२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नोस्टाल्जिक स्वाद : वाचिप्पा

परिकार
एकोहोरो तथा गाह्रो कामको थकानले जीउ दुखेको छ अथवा रुघाखोकी, चिसोले जकडेको छ भने वाचिप्पा खाँदा निको हुन्छ । सुत्केरी भएका महिलाहरूलाई वाचिप्पा खुवाउने चलन किरात समुदायमा रहिआएको छ ।

काठमाडौँ — घरैघरको सहर काठमाडौंमा ‘अग्र्यानिक’ खानपिन कहाँ खोज्ने ? अझ यो सहरका आगन्तुक र पाहुनाले आफ्नो ठाउँको खानपिनको स्वाद चाख्नै पनि कहाँ जाने होला ?

नोस्टाल्जिक स्वाद : वाचिप्पा

त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञानका उपप्राध्यापक डा. तारामणि राईको अनुभवमा ‘यस्तो बेला आफ्नै गाउँले समुदाय र स्थानमा पाक्ने विशेष मौलिक खाना खान पाउने हो भने त्योभन्दा खुसी हुने अर्को क्षण नै रहन्न ।’ डा. राईसमेत आफ्नोपनाको यस्तै क्षण खोज्दै यो सहरमा कहिलेकाहीं भौंतारिने गर्छन् । जब उनी ‘लोकल कुखुराको तिते’ खान कोटेश्वरको वाचिप्पा फास्टफुड पुग्छन्, गाउँघरको झल्को पाइहाल्छन् । ‘वाचिप्पा खाँदै गर्दा गाउँ पुगेको अनुभव हुन्छ, पूरै नोस्टाल्जिक बनाउँछ,’ अघिल्लो शनिबार फास्टफुडमा भेटिएका राईले सुनाए ।

उदयपुर घर भएका डा. राई काठमाडौं बस्न थालेको १२ वर्ष भइसक्यो । किरात समुदायको मुख्य चाड उधौली र उभौलीमा प्रसादका रूपमा एकदुई गाँस चाख्न पाएको क्षणबाहेक धित मरुन्जेल वाचिप्पा खाने हो भने उनलाई पनि गाउँ नै पुग्नुपथ्र्याे । पाँच वर्षअघि इलामकी रीता राराहाङ राईले कोटेश्वरमा पसल थापेपछि उपत्यकामा छरिएर बसेका किरात समुदायका स्वादेलाई वाचिप्पा टाढाको कुरै भएन । सुरुआती दिनदेखि हरेक शनिबार वाचिप्पा खान पुग्ने पाँचथरका टंक लिम्बुले पनि उपत्यकाभित्रै यसरी वाचिप्पा खान पाइएला भन्ने सोचेकै थिएनन् । अर्को विशेषता भनेको हप्तामा एक दिन शनिबार मात्रै इलामेली रीताकहाँ वाचिप्पा बन्छ ।


आफ्नो समुदायको संस्कृति र मौलिकतासँग जोडिएको यो खानालाई जोगाइराख्नै रीताले यो उद्यम थालेकी रहिछन् । उनी आफैं पनि किरात समुदायको परम्परा, रीतिथिति, वेशभूषा, मौलिकता र पहिचान संरक्षणमा संलग्न सत्पात्र हुन् । एक दशकयता किराती संस्कार तथा संस्कृतिमा कलम चलाउँदै आएकी रीता कान्तिपुर एफएम र इन्डिजेनियस टीभीमा भाषिक कार्यक्रम चलाउँछिन् । अनि, उब्रिएको समयमा वाचिप्पा बनाउन पसल पुग्छिन् ।


वाचिप्पा फास्टफुडको नारा छ—‘स्वादका लागि होइन, स्वास्थ्यका लागि खाना खाऔं ।’ यो वाक्यजस्तै वाचिप्पा स्वाद, संस्कार र मौलिकतासँग मात्रै जोडिएको छैन, यो स्वस्थ बन्न र बनाउने जडी औषधि पनि हो । एकोहोरो तथा गाह्रो कामको थकानले जीउ दुखेको छ अथवा रुघाखोकी, चिसोले जकडेको छ भने वाचिप्पा खाँदा निको हुन्छ । सुत्केरी भएका महिलाहरूलाई वाचिप्पा खुवाउने चलन किरात समुदायमा रहिआएको छ ।


वाचिप्पाको पहिलो स्वाद लिनेका लागि यो त्यति मीठो खान्की होइन । वाचिप्पाको माग बर्खा यामभन्दा हिउँदमा धेरै हुन्छ । चिसो मौसममा ज्यान तातो पार्ने र शक्ति दिने भएकाले हिउँदे महिनामा हरेक शनिबार बढीमा ४० प्लेटसम्म वाचिप्पा बिक्री हुने गरेको रहेछ । रीताले विश्व खाद्य मेला, आदिवासी जनजाति महोत्सव आदिमा वाचिप्पा प्रदर्शनीमा राखेकी हुन्छिन् ।


वाचिप्पासँग किरात संस्कृतिको साइनो पनि उत्तिकै छ । किराती समुदायले पितृ पुज्दा वाचिप्पा पकाएर तीन चुलामा चढाउने परम्परा छ । पितृ पूजा, उधौली र उभौली साकेलाको अवसरमा किरातीका घरमा अनिवार्य वाचिप्पा पाक्छ । ज्वाइँ–ससुराली आउँदा विशेष सगुनका रूपमा वाचिप्पा ख्वाउनैपर्छ । किरातीको बाहुल्य रहेको पूर्वका भोजपुर, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङलगायत जिल्लामा वाचिप्पा पकाउने चलन छ ।

वाचिप्पा मेनु
नामअनुसार वाचिप्पा बनाउने तरिका पनि ‘टिपिकल’ छ । मुख्य त कखुराको प्वाँख डढाएको धूलोमा सफा गरेको आन्द्राभुँडी, मुटु, कलेजो, पँखेटा, खुट्टा मिलाएर पकाइन्छ । आवश्यकताअनुसार नुन, तेल र मसला प्रयोग गर्नुपर्छ । कुखुरा काटेपछिको रगत मिसाउँदा अझ स्वादिलो हुन्छ । वाचिप्पा बनाउनका लागि कुखुराको भाले भए राम्रो मानिन्छ । नहँुदा धेरै प्वाँख भएको कुखुरा भए पनि हुन्छ । यो खाना सामान्य तीतो हुने भए पनि छुट्टै खालको स्वाद यसमा हुन्छ । यो अग्र्यानिक खानामा अदुवा, लसुन र जिरा मसला मात्रै मसलाका रूपमा प्रयोग हुन्छ । खोर्सानी आवश्यकताअनुसार प्रयोग हुन्छ । यसमा बेसार पनि प्रयोग गर्नु हुँदैन । वाचिप्पा भनेपछि रंग पनि कालै देखिनुपर्छ । पकाउनलाई २० देखि २५ मिनेट लाग्ने रीता बताउँछिन् । रीताले वाचिप्पा–सुप पनि बनाउने गरेकी छन् ।


संस्कृति अध्येता चन्द्रकुमार हतुवालीका अनुसार ‘वाचिप्पा भनेको वा र चिप्पा मिलेर बनेको शब्द’ हो । किरात राई भाषामा ‘वा’ भनेको कुखुरा र ‘चिप्पा’ भनेको कालो अर्थात् कुखुरा मारेर प्वााख पोल्दा निस्कने कालो अंश भन्ने बुझिन्छ ।


यो चलनको सुरुआतबारे कुनै निश्चित तिथिमिति नभए पनि किरातीहरू व्यवस्थित कृषि युुगमा प्रवेश गरेपछि वाचिप्पा चलनमा आएको हुन सक्ने संस्कृतिविद्को भनाइ छ । पहिले घरायसी प्रयोगमा आउने वाचिप्पा किरातीहरूको मेला लाग्ने ठाउामा ‘व्यावसायिक स्वाद’ बनिसकेको छ ।
– विद्या राई

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?