२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चरा घटे, आहारा खोसियो

चराचर
बेदराज पौडेल

काठमाडौँ — चराको स्वर्ग मानिने कोसीटप्पुमा अहिलेसम्म ५ सय २७ प्रजातिका चरा रेकर्ड भएका छन् । तर, पछिल्लो समय चराको हाँच भने घटिरहेको देखिन्छ । पहिले एकै प्रजातिका ५० हजार चराको हाँच भेटिन्थ्यो । अहिले मुस्किलले एकै प्रजातिका चराको सयदेखि दुई सयसम्म मात्रै देखिन्छ ।

चरा घटे, आहारा खोसियो

नेपालमा बनमा आश्रित, सिमसारमा आश्रित, घाँसे मैदान र कृषि जन्यभूमिमा आश्रित गरी तीन वर्गमा चरालाई वर्गीकरण गरिएको छ । वनजंगल विनाश, सिमसार र घाँसे मैदान घट्नु र कृषिजन्य भूमिमा बढी बिषादीको प्रयोग चराको आहाराका लागि संकट उत्पन्न हुने कारण हुन् ।


पृथ्वीमा भएका कतिपय चराहरूले अन्न र फलफूल मात्र खान्छन् भने कतिपय मांसाहारी छन् । अर्जुनक, फिस्टा, बकुल्लाले कीरा फट्यांग्रा खान्छन् । हाँस प्रजातिका चराहरूले पानीमा माछा मारेर खान्छन् । गिद्ध, चिल, गरुडले सिनो खान्छन् । घुँघीफोर गरुडले घुँघी खान्छ । गौंथली, पानी गौथली, मुरली चराले उडेका कीरा फटयांग्रा खान्छन् । कुथुर्केले धनेष, जुरेलीले फलफूल मात्रै खान्छ । मुसीचिल, बौगाई, गोठ लाटकोसेरोले मुसा खान्छ । त्यस्तै काकाकुलले सर्प खान्छ । गिद्धको आहारा मरेका पशुचौपाया नै हुन् । तर, पहिलेजस्तो पशु मरेपछि खुला चौरमा फयाँक्ने चलन हराउँदै गएपछि गिद्धलाई आहाराको समस्या हुन थालेको छ । नवलपरासी र सुनसरीमा केही सामाजिक संस्थाहरूले गिद्धको आहाराका लागि गिद्ध रेस्टुरेन्ट सञ्चालन गरे, जसले निकै प्रभावकारी काम गर्‍यो । गिद्ध मात्र होइन नेपालमा पाइने ८ सय ८७ प्रजातिका चरालाई आहाराको कमी हुन थालेको छ । खेत तथा नदीनालामा अत्यधिक विषादीको प्रयोग र पृथ्वीको तापमान बढेसँगै सिमसारमा आएको कमीले चराहरूले पर्याप्त आहारा पाउन छाडेका हुन् ।


चराविद् टीकाराम गिरी खेतबारीमा प्रयोग भइरहेको विषादी घटाउन स्थानीय सरकारले अब पहल थाल्नुपर्ने सुझाव दिए । जैबिक विषादी प्रयोग गर्न किसानलाई सचेतनासँगै अनुदानको व्यवस्था गर्न सके चरासँगै मानिसको बिगँ्रदो स्वास्थ्यलाई पनि बचाउन सकिने गिरीले बताए । उनले भने, ‘अहिले स्थानीय तहको सरकार छ, यसले नासिँदै गएको चरालाई जोगाउन प्राकृतिक रूपबाटै खेती गर्न सकिने कुरामा किसानलाई उत्साहित बनाउन जरुरी छ ।’


संसारमा चरा सकिए भने के हुन्छ भन्ने जिज्ञासामा चराविद् डा. हेमसागर बराल भन्छन्, ‘पृथ्वीमा प्रलय हुन्छ ।’ विषादी प्रयोगका कारण चरा नासिदै गएप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘यो विषयमा बेलैमा कदम चाल्न आवश्यक छ, नत्र पछि निकै ढिलो हुन सक्छ ।’


शब्द/तस्बिर: वेदराज पौडेल

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?