२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

खोज्दै अरुणा लामा

स्मृति
भाइहरू, हेर्नुहोस्, काठमाडौंबाट क्‍यासेट निकाल्ने, स्टेज सो गर्ने, टीभीमा लाइभ कार्यक्रम गर्ने भन्दै कहिले को, कहिले को आएर दिक्‍क गर्छन् ।
अमोद भट्टराई

काठमाडौँ — हामी अरुणा लामाले काम गर्ने कार्यालयमा पुग्यौं । उनी जनजाति कल्याणसम्बन्धी कुनै कार्यालयमा काम गर्दिरहिछन् । पत्ता लगायौँ र ढोकामा बस्ने पाले दाइलाई अनुरोध ग‍र्‍यौं, उनलाई भेट्नका लागि । केही बेरमा हामी उनको टेबलअगाडिको दुइटा मेचमा थियौँ– उनको ठीक अगाडि । दुब्ली, श्याम वर्णकी, शालीन– अरुणा लामा ।

खोज्दै अरुणा लामा

बन्द खाम दिँदै सन्तोष दाइले भने, ‘अरुणा लामासँग राम्रो सम्पर्क गरी आउनुभएकोमा खुसी लाग्यो । अनि तपाईंको बुँदागत सुझावयुक्त प्रतिवेदनले हामीलाई सहयोग गर्ने नै छ । अनि खर्चको फेहरिस्तबाट पनि म प्रभावित भएँ ।’ उनी मुसुक्‍क हाँसेर फेरि भने, ‘योचाहिँ तपाईंको पारिश्रमिक ।’


खामभित्र ५०० रुपैयाँको नोट थियो । २०४९ सालमा पाँच सय † राम्रो रकम मानिन्थ्यो । रेडियो नेपालमा महिनाभरिको मेरो जम्माजम्मी तलब थियो रु. १,१३५ मात्र । अनि पाँच सय पाउँदा म खुसी, राम्रो काम र राम्रो प्रतिवेदन पाउँदा सन्तोष दाइ खुसी ।


म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा (सन्तोष दाइ) ले मलाई बोलाएर दार्जिलिङ गएर अरुणा लामालाई व्यक्तिगत रूपमै भेटेर उनको स्वरमा रेकर्ड हुने प्रस्तावित विभिन्न गीतका म्युजिक ट्रयाकको क्‍यासेट चक्‍का बुझाउन जाने प्रस्ताव गरे । यसै मेसोमा सिलगुडी, दाजिर्लिङ क्षेत्रमा गएर नेपालबाट उत्पादित हुने क्‍यासेट चक्‍काको बजार र नक्‍कली क्‍यासेट चक्‍काको प्रभावको सर्वेक्षण गर्ने प्रस्ताव पनि गरे ।


नाइँ भन्ने त कुरै थिएन । एकातिर अरुणा लामासँग भेट्ने मौका । अर्कोतिर सर्वेक्षण, खोज आफूले पढ्दै गरेको विषय । अनि दार्जिलिङ क्षेत्रको भ्रमणको मौका ।
धेरैधेरै वर्षको मौनतापछि २०४५ को अन्त्यतिर र २०४६ सालपछिको सुरुताका म्युजिक नेपालले अरुणा लामाको स्वरमा दोभान शीर्षकमा क्‍यासेट एल्बम निकालेको थियो । रत्‍नशमशेर थापाका शब्द र अम्बर गुरुङको संगीतमा उत्पादित यस एल्बममा दीप श्रेष्ठले पनि उनीसँग युगल गीत गाएका थिए । ‘हुन्छ दाइ । कहिले जाऊँ ?’


‘जतिसक्दो चाँडो,’ सन्तोष दाइको जवाफ थियो ।


मेरो जागिर बिहान रेडियो नेपालमा थियो र दिउँसो कीर्तिपुरमा स्नातकोत्तर तहको पनि पढाइ चल्दै थियो । सिंहदरबार हान्निएर गएँ साइकलमा । सार्वजनिक बिदाहरूमा काम गरेबापत सट्टा बिदा पाइन्थ्यो त्यसताका । मेरा थुप्रै सट्टा बिदा जम्मा भएका थिए । १० दिन सट्टा बिदाका लागि निवेदन दिएँ । अग्रिम रूपमा १० दिनभित्र पर्ने कार्यक्रमहरू तयार गरी टेप लाइब्रेरीमा बुझाउने सर्तमा बिदा स्वीकृत भयो ।


जागिरबाट स्वीकृति त पाएको थिएँ । घरमा के भन्ने हो कुन्नि ? घरमा आएर दार्जिलिङ जाने कुरा गरेँ । म २६ वर्षे केटोलाई पनि स्वीकृति लिनुपथ्र्याे, जाऊँ कि नजाऊँ भनेर घरमा ।
नेपाल भर्खरै जनआन्दोलनको धङधङीबाट माथि उठेको थियो । भर्खरै बहुदलीय व्यवस्थाको पुन:स्थापना भएको थियो । दार्जिलिङ पनि त्यति सुरक्षित मानिदैनथ्यो । अस्थिरताको चाप त्यता हुँदो पनि थियो । सञ्‍चारको माध्यम सिर्फ ‘ल्यान्डलाइन’ टेलिफोन । नत्र ‘कम्युनिकेसन’ शून्य !

हाउगुजी थियो दार्जिलिङ त्यसताका । झन् बाटोमा पर्ने नक्सलबाडी र त्यहाँ भएको नक्सलाइट माओवादी विद्रोहले त काठमाडौंका कुइराका कागलाई डरछेरुवा नै बनाएको थियो । घरबाट पनि स्वीकृति त पाएँ तर कोही एक जना साथी लिएर जाने सर्तमा । मारेन अब ? सन्तोष दाइलाई फोन घुमाएँ ।


‘पूर्वी बंगालको अस्थिरता र सुरक्षा व्यवस्था राम्रो नभएकाले के म एक जना साथी लिएर जान सक्छु, दाइ ? खर्च एकदम मितव्ययी रूपमा गर्नेछु ।’ एकै सासमा भनेँ, फेरि जान नपाइएला भनेर । आएको सुनौलो मौका गुम्ला भनेर ।


‘हुन्छ, भाइ । तपाईंलाई त्यसरी जाँदा सजिलो हुन्छ भने मलाई कुनै आपत्ति छैन ।’


रेडियो नेपालको जागिरबाट बिदा मिल्यो । अग्रिम कार्यक्रम बनाइयो । त्रिभुवन विश्‍वविद्यालयमा प्रोफेसरहरूलाई खबर गरेँ । घरबाट स्वीकृति मिल्यो । अनि साथी पनि तयार भयो– सुमनध्वज विष्ट । काठमाडौंको सम्भ्रान्त परिवारको सुमन शालीन थियो । व्यावहारिक पनि । जहाँजस्तो परिस्थितिमा पनि साथमा साथ, हातमा हात दिने ।


असार ७ गते २०४९ साल साँझ हाम्रो बस काठमाडौंबाट काँकडभिट्टालाई गुडयो । भोलिपल्ट काँकडभिट्टामा बिहानको खानापछि जिप लिएर सिलगुडी पुगेका थियौं हामी नक्सलबाडी हुँदै सुरक्षित । त्यो दिनभरि सिलगुडीमा सर्वेक्षणको काम गरेँ मैले । तत्कालीन जनपथ दैनिक समाचारलगायत श्रीलाल मार्केट र विधान मार्केटका प्रशस्त पसलहरू चहारेर नेपाली गीतसंगीत क्षेत्रको सर्वेक्षण गरेँ– टुटेफुटेको हिन्दीमा गर्मीमा पसिनाका धारा चुहाउँदै । साँझ थकितथकितझैं, चकितचकितझैं होटल फर्कियौं ।


दार्जिलिङ जाँदा त्यहाँको प्रख्यात रेल चढ्ने इच्छा थियो । पहाडमा समेत चल्ने यो रेल विश्‍वप्रसिद्ध नै थियो । सन् १८८१ मा चल्न सुरु भएको रेल सुस्त गुड्थ्यो तर त्यसको आकर्षण बेग्लै थियो । तर, त्यसताका रेल चलेको थिएन । हामी ‘हिस्स बूढी ङिच्च दाँत’ लिएर भोलिपल्ट बिहान दार्जिलिङका लागि मिनिबस समातेर उकालो लाग्यौं । नयाँ जलपाइगुडीबाट रेल चढ्न पाएको भए हामी माथिल्लो दार्जिलिङ नै पुग्थ्यौं, टाइगर हिलसम्मै छुकछुक रेलमा । तर, भाग्यले साथ दिएन ।


दुई दिनअगाडिसम्म प्रस्ट नेपाली बोल्दै थियौं हामी । एक दिनअगाडि सिलगुडी क्षेत्रमा टुटेफुटेको हिन्दीमा समय बिताउँदै थियौं हामी । जसोजसो सिलगुडी–दार्जिलिङको मिनिबस माथिमाथि डाँडा चढ्दै गयो, हाम्रो कानमा मीठो पाराको लेघ्रो तनाइयुक्त नेपाली भाषा बज्न थाल्यो । हामी पनि स्वरमा स्वर मिलाएर दार्जिलिङे नेपाली बोल्न खोज्दै थियौं । तर, लवज नक्कल गर्दा कतै जिस्काएको जस्तो पो हुने हो कि भन्ने डर लाग्थ्यो । मनमा चिसो पसेको थियो– दार्जिलिङ अशान्त छ, असुरक्षित छ भनेर । खोइ किन हो कुन्नि, डर लाग्थ्यो धक फुकाएर कुरा गर्न । जोकसैसँग मन लाग्दैनथ्यो कुरा गर्न ।


दिउँसो दार्जिलिङ बजार ओर्लियौं हामी । तत्काल मलाई आकर्षक लागेन दार्जिलिङ । जुन सुन्दरता सोचेको थिएँ त्यो थिएन– आजभोलिको काठमाडौं जस्तै । मान्छे नै मान्छे । अव्यवस्थित सहरीकरण । हिलो, फोहोर, मासुका खुला बजार, अभावमा पिल्सिएका झैं लाग्ने सर्वसाधारणका अनुहार । खै के, खै के !


‘ओह दाजुहरू, होटल चाहिन्छ ?’ भन्दै एउटा केटोले मेरो ब्याग तान्यो । अर्कोले सुमनको । एकै छिनमा के इसारा भयो दुवै जनाको कुन्नि, एउटाले सुमनको ब्याग फुत्त छोडयो । हामी पहिलोको पछाडि लाग्यौं । एउटा सामान्य लजमा लग्यो उसले, दुइटा खाट, बस् । मितव्ययिता हाम्रो लक्ष्य थियो किनकि एक जना मात्र आउने कार्यक्रममा हामी दुई जना थियौं ।
‘भोलि टाइगर हिल जानु छ हामीलाई । के गर्ने ?’ उसैसँग सोध्यौं । अनि उसैले बिहान सबेरै लिन आउने पनि भयो हामीलाई । पैसाको मोलतोल भयो । जिपमा जाने भयौं ।
‘दिउँसो के गर्ने त अब, दाजुहरू ?’ कन्दै उसले सोध्यो ।


‘हामीलाई अरुणा लामालाई भेट्नु छ’ मैले उसलाई आफूबाट पन्छाउन कोसिस गर्दै भनेँ । अरुणा लामाको नाम सुन्नासाथ उसको लवज, हाउभाउ नै फरक भयो ।
‘तपाईंहरू संगीतकर्मी ?’


हामी दुवै जना बोलेनौं । मैले टाउको हल्लाएँ मात्र । संगीतको नामको ससमेत नजानेको म कसरी संगीतकर्मी ? सुमन व्यंग्य गर्दै मुस्कुरायो । म चुपचाप !
‘दाजुहरू बाहिर निस्केर अरुणा लामाको नाम मात्र लिनुहोस् ल, उहाँकहाँ पु‍र्‍याइदिन्छन् जसले पनि ।’ भोलि बिहान नै भेट्ने सर्तमा ऊ छुट्टियो हामीबाट । सायद उसलाई हतारो थियो नयाँ ग्राहक पक्डन ।


हामी अरुणा लामालाई भेट्न दार्जिलिङ त आएका थियौं । तर, न उनलाई हामीले अग्रिम रूपमा खबर गरेका थियौं, न हामीसँग उनको कुनै ठेगाना नै थियो । थियो त उनको नामको विश्‍वास । सोध्दै–खोज्दै हामी अरुणा लामाले काम गर्ने कार्यालयमा पुग्यौं । उनी जनजाति कल्याणसम्बन्धी कुनै कार्यालयमा काम गर्दिरहिछन् । पत्ता लगायौं र ढोकामा बस्ने पाले दाइलाई अनुरोध ग‍र्‍यौं, उनलाई भेट्नका लागि ।


केही बेरमा हामी उनको टेबलअगाडिको दुइटा मेचमा थियौं– उनको ठीक अगाडि । दुब्ली, श्याम वर्णकी, शालीन– अरुणा लामा । हामी म्युजिक नेपालको सन्देश लिएर आएको भन्नासाथ उनको अनुहार उज्यालो भएको थियो । तर, बोली यति मधुर कि बुझ्न कठिन थियो । उदासीपन उनमा धेरै थियो ।


‘भाइहरू, हेर्नुहोस्, काठमाडौंबाट क्‍यासेट निकाल्ने, स्टेज सो गर्ने, टीभीमा लाइभ कार्यक्रम गर्ने भन्दै कहिल्यै को, कहिल्यै को आएर दिक्‍क गर्छन् । अनि फेरि महिनौं हराउँछन् । तपाईंहरू म्युजिक नेपालको तर्फबाट आउनुभएको रहेछ । कुरा लामै होलाजस्तो छ । मेरो घर नै आउनुहोस् न । भोलि साँझ, छ बजेतिर ।’ धेरैलाई पन्छाउँदै आएकी अरुणा लामाले हामीलाई आफ्नो घरमा बोलाइन् । ओहो, हाम्रो भाग्य † ‘हस्,’ भन्यौं हामीले र नमस्कार ग‍र्‍यौं ।


भोलिपल्ट बिहानै हामी टाइगर हिलका लागि जिपमा लाग्यौं– उकालो । करिब ११–१२ किलोमिटर ठाडो उकालो साँच्चिकै ‘हिल’ नै थियो । जिपमा पनि ‘हिल गियर’ लगाउनुपथ्र्याे । सगरमाथा र कञ्‍चनजं‌घालाई त्यति प्रस्ट नजिकबाट देख्दा पहिलो पटक मेरो मुखबाट निस्कियो, ‘वाह, दार्जिलिङ †’ दार्जिलिङको मनमोहक सुन्दरता त्यहीँ देखिको थिएँ मैले तर फेरि दुई घण्टापछि हामी फेरि ओरालो लाग्यौं– दार्जिलिङ सहर † यस्तो सुन्दर सहरलाई मानवीय अतिक्रमणले कसरी बिगार्दोरहेछ † दार्जिलिङको मुख्य सहर देखेर मन रोएको थियो । आजभोलि काठमाडौं सहर देख्दा मन त्यसरी नै रुन्छ । प्रत्येक दिनजसो काठमाडौं सहरबाट टलटल हिमाल देखेको मेरो बाल मस्तिष्क आजभोलि सधैं हिमाल खोज्छ । स्वच्छ हावा खोज्छ । सफा वाग्मती खोज्छ काठमाडौंमा । तर, पाउँदैन । के गर्ने ?


त्यसै दिउँसो सर्वेक्षणमा समय बित्यो फेरि दार्जिलिङ सहर बजारमा आएर । नेपाली गीतका क्‍यासेटको सम्भाव्यता, नक्‍कली क्‍यासेटको उत्पादन, सक्‍कली क्‍यासेटका चाहना– यावत् कुराबारे दर्जनौं विक्रेताहरूसँग कुराकानी भयो । नक्‍कली क्‍यासेटको उत्पादन त्रासदिपूर्ण थियो । तर, त्यति हुँदाहुँदै पनि सक्‍कली क्‍यासेटकै चाहना पनि प्रशस्तै थियो । रिपोर्टका लागि प्रशस्त सामग्री संकलन गरेर हामी साँझ गयौं अरुणा लामाको घर– बिलोम्रे रोड, दार्जिलिङ सहर ।


अरुणा लामालाई संगीत ट्रयाकको क्‍यासेट दिँदै मैले उनको प्राथमिकतामा पर्ने संगीतकारहरूमा दीपक जंगमका, गोपाल योञ्‍जनका अनि गीतकार रत्‍नशमशेर, कालीप्रसाद रिजाल, नगेन्द्र थापा, राजेन्द्र थापा आदिका नाम लिएपछि उनले शालीनतापूर्वक वाद्यवादकहरू को–को हुन्छन् भन्ने प्रश्‍न गरिन् आफ्नो प्रस्तावित रेकर्डिङमा । म आलोकाँचो थिएँ । सन्देशबाहक मात्र थिएँ । मैले हाँस्दै भनेँ, ‘दिदी, डु नट सुट द मेसेन्जेर भनेझैं मैले यसको उत्तर दिन नसक्दा तपाईं ‍रिसाउनु हुँदैन होला कि ? म सन्देश पु‍र्‍याउँछु काठमाडौंमा । तर, अहिले मसँग उत्तर छैन ।’ मैले झूट नबोली भनेँ ।


‘डु नट सुट द मेसेन्जेर, मन पर्‍यो मलाई,’ अरुणा लामा मुस्कुराएको मैले पहिलोपटक देखें ।


हामी सबै हाँस्यौं, चिया र बिस्कुट खाँदै– अरुणा लामा, म, सुमन अनि सपना प्रधान । हाम्रो बैठकमा अरुणा लामाकी छोरी सपना प्रधान पनि थपिएकी थिइन् । उनले गीत गाएर सुनाइन् हामीलाई । अनि स्थानीय स्टुडियोमा रेकर्ड भएका गीतहरू पनि सुनाइन् उनले क्‍यासेट प्लेयरमा बजाएर । उनको पनि काठमाडौंमा एउटा क्‍यासेट निकाल्न सक्ने सम्भावनाका बारेमा पनि कुरा भयो ।


म त फगत् एउटा दूत थिएँ– सन्देश दिने र उनीहरूको सन्देश बटुलेर काठमाडौं ल्याउने । साँझ रमाइलो भयो र हामी झमक्‍क परेपछि होटलमा फर्कियौं– उकालो चढ्दै, खुड्किलाहरू चढ्दै । अनि भोलिपल्ट बिहानै ओराला लाग्यौं– दार्जिलिङ, खर्साङ, सिलगुडी, नेपाल । र, केही दिनमा सन्तोष दाइलाई प्रतिवेदन बुझाएँ– अरुणा लामासँगको भेटको, म्युजिक नेपालको सन्देशको, सर्वेक्षणको र विभिन्न सम्भावनाहरूको ।


पछि २०४९ सालको अन्त्यतिर नरेन्द्रराज प्रसाईको अग्रसरतामा काठमाडौंमा अरुणा लामा स्वर्णिम साँझ आयोजना भयो । धेरै व्यक्तित्वहरूको संलग्नतामा यो कार्यक्रम सफल भयो । खचाखच भरिएको थियो तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको हल । एउटा उत्सव नै भएको थियो त्यो । केही समयको अन्तरालमा उनी फेरि काठमाडौं आइन् । रेकर्ड गराइन् थुप्रै गीतहरू । अनि म्युजिक नेपालबाट उत्पादन गरियो उनका नयाँ गीतका क्‍यासेट चक्‍काहरू । ‘अरुणा यात्रा’, ‘अन्तिम यात्रा’ जस्ता शीर्षकमा उनका थप गीति एल्बमहरू उत्पादन भए त्यसपछि ।

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?