१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हैट, क्या फसाद !

फिल्म
कतिलाई फिल्म नपाएर तनाव छ तर बुद्धि तामाङ धेरै खेल्नुपरेर हैरान छन् । यो वर्ष उनका ६ फिल्म रिलिज भइसके । उस्तैउस्तै भूमिका ।
गोकर्ण गौतम

काठमाडौँ — गत वर्ष बुद्धि तामाङ अभिनीत ९ फिल्म रिलिज भए । यो वर्ष अझ नाघ्ने निश्चित छ । किनभने, चार महिना बितेको छैन, उनका ६ फिल्म प्रदर्शन भइसके, कोहलपुर एक्सप्रेस, डमरुको डन्डीबियो, हैरान, चंगा, मट्टीमाला र भैरे । प्रदर्शन हुन बाँकी फिल्महरूको सूची पनि लामै छ, जय भोले, छक्कापञ्जा ३, क्याप्टेन र नाइँ नभन्नु ल ५ । चंगा र मट्टीमाला एकै दिन प्रदर्शन भएका थिए । आउँदो दसैंमा जय भोले र छक्कापञ्जा ३ ले उही नियति दोहोर्‍याउने सम्भावना छ ।

हैट, क्या फसाद !

नढाँटी भन्छन्, ‘हेर्नुस्, कहिलेकाहीं त मेरा फिल्म यति छिटोछिटो आइरहेका हुन्छन् कि म आफैंलाई लाज लाग्छ । मास्क लगाएर हिँड्छु ।’ एकातिर महिनैपिच्छे फिल्म आउँछन्, अर्कातिर मुख्य भूमिका हुन्न तर पोस्टर र ट्रेलरमा उनैलाई ‘हाइलाइट’ गरिन्छ । पिरलै–पिरलो !
चटनी चरित्रवाला फिल्मको लस्कर लागेकाले हुनुपर्छ, उनलाई नेपाली ब्रह्मानन्दमसमेत भन्न थालिएको छ । दक्षिण भारतीय फिल्मका यी अभिनेताले एक हजारभन्दा धेरै फिल्म खेलिसकेका छन् । सर्वाधिक फिल्म खेल्ने जीवित कलाकारको रूपमा उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा समेत दर्ज भइसकेको छ । सबै फिल्ममा चास्नी भूमिकामा देखिन्छन्, लिड रोल हुन्न । खासगरी हँसाउनकै खातिर ब्रह्मानन्दमलाई फिल्ममा लिइन्छ । जसको केन्द्रीय कथामा खास भाउ हुन्न । दुई वर्षयता बुद्धिमा त्यस्तैत्यस्तै छनक आउन थालेको छ । नेपालमा बन्ने कुलमध्ये लगभग दस प्रतिशत फिल्ममा बुद्धि झुल्कन थालेका छन् । उद्देश्य उही हँसाउने । ‘यो मेरो रहर होइन । मलाई थोरै तर प्रभावकारी फिल्म खेल्न मन छ । तर, यताउता गर्दागर्दै फिल्मको संख्या मात्र बढिरहेको छ,’ थिएटरमा झन्डै डेढ दशक संघर्ष गरेपछि फिल्ममा फड्को मारेका यी अभिनेता भन्छन्, ‘कहिलेकाहीं आफ्नै फिल्म देखेर आत्मग्लानि हुन्छ । खल्लो लाग्छ ।’


बुद्धिलाई प्रस्ट थाहा छ, फिल्ममेकरलाई उनी नै चाहिएको होइन/छैन । हिरोहिरोइनले मात्र फिल्म धान्न सक्दैनन् । ‘फ्रेस’ गराउन सहायक कलाकार राख्छन् । जसमा बुद्धि पहिलो रोजाइमा पर्छन् । योचाहिं हो । सुरुमा प्रस्ताव आउँदा रोल छोटो भए पनि अर्थपूर्ण हुन्छ । स्क्रिप्ट तयार हुँदा त्यो खुम्चिसकेको हुन्छ । सुटिङमा अझ अनेकथरी सम्झौता हुन्छन् । सम्पादन भएर हलमा आउँदा त फिक्का भइसक्छ । त्यसपछि पश्चात्तापमा धकेलिनुपर्छ । त्यही घाउमा मल्हमपट्टी लगाउन अर्को अब्बल फिल्म खेल्छु भन्ने हुटहुटी पलाउँदो रहेछ । बुद्धि हाँस्छन्, ‘तर त्यसको हालत पनि उस्तै हुन्छ । म त काबु भइसकें ।’ जबकि उनी प्रस्ताव आएकामध्ये आधा फिल्म त अस्वीकार नै गर्छन् । कति व्यक्तिगत सम्बन्धले ‘नाइँ’ भन्ने गुन्जायस हुन्न । कति रोल मन नपर्दा–नपर्दै खेल्नुपर्छ किनभने ब्यानर नाम चलेको हुन्छ । साख बचाउन पनि यस्ता फिल्म खेल्नैपर्ने दुखेसो पोख्छन् ।


त्यसो त उनलाई चिन्ता चरित्र सानो भयो भन्ने होइन । उनले चाहेको त गुणात्मक चरित्र हो, जसको पटकथामा केही महत्त्व होस् । फिल्म हेरिसक्दा पनि दर्शकले नबिर्सिउन् । भन्छन्, ‘म फिल्ममा हुनुको कारण होस् । केन्द्रीय कथालाई मेरो चरित्रले सहयोग गरोस् । तर, त्यस्तो कम हुन थालेको छ ।’ कारण उही, उनको थेगो र अनुहारलाई ‘क्यास’ गर्ने ध्येय मात्र हुन्छ फिल्ममेकरमा । उपकथा र सहायक चरित्रलाई सुवासिलो बनाइन्न । ‘कमेडी मेसिन’ जस्तो मात्र । तर, फिल्ममा अहँ त्यस्तो भएकै छैन । गर्न नसक्ने भन्ने त हुँदै होइन । तर के गर्नु, प्राय: फिल्ममा ‘हैट’ नभनी धरै पाउँदैनन् ।


टलकजंग भर्सेज टुल्केमा उनको चरित्रको नाम थियो, हनुमाने । हैट भन्ने थेगोचाहिं कबड्डीबाट सुरु भयो । मेरी बास्सैमा हनुमाने बनेर हैट भन्दा अझ लोकप्रिय भयो । यही भूमिकामा छक्कापञ्जा खेले । त्यसपछि त ‘हैट र हनुमाने’ ले उनलाई छायाझैं पछयाइरहेको छ । दर्शक र फिल्ममेकर अझै धेरथोर मन पराइरहेका छन् तर उनलाई घाँडो लाग्न थालेको छ । किनभने, यही थेगो र यस वरपर घुम्ने चरित्रले उनको अभिनय कलालाई खुम्चाइदिएको छ । उनी दुखेसो पोख्छन्, ‘म अहिले आफ्नै टाइप कास्टसँग जुधिरहेको छु । यहाँबाट निस्कनैपर्छ तर फिल्ममेकरहरू निस्कनै दिंदैनन् । मैले हैट भन्नैपर्छ, चाहे चरित्र जस्तो होस् ।’ उनका लागि नयाँ चरित्र निर्माण गर्न लेखक/निर्देशकले फिटिक्कै ध्यान नदिनु अर्को विडम्बना हो । निर्माताहरू भन्दा रहेछन्, ‘नेपाली डायस्पोरामा ‘हैट’ खुब हिट छ । त्यसैले हैट त भन्नैपर्छ ।’ अनि बुद्धि विवश भइहाल्छन् ।


तर, भूमिकाको लम्बाइअनुसार बुद्धिले पाउने पारिश्रमिक लोभ लाग्दै छ । जस्तो : अघिल्लो वर्षसम्म उनी प्रतिफिल्म घटीमा पाँच लाख रुपैयाँ लिन्थे, १०–१५ दिनमा सुटिङ सकिन्थ्यो । यस वर्षबाट आठ लाख लिन थालेका छन् । ओभरसिजमा उनको क्रेज राम्रै भएकाले निर्माता खासै कन्जुस्याइँ गर्दैनन् । अब पारिश्रमिक बढाउने रणनीति बनाइरहेका छन् । उद्देश्य उही, कम तर स्तरीय फिल्म र चरित्रमा मात्र काम गर्ने । अर्थात्, नाम छ, दाम छ, काम छ तर मन खुसी छैन । उनी मुस्कुराए, ‘बासी भूमिका र शैलीबाट म आफैं वाक्क भइसकें । एउटा स्टेजमा पुगेपछि पैसा नै सबथोक हुने रहेनछ । नयाँ काम गर्ने भोक हराएको छैन ।’

प्रकाशित : श्रावण २६, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?