अंगालो

कविता

काठमाडौँ — अंगालो हाल्न त्यति सजिलो छैन
बेरिएको अंगालोबाट फुत्किन झनै सजिलो छैन

अंगालो


-मुक्तान थेबा


अंगालो हाल्न त्यति सजिलो छैन
बेरिएको अंगालोबाट फुत्किन झनै सजिलो छैन ।

एक नेता–
खुंखार तस्करसागै बसेर स्याम्पियन पिउँछ
एक प्रशासक–
नेताको जन्मदिनमा महागो उपहार पठाउँछ
एक ठेकेदार–
योजना प्रमुखलाई बन्द खामभित्र
दसैं उपहार पुर्‍याउँछ
एक पत्रकार–
मुख्यपृष्ठमा सुदखोरको उपकारी लेख्छ
एक लेखक–
पुरस्कार कम्पनीमा निवेदन हाल्छ
भर्खरै कविता लेख्न सिकेको कवि–
सम्पादकसँग सेल्फी खिच्छ
र, हतारमा अपलोड गर्छ
एक इमानदार लोग्ने– श्रीमतीको जन्मदिन पर्खेर
फोटो अपलोड गर्छ
र, शब्दको पुष्पवृष्टि गर्छ ।
यी सब अंगालोको महिमा हो
अंगालो त्यसै हालिन्न
अंगालो हाल्नुको पनि कारण हुन्छ
यी कारणसहितका अंगालोहरु हुन् ।

यस्ता थुप्रै अंगालो पनि छन्
जुन अंगालो बन्न
कुनै अदृश्य कारण हुनुपर्छ भन्ने छैन
जस्तो कि–
आमाको काख
परदेशी पर्खिरहेकी प्रेयसीको अंगालो
हमलाअघि योद्धाहरुबीचको अंगालो
भर्खरै मोर्चा जितेर फर्केका
घाइते छापामारको अंगालो
र अरुअरु अंगालोहरु...।

हरेकले आफ्नो इच्छाअनुसारको
अंगालो छान्न सक्छन्
मैले छान्ने अंगालोचाहिँ तिम्रो हो
जो भर्खरै एउटा युद्ध जितेर
फर्किएको होस् ।

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?