२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हिउँरानीको अस्पष्ट इतिहास

पुस्तक

काठमाडौँ — भूगोलको अर्कै कुनामा उभिएको डोल्पाजस्तो सीमान्तकृत भूभागको इतिहास कहाँ लुकेको छ ? मुलुकको इतिहास निर्माणमा डोल्पाजस्ता परिधिका क्षेत्रको भूमिकालाई के कसरी मूल्यांकन भएको होला ? यस्ता जिज्ञासाको जवाफ दिने यत्न ‘हिउँरानी : इतिहासदेखि वर्तमानसम्म’ मा गरिएको छ । लेखक योगेन्द्रबहादुर शाहीको यो कृतिले राजनीतिक गतिविधिको पैरवी गरेको छ । जिज्ञासा प्रशस्तै उब्जिएका छन् । तर, पाठकले चित्तबुझ्दो जवाफ भने पाएका छैनन् ।

हिउँरानीको अस्पष्ट इतिहास

राजनीतिक विषयको उठानसँगै पुस्तकको खण्ड विभाजन पनि राज्यव्यवस्था फेरबदलका कालखण्डअनुसार गरिएको छ । निर्दलीय पञ्चायत, बहुदलीय व्यवस्था, गणतन्त्र आगमन गरी तीन खण्डमा विषयवस्तु समेटिएको छ । पूर्वप्रकाशित लेखरचना र तस्बिर खण्ड पनि राखिएको छ । खासगरी डायरी (दैनिकी) लेखनलाई थप सम्पादनबिनै पुस्तकमा समेटिँदा विषयवस्तु खँदिलो हुन सकेको छैन । केन्द्रीय राजनीतिको अधिक वर्णन, खेलकुद, व्यक्तिगत यात्रा संस्मरणको दैनिकीदेखि रक्सीको डिस्ट्रिलरी स्थापनासम्मका कुरा परेका छन् जो समकालीन राजनीतिसँग सम्बन्धित छैनन् ।


‘हिउँरानी’ शीर्षकलाई प्राकृतिक सुन्दरता र राज्यव्यवस्थामा असाधारण महत्त्व बोकेको डोल्पालाई जमेको चिसो व्यवहार गर्ने राज्यसत्तालाई सम्बोधन सुहाउँदो देखिन्छ । तर, विषय उठान भने पञ्चायतबाट भएको छ । अर्कातर्फ, डोल्पा उद्भवको कालखण्ड पञ्चायत नै भएको दाबी पुस्तकले गर्छ ।


डोल्पाली समाज र राजनीतिक इतिहास कोटयाउने सन्दर्भमा लेखकले निकै अस्पष्ट तथ्य प्रस्तुत गरेका छन् । पुस्तकको पृष्ठ ४ मा रानकी शासनको चर्चा छ तर रानकीबारे केही जानकारी छैन । पहिले भोटे राजाको राज थियो भनिन्छ, अनि रानकी बस्थे भनिन्छ । रानकी भोटे राजाको राजवंश हो कि अरू नै शासक हो (?), बुभिँmदैन । त्यसपछि विकिपिडियाको सन्दर्भ दिएर छैटौँ शताब्दीमा तिब्बती राजाको राजबारे उल्लेख गरिन्छ । फेरि ८४२ (सायद इपू) मा तिब्बत र डोल्पा विभाजनको कुरा छ अनि डोल्पा पुराङ्ग राज्यअन्तर्गत परेको उल्लेख छ । लगत्तै दसौँ शताब्दीको कुरा आउँछ । त्यहाँ डोल्पा र पुराङ्गलाई गुगे राज्यअन्तर्गत रहयो भनिन्छ । त्यसपछि अचानक डोल्पासँग ‘सेरिव’ को कुरा जोडिन्छ । एम गोन पोल्डे राजाको पालामा डोल्पा र सेरिव विभाजन भएको भनिन्छ । त्यसपछि १४ औँ शताब्दीका शाक्य शासकको कालमा डोल्पा लो राज्यमा परेको उल्लेख छ । १७८९ (सन् ?) मा नेपाल राज्यमा समाहित भएको उल्लेख छ । यी सबै कालखण्डमा एकपछि अर्कोको सम्बन्ध स्थापित नगरी विषयवस्तु पस्किनुले अस्पष्ट चित्र छाएको छ । उल्लेखनीय कुरा के छ भने त्यो समयमा डोल्पा उद्भव भएकै थिएन । हालको डोल्पाको भूगोललाई त्यो समयमा के नामले पुकारिन्थ्यो, कहीं–कतै उल्लेख छैन ।


पुस्तक लेखन एक प्राज्ञिक कर्म हो । आजको समयसम्म विकिपिडिया प्राज्ञिक कर्मका लागि भरपर्दाे स्रोत मानिएको छैन । यसले तथ्यको स्रोत सन्दर्भमा अस्पष्टता थपेको मात्रै छ । विजयी/पराजयी जे भए पनि सत्तामा रहने खेल खेल्ने खासगरी पूर्वमन्त्री तथा माननीयहरूको लीलालाई पुस्तकले उदांगो पारेको छ । बारम्बार पार्टी अदलीबदली गर्ने, अवसरवादी/व्यक्तिवादी राजनीतिक संस्कार बसाल्ने यी खेलाडीहरू वर्तमानसम्म पनि पर्दा अघि वा पछि खेल खेल्नमा सक्रिय रहेको विवरण पुस्तकमा छ । उदाउँदो नयाँ पुस्तालाई यस्तो चरित्रबारे सजग गराइएको छ ।


आजसम्मको इतिहासमा डोल्पाबाट राजनीतिमा हात हालेर स्थापित एक पुस्तापछि दोस्रो पुस्ता उदाएको देखिएन । लेखक एक अपवाद हुन खोजेजस्तो भए पनि बुबा बागबहादुर शाहीको विरासतलाई तोड्न नसकेको पुस्तकले देखाउँछ । डोल्पाको राजनीति जराबाट होइन, टुप्पोबाट पलाएको हो कि झैं देखिएको छ । राजनीतिकर्मीलाई ‘शक्ति’ त दिइयो तर संस्कार दिइएन । पुस्तान्तरण हुन पनि सकेन ।


भीमकाय भूगोल ओगटेको डोल्पामा बस्ती पातलो तर जग्गाजमिनको अधिकतम उपभोग भएको विगत कोटयाउँदै वर्तमानमा त्यसो नभएकोमा चिन्ता प्रकट छ । राजनीतिक स्वार्थको उपज खाद्य–राजनीति थालियो । जमिन बाँझै रहयो । चौँरी फारम विनाश गरिए । हुँदाहुँदा सडक सञ्जालले नछोएको डोल्पालाई बाहिरी दुनियाँसँग जोड्ने एक मात्र माध्यम हवाई सेवालाई पनि विभिन्न राजनीतिक उतारचढावको बहानामा सीमित पारियो । काठमाडौँदेखि डोल्पा, पोखरादेखि डोल्पा, भैरहवादेखि डोल्पा, नेपालगन्जदेखि डोल्पा, सुर्खेतदेखि डोल्पा अनि डोल्पा–जुम्ला सेवा सबै कटौती भएर हाल नेपालगन्ज र सुर्खेतमा सीमित भएको छ ।


प्रजातन्त्र स्थापनापश्चात् उत्तरी हिमालय शृंखलामा सीमा सुरक्षा सहयोगार्थ भारतीय सैनिक पोस्ट खडा गरिए । अन्य ठाउँमा भएका पोस्ट सीमा नजिक भए पनि डोल्पामा भौगोलिक र हावापानी प्रतिकूलताका कारण सीमाबाट निकै दक्षिण पर्ने दुनै (पछि जिल्ला सदरमुकाम भयो) मा चेक पोस्ट स्थापना भएको थियो । झन्डै दुई दशकपछि त्यसलाई हटाइयो । ‘पर्यटकीय संसारमा डोल्पो वा डोल्पा अत्यन्त रुचि र आकर्षणको विषय बनेको छ ।’ यो वाक्य पुस्तकको पृष्ठ ५ को अन्तिम अनुच्छेदमा छ । यसरी ‘डोल्पो’ र ‘डोल्पा’ एउटै अर्थमा बुझिन्छ जुन गलत हो ।


विभिन्न विदेशी अध्ययन अनुसन्धानमा माथिल्लो डोल्पा भनेर पुकारिएका साविकका सात गाउँ विकास समिति (गाविस) भिजेर, साल्दाङ, तिन्जे, छार्का, मुकोट, धो र फोक्सुन्डोलाई छाता शब्दावलीमा सम्बोधन गर्दा ‘डोल्पो समुदाय’ व्युत्पादन गरे । छुट्टै पहिचानको राजनीतिक रूपमा उपयोग गर्न थालिएको ‘स्वार्थ’ नबुझेर केही दस्तावेजमा डोल्पालाई नै डोल्पोको रूपमा बुझ्ने–बुझाउने गरेको पाइन्छ । यो गलत हो ।


भनिन्छ— व्याकरणबिनाको भाषा भनेको लगामबिनाको घोडाजस्तै हो । पुस्तक व्याकरणको संयोजन नहुँदा बिनालगामको घोडा भएको छ । लेखनशैली एकातिर बगेको छ भने अर्थ–भाव अर्कैतिर बहेको छ । प्रश्नवाचक, पूर्णविराम, अल्पविराम, कोष्ठकको प्रयोग अल्मलिएको छ । ह्रस्व–दीर्घ, शिरविन्दु, चन्द्रविन्दु र ‘ब’ ‘व’ ‘श’ ‘ष’ ‘स’ को प्रयोग झनै अनर्थकारी बनेको छ । लेखनशैली कतै आत्मपरक, कतै वर्णानात्मक त कतै वस्तुपरक छ । कतिपय ठाउँमा त एउटै विषयवस्तुमा अटाउन सक्ने कुरा दोहोरो शीर्षक खडा गरिएको छ ।
लेखक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय संरचनाअन्तर्गतका एक प्रतिनिधि अर्थात् नगरको उपप्रमुख हुन् । सत्ताशक्तिको लोभमा कुनै बेला कम्युनिस्ट बनेका लेखक हाल राष्ट्रिय प्रजातन्त्र पाटी सम्बद्ध छन् । पुस्तकमा राजा र राजसंस्थाको प्रशस्तिगान भेटिन्छ । समकालीन घटना, समय र पात्रको आत्माभिव्यक्तिले भए पनि स्थापित ज्ञान र बुझाइको स्तरमा बढोत्तरी हुने एक सिँढी यो पुस्तकले थपेको छ ।
—अंकलाल चलाउने

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?