२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

गंगामायाको आवाज

पुस्तक

काठमाडौँ — नेपाली साहित्यमा मानवअधिकारसम्बन्धी पुस्तकको सर्वथा अभाव छ । आजको परिवर्तित विश्व सन्दर्भमा सबैभन्दा बढी चर्चा परिचर्चाको विषय भएपनि मानवअधिकारमाथि लिखित साहित्य संकटग्रस्त देखिन्छ । पत्रकार घनश्याम खड्काद्वारा लिखित पुस्तक ‘न्यायको अवसान’ उल्लेख्य कृतिका रूपमा हालै बजारमा आएको छ ।

गंगामायाको आवाज

आजको सन्दर्भमा न्यायको हार र अन्यायको विजय घोषणा हुने गरेको सर्वत्र सुनिने गर्छ । हिन्दी साहित्यका एउटा वरिष्ठ कविका अनुसार :

‘मानवता की विजय–पराजय
दानवता का घोर अनय है
बात पराए की मत पूछो
हमें हाय अपनों का डर है ।’
आज यस्तो स्थितिको सिर्जना हुँदै गएको छ जसमा मानव अधिकारकर्मी र सञ्चारकर्मी दुवैको जीउज्यान जोखिममा पर्न गएको छ । छिमेकी मुलुक भारतमा पत्रकार गौरी लंकेश र राइजिङ कश्मीरका सम्पादक सुज्जत बुखारीको हत्या अहिले यो क्षेत्रको विशेष चर्चित विषय बन्न पुगेको छ । तसर्थ सञ्चारकर्मी र मानवअधिकारकर्मी तथा भ्रष्टाचारविरुद्धका अभियन्ता धेरै सतर्क एवं सजग भएर आफ्नो कार्य सम्पादन गर्नु आवश्यक भएको छ ।


समीक्ष्य पुस्तक ‘न्यायको अवसान’ समसामयिक मानवअधिकार सम्बन्धमा एउटा कोसेढुंगा हो । हुन त यो मौलिक पुस्तक होइन । खड्काले गंगामाया अधिकारीसँगको भेटघाटमा गरेको कुराकानी आधारित यो पुस्तक आधिकारिक पुस्तक हुन गएको छ तर, यो ‘घोस्ट राइटिङ’ भने होइन । पत्रकार खड्काको मानवअधिकारसम्बन्धी ज्ञान र गंगामायाको अनुभवको साँचो दस्तावेजका रूपमा यो कृति आएको छ । मानवअधिकारवादी मार्टिन लुथरको कथन ‘एक ठाउँको अन्याय सबै ठाउँको न्यायलाई धम्की हो’ बाट कृतिको प्रारम्भ भएको छ । लेखकले आफ्नो पूर्वकथन ‘हुनु नपर्ने जो भयो’ शीर्षकमा पनि उनले ‘मृतात्मा न्यायका लागि कराउन असमर्थ छ, त्यसैले तिनका लागि बोलिदिनु जिउँदाहरूको कर्तव्य हो’ भनेर लुइस म्याकको मर्मस्पर्शी भनाइ उद्धरण गरेका छन् ।


मानवअधिकारको मूल सिद्धान्त नै आवाजहीनहरूको आवाज हो । गंगामाया अशिक्षित भएकाले आफैं आफ्नो अधिकारका लागि असमर्थ भएकाले खड्काले उनको वाणीमा आफ्नो आवाज मिसाएर एउटा असल काम गरेका छन् । लेखकको कथनमा दम छ, वजन छ, सत्यको पुट पाइन्छ । उनको एउटा उद्धृत अंशको सामयिकता यस्तो छ, ‘कैदको सामान्य सुधारको माग राखेर आमरण अनशन बसेको ६६ दिनका दिन ५ मे १९८१ मा मृत्युवरण गरेका आइरिस नागरिक बबी सान्डस्को पक्षमा संसारैभर आवाज उठाइयो । अहिले पनि उनी सत्याग्रहीहरूको नाम सम्झनुपर्दा विश्वभर स्मरणमा आउँछन् । तर, दस वर्षसम्म न्यायका लागि लडेपछि सुरु गरिएको भोक हडतालको ३ सय ३४ दिनका दिन ज्यान गुमाएका नन्दप्रसाद अधिकारीका बारेमा चाहिं विश्व मौन बस्यो । नेपालमा पनि यसले खास कुनै तरंग ल्याएन । संसार के यति यन्त्रवत् भइसक्यो जहाँ अन्त:हृदयको चीर पुकार टुट्दा पनि कैफियतमा कसैको आँसु झर्दैन ? त्यसको बचाउमा कुसैको हृदयबाट कुनै आवाज ध्वनित हुँदैन ?’


नेपालले पनि मानवअधिकारसम्बन्धी सन्धि–महासन्धिमा हस्ताक्षर गरेको दशकौं भइसक्यो तर यसको कार्यान्वयन नहुनु धेरै दु:खद कुरो भएको छ । सशस्त्रकालीन द्वन्द्वपीडितका लागि मेलमिलाप आयोग र बेपत्ता पारिएका छानबिन आयोग तीन वर्षदेखि कार्यरत छन् तर खोइ पीडितले न्याय पाएको ? अहिले न्याय नपाए कहाँ जानु ? यो सुखद स्थिति पक्कै होइन । न्याय ढिलो हुनु पनि अन्याय नै हो ।


लेखकले एउटी आमाको संस्मरणलाई आफ्नो भाषाशैलीमा लिपिबद्ध गरेर एउटा लोभलाग्दो काम गरेका छन् । समीक्ष्य पुस्तकको विषयक्रमलाई क्रमश: पढ्दा सम्पूर्ण पुस्तकको विषयवस्तु ऐनाजस्तो छर्लंग हुन्छ ।


न्याय खोज्दा गंगामायाले कति हन्डर खाइछन् भन्ने कुरो पुस्तकले देखाएको छ । छोरो अनाहकमा मारिनु एउटी आमाका लागि सहय घटना होइन । न्याय खोज्दा पति पनि गुम्नु त झनै अभिशाप हो । उनको जीवन एक दु:खान्त कथाजस्तो छ । यसै मानवीय वेदनालाई वाणी दिने प्रयास लेखकले गरेका छन् । यो पुस्तक हातमा परेपछि पाठकले आदिदेखि अन्त्यसम्म नपढीकन सुखै पाइँदैन ।
—रामदयाल राकेश

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?