साक्षी छ किलिमन्जारो

नियात्रा
आज सेन्ट्रल सेरङ्गेटी जाने तालिका छ । जनावरको घना बस्ती यहाँ रहेछ । एकै प्रकारको जनावर संख्यामा तलमाथि मात्रै कति हेर्ने ?
अमेरिकाको बोस्टनबाट झन्डै २० घण्टा जहाजमा उडेर छोरा विशाल तान्जानियाको किलिमन्जारो उत्रिएका थिए । यता काठमाडौंबाट बाबु विश्वकान्त पनि १० घण्टा उडेर किलिमन्जारो पुगेका थिए । अब सुरु हुन्छ, बाबुछोराको तिलस्मी यात्रा— जीवजन्तुको स्वर्गलोकतिर ।
विश्वकान्त मैनाली

काठमाडौँ — हरीया जीवन, भीडभाड, होहल्ला र एकरसको दैनिकीबाट उम्केर अलिक पर जान मन लाग्छ कहिलेकाहीं, प्रकृतिको समीपमा । यो सनातनी र कृत्रिम लाग्ने जीवनशैलीबाट भिन्न जगत्बारे यदाकदा टेलिभिजन सेटमै केही झलक हेर्न पाए पनि आनन्द महसुस हुन्छ । नेसनल जोग्राफी र एनिमल वल्र्ड हेरेर रमाउने स्वभाव धेरैमा हुन्छ । यसपटकको मेरो आनन्दलाग्दो यात्रा अवसर भने ‘जनावरको स्वर्गभूमि’ मानिने तान्जानियाको राष्ट्रिय निकुञ्ज घुम्न जाने साइतसँग जोडिएको छ ।

साक्षी छ किलिमन्जारो

मलाई पूर्वी अफ्रिकाको केन्या, तान्जानिया र उगान्डाका निकुञ्जहरू चहार्ने मन धेरै अघिदेखि थियो । अमेरिकाको बोस्टन बस्ने जेठो छोरा डा. विशाल र म काठमाडौं बस्ने बाबुले मिलाएको तालिकामा गत जुन ३० मा एकै पटक किलिमन्जारो एयरपोर्ट उत्रने फुर्सद निकाल्यौं । संसारमा नाम बनाएको तान्जानियाको सेरेङगेटी निकुञ्जको रमाइलोमा केही दिन हराउने ‘मेनु’ हामीसँग थियो ।


तालिकाअनुसार विपरीत दुई ध्रुवबाट जहाजमा उडेर हामी किलिमन्जारो एयरपोर्ट उत्र्यौं, साथमा प्याकेज टुर सफारी एजेन्ट थियो नै । किलिमन्जारो उत्रिएकै साँझ अरुसा सहरको सफारी होटलमा पुग्यौं । डच स्वामित्वको होटल निकै सुविधाजनक थियो । नेपाल र तान्जानियाको समयअन्तर अढाई घण्टा जतिको रहेछ, रातको निद्रा र बसाइमा अरू समस्या देखिएन । तान्जानिया विगतमा ब्रिटिस उपनिवेश भएको र अरुसा सहर पर्यटक केन्द्रसमेत भएकाले त्यहाँ कतै गल्फ कोर्स हुनुपर्छ भन्ने लागेको थियो । नभन्दै सहरबाट करिब ३० किलोमिटर टाढा किलिमन्जारो गल्फ कोर्स रहेछ । यात्राको पहिलो दिन हामी बाबु–छोरा गल्फमै रमाइरहयौं । जुलाई १ को दिनभर गल्फ खेल्यौं र बेलुका सहर घुम्दै होटल फिर्‍यौं ।

२ जुलाई
निकुञ्ज भ्रमणको तालिकाअनुसार बिहान ७ बजे सफारीका लागि गाडी आइपुग्यो । गाइड र ड्राइभर एकै व्यक्ति हुने रहेछन्, राम्रो अंग्रेजी बोल्ने । टोयोटा लेन्डक्रुजरको पछिल्लो भाग सफारीका लागि बनाइएको रहेछ । वरपर निकै पर्यटक थिए— कोही एक्लै, कोही परिवारमा अथवा कोही ठूलो समूहमा । अरुसा सहरबाट सेरेङ्गेटी नेसनल पार्क निकै टाढा रहेछ । गोरोङगोरो पार्क हुँदै सेरेङ्गेटी जाने रहेछ । पार्कभित्र पस्नासाथै अनगिन्ती जनावर देखिन थाले । आज हामी केन्याको सिमाना छेउछाउमै बास बस्न पुग्नुपर्ने रहेछ, त्यही भएर गाडीको गति तीव्र थियो । बाटोभर समूह–समूहमा सिंहहरू भेटिए । हात्ती, भैंसी, मृगका परिवारजस्ता इम्पाला, गजेल रस्याल, हाइना, चितुवा, चेता, बबुन (ठूलो बाँदर) को समूह, गाईको मिश्रित रूपको जंगली ‘बिस्ट’ र जेब्रासमेत देखियो । करिब १२ घण्टाको तुफानी यात्रापछि राति करिब ८ बजे झमक्क साँझ परेपछि निर्धारित क्याम्पमा पुग्यौं । अस्थायी पालको क्याम्प थियो त्यो । बन्यजन्तुको संसार टहल्न अमेरिका, क्यानडा, श्रीलंकाबाट समेत पर्यटक ओइरिएका थिए ।


दिनभर गाडी बेपत्ता दौडिएकाले शरीरमा थकान थियो नै । खाना खाएर पालमा सुत्न गयौं । स्थानीय कर्मचारीले ‘राति पालबाट बाहिर ननिस्कनुहोला’ भन्दै हिंस्रक जनावरहरू घुमिरहेका हुन सक्ने जानकारी दिए । पालभित्रै सबै सुविधा भएकाले बाहिर निस्कनु जरुरी पनि थिएन । रातमा पालकै छेउछाउमा सिंह कराएको सुनियो । अरू जनावरको चहलपहल पनि सुनियो । भय मनमा रहिरहयो । निदाउने, ब्यँुझने गर्दै रात बित्यो ।

३ जुलाई
बिहान ब्रेकफास्टपछि केन्याको सिमानामा रहेको मारा नदीतर्फ यात्रा सुरु गर्‍यौं । मारा नदीतर्फ जाँदा भर्खरैजस्तो मात्रै एउटा अजंगको राँगोलाई सिंहले मारेर खाइरहेको दृश्य देखियो । सिंहले सिकार गर्दा सकभर मुहान, खोलाको पानी छेउमा गर्दो रहेछ । सिकार गरेको ठाउँको नजिकै खोला थियो । सिकार गर्दा सिंह–सिंहिनी सबै मिलेर गर्दा रहेछन् । अजंगको राँगोलाई खेदेर, लडाएर सिकार गर्ने क्रममा सिंह पनि थाक्ने भएकाले सिकार गरेपछि सिंहले आराम गर्ने रहेछ । सामुमा रहेको सिकारलाई सिंहले नखाईकन सिंहिनीले नखाने रहेछ । हामीले करिब एक घण्टा त्यो दुर्लभ रमित हेर्‍यौं । सिकार खाएपछि सिंह पानी खान गयो । अनि सिंहिनी आएर खान थाली । सिंहले एक पटकमा ५ किलोसम्म मासु खाँदो रहेछ । एक पटक खाएपछि २–४ दिन नखाने रहेछ । ७ दिनसम्म नखाएर पनि बस्न सक्छ रे । दुइटा सिंह एक ठाउँमा बस्ने रहेनछन् । एक सिंहको आधिपत्य क्षेत्र झन्डै ४० किलोमिटर वरपर हुन्छ रे । एक झुन्डमा एक सिंह र धेरै सिंहिनी तथा बच्चाहरू हुन सक्ने रहेछन् ।


मारा नदीको किनारमा बसेर लन्च खाइरहँदा नदीभर थुप्रै गोही र हिप्पोपोटामस देख्यौं । गोही मांसाहारी र हिप्पो शाकाहारी भए पनि मिलेर बस्दा रहेछन् । हिप्पोसँग गोही पनि डराउँदो रहेछ । गोहीले एकपटक सिकार गरेपछि ६ महिनासम्म नखाएर बस्न सक्छ रे ।


मारा नदी छेउछाउमा हामीले लाखौं वाइल्ड–बिस्ट र जेब्रा देख्यौं । त्यत्रो संख्यामा मैले जनावर कहिल्यै देखेकै थिइनँ । बाहिरबाट हामीले हेर्दा एउटै जनावरको परिवारजस्तो लाग्छ तर उनीहरू भित्र आ–आफ्नो परिवारको भिन्न–भिन्न झुन्ड हुँदोरहेछ । बच्चाले आमा खोजिरहेको, भालेले आफ्नो समूहलाई एकजुट बनाइरहेको आदि देखियो ।


तान्जानियाबाट केन्याको घाँसेमैदान जान मारा नदी नतरी अर्को बाटो रहेनछ । यो जुलाईमै नदी पार गर्ने रहेछन् । नदी पार गर्ने समयबारे गोहीलाई थाहा हुँदो रहेछ । गोहीहरू निकै चनाखा भएर बसेका थिए । यो नदी पार गर्ने ताँती (सेराङ्गेटी ट्रेल) हेर्न सयौं पर्यटक मारा नदी छेउमा बस्ने रहेछन् । खोला तर्ने समय, ठाउँ र दिन पनि परिवारको नेताले तोक्दो रहेछ । हिप्पोले मासु नखाए पनि सामुमा आइपरे मार्न सक्ने र गोहीले भने आहाराकै लागि मार्ने गर्दो रहेछ । हजारौं जनावर मारा नदी तरेर केन्या जाने क्रममा बाटैमा सहिद हुँदा रहेछन् । करिब २ घण्टा जति मारा नदीमा हिप्पो र गोहीको चर्तिकला हेरेर हामी फक्र्यौं । डिलमा बसेका हामी पर्यटकको छायाबाटै गोही निकै चनाखो भएको देखिन्थ्यो ।


मारा नदीबाट फर्केर हिजो बास बसेको क्याम्पतर्फ लाग्यौं । बाटामा हात्तीका फौज, भैंसीका झुन्ड, गिद्ध प्रशस्तै देखिए । जिराफ पनि देखिए । तर, जिराफको सन्तान उत्पत्ति निकै कम हुने तथा बेलाबेलामा सिंहको सिकारमा पर्ने भएकाले जिराफको झुन्ड देख्न भने मुस्किल थियो । देखिए पनि भालेपोथि धेरैजसो सँगै हुन्थे । र, कहीं कतै बच्चा पनि देखिन्थ्यो । सिंह–सिंहिनीले पछाडिपट्टिबाट आक्रमण गर्ने रहेछन् । आक्रमणमा परेपछि जिराफ निरीह हुने रहेछ ।


बाटामा चितुवाका दुई दाजुभाइ खेलिरहेका थिए । ‘चेता’ भने आफ्नो सिकार रूखमा झुन्डयाएर आराम गरिरहेको थियो । चितुवा र चेतामा फरक रहेछ । त्यो जंगलमा बाघ–भालु भने रहेनछ । सर्प प्रशस्तै छ भन्थे तर घाँसे मैदान भएकाले बाटोमा कुनै सर्प देखिएन । चराचुरुंगी प्रशस्तै रहेछन् ।


हात्ती, गैंडाबाहेक सिंहसम्मको पनि सरदर आयु १० देखि २० वर्षसम्मको हुँदो रहेछ । मासु खाने, सिकार गर्ने जमात भए पनि बाटोमा सिनो गनाएको पत्तो भएन । सबै सिनो खाएर गिद्द, हाइनाले सफा पार्ने रहेछन् । कुनै अवस्थामा जनावर घाइते भएमा र समूहबाट छुट्टिएर बस्नुपरेमा आमाले कुरुवा काम गर्ने रहिछन्, अन्तिम साससम्मै । प्रत्येक जनावरको समूहले आफ्नो बच्चालाई जोगाउन जमातबीचमा राख्ने रहेछन् । सबै प्राणीले आफ्नो सुरक्षा व्यवस्था मिलाउने रहेछन्, आफ्नै काइदामा । तर, निरीह प्राणी बलियाका अगाडि कमजोर हुन्छन् नै, प्राणी जगत्मा ‘सर्भाइभल अफ द फिटेस्ट’ को सूत्रपात यहींबाट भएको हो ।

४ जुलाई
आज सेन्ट्रल सेरङ्गेटी जाने तालिका छ । जनावरको घना बस्ती यहाँ रहेछ । एकै प्रकारको जनावर संख्यामा तलमाथि मात्रै कति हेर्ने ? बरु भूबनोट, प्रकृति, रूखपात, चराचुरुंगीतर्फ ध्यान जान थालेको थियो । काडेदार रूख फाट्टफुट्ट मात्रै देखिने । रूख घना पनि छैनन्, ठूला पनि छैनन् । मानिसको कम्मर–कम्मरसम्मको घाँसे मैदान । जनावर लुक्नलाई साह्रै सजिलो । घाँसको ५ फिटभित्रै सिंह सुतिरहेको देखिन्छ । उसलाई भोक छैन, तिर्खा छैन । सिंहिनीसंग मस्त सुतिराखेको छ । पर्यटकहरूलाई आँखा उघारेर हेर्दा पनि हेर्दैन । ऊ भयरहित छ ।


सबै जनावरहरू आगन्तुक पर्यटकप्रति मैत्री पाएँ । गाडीभित्र बसेर जीवजन्तुको जति नजिक गए पनि कुनै हानिनोक्सानी गरेको पाइनँ । निकुञ्ज नियममा यहाँभित्र कुनै हतियार लिएर जान पाइँदैन ।

आत्मसुरक्षा भनेको आफ्नो होसियारी र जनावरको विवेक मात्रै हो । सिंह, हात्ती वा राँगाले चाहेमा गाडीमा आक्रमण गरेर मार्न पनि सक्छन् । गाडी पल्टाइदिन सक्छन् । सुत्ने पाललाई हाइना, सिंहले च्यातचुत पार्न पनि सक्छन् । तर, आजसम्म त्यस्तो घटना भएको वा आक्रमणमा परेको इतिहास छैन रे ।


राति हामीहरू सेरेङ्गेटी ट्रेल क्याम्पमा बास बस्न पुग्यौं । त्यो क्याम्प भने स्थायी रहेछ, निकै सुविधाजनक । पार्क बीच–बीचमा क्याम्प छन् । ती क्याम्पहरू स्थायी वा अस्थायी दुवै छन् । एकथरी क्याम्पहरू बसाइ सरिरहन्छन् जनावरसँगै । अर्काथरी क्याम्पहरू स्थायी छन् । यो स्थायी क्याम्पमा बास बस्दा मेरो मनमा अनेक कल्पना उब्जिए । नेपालको चितवन जंगलमा राजा–महाराजा बेलायती पाहुनालाई लिएर सिकार खेल्न जान्थे । आफूलाई पनि त्यस्तै विशिष्ट पाहुना सम्झिएँ मैले ।


क्याम्पमा डिनर खाने क्रममा थियौं । चर्को गरी भैंसी कराएको आवाज आयो । क्याम्प म्यानेजरले भन्यो— जनावरमा सबैभन्दा दरलाग्दो भैंसी हुन्छ । त्यसले लखटेपछि छाड्दैन ।
मैले म्यानेजरसँग जंगल, जनावर र डरत्रासबारे कुरा गरें । त्योभन्दा अघि यहाँका बासिन्दा र जातजातिबारे कुरा गर्न चाहें । उनले बेलिविस्तारमा भने— तान्जानियामा १२३ जातजाति छन् । त्यसमध्ये मसाई पनि एक जाति हो । म पनि मसाई हुँ । हामी घुमन्ते जाति हौं, गाईबाख्रा अथवा भेडा चराएर हिंड्ने जाति । राजनीतिमा लागेका र पढेलेखेका मसाईहरू शक्तिमा छन्, व्यापारमा छन् । तर, आज पनि हाम्रा धेरै आफन्त ‘नोम्याड’ छन्, फिरन्ता । उनीहरू खेतीपाती पनि गर्दैनन्, कहींकतै स्थायी घर पनि छैन । गाईबस्तु र बाख्रा–भेडा चराउँछन् । घाँस–पानीका लागि बसाइ सर्दै हिंड्छन् । उनीहरूको खाना भनेको गाईको दूध, मासु र गाईगोरु, बाख्रा, भेडाको रगत मात्रै हो । आइपरेमा मसाईहरू सिंहसँग पनि जुध्छन् । बेलाबेलामा जनावरसँगको भीडन्तमा मसाई पनि मरेका छन् । मसाईलाई पार्क छेउ वा आसपासमा सरकारले चरन छुट दिएको हुन्छ ।

५ जुलाई
यो गोरोङगोरो क्रिएटर कन्जर्भेसन आजभन्दा झन्डै चालीस लाख वर्षअगाडि बनेको हो अरे । ज्वालामुखीले उब्जाएको काठमाडौं उपत्यकाभन्दा ठूलो भूभाग । यहाँ संसारभरकै सबै जातका जनावर देख्न पाइने रहेछ । ठूलो गहिरो खाल्डो भएकाले यहाँका जनावरहरू बसाइ सरेर कतै नजाने रहेछन् । बीचमा तलाउ छ तर पूरै नुनिलो । धाप छ, ताजा पानीको खोला पनि छ । यसमा फ्लेमिंगोलगायत धेरै चराचुरुंगीको बसोबास छ । हिंस्रक, नहिंस्रक, मांसाहारी अथवा शाकाहारी सबै प्राणी यहाँ छन् । प्रकृतिले साँच्चै सन्तुलन कायम गरेको छ । यहाँको जीवजन्तु जगत् र भूबनोट निरीक्षणपछि पहाडको उच्च क्याम्पमा आएर हामी बस्यौं । प्रशस्त संख्यामा हाइना भएकाले रातभर कराएर सुत्नै पाइएन ।

६ जुलाई
आज तरानगिरे नेसनल पार्कतिर हामी पुगेका छौं । यहाँ हात्तीको बथान धेरै देखियो, धेरै ठूलाठूला हात्ती । अफ्रिकामा भने एसियामा जस्तो हात्तीलाई घरपालुवा बनाउने र काममा लगाउने गर्दा रहेनछन् । पार्कमा एक शताब्दी पुराना ‘बओबाब’ रूख देख्यौं, एकदमै ठूलो फेद भएका । यहाँसम्म कतिपय पर्यटक अरुसा सहरबाट एकदिने यात्रामा पनि आउने रहेछन् । सबै निकुञ्जमा मुख्य ५ जनावर सिंह, हात्ती, दुई सिंगे गैंडा, चितुवा आदि देखिने रहेछ ।

६ जुलाई
साँझ राष्ट्रिय निकुञ्जको यात्रा पूरा गरेर बास बस्न अरुसा सहरमा आयौं । ५ दिनसम्म दिनहुँ १०/१२ घण्टा गाडीमा औसत १५ सय किलोमिटर दौड्दा जीउ थिलोथिलो भइसकेको थियो । तर, अनुभव र अनुभूति भने एकदमै नौलो थियो । यात्रामा जनावरबाहेक दुई प्राणीको ठूलो भय रहेछ, ‘से से झिङ्गा’ र लामखुट्टे । झिंगा जसले टोकेर रोग सारेपछि ‘अफ्रिकन स्लिपिङ सिकनेस’ लाग्ने रहेछ जसले ज्यानै लिने रहेछ । र, अर्को लामखुट्टेबाट मलेरिया सर्ने रहेछ ।


सन् १९६१ मा ब्रिटिस उपनिवेशबाट तान्जानियाले उन्मुक्ति पाएको रहेछ । तर, यी राष्ट्रिय निकुञ्जहरू सन् १९५१ म ब्रिटिस पालामै घोषणा भएको रहेछ । यहाँका निकुञ्जमा पृथ्वीभरकै जीवजन्तुले बास पाएजस्तो अनुभूति हुने रहेछ । तान्जानियाको भूगोलभित्र निकुञ्ज परे पनि त्यो यी जीवजन्तु सम्पूर्ण पृथ्वी र हामी सबै मानव जातिको साझा सम्पत्तिझैं अनुभूति भयो ।


यथार्थमा केन्या र तान्जानिया भिन्न भूगोल (देश) भए पनि आफ्नो क्षेत्रका जनावरका लागि राष्ट्रिय निकुञ्ज बनाएर साझा संरक्षण गर्दै संसारमै उदाहरण बनेका छन् । जनावरहरू राजनीतिक सीमामा विभाजित हुन चाहँदैनन् भन्ने दृष्टान्त देखाएका छन् ।

७ जुलाई
अफ्रिकाको सबैभन्दा अग्लो पहाड किलिमन्जारोको नाम खुबै सुनेको थिएँ । यही पहाडको नाममा यहाँको एयरपोर्ट नामकरण गरिएको रहेछ । बेलुका घर फर्कने फ्लाइट थियो । सफा मौसम र घमाइलो दिन भएकाले माथि बिमानबाट पनि किलिमन्जारो देख्न सकिन्थ्यो । १९ हजार फिटको उचाइमा उभिएको पहाडको फेदमा हिउँले ढाकेको ज्वालामुखीको मुख देखिन्थ्यो । हरेक वर्ष धेरै पर्वतारोही किलोमन्जारो चढ्न जाँदा रहेछन् । नेपाली पर्वतारोहीले पनि यो पहाड चढेका रहेछन् ।


जतिसुकै परिपक्व भए पनि छोराको बिदाइमा बाबुको मन गह्रुंगो हुन्छ नै । अब किलिमन्जारोबाट छोरो विशाल अर्कै गोलाद्र्धको अमेरिका उड्दै थियो । म भने आफ्नै घर फिर्दै थिएँ । हामी बाबुछोरा एयरपोर्टमा भेट्टिएका थियौं, फेरि एयरपोर्टबाटै छुट्टियौं— किलिमन्जारो साक्षी राखेर ।

प्रकाशित : श्रावण २६, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?