कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

वैकल्पिक तर्कको खुराक

समीक्षा
सौराहाका आदिवासी थारू त्यहाँको पर्यटनको चकचकीमा कुल्चिएजस्तै रारामा निकट भविष्यमै रैथानेहरू कुल्चिइनेछन् । अनि प्रश्न उठ्छ, ‘रैथानेलाई कुल्चेर, मिचेर, थिचेर गरिने पर्यटनको विकासले साँच्चै समृद्धि ल्याउला ?’

काठमाडौँ — सोमत घिमिरे आफूलाई वैकल्पिक ज्ञानको उत्पादन र प्रशोधनमा लागेका व्यक्ति भन्न रुचाउँछन् । हुन पनि उनका विचारहरू त्यस्तै छन्, मूलधारे विकासको बहसभन्दा उनी फरक सोच्छन् र त्यही बोल्छन् पनि । उनको अर्को एउटा बानी छ— तथ्यांकले होइन, उदाहरणहरूले आफ्ना तर्कहरूको पुष्टि गर्ने जमर्को ।

वैकल्पिक तर्कको खुराक

हालै उनको पुस्तक ‘जुर्मुराएको बखत’ बजारमा आएको छ । अहिलेको समृद्धिको बहसभन्दा अलि पर बसेर सोच्न चाहनेका लागि खुराक बन्न सक्छ यो पुस्तक । यसमा समेटिएका यथार्थ कथा र उदाहरणले नेपाली समाजको विकास प्रक्रियामा पिंधमा रहेका समुदाय र खनीखोस्री खानेहरूको पक्षमा बहस गर्न चाहनेलाई सजिलो बनाउँछ ।


खासमा ‘जुर्मुराएको बखत’ घिमिरेले कुनै ढाँचामा बाँधिएर लेखेको अनुसन्धानमूलक पुस्तक होइन । यो उनले गैरसरकारी संस्थाहरूको अनेक खालका प्रतिवेदन तयार पार्ने क्रममा देशका विभिन्न भाग घुम्दा आफूले गरेका अनुभवलाई संगालेर निजात्मक ढंगमा प्रस्तुत गरेको टिपोट मात्रै हो । यद्यपि यसमा प्रशस्त खुराक छन्, टेकेर बोल्नका लागि ।


पुस्तकमा १५ वटा शीर्षकमा आलेख समेटिएका छन् । ती आलेखमा हिमाल, पहाड र तराई समेटिएको छ । पूर्वदेखि पश्चिमसम्मका यथार्थ कथाले शीर्षक भरिएका छन् । कथा यस अर्थमा ती भूगोलमा बसोबास गर्ने बासिन्दासँगको संवाद आधारित छ । भ्रमण क्रममा देखिएका दृश्यहरूको वर्णन मात्रै यहाँ छैन, लेखकको मनमा उठेका संवेग र विचारहरू पनि लेखाइमा जोडिएको छ ।


अझ अलि गहिरिएर भन्ने हो भने नेपाली समाजको विकास क्रममा सबैभन्दा पिंधमा रहेका दलित, जनजाति, मधेसी, पहाडेका गाउँले र सीमान्तकृतको व्यथा यसमा छ । यी यथार्थ कथा–व्यथालाई स्वच्छन्द रूपमा प्रस्तुत गरिनाले पढ्नका लागि रुचिकर बनेको छ । केही लेखोटहरू राजनीतिक घटनाक्रमसँग मिसिएर आएका छन् । माओवादी युद्धका बेला पनि लेखक नेपालका माओवादी प्रभावित पहाडी गाउँहरू घुम्दै थिए । अझ उनको खास उठबस दलित बस्तीहरूमा थियो । त्यसबेला त्यहाँका दलितका मनोभावलाई हुबहु उतार्न उनले भगीरथ यत्न गरेका छन् । ‘जनताको जनसेना’, ‘माओवादी ढिला आइपुग्यो’ र ‘मधेसभित्रको मधेसमा’ शीर्षकमा भूमिगत माओवादीका अनेक प्रसंगहरू छन् । यी आलेखमा लेखकले माओवादीले सुरु गरेको जनयुद्धप्रति समाजको सबैभन्दा पिंधमा राखिएको दलितको आशा, अपेक्षा र आकांक्ष जोडेका छन् । बेला त्यस्तै थियो, माओवादीले गाउँगाउँमा जातीय छुवाछूतलाई बन्देज गरेका थिए । उनीहरू आफैं पनि दलितका घरमा बस्थे, ठूला बडालाई हप्कीदप्की गर्थे । मान्छेमा हुने स्वाभाविक मनोविज्ञान हो कि आफूलाई हेप्दै आएकालाई हेप्ने र आफूलाई माया गर्ने देखेपछि फुरुङ्ग हुने । त्यसैले आलेखको शीर्षक नै ‘माओवादी ढिला आइपुग्यो’ राखेका छन् ।


‘मधेसभित्रको मधेस’ पनि यस्तै यथार्थ कथाको संगालो हो । यस आलेखमा सर्लाहीको सन्दर्भ छ । समेटिएका धेरै कथामध्ये सुजितादेवी दासको कथा छ । भर्खरै विवाह गरेकी सुजितादेवीलाई जमिनदारले बलात्कारको प्रयास गरेको छ तर सबै जना तैं चुप मै चुप छन् । त्यही गाउँका पढे–लेखेका हीरालाल चौधरी भने माओवादीको खोजीमा हिंडेका छन् । उनलाई लागेको छ— माओवादी आएमा सुजितादेवीले न्याय पाउनेछिन् । जमिनदार कारबाहीमा पर्नेछन् । तर, हीरालालले भेट्टाउँदा माओवादी अर्कै भइसकेको थियो । उनीहरूले क्रान्तिको कुरा गर्न छाडेर शान्तिको कुरा गर्न थालेका थिए । अन्तत: हीरालाल आफैं विस्थापित भए । यसरी माओवादीप्रतिको आशा पनि चुँडियो । सामाजिक यथास्थिति ज्यूँका त्यूँ रहिरहयो ।


उनी एउटा आलेखमा एउटा प्रसंग उठाउँदैनन् । न त त्यसको सांगोपांगो केलाइरहन्छन् । लेखकको आशय के देखिन्छ भने आफूले देखेका, सुनेका र सुनाइएका प्रसंगमा आफ्नो मनमा उठेका उद्वेगसमेत समावेश गरेर भनिदिने । ‘कहाँ जालिन् उनी एउटा भाले बोकेर ?’ शीर्षक पनि सुदूपश्चिमको सामाजिक यथार्थको एक झलक हो । बाजुराको कुनै गाउँमा डुल्दै गर्दा उनले एक जना महिला एक्लै एउटा भाले बोकेर कतै जाँदै गरेकी देखेका थिए । हिँड्दै गरेकी अर्की महिलासँग ती महिलाले गरेको वार्तालापबाट थाहा हुन्छ, ती महिला आफ्नो पेवा भाले लिएर घर छाडेर हिंडेकी रहिछन् । जति रात पर्दै जान्छ, लेखकको मनमा कुरा उठ्न थाल्छ— सासू–ससुरासँग बस्न नसकेर घर छाडेर निस्केकी ती महिला कता पुगिन् होली र कहाँ बस्छिन् होली ? काम गर्न परदेश पुगेका लोग्ने फर्कन ढिला भएपछि यसरी नै बुहारीलाई घर निकाला गरिदिने वा कति पर्खनु भनेर छाडेर जाने महिलाको कथा त्यसमा समेटिएको छ ।
तत्कालीन माओवादीले भर्खरै कमैयाबाट मुक्त बनेका सुकदैयालाई सांसद बनाएपछि कैलालीको धनगढी बजारमा देखिएको असहज परिस्थितिका बारे सोमतले लेखेका छन् । धनगढीको एउटा तप्काले यसको विरोध गरेको र अर्को एउटा समूहमा उत्साहको सञ्चार भएको चित्र लेखाइमा छ ।


पुस्तकमा समेटिएका नगरकोटका तामाङ किसानको सुरक्षा, स्थानीय ढुकढुकी उर्फ तालहरूको तरङ्ग, से–फोक्सुन्डो र फिरन्ते जीवनशैली, गहुँबारीमा गाई र निकुञ्जमा सेना किन ? शीर्षकका आलेखहरू स्थानीय जनता त्यसमा पनि आदिवासी र दलितको स्थानीय स्रोतमा पहुँच–अधिकारसँग सम्बन्धित विषय हुन् । ‘नगरकोटमा तामाङ’ मा नगरकोटको पर्यटन विकासमा त्यहाँका रैथाने तामाङहरू कसरी बहिष्करणमा परे भन्ने उल्लेख गरिएको छ । त्यो पनि आफूले खोजेको तथ्यको रूपमा होइन, त्यहींका तामाङ प्रतिनिधि पात्रको आफ्नै कथाको रूपमा । अनि त्यसमा थपिएका छन्— विकासको राष्ट्रिय बहसका सन्दर्भहरू ।


रूपा तालमा आएको परिवर्तनको कथा हो— स्थानीय ढुकढुकी उर्फ तालहरूको तरङ्ग । लेखकले बडो रोचक पाराले रूपा तालको उत्थानको कथा भनेका छन् । त्यहीका यथार्थ पात्रहरूको मुखबाट र जोडेका छन् आफ्नै अनुभूतिहरू । अर्को आलेखमा उनले सेफोक्सुन्डो तालमा राखिएको सेनाका गतिविधि र त्यहाँका रैथानेहरूको कथालाई उनेका छन् ।
प्रसंग निस्कन्छ— रारा तालको । त्यहाँका वार्डेनले सुनाउँछन्, गर्वका साथ । अब तालको यो यो कुनामा पाँच तारे होटल बन्ने कुरा छ, अनि बाटोको रेखाङ्कन यस्तो छ । लेखक गम खान्छन्, वार्डेनले सुनाउँदै गरेको त्यो योजनामा यहाँका रैथानेहरू कहाँ अटाएका छन् ? तर भेटिन्नन्, त्यही वरिपरि जीविका चलाउने आदिवासीहरू । अनि लेखकले सम्झेका छन्— सौराहामा पर्यटकका लागि बनेको होटलमा आदिवासी थारुहरूले पाएको लाठी नाच देखाउने काम र त्यसबाट प्राप्त पारिश्रमिक । सौराहाका आदिवासी थारूहरू त्यहाँको पर्यटनको चकचकीमा कुल्चिएजस्तै रारामा निकट भविष्यमै रैथानेहरू कुल्चिइनेछन् । अनि प्रश्न उठ्छ, ‘रैथानेहरूलाई कुल्चेर, मिचेर, थिचेर गरिने पर्यटनको विकासले साँच्चै समृद्धि ल्याउला ?’
गणेशमानले देखेको बाहुनवाद, पहिले र अहिलेका चुनाव र शेरबहादुरको ‘शेरपन’ नेपाली राजनीतिमा देखिएका तथा लेखक स्वयम्ले भोगेका–देखेका यथार्थ हुन् । गणेशमानले उठाएका सामाजिक समावेशीकरण मुद्दामा उनी आफैं कसरी बहिष्करणमा परे भन्नेदेखि चुनावमा भित्रिएका बेथितिको सरसर्ती अनुभूति यसमा छ । शेरबहादुरको ‘शेरपन’ नेपाली नेताहरूको चरित्रको एउटा पाटो हो । डडेल्धुराको एउटा होटलमा खाना खाना आएका शेरबहादुरले कसरी स्थानीय दलित कार्यकर्ताको एक झलक भेट्ने आकांक्षा तुहाएका थिए भन्ने रोचक विवरण छ पुस्तकमा ।


सोमत विकासे संस्थाहरूकै लागि काम गर्छन् । तर, भेटेको जति ठाउँमा विकासे कार्यक्रम लिएर गाउँमा पुगेका गैरसरकारी संस्थाको काम गराइमा व्यंग्य गर्न भ्याइहाल्छन् । उनीहरूले कसरी खाने अन्न नभएको घरमा चर्पी बनाए, अझ गैरसरकारी संस्थापिच्छे चर्पी कसरी बनाइए (?) भन्ने कुरा त्यहींका बासिन्दालाई भन्न लगाइएको छ ।


कृषि र किसानकै सन्दर्भमा पनि उनी अहिले भइरहेको प्रक्रियाको विकल्पमै मत राख्छन् । कर्णालीमा बढेको परनिर्भरतादेखि काभ्रेमा पूर्वपर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरको अनुभवसम्म सुनाउन भ्याउँछन् । काभ्रेको भकुन्डेबेंसीमा कालो धानको खेती गर्न पुगेका पूर्वमन्त्री विष्टलाई चिनेजानेकाले ‘मन्त्रीज्यू’ भनेर बोलाउँदा रहेछन् । एक छिमेकी बुज्रुकलाई ताजुब लागेछ । यो किसानलाई किन सबैले मन्त्रीज्यू भनेर बोलाउँछन् हँ ? एक दिन विष्ट कहाँ पुगेर सोधेछन्, ‘तपाईंलाई सबैले किन मन्त्रीज्यू भनेर जिस्क्याउँछन् ?’ उनको प्रश्नमा लुकेको भित्री कुरा भनेको, यो धान रोप्न आउने किसान मन्त्री हुनै सक्दैन । यसलाई कसैले जिस्क्याउन प्रयोग गरेको शब्द हुनुपर्छ— मन्त्री ।


समग्रमा पुस्तकका राजनीतिक शीर्षकका केही आलेखमा तन्किएको राजनीतिक घटनाक्रमबाहेक सरसर्ती पढ्न रसिलो छ । लेखकले निजात्मक शैलीमा कथावाचन गर्दा झनै रोचक छ । पुस्तकले सरसर्ती मुलुकका सबै भागमा हेपिएका, चेपिएका र थिचिएका आदिवासी जनजाति, दलित, मधेसी, महिलाको कथावाचन गर्छ, टुक्राटुक्रीकै रूपमा सही । त्यसमा लेखकले बेलाबेला अहिलेको बहसका डिस्कोर्सहरू जोडिदिएका पनि छन् । तर, पुस्तकमा उल्लेख गरिएका उदाहरणहरूको गहिरो खोजबिन भने छैन, यस्तोमा हुन सक्ने जोखिम भनेको एकपक्षीय ज्ञानको संकेत पनि हो । तथ्यांकमा खेलेर दर्शक, श्रोता र पाठक प्रभावित बनाउन खोज्ने विद्वान्हरूका लागि त्यस्तो खुराक भने यहाँ छैन । केही ठाउँहरूमा सम्पादकीय कमजोरीका कारण अड्किने अवस्था पनि आउँछ ।
—खिम घले

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?