत्कालीन मकवानपुरले चर्चेको तराई भेगको प्रशासक भएर बसेका महोद्दामकीर्तिले मकवानपुरको राजा हुने दाबीलाई पृथ्वीनारायणले विभाजित र टुक्रे राज्यलाई एउटै राज्यमा मिलाएको भाइभतिजालाई श्रीपेच बाँड्न होइन भनेर सातो लिए पनि उनले राजा हुन्छु भनेर श्रीपेच नै बनाएको खबर केहरसिंह बस्नेतले पृथ्वीनारायणलाई पठाइदिएपछि ‘त्यसो गरिस् भने तेरा आँखा झिकिदिन्छु’ भनेर डाँटेपछि महोद्दामकीर्ति बिभिन्डिएर हिँडेपछि उनलाई खुसी पार्न रोजेको दरबार दिइएको थियो । काठमाडौंमा उपलब्ध मध्यहनुमानढोका दरबारपछिको सबैभन्दा भव्य वाग–बगैंचाले सुशोभित, टुँडिखेलको पश्चिम दक्षिणतिर रहेको भव्य र सुन्दर महल महोद्दामकीर्तिलाई दिएका थिए । मनमोहक वाग–बगैंचाको आवादीभित्रको महल हुनाले उक्त महल वाग महल (दरबार) का नामले चिनिन्थ्यो । जो फैलिएको थियो अहिलेको सुन्धारादेखि त्रिपुरेश्वरसम्म । त्यहीँको जमिनमा पछि हाडनाता करणीमा परेका भद्रशमशेरलाई राख्न बनाइएको जेल अहिले भद्रगोल जेलका नामले चिनिन्छ ।


अर्का भाइ दलमर्दनलाई पृथ्वीनारायणले अहिलेको जुद्ध सडकबाट इन्द्रचोक जाने बाटोको धर्मपथको भवन दिएका थिए । महोद्दामकीर्ति र दलमर्दनका नाबालक नाति र छोराहरू वीरभद्र, भीमप्रताप, भीमरुद्र र कुलचन्द्र शाहहरूको आँखा फुटाएर उनीहरूलाई भण्डारखालमा कैद गरियो । वीरभद्रहरूको भव्य वागदरबार विसं १८६१ फागुन २८ भीमसेन थापाले कब्जा गरे भने धर्मपथको कुलचन्द्र बसिरहेको भवन रंगनाथ पौडेल (पण्डित) लाई दिलाइयो । धर्मपथको उक्त भवनमाथि शेरबहादुर शाहीले पनि आँखा लगाएका थिए । नपाएपछि त्यही विवाद लम्बिँदै गएर रणबहादुरको हत्यासम्म पुग्यो ।


आफैंले सहमतिमा बोलाउन लगाएको कचहरीबाट खाना खाने बहानामा निस्किएका भीमसेन थापा रणबहादुर र शेरबहादुरको बीभत्स अवस्था सिर्जना भएपछि मात्रै फर्किए । शेरबहादुरका दुई जना कमरा केटाहरूलाई तत्कालै काट्न लगाए । विदुर शाही, त्रिभुवन प्रधान, नरसिंह गुरुङ, पाल्पाली राजा पृथ्वीपाल सेन र उनका भाइ थुनिए र भोलिपल्ट भण्डारखालको बगैंचामा गिँडिए । सत्ता आफ्नो हातमा आएको उन्मादमा भीमसेनले हेलम्बुमा निर्वासित राजराजेश्वरीलाई आफ्ना अनुत्तरदायी पतिको सतीको चितामा रणबहादुर मरेको नवौं दिनमा १४ जना सुसारेसहित जलाएर उनको उपस्थितिले आफ्नो हालीमुहालीमा पर्न सक्ने बाधालाई सधैंका लागि पन्छाउन सफल भए (ह्यामिल्टन, उही, पृ २६१) । पृथ्वीपाल सेनसहितका १८ पाल्पाली निरपराध अंगरक्षकलाई भण्डारखालको बगैंचामा काटेर लासलाई दाम्लाले घिसारेर विष्णुमतीको बगरमा फाली स्याल, कुकुर, गिद्धलाई खुवाइयो । जगत खवास विष्णुमतीमा काटिए । चौतारा विदुर र शेरबहादुर शाहीका निरपराध पत्नीहरू पोडेलाई भिडाइयो (आचार्य, बाबुराम–नेपालको संक्षिप्त वृत्तान्त, पृ २८७–२९०) । रणबहादुर मारिंदा गीर्वाणयुद्ध नौ वर्षका थिए । भीमसेन थापाले यो मौका छोपी आफू हर्ताकर्ता बन्ने काममा बाधकजस्ता सम्झेका भारदारहरूलाई रणबहादुर हत्याको मतियार हुन् भन्ने दोष लगाई निर्दयतापूर्वक मराए । आफ्ना बाबु, ४ भाइ तथा आफू समेत ६ जनाले नै राजाको तथा सारा नेपालको रक्षा गरिरहेछन् भन्ने कुरा फैलाई (वाग्मतीको भीमसेन थापाको स्तम्भलेखन) नेपाल राज्यको हर्ताकर्ता बन्न पुगे (बाँडा, सुन्दरानन्द–त्रिरत्न सौन्दर्यगाथा, सम्पादक–धनबज्र बज्राचार्य, पृ ६०) ।


रणबहादुरसँगै उनका दुई भाइ विदुर र शेरबहादुर मारिएकाले पृथ्वीनारायणका सन्तानमा प्रभावशाली व्यक्ति कोही पनि बाँकी रहेन । त्रिभुवन प्रधान र नरसिंह गुरुङ मारिँदा नेवार र गुरुङ राजकाजबाट निखारिए । यस किसिमबाट अरू जातको प्रभाव गिराई भीमसेनले खसराज्य खडा गरे । खसमा पनि अनुभवी राजनीतिज्ञ दामोदर पाँडे अघिबाटै काटिएका र बखतावरसिंह बस्न्यात र बडाकाजी अमरसिंह थापा काजको बहाना गरी काठमाडौंबाट दूर भूगोलमा अल्मल्याइएकाले पृथ्वीनारायणको पालादेखि राजकाजमा अनुभवीहरू कोही पनि काठमाडौंमा रहेनन् । अनुभवहीन भीमसेन र उनका अनुयायीहरूको हातबाट राजकाज चल्न लाग्यो । आफू बसिआएको वागमहलको स्थानमा ठूलो दरबार बनाए । उनको पालाभर भीमसेन, उनका बाबु, भाइभतिजाबाहेक अरू जर्नेल भएको थाहा पाइएको छैन (पन्त, उही, पृ २३३) ।


जब, भीमसेन सत्ताको हर्ताकर्ता बने, भीमसेनको वंश नै ठूलाठूला वीरहरूका भन्दा पनि माथिल्ला पदमा पुगेको देखिन्छ । काँगडाको लडाइँमा बडाकाजी अमरसिंह थापाले गरेको कामलाई छोपी भीमसेन थापाका भाइ काजी नयनसिंह थापाले गरेको भनेर प्रचार गराए (वाग्मती स्तम्भलेखन) । लड्दालड्दा जीवन बिताएका भारदारहरूको नाम नलिई भीमसेनले मेरो बाबु अमरसिंह (साना) ले अंग्रेजको बललाई रोकिरहेछन् भन्ने कुराको प्रख्यापन गराई आफूलाई र आफ्नो बाबुलाई जनरल बनाई आफ्नो वंशबाहेकका अरू भारदारलाई होच्याउने प्रथाको श्रीगणेश गरे । यसको परिणाममा भीमसेन सत्तामा बहाली रहँदाको नेपालको एकतिहाइ भाग गुमाउन देशले धेरै वर्ष कुर्नै परेन (बाँडा, उही, पृ ६९, ७२) ।


बुटवल, स्युराजसहितका केही विवादित स्थानहरूको सवाललाई लिएर इस्ट इन्डिया कम्पनीले नेपालसमक्ष असहमति पत्र पठाएको थियो । विस्तारित नेपालको व्यवस्थापन र प्रशासन सम्हाल्न गौंडागौंडामा खटिएर गएका लडाइँंमा लडे–भिडेका पुराना सेनानायकहरूले लडाइँलाई जसरी पनि टार्ने उपाय खोज्न भीमसेनलाई पत्र लेखेका थिए । बडाकाजी जनरल अमरसिंह थापा, मुलुकी सुब्बा चौतारा बम शाह, राजगुरु रंगनाथ पौडेल, काजी भक्ति थापा, दलभञ्जन पाँडे, हस्तदल शाहीसमेत युद्धको विपक्षमा थिए ।


अमरसिंहले सैनिक तयारी पूरा नभएकाले बुटवल क्षेत्रका केही मौजाहरूको विवादलाई लिएर आफूभन्दा बलियो शक्तिसँग अनावश्यक मुकाविला गर्दा जोडेको भूगोल पनि गुम्न सक्ने भएकाले बुटवल र स्युराज दिएर भए पनि लडाइँ टार्नुपर्ने भाकाको पत्र पठाएका थिए ।


लडेभिडेका भारदारहरूको शृंखलाबद्ध रूपमा भीमसेनले हत्या गरिसकेका थिए । बाँकी रहेका लडाइँंमा खारिएका भारदारहरूले देशको तागत नापिसकेका थिए । तर, भीमसेन थापा आफूले मच्चाएको शृंखलाबद्ध हत्याकाण्डबाट भित्रभित्रै आक्रोशित जनभावनालाई मोड्न देशलाई युद्धमा होम्न कटिबद्ध थिए ताकि नागरिक आक्रोश युद्धतिर मोडियोस् र आफ्नो सत्तामाथिको संकटलाई विषयान्तर गर्न सकियोस् ।


भीमसेनलाई पठाएको सुझाव नसुनिएको भान भएपछि बडाकाजी जनरल अमरसिंह थापाले काठमाडौं दरबारमा पत्र पठाए, ‘यो लडाइँ हुन नपाओस् भनि हालै दखल गरिएका सब जग्गा छोडियून् भन्ने हाम्रो महाराजधिराजसँग प्रार्थना छ । अंग्रेजसँग राम्रै झगडा पर्‍यो भने हाम्रो राज्यका सम्पूर्ण व्यवस्था बिग्रनेछ । लडाइँं गर्नैपर्छ भन्ने जो मानिस हो, सो दरवारमा बढेको हो, औ सैनिक जीवनको गाहारो साङुरोको कुरा उसलाई थाहा छैन (ज्ञवाली, सूर्यविक्रम–अमरसिंह थापा, पृ ६०) ।’


त्यसरी देशको तागत छामेर पत्र लेखेका अमरसिंह, बम शाह, दलभञ्जन, हस्तदल शाहीहरूलाई अंग्रेजसँग मिलिसकेको, लडाइँंसँग डराएको भनेर आरोपित गरी आफ्नो योजनामुताविकै भीमसेनले देशलाई युद्धमा होमे र परिणाममा नेपालले सर गरेको विशाल भूभाग नेपालले गुमाए पनि भीमसेनको सत्ता भने अकण्टक जारी रहयो । अमरसिंहहरू अराष्ट्रिय भए । त्रिहत्तर वर्षको उमेरमा देशको माटो जोगाउन विदेशी तोपको मोहरा छोप्न छाती थाप्ने भक्ति थापा राष्ट्रिय विभूति भएनन्, देशलाई लत्याएर विदेशी दरबानमा छाती नाप्न पुगेका बलभद्र बालकृष्ण समका पुर्खा भएकै कारण विभूतिको सूचीमा टाँगिए । भीमसेनले खोलेको लडाइँंको मोर्चामा नेपालले हार बेहोरेको किल्लाहरूको कथित बहादुरीको राष्ट्रिय शिक्षा तयार पारियो । भीमसेनलाई राष्ट्रभक्त लेखाइयो बालकृष्ण सम सामेल राष्ट्रिय विभूति निक्र्योल गर्ने गोजी समिति मार्फत । नक्कली राष्ट्रवादले सधैंभर देशलाई माया गर्ने, आँसु, पसिना, रगत देशका नाममा सिञ्चन गर्नेलाई लाञ्छित गर्ने गर्छ । आफ्नो स्वार्थ पूरा गर्न देशलाई जुवाको खालमा हाल्न नहिच्किचाउने पात्रहरूलाई राष्ट्रवादी भनाउने खेल भीमसेनको मृत्युको एक सय ८० वर्षसम्म पनि निरन्तर जारी छ । कथित राष्ट्रवादी भीमसेन थापाका नवअवतारहरूको जगजगी कायमै छ ।

अवसान दुई
विसं १८९४ साउन ११ गते राजेन्द्र विक्रमकी जेठी पत्नी साम्राज्यलक्ष्मीतर्फका ६ महिने छोरा देवेन्द्रविक्रम शाहको निधन भयो । साम्राज्यलक्ष्मी अंग्रेजहरूको कट्टर विरोधी थिइन् । विसं १८७२ मा अंग्रेजसँग भएको सन्धिलाई देशको कलंक तथा त्यसको कर्ता मानेर भीमसेन थापासँग चिढिएकी पनि थिइन् (उपाध्याय, रामजी–नेपालको इतिहास, पृ २२९) । साम्राज्यलक्ष्मीले आफ्नो छोरालाई विष मिसाएको औषधि भीमसेनले सरदार एकदेव वैद्य प्रयोग गरी खुवाएको आरोप लगाइदिइन् । एकदेवले भाजुमान वैद्यलाई अह्राएर देवेन्द्रविक्रमलाई विष खुवाई मारेको आरोपमा भीमसेनलाई पक्राउ गरियो । त्यस पटक राजगुरु रंगनाथ पौडेलको आग्रहमा छुट्कारा पएर गोर्खा बोर्लाङ गई बसेका भीमसेन १८९६ मा नेपाल–अंग्रेज असमझदारी हटाउन भनी काठमाडौं बोलाइए ।


भीमसेनको काठमाडौंको सत्तामा फिर्ती हुने देखिएपछि असमझदारी छाडेर अंग्रेज पछि हटयो । यो सबै बुझेकी साम्राज्यलक्ष्मीले भीमसेनलई सदाका निम्ति सिध्याउन पुन: विष मुद्दा उल्टाइन् । भीमसेन फेरि वागमहलको छिँडीको कोठामा थुनिए ।


भीमसेनको तेजोवध गर्न सत्तामा रहेका उनका विरोधी पाँडेहरूले ‘भक्तकुमारीलाई नांगै सहर घुमाइँदै छ’ भन्ने खबर उनको कानमा पुर्‍याउन लगाए । त्यसबाट सार्वजनिक बेइज्जती हुने ठानी विसं १८९६ साउन ८ गते खुकुरीले घाँटीको श्वास नली फुटाउने प्रयास गर्दा आंशिक मात्रै फुटेर रगतपच्छे भएर ढले । उनको अर्धचेत शरीरलाई पहिले उनैले पृथ्वीपाल सेन, शेरबहादुर, विदुर शाहीसहित दर्जनौं भारदारलाई मारेर स्याल, गिद्ध, कुकुरलाई लुछाउन फालिएको विष्णुमतीको किनारमा लगेर फालियो र कसैले उपचारमा लान नपाओस् भनेर हतियारधारी पहरेदार खटाइए । मध्यवर्षाको घाम, पानी खेपेर स्याल, गिद्ध, काग, कुकुरबाट घेरिएर घ्यारघ्यार श्वास लिँदै नवौंं दिनमा उनले विसं १८९६ साउन १६ गते प्राण त्यागे । अन्तिम संस्कारसमेत गर्न नदिई उनको लास स्याल, गिद्ध, कुकुरलाई खुवाइयो (भीमसेन थापा : यिनको उत्थान तथा पतन, पृ १६०–१६५) ।


भीमसेनको आत्माहत्या सम्बन्धमा चित्तरञ्जन नेपालीले छापेको एउटा पत्रमा उल्लेख छ, ‘एकदेव वैद्यले अघिपछिको सबै कुरा वक्याको थाहा पायेछ र आफूले गर्याको अघिको र पछिको कुकर्म प्रकाश हुन लाग्यो भन्या डरले कसैले थाहा नपाई हतियार मगाई ९६ साल श्रावण महिनाको दिन ८ जाँदा हतियारले आफ्नु गला आफैंले काटी अपहत्या गरि ९ दिन बँची श्रावण १६ दिन जाँदा भीमसेन थापा मर्यो (जनरल भीमसेन थापा र तत्कालीन नेपाल, पृ २७९–२८०) । कतिपयले भीमसेन थापाले झ्यालको सिसा फुटाई त्यसैको टुक्राले रेटिएर आत्महत्या गरेको पनि लेखेको पाइन्छ । त्यसबखत बनेका दरबार एवं भवनहरूमा सिसाको झ्याल हाल्ने गरेको देखिंदैन । बरु उनका सत्तासीन विरोधीहरूले उनलाई आत्महत्या गर्न प्रेरित गराई खुकुरी कुनै तरिकाले उनीकहाँ पुग्ने चाँजो मिलाएको तर्क बलियो देखिन्छ ।


काल माक्र्सले आफ्नो प्रसिद्ध निबन्ध ‘लुइस बोनापार्टको अठारौं ब्रुमेर’ मा लेखेका थिए, ‘इतिहास दोहोरिन्छ...पहिलो पटक त्रासदीका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा ।’ बहादुर शाह, रणबहादुर, भीमसेन, माथवरसिंह, कोतपर्व, नारायणहिटी हत्याकाण्ड हुँदै अघि बढेको देशमा जारी सत्ता र शक्तिको तोडका बीच इतिहासका त्रासदीहरूको पुनरावृत्तिले प्रहसनको स्वरूप प्रकट गर्ने परम्परा रोकिएको छैन ।
Twitter: @gaunkomanchhey

प्रकाशित : श्रावण २६, २०७५ ०८:५९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मेरी जिजुबज्यै

संस्मरण
विष्णु भट्टराई

काठमाडौँ — इतिहासमा कतिपय विवरण र वृत्तान्त त्यत्तिकै हराएर जान्छन् । कति लेखिन्छन्, कति जनश्रुतिझैं बन्छन् । विजेताहरूको इतिहास लेखिन्छ अथवा कनीकुथी बनाइन्छ । तर, झिनामसिना र साधारणजनको कथा त्यसै बिलाएर जान्छ ।

रामेछापको गैह्राथोकमा जन्मे–हुर्केकी एउटी साधारण महिला कसरी संयोगले राणाकालीन दरबारमा भान्से र भण्डारे बनिन् भन्ने इतिहास पनि जनश्रुतिझैं मात्रै छ । यी साधारण नारी नन्दकुमारी भट्टराईले सुनाएको बयानका आधारमा उनका ५२ वर्षीय पनाति विष्णु भट्टराईले गरेको यो संस्मरण आफैंमा रोचक लाग्छ । श्री ३ जुद्धशमशेरकालमा दरबार पस्दा नन्दकुमारी ३० वर्षकी थिइन् । त्यसपछि आफ्नो जीवन रहिन्जेल उनी दरबार वा आसेपासेकै आश्रयमा रहिन्, सेवक बनिरहिन् । राणाहरूकै निगाहमा आफ्ना सन्तानको सरकारी जागिर तराईको महोत्तरी–धनुषातिर तोकिएपछि रामेछापबाट भट्टराई परिवार महोत्तरीको गौशालामा सर्‍यो । २००७ तिर राणा खलकले जानकी मन्दिर आसपासमा जलमग्न अवस्थामा थोरतिनो बक्सिस जमिन पनि दिएका थिए । तर, नन्दकुमारीले त्यो लिन चाहिनन् । बरु जुद्धशमशेरकै खलकले बक्सिससरह २०१४ सालतिर नन्दकुमारीका हातमा ५ हजार रुपैयाँ राखिदिएका रहेछन् । जुद्धशमशेरको निधन भएपछि जंगबहादुर राणाका भान्जा खलकतिर नन्दकुमारीको ‘सेवक’ काम सारिएको रहेछ । राणा शासन गयो, समय बदलियो। तैपनि उनी जनकपुरमा रहेका राणा खलकको सेवक बनेर बसिन्, झन्डै मृत्युपर्यन्तै ।

मेरो हजुरबा पाँच वर्षको उमेर छँदा बूढा हजुरबुबा (जिजुबाजे) परलोक हुनुभएको रहेछ । बूढी हजुआमालाई पाँच वर्षको अबोध नाबालक छोरो टुहुरो भएकोमा असाध्यै ठूलो पीर भएछ । कसरी जीवनयापन गर्ने होला भन्ने चिन्ताले बूढी आमा पिरोलिनुभएछ । आफ्ना दुई छोरीहरू र एक मात्र छोराको लालनपालन र हेरविचार गर्नुपर्ने चिन्ता सानो पक्कै थिएन । यसरी दु:ख–चिन्ताको आहालमा डुबेको देखेर बूढी हजुरआमाकै एक साथीले आफू श्री ३ जुद्धशमशेर महाराजको दरबारमा जागिरे भएको बताएछन् र ‘यदि दरबारमा जागिर खान जाने भए सघाउन सक्छु’ भन्दै आस देखाएछन् ।


‘तपाईंले घर–परिवार छाडेर काठमाडौंमा महाराजको दरबारमा जागिर खाने इच्छा गर्नुहुन्छ भने म तपाईंलाई सहयोग पुर्‍याउन सक्छु’ भनेर सुनाएका रहेछन् । यो कुराले बूढी हजुरआमाको अन्तर्मनमा आफ्नो घरआँगनमा साक्षात देवता प्रकट भएसरह भएछ । एकहप्ते छुट्टी लिएर गाउँ आएका साथीले घर सल्लाह मिलेमा बूढी हजुरआमालाई आफूसँगै दरबार लिएर जानेसमेत बताएछन् । घरतिर ससुरा र श्रीमान् स्वर्गे भइसकेकाले बाँकी सल्लाह माइतीघरतिर मात्रै थियो । ‘तिम्रा माइतीले हुन्छ भनेर मान्छन् भने तिम्रा साना नानीहरूको भविष्य राम्रो बन्नेछ’ भनेर साथीले आस देखाएपछि बूढी हजुरआमा झनै उत्साहित भएकी रहिछन् । माइती खलकले पनि ‘श्री ३ जुद्धशमशेर महाराजको दरबारमा जागिर खाने अवसर पाउनु त अहोभाग्य’ भनेर हर्ष जनाएका रहेछन् । कुरा मिलेपछि साथीसँग काठमाडौं जाने टुंगो भयो ।


यो विक्रम संवत् १९९० साल माघ दुई गते गएको महाभूकम्पपछिको कुरा हो, सत्यतथ्य इतिहास । गाउँका छिमेकी साथी त्यही महाभूकम्पले धनजन लगेर बिचल्ली बनेपछि घर परिवार र आफ्नो जीवन धान्न महाराजको दरबारमा जागिर खान गएका थिए । यसरी बूढी हजुरआमाको जीवनयात्रा राजधानी काठमाडौंमा श्री ३ महाराजको दरबारतर्फ अघि
बढ्यो । उतिबेला सवारी साधन नभएको हुनाले पैदल नै असाध्यै कष्ट झेलेर यात्रा गर्नुपथ्र्यो, तीन दिनपछि साँझको बत्ती बाल्ने समय पारेर बज्यैहरू जुद्धशमशेरको दरबार पुग्नुभएछ । रामेछापको गैह्राथोकबाट पैदल हिंडेरै काठमाडौं आउँदाको दिनरातको हिसाब हो यो ।


दरबारमा एउटी नयाँ अनुहार भएकी महिला जागिर खान आएको खबरले दरबारभित्रका अरू महिला सुसारेबीच खासखुस र सोधपुछ बढ्दो थियो । दरबारको भित्री आँगन (पटाङ्गिनी) मा निकै भीड बढेको र हल्लाखल्ला भएको खबर महाराज जुद्धशमशेरको कानमा एउटा भित्री ढोकेले पुर्‍याएछ । महाराजले ‘दरबार आएका नयाँ पाहुनाहरूलाई भोकप्यास लागेको होला, चाँडो गरेर भान्सा तयार गर्ने हुकुम’ चलाएछन् । ती नयाँ पाहुनालाई भोलि बिहान दर्शनभेट दिने खबरसमेत पठाएछन् ।


एक घण्टापछि भान्सा तयार भएको खबर आयो । धारामा गएर हातगोडा धोएर बूढी हजुरआमासमेत खाना खान बसेकाको लहरमा लाम लागेर बस्नुभएछ । तर, तीन दिनको हिँडाइ र थकानले यसरी उभिन सक्ने स्थिति रहेन । बूढी हजुरआमामा छटपटाहट सुरु भएछ । नयाँ महिला पाहुनालाई सन्चो नभएको खबर दरबारभित्र पुग्नासाथै औषधिमुलो गर्ने वैद्य हाजिर भएछन् । वैद्यले पनि लामो दूरीबाट कष्टकर यात्रा गरेर आएको हुनाले थकाइले गर्दा यस्तो भएको हो, कुनै चिन्ता लिनुपर्दैन भन्दै उपाय बताएर गएछन् । ‘खाना खाने इच्छा नभए एक ठूलो ग्लास मन तातो दूध पिउन दिने र एउटी महिला सुसारेलाई उनको साथमा सुत्न लगाउने । अनि, उनको हातगोडा शरीरमा तेल मालिस बेस्सरी गर्न लगाउने,’ वैद्यले दिएको उपाय थियो यो । यो उपायपछि बिहानपख ब्युभँmदा शरीर हलुंगो चंगा भएको र आफूलाई अब सन्चो भएको कुरा महिला सुसारेलाई बूढी हजुरआमाले सुनाउनुभएछ ।


बूढी हजुरआमा पहाड रामेछापमा जन्मनु–हुर्कनुभएको थियो । बंैसका दिनमा ३ सन्तान अघिपछि लगाउँदै भोकप्यास मेटाउने उपायमै कुदिरहनुभयो । एकाएक सपनाबाट ब्युझिएजस्तो स्थिति सामुमा आइपुगेको थियो । खानपिन, तेलमालिस, सुसारे सबै आमनेसामने थिए । बिहानीको चियाखाजा पनि एउटी भान्सेले आफ्नो ओछयान नजिकै लिएर आएकी थिइन् । ती भान्सेले सोधिछन्, ‘महाराजसँग दर्शनभेट पाउनुभएको छ कि छैन ?’


कुराकानी चल्र्दै गर्दा एउटा अजंगको खाइलाग्दो मोटो, अग्लो र सल्लाको रूखजस्तो ज्यान भएको पहरेदार दरबार नै थर्काउने गरी कराउँदै आँगनमा आइपुगेछ । ‘महाराजको सवारी सिंहदरबार अड्डातर्फ हुनै लागेको छ,’ऊ कराइरहेको थियो ।


छिनभरमै महाराज आइपुगे, आफ्नो रजगजका साथ । आउनासाथै श्री ३ जुद्धशमशेरले ‘हिजो बेलुकी दरबारको कारिन्दाको साथमा आएकी महिला खै कहाँ, कता छिन ?’ भनेर मर्जी गरेका रहेछन् । तुरुन्तै ती महिलालाई दरबारिया कारिन्दाले महाराजसम्मुख उपस्थित गराएछन् । वरिपरि सिपाहीहरू, बीचमा महाराज श्री ३ जुद्धशमशेर ! लामालामा जुँगा मुख र ओठको दुई किनारमा घुमाएर पालेका ! गह्रांै ओजनदार स्वरले सोधेछन्, ‘नानी ! तिमी कहाँबाट आएकी हौ ? तिम्रो विवाह भएको छ कि छैन ? बिहे भएको भए घरमा को–को छन् ? बालबच्चा सन्तान कतिओटा छन् ? दरबारमा जागिर खान जाने सल्लाह–स्वीकृति घर परिवारमा वा माइतीघरमा गरेकी छौ कि छैनौ ?’


यसरी महाराजले अत्यन्त जरुरी प्रश्न राख्दा बूढी हजुरआमाको कोमल नारी हृदयमा ‘महाराज विष्णु अवतार भगवान् नै हुन्’ जस्तो लागेको रहेछ । यी प्रश्नपछि सिंहदरबार अड्डातर्फ जान मोटरमा राज हुने बेलामा अन्तिम प्रश्न मर्जी भएको रहेछ । ‘के जागिर खाने निश्चय गरेरै घरबाट हिँडेकी हौ त ?’


बूढी हजुरआमालाई महाराजले सोधेको प्रश्नले साँच्चिकै अठोट जन्माइदिएछ— अब आजीवन दरबारमै कारिन्दा बन्ने । ‘म अबला नारीको जीवन–मरण दरबारकै सेवामा अर्पण गर्नेछु,’ बूढी हजुरआमाले मसिनो स्वरमा भनेकी रहिछन् ।


‘तिम्रो मन हृदय समुद्रजस्तो ठूलो र फराकिलो रहेछ । म तिमीदेखी असाध्यै प्रसन्न भएँ, ल आजको मितिदेखि तिमी दरबारकी रानीसाहेबको सेवा टहल र शुश्रुषा कार्यका लागि दरबारभित्रको सुसारेमा तिम्रो जागिर पक्का भयो,’ महाराजबाट हुकुम भएछ । अनि, भान्साघरमा काम गरिरहेकी मुख्य भान्से सुसारेलाई महाराजले ‘यी महिलालाई भित्र रानीसाहेब राज भएको बैठककोठामा पुर्‍याएर आउनू’ भनेर मर्जी भएको रहेछ ।


बूढी हजुरआमालाई मासिक १५ रुपैयाँ तलब दिइएको रहेछ । अरू दरबारीया सेवासुविधा, खानपिन थियो नै । रानीसाहेबको सेवा–चाकरी गर्ने काम थियो । कुनै बेला भान्से काम पनि आइपथ्र्यो । तैपनि बूढी हजुरआमाले आफ्ना छोराछोरीलाई पढाउन–बढाउन र सरकारी जागिरमैं लगाउन अनेक यत्न गरिन् । बूढी हजुरआमाको त्यही दरबारिया सेवा–चाकरीको भरथेगले आज हामी नाति–नातिना र पनाति–पनातिनाहरू यो निम्छरो इतिहासमा पनि गौरव गर्न सक्ने भएका छौं।

प्रकाशित : श्रावण २६, २०७५ ०८:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT