१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अविश्वसनीय अठोट

तेलंगनाका सिँचाइमन्त्री हरिश राव मन्त्री रावले अनेक दाबी गरिरहँदा आँखाअगाडि नाच्न थाले— सिंहदरबारभित्रका कोठाहरूमा झुन्डिएका राष्ट्रिय गौरवका आयोजनाहरूको सूची, मेलम्ची खानेपानी आयोजना अनि त्यसले कुरूप पारेको राजधानी र नागढुंगा–कलंकी सडक ।
मुख्यमन्त्री के चन्द्रशेखर रावले आफ्नै कार्यकक्षबाट परियोजनाको प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । कुनै बाधा व्यवधान आएको खण्डमा मुख्यमन्त्रीले तत्काल सम्बोधन गर्ने गरेका छन् ।
सुरेशराज न्यौपाने

काठमाडौँ — विश्वकै सबैभन्दा ठूलो सिँचाइ परियोजना । त्यो पनि भारतको कान्छो राज्य तेलगंनामा । सुन्दा झट्ट पत्यार लागेन । तर, तेलगंनाको राजधानी हैदरवादबाट करिब दुई सय किलोमिटरको दूरीमा रहेको करिमनगर जिल्लाको लक्ष्मीपुरमा निर्माणाधीन कालेश्वरम सिँचाइ परियोजना भौतिक संरचना प्रत्यक्ष देख्दा भने पहिलेको अविश्वास तत्काल गलत साबित भयो ।

अविश्वसनीय अठोट

करिब दुई किलोमिटर लामो अडिट टनेलबाट जमिनभन्दा तीन सयमिटर तल रहेको पम्प हाउसमा पुग्नासाथ परियोजनाका फिल्ड अधिकृतले आयोजनाका विशेषता र प्रगतिहरू फर्रर सुनाउन थाले । परियोजनाको आकार, लागत र कामको गति सुन्दा आश्चर्य मान्नुको विकल्प थिएन । सन् २००७/०८ मै विस्तृत डिजाइन बने पनि २०१४ मा फेरि त्यसमा केही संशोधन गरिएका कारण परियोजनाको काम भने दुई वर्षअघि मात्र सुरु ती अधिकृतले जानकारी दिए । करिब ८० हजार करोड भारु लागत अनुमान गरिएको कालेश्वरम सिँचाइ परियोजना परियोजनालाई सातवटा लिंक र २८ वटा प्याकेज विभाजन गरिएको छ । जसअन्तर्गत विभिन्न १३ जिल्लामा ठूला २० वटा जलाशय निर्माण हुनेछन् । ती सबै जलाशयलाई ३३० किमि लामो नहरबाट जोडिनेछन् । गोदावरी नदी समुद्र सतहभन्दा औसतमा एक सय मिटर माथि बग्ने तर, तेलंगना क्षेत्रको अधिकांश भूभाग ३०० देखि ६५० मिटरमाथि रहेको हुँदा यस किसिमको संरचना बनाउनुपरेको रहेको छ ।


परियोजनाको आठौं खण्डअन्तर्गत पर्छ, लक्ष्मीपुरस्थित रामदुर्गा पम्पिङ स्टेसन । जुन आफंैमा अविश्वसनीय लाग्छ । जमिनभन्दा तीन सय मिटरमुनि मानौं कुनै सपिङमल बनाएजस्तै तहतह परेको पम्प हाउसलगायतका संरचना बनाइएका छन् । पानीको प्रवाहलाई नियन्त्रणमा राख्न दुई करोड लिटर क्षमताको ‘सर्ज पुल’ (बन्द जलाशय) निर्माण गरिएको छ । यसलाई विश्वकै सबैभन्दा ठूलो भूमिगत सर्ज पुल दाबी गरिएको छ । त्यसैगरी १३९ मेगावाट क्षमताका ७ वटा पम्प जडान गरिएको छ । पम्पिङ स्टेसनमा रहेका प्रत्येक पम्पले प्रतिसेकेन्ड ८९.१४ क्युमेक्स अर्थात् ८९ हजार लिटर पानी तान्न सक्छन् । त्यस हिसाबले यहाँ रहेका सातैवटा पम्पले एक सेकेन्डमा ६ लाख २४ हजार लिटर पानी तान्न सक्छन् । पम्प हाउसको प्रत्येक तलामा ८७ हजार ९९५ वर्गफिटको ढलान गरिएको छ । प्रत्येक तलामा पाँचवटा खण्ड रहेका छन् । यो चारतले पम्प हाउसमा ट्रान्सर्फमर वे, नियन्त्रण कक्ष, ब्याट्री कक्ष, पम्प फ्लोर र कम्प्रेसर रहनेछन् ।


परियोजना सम्पन्न हुँदासम्म मूल र शाखा नहरको कुल लम्बाइ १८३२ किमि हुनेछ । कुनै एउटा सिँचाइ परियोजनामा नहरको यति लामो सञ्जाल विश्वकै सबैभन्दा ठूलो हो । सन् २०२२ मा परियोजना सम्पन्न भएपछि तेलगंनाको ३१ मध्ये २० जिल्लाको ३७.०८ लाख एकड जग्गामा सिँचाइ सुविधा पुग्ने दाबी गरिएको छ । परियोजनाको प्रमुख विशेषता भनेको नदीको विभिन्न खण्डमा बाँध बनाएर पानीलाई फर्काउनु पनि हो । यसो गर्दा गोदावरीको करिब ११० किमि लामो सुक्खा खण्ड पूरै जलाशयमा परिणत हुनेछ । पानी फर्काएर बन्ने जलाशयमा माछापालनका अतिरिक्त वाटर स्पोर्टस्लगायतको प्रवद्र्धन गर्ने योजना पनि बनाइएको छ । सबै बाँधको माथि गाडीहरू दोहोरोदोहोर गर्न मिल्ने गरी फराकिलो सडक बनाउने काम पनि सुरु भइसकेको छ । परियोजनाबाट सिँचाइ मात्र नभएर हैदरावाद र सिकन्दारावादजस्ता ठूला सहरमा खानेपानी उपलब्ध गराउनुका साथै राज्यका अधिकांश उद्योगलाई समेत पानी उपलब्ध हुनेछ । पूरै परियोजनाका लागि मात्र करिब चार हजार मेगावाट बिजुली आवश्यक पर्ने बताइएको छ । कालेश्वरमकै लागि भनेर २१ वटा सबस्टेसन निर्माण हुँदै छन् । साथै ६ वटा ४०० केभी र चार वटा २४० केभी प्रसारण लाइनसमेत निर्माण हुनेछ । परियोजनाको इलेक्ट्रोमेकानिकलको काम भारत हेभी इलेक्ट्रिक लिमिटेड (भेल) ले हेरेको छ भने बाँकी सिभिल संरचना मेगा इलेक्ट्रिकलको जिम्मामा छ । दक्ष र अदक्ष गरी परियोजनामा हाल २५ हजार जना कार्यरत छन् ।


परियोजनाको प्रत्यक्ष रेखदेख र अनुगमन तेलंगनाका सिँचाइमन्त्री हरिश राव आफैंले गरिरहेका छन् । केन्द्रका कृषि, जलस्रोत वातावरण मन्त्रालयदेखि १० वटा निर्देशनालयहरूसँग समन्वय गर्ने जिम्मेवारी रावकै काँधमा छ । त्यसबाहेक राज्यकै विभिन्न दसवटा मन्त्रालयहरू यसमा प्रत्यक्ष र परोक्ष रूपमा संलग्न छन् । मुख्यमन्त्री के चन्द्रशेखर रावले आफ्नै कार्यकक्षबाट परियोजनाको प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । त्यसबाहेक परियोजनाको पछिल्लो प्रगति विवरण हरेक हप्ता मुख्यमन्त्रीलाई जानकारी गराउने गरिएको छ । कुनै बाधा व्यवधान आएको खण्डमा मुख्यमन्त्रीले तत्काल सम्बोधन गर्ने गरेका छन् । यसका अतिरिक्त मुख्यमन्त्री, मन्त्री र ठेकेदारको एउटा छुट्टै ह्वाट्स एप ग्रुप बनाइएको छ । जसमा हरेक दिनको कामको प्रगति अद्यावधिक गरिन्छ । साथै ठेकेदारले कुनै प्राविधिकलगायतका अन्य समस्या बेहोरेमा त्यसको जानकारी मुख्यमन्त्रीले तत्कालै ह्वाट्स एपबाटै थाहा पाउँछन् । २०२२ भित्र सक्ने महात्त्वाकांक्षी लक्ष्य राखिएको हुँदा परियोजनाको सुरु भएको दुई वर्षमा एक दिन पनि काम नरोकिएको सिँचाइमन्त्री रावले बडो गर्वका साथ भने । कामको गति यति तीव्र छ कि एक दिनमै २१ हजार क्युबिक मिटर बराबरको ढलान (कंक्रिट) को काम गरेर कीर्तिमान नै बनाइएको छ । प्रत्येक दिन करिब ३ लाख बोरा सिमेन्ट प्रयोग हुने गरेको छ । ‘आउने दसैंसम्म करिब पचास प्रतिशत काम सम्पन्न भइसक्नेछ, त्यो भनेको करिब १८ लाख एकड जमिनमा सिँचाइ सुविधा सुरु हुनेछ,’ मन्त्री रावले दाबी गरे ।
नेतृत्वमा रहेको यही अठोटकै परिणाम हो, पछिल्लो चार वर्षमा तेलंगनाले हासिल गरेको प्रगति । चार वर्षअघि भारतको २९ औं राज्यको मान्यता पाएयता तेलंगनाले समृद्ध भनिएका अन्य दक्षिण भारतीय राज्यहरूलाई समेत उछिन्न सफल भएको छ । कृषिमा आश्रित अर्थतन्त्र भएर पनि पछिल्लो चार वर्षको राज्यको औसत वार्षिक आर्थिक वृद्धिदर नै ९ प्रतिशतभन्दा बढी छ । गत वर्ष त राज्यको गार्हस्थ्य उत्पादन वृद्धिदर १४.१ प्रतिशत थियो । कालेश्वरम परियोजनाले राज्यको मुहार नै फेर्ने दाबी गर्दै कृषिमन्त्री रावले भने, ‘त्यसैले पनि हामीहरू यसलाई समयअगावै सम्पन्न गर्न दिनरात नभनी लागिपरेका छौं । तेलगंना र भारतका लागि मात्र होइन यो परियोजना दक्षिण एसियाकै गर्व बन्नेछ ।’


मन्त्री रावले त्यस्तो दाबी गरिरहँदा आखाँअगाडि नाच्न थाले— सिंहदरबारभित्रका कोठाहरूमा झुन्डिएका राष्ट्रिय गौरवका आयोजनाहरूको सूची, मेलम्ची खानेपानी आयोजना अनि त्यसले कुरूप पारेको राजधानी र नागढुंगा–कलंकी सडक । र, कानमा गुन्जिरहयो नेपाल सरकारको समृद्धिको सपना ।

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?