कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

छोरीका अनेक जात

समाज
एउटी छोरी भएर जन्मनुमै ठूलो विरोधाभाष छ– नेपाली समाजमा । छोरीमा एकातर्फ देवी, लक्ष्मी, सरस्वतीको ‘दैवी नाम’ जोडिएको छ । अर्कातर्फ बोक्सी, छाउ, बिटुलो जातका अनेक उपमा पनि छोरीका नाममा छँदैछन् ।
प्रतिमा उप्रेती

काठमाडौँ — हाम्रो नेपाली समाजमा पितापुर्खादेखि चल्दै आएको कुरा हो— जातभात प्रथा । बाहुन–क्षत्री, पानी चल्ने–नचल्नेको कथित जातभन्दा पनि विचित्रको र अनौठो लाग्ने अर्को प्रथा पनि नेपाली समाजमा व्याप्त छ । थाहा भएरै पनि ख्याल नगरिएको यो प्रथा हो— छोरी जात ।

छोरीका अनेक जात

समाज र पद्धतिले खुलेर दिएको विभेदकारी जातभातबाहेक छोरीहरूको आ–आफ्नै जात पनि छ, हँुदो रहेछ । उमेर, समय र अवस्थासँगै हुर्कंदै गर्दा एउटी छोरीले अनुभूत गर्ने कुरा हो यो । कस्तो अचम्म ? एउटै कोखबाट जन्मेको छोराको यस्तो अलग जात हुँदैन तर छोरीको भने जातैजात । आउनुहोस्, छोरीको अनेकानेक जातका बारे चर्चा गरी हेरौं ।

नजन्मँदै मारिने जात
आमाको गर्वमै धेरै अबोध छोरीहरूको हत्या गरिने गरेको समाचार त हामीले पढेकै हुन्छौं । आखिर किन ? नेपाली समाजले उहिल्यैदेखि, पुस्तौंदेखि छोराले वंश धान्नुपर्छ भन्ने रुढी मान्यता खेप्दै आएको छ । यसो भएन भने स्वर्गको बाटो बन्द हुन्छ भन्ने विश्वास पनि एकैसाथ जरो बनेर गढेको छ । यो गहिरो अन्धविश्वास र सामाजिक पर्खाललाई नाघ्ने कसले ? यो तर्क–वितर्कमा उत्रनुभन्दा सजिलो छ— गर्भमै छोरी भ्रूणको हत्या गरिदिनु । यसरी जन्म्यो छोरीको एउटा जात, नजन्मँदै मारिने जात ।

गोत्र सर्ने जात
कुल, जन्म र वंशजमा छोरीको आफ्नै गोत्र हुन्छ नै । तर, उमेर पुगेर बिहा गर्नासाथै उसको गोत्र अर्कै हुन्छ । अर्थात्, लोग्नेको गोत्र जे हो, स्वास्नीको पनि त्यही गोत्र ‘अटोमेटिक’ भइहाल्छ । मानौं, छोरी भनेको स्वचालित मेसिन हो, जे जता पनि फिट भइहाल्ने । एउटी स्वास्नीले आफ्नो गोत्र फेरिने कुरा मानिरहनुपर्दैन, कुनै सहमति/विमतिको कुरै छैन । अघिल्लो दिन एउटा गोत्र लिएर विवाह मण्डपमा उभिएकी छोरी भोलिपल्ट बिहान अर्कै गोत्रमा पुगिसकेकी हुन्छे । एक दिन मैले मेरी ७० वर्षीया हजुरआमालाई सोधेकी थिएँ— आखिर किन ?
‘खोइ नानी, यस्तै चलिरहेको छ, यो चलन हो । किनकिन...’, हजुरआमाको जवाफ थियो, आफैंमा प्रश्नजस्तो जवाफ ।

थर फेर्ने जात
एउटी महिलाले बिहे गर्नासाथै नामपछाडि उसको पुरुष (श्रीमान्) को थर जोडिनैपर्ने नियम पनि यहाँ चलेकै छ । यसमा पनि सहमति/विमतिको कुरै छैन । यसको कारण के होला ? जवाफ सजिलो छ— चलिआएको चलन । बरु हिजोआज धेरै महिलाले आफ्नो थरसहित श्रीमान्को थर पनि जोडेर राख्न थालेका छन्, वाग्ले–भट्टराईजस्तै । एउटा अप्ठयारो खालको प्रश्न मेरो मनमा उब्जन्छ कहिलेकाहीं । के मसँग बिहा हुने कुनै पुरुषले आफ्नो थर फेरेर मेरै (उप्रेती) थर राख्ने दिन पनि आउला कि ? अथवा यस्तो सोच्नसम्म सकिएला कि ?
हो, हामी केटी जातले धेरै कुरा स्विकारेका छौं । जे छ चलन, त्यही स्विकारेका छौं । यस्तै रहेछ यहाँको चलन भन्छौं । अनि लगालग हामी छोरीहरू थर फेरिरहन्छौं । छोरीपछि बनेका बुहारी, भाउजू, काकी, माइजू, आमा, हजुरआमा सबैसबै फेरिएको थरमा ‘चलन’ को शिरपोस राखेर बसेकै छौं ।

बिटुलो जात
आश्चर्य यो छ कि जुन योनीबाट यो संसारको सृष्टि भयो, संरचना भयो, आखिरमा त्यही योनी ‘बिटुलो’ पनि भयो । बिटुलो चाहे छौपडीको नाममा होस् अथवा ‘पर सरेको’ थितिमा । हरेक महिना ४/५ दिन एउटी छोरी बिटुलो हुन्छे । समाजमा, परिवारमा घिनलाग्दी पात्र बन्छे । अँध्यारो कोठामा कैयौं दिन थुनेर, गोठमा सुताएर गरिएको अपहेलना के मानव जातिको कथित सभ्यतामा जोड्न मिल्ने कुरा हो ? अथवा यो पाशविक समाजको दृष्टान्त हो ? यसरी हामी छोरीको अर्को जातमा ‘बिटुलो’ विशेषण पनि जोडिएको छ ।

दाइजो जात
एक फिल्मकर्मी यादव भट्टराईको ‘भोर’ भन्ने फिल्म अस्ति भर्खरै नेपाली बजारमा आएको थियो । मधेसको दहेज प्रथाको ज्युँदो तस्बिरजस्तो त्यो फिल्म न हलमा राम्ररी चल्यो, न त्यसबारे बहस–विमर्श नै भयो । ‘भोर’ आयो, गयो । किनभने हाम्रो समाजमा छोरीको अस्तित्वमा ठूलो विरोधाभाष छ । छोरीलाई राम्रो कुल–घरानामा ‘बिकाउनु’ छ भने दह्रोसँग ‘दहेज’ दिने कथित पद्धति पनि हामीकहाँ चलनझैं बनेको छ । छोरीको पढाइ, सीप, दक्षता र अरू खुबीको तुलनाले कुनै काम गर्दैन । सबैको बहस दहेजमा गएर टुंगिन्छ । विशेषगरी मधेसको समाजमा र पहाडतिरै पनि एउटा कुलीन वर्गमा यो ‘ढोंग’ छँदैछ । एउटा गरिब–दु:खी र विपन्न परिवारले यसकारण पनि गर्भमा छोरी देखिएमा भ्रूणमै हत्या गरिदिनु सबैभन्दा उत्तम विकल्पझैं ठान्ने गरेको हो । यो ‘दाइजो जात’ जन्मनुभन्दा नजन्मेकै बेस !


कतिसम्म भने बिहा गर्ने मण्डपमैं बाबुआमा र आफन्तजनले छोरीको हात परपुरुषलाई थमाउँदै भन्ने गरेका छन्— मारे पाप, पाले पुण्य । यो कस्तो ‘बिन्ती’ हो ? कस्तो ‘पुकार’ हो ? एउटी छोरीलाई मारेमा पापबाहेक अरू केही लाग्दैन ? कुनै कानुन लाग्दैन ? कुनै अपराध हुँदैन त्यो ? यही पाप–पुण्यको अमूर्त व्याख्या चलिरहेकै कारणले हो— बोक्सीको आरोप लाग्ने गरेको । छोरीचेलीलाई आगो लगाइने कारण । सिंगो समाज र पञ्च–भलाद्मीका अगाडि दिसापिसाब खुवाइने गरेको कारण ।


जति पढे पनि, जति तरक्की गरे पनि छोरीको काम भनेको भाँडा माझ्ने हो । लुगाफाटो धुने वा भात पकाउने मात्रै हो । यो जातै यही हो । समाजले छुटयाएको कामको रोल–डिभिजन यस्तै छ, चलेको चलन । ‘धेरै पढेर के गर्छेस् ? ठूलो ठाउँमा जागिर खाएर र पैसा कमाएर के गर्छेस् ? आखिरमा तैंले गर्ने काम भनेको ‘भाँडा मझाइ’ त हो । यसरी जात छुट्टिएको छ हाम्रो, एकपछि अर्को जात ।

अर्कैको घर जाने जात
बिहे गरेपछि एउटी महिलाले आफ्नो जन्मघर, बाबुआमा र नाभिमा जोडिएर आएका सबै अपनत्वका तन्तु छाडेर पराईघर जानेपर्ने हुन्छ । यो थिति हो, यो चलन हो । यसरी सबै कुरा त्यागेर ‘परित्यक्त’ झैं बनेर आएकी एउटी महिलाको यत्रो त्यागलाई सकारात्मक रूपमा लिनु त कता हो कता, उल्टै अनेक बात लगाउने काम यहाँ हुने गरेको छ ।


‘छोरी भनेको अर्काको घर जाने जात हो, यसलाई धेरै पढाएर नि केही हुन्न, सम्पत्ति भाग लगाउन नि हुन्न । अंशबन्डामा हक छोराहरूको मात्रै लाग्छ,’ मैले पनि यस्तै तर्क र ढिपीहरू सुन्दै आएकी छु । यो भेदभावको बोलीवचनले क्रमश: एउटी छोरीलाई ‘पराई’ बनाइरहेको हुन्छ । एउटी छोरी जन्मिएकै हुन्न, परिवारमा सबैलाई तनाव हुन थालिहाल्छ । अब यो छोरी हुर्काउनु कसरी ? कसरी जोगाउनु ? कोसँग, कसरी बिहे गरिदिनु ? दाइजो कसरी, कति दिनु ? आदिआदि ।


ओहो ! विरोधाभाष, ढोंग र विडम्बना पनि अर्कातर्फ छँदै छ । एउटी छोरीलाई देवी मानिन्छ, कन्या पुजिन्छ । लक्ष्मी भनिन्छ, सरस्वती भनिन्छ । अष्टमात्रिका अनेक पूजाअर्चना नामहरू छँदै छन्— वैष्णवी, ब्राह्मी । माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा, महाकाली आदि । आश्चर्य ! समाजको चारकिल्लामा यही छोरी बाँधिएकी छे, साँच्चै पत्याउनै मुस्किल परिरहेको छ ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?