सारससँग एक घण्टा

फोटो कथा
मनोज पौडेल

काठमाडौँ — शान्ति र प्रेरणाको उद्गमस्थल हो लुम्बिनीे । घुमफिर गर्दै चित्ताकर्षक भियतनाम विहार छेउ पुगेको थिएँ । विहार छेउमै एउटा वयस्क सारस घाँसमा मज्जाले सुतेको देखियो । विश्वमै दुर्लभ मानिएको यो पक्षी उठ्ला र भाग्ला भनेर बडो सावधानीपूर्वक नजिकै पुगे । क्यामरा झिके । जुम लेन्स लगाएर हतारहतार फोटो खिचे ।

सारससँग एक घण्टा

आफ्ना अग्ला–अग्ला खुट्टा मोडेर थचक्क भुइँमा सुतेको थियो । देख्दै अचम्म लाग्यो । सुत्दा बिरामी हो कि जस्तो आशंका पनि उब्ज्यो ।


तर जुरुक्क उठ्दा पूरै तन्दुरुस्त थियो । नजिकैबाट फोटो खिच्दै गर्दा क्यामराको आवाजले सारस ब्युँझियो । म अलि पर गए । नदेखिने ठाउँमा आड लिएर बसे । त्यसपछि सारस कुर्कुच्चाका भरमा उड्यो ।


उड्नुअघि उसले तिखो वाँणजस्तो ठुँडले जीउ कन्यायो । चारैतिर कन्याएपछि आनन्द महसुस गथ्र्यो । ठुँड फट्याउँदै जिब्रो निकालेर सास फेर्‍थ्यो, जीउ तन्कायो । उड््न खोजेजस्तो गरी उफ्रिएर रमायो पनि । ऊ आफैसँग जिस्किरहेको थियो । सारससँग एक घण्टा बस्दा म आफैं रोमाञ्चित बनें ।


अहिले सारसको ओथारो बस्ने सिजन चलेको छ । तर, यो सारसको सँगी गत वर्ष मरेका कारण ओथारो बस्न सकेको छैन । स्थानीयका अनुसार यो सारस अहिले एक्लो छ । दिनभरजसो नयाँ साथी खोज्न जान्छ, तर साँझ एक्लै गुँड फर्कन्छ ।


उड्न सक्ने चरामा सारस नै सबैभन्दा अग्लो हो । सारस जति अग्लो हुन्छ, उडान त्यत्तिकै तल गर्छ । यो बढीमा ५० फिट उचाइसम्म उडन सक्छ । करिब १० किलोसम्म तौल हुने सारस साढे ५ फिट अग्लो हुन्छ । रोचक के छ भने यसले दुवैतिरका पँखेटा फिँजायो भने १० फिट लामो हुन्छ ।


बन्यजन्तु संरक्षण ऐन–०२९ ले संरक्षण गरेको ९ पक्षी प्रजातिमध्ये सारस पनि एक हो । ‘सारसले सर्पहरू सजिलै मारेर खान्छ,’ चराविद् डा. हेमसागर बरालले भने, ‘त्यसकारण सारस बस्ने ठाउँ वरिपरि सर्पको डरत्रास हँुदैन ।’ नेपालमा ५ सय बढी सारस रहेको अनुमान गरिए पनि सबैभन्दा बढी कपिलवस्तु र रूपन्देहीमा मात्रै २ सय ५० भन्दा बढी सारस रहेको बताइएको छ ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?