कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नभुलिने ‘भुम्लीचोक’

पर्यटन
देवराज गुरुङ

काठमाडौँ — गोरखाको दक्षिणी भेगमा पर्छ– भुम्लीचोक । फिस्लिङ (कुरिनटार छेउ) माथिको यो सुन्दर मुकाम ‘भिल्लको देशमा मणि’ झैं लाग्न सक्छ । गण्डकी गाउँपालिका–६ को भुम्लीचोक यस्तो अनुपम थलो हो जहाँ गएपछि फर्कनै मन लाग्दैन ।

नभुलिने ‘भुम्लीचोक’

मनासलु, गणेश र अन्नपूर्ण हिमशृंखलाहरूको काखैमा बसेजस्तो भुम्लीचोकमा गुरुङ, मगर, चेपाङ र नेवारहरूको समावेशी समाज देख्न सकिन्छ । गाउँका बूढापाकाहरू भन्छन्, ‘मोटरबाटो नखुल्दा मान्छेहरू यही ठाउँ हुँदै नेपाल (काठमाडौं) जाने गर्थे । भुम्लीचोक हुँदै बेनीघाटमा आएर सुपो (काठको डुँगा) तर्थे । साँझ पर्‍यो भने यतै बास बस्थे । यहाँका रोधीघरमा जान्थे । आफ्नो गन्तव्यमा जानसमेत भुलाउने रमणीय ठाउँ भएकाले यसको नाम नै भुम्लीचोक राखियो ।’

सबैभन्दा रमाइलो पक्ष के छ भने भुम्लीचोकमा भेटिने चेपाङ समुदायले संस्कारको रूपमा चिउरीको रूखलाई निकै महत्त्वर्पूण रूपमा लिन्छन् । चिउरी चेपाङहरूका लागि ‘दुहुनो भैंसी’ हो । चिउरीको दाना पाकेपछि खान मिल्ने र त्यसको दानोचाहिं वनस्पति घिउ बनाइने हुँदा चिउरीलाई चेपाङले दुहुनो भैँसीको रूपमा लिएका हुन् । चेपाङहरूले छोरीको बिहेमा दाइजोस्वरूप चिउरीको रूख दिने चलन छ ।


असोज–कात्तिकमा फुल्ने चिउरी सिजनमा चेपाङहरू चमेरा मार्न घरबाहिर निस्कन्छन् । चिउरीको रस खान आएका बेला रातको समयमा जाल थापेर चमेरा मार्ने उनीहरूको आफ्नै काइदा छ । सबैभन्दा ठूलो चमेरालाई उनीहरू ‘राज’ भन्छन्, ‘राज चमेरा’ मार्न सक्नेलाई राजा भन्ने गर्छन् । चेपाङ संस्कार र संस्कृति अध्ययन गर्न पनि भुम्लीचोक उपयुक्त छ ।
भुम्लीचोक वरपरको भैरवी मन्दिर र हरियाली चौर पनि उस्तै लोभलाग्दो गन्तव्य हो । स्थानीयहरू दाबी गर्छन्— भैरवी मन्दिर मनकामनाभन्दा पुरानो र बढी ‘सर्त’ भएको मन्दिर हो । यो मन्दिरमा दुईवटा ठूला आँगन छन् । माथिल्लोमा वैशाख पूर्णिमामा मेला लाग्दा गुरुङ समुदायले र तल्लोमा मगर समुदायले झ्याउरे नाच्ने गर्छन् ।


भैरवी भन्दिर आँगनमुनि दूधपोखरी र कामधेनु देवताको मन्दिर छ । नाम दूधपोखरी भए पनि अहिले भने संरक्षण अभावमा यो पोखरीमा पानी छैन । कामधेनुको पनि छुट्टै विशेषता छ । जंगल चरनमा निस्केका गाईबस्तु हराएमा कामधेनुलाई भाकल गरेमा गाईबस्तु घर फर्कने गरेका छन् । यहाँबाट आरुघाट बजार र आरुघाटबाट बग्दै आएको बूढीगण्डकी प्रस्टै देख्न सकिन्छ । बूढीगण्डकी जलाशय हेर्न सकिने सबैभन्दा उत्तम विन्दु यही हो । चारैतिर जंगलले घेरिएको भैरवी चौर प्रकृतिको अनुपम उपहारझैं देखिन्छ । चौरबाट मनासलु, गणेश र अन्नपूर्ण हिमाल प्रस्टै देख्न सकिन्छ । रतुवा मृगको बथान चौरमा आँखैअगाडि उफ्रिरहेका हुन्छन् ।


चाडपर्व र तिथिअनुसार गुरुङको चुड्का, मगरको घाटु र नेवार समुदायको लाखे नाच भुम्लीचोकको अर्को विशेषता हो । घ्याल्चोकको बेनीघाटदेखि ताङली चोकसम्मको ट्ेरकिङ रुटमा हिँड्दा मात्रै पनि अलौकिक आनन्द महसुस गर्न सकिन्छ । चितवनको फिस्लिङबाट झोलुंगेपुलमा पाइलो परेपछि नै भुम्लीचोक र आसपासको माहोलले छुट्टै आनन्दको अनुभूति गराउँछ । कच्ची सडकमा करिब १० किमि पार गर्नेबित्तिकै भुम्लीचोक अँगालो मार्न आइहाल्छ ।


निजी सवारीमा जानेहरू धादिङको बेनीघाटबाट पुल तरेर दर्बुंग, ताङ्लीचोक हुँदै पनि भुम्लीचोक पुग्न सक्छन् । भुम्लीचोक टेकेदेखि नै सुरु हुने तपाईंको रोमाञ्चक यात्रा यसको शिरसम्म पुग्दा यात्रा भुलिनसक्नुको हुन्छ, नामजस्तै— भुम्लीचोक ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?