एकासीवर्षे तन्नेरी

फुटबल
नेपाली फुटबल टिमले २५ वर्षअघि साफ गेम्समा स्वर्णपदक जित्दा होल्गर ओभरम्यान एन्फामा प्राविधिक निर्देशक थिए । पछिल्लो समय बर्सेनि आइरहेका उनी नेपाललाई दोस्रो घर मान्छन् ।
ओभरम्यानले प्रशिक्षक र खेलाडीको रूपमा विश्वकप जितेका जर्मन लिजेन्ड फ्रान्ज बेकेनबाउर आफनो साथी भएको बताए । फ्रान्जकै सहयोगमा नेपाल युथ प्रोग्रामका लागि कुलेश्वरमा क्लब भवन बनाइएको हो । पालुङमा १९९२ मा फुटबल मैदान बनाएको पनि उनकै सहयोगमा हो ।
राजु घिसिङ

काठमाडौँ — जर्मन नागरिक होल्गर ओभरम्यान ८१ वर्षका भइसकेका छन् । उनलाई सहजै हिँडडुल गर्न पनि गाह्रो छ । पछिल्लोपल्ट वैशाखमा नेपाल आउँदा चिप्लिएर लडेपछि उनलाई झनै गाह्रो भएको छ । तैपनि उनी हरेक साल नेपाल आइरहने क्रमलाई निरन्तरता दिनेमा विश्वस्त छन् । र, लड्खडिँदै भए पनि फुटबल मैदानमा पुगेकै हुन्छन् ।

एकासीवर्षे तन्नेरी

उनी नियमित रूपमै बौद्धको होटलमा बस्ने गर्छन् । ‘यस क्षेत्र (बौद्ध) को वातावरण नै शान्त लाग्छ,’ पछिल्लोपल्टको भ्रमणमा ओभरम्यानले भने । उनले बौद्धको बसाइ रोज्नुमा बौद्धमार्गी पत्नी बारबारा मुख्य कारण हुन सक्छ । ‘उनी (पत्नी) बुद्ध जन्मस्थल लुम्बिनी गइसकेकी छन् । उनलाई बौद्ध खुबै मन पर्छ । मलाई पनि । यहाँ देखिने संस्कृति विशेष लाग्छ । म पनि आधा बुद्धिस्ट भइसके,’ हाँस्दै उनले भने ।


उनलाई नेपाल पुगेको भन्नेबित्तिकै हिमालितर गएको छ/छैन भनेर जर्मनहरूले सोध्ने गर्दोरहेछ । सन् १९९० देखि १९९५ सम्म अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रविधिक निर्देशक रहेका उनले भने, ‘मैले ट्रेकिङ एकपल्ट मात्र गरेको छु । त्यो पनि तीन दिनको । म हिमालतिर ५ हजार मिटरसम्म मात्र पुगेको छु । तर, नेपाल र नेपाली साह्रै राम्रो लाग्छ । नेपाल आफ्नै घरजस्तो लाग्छ । बाँकी जीवन यतै बस्ने कि भन्ने पनि सोचेको छु, त्यो भएन भने वर्षको तीन–चार महिना यतै बस्ने चाहना छ ।’


उनी खाँटी फुटबलर हुन् । पहिला सामान्य खेलाडी । अनि प्रशिक्षक, व्यवस्थापक र अरू यस्तै जिम्मेवारी । उनको फुटबलमा आठ वर्षयता भने सहयोगी भूमिका नै बढी छ । ‘नेपाल हिमालैहिमालको देश ठान्छन्,’ उनले हाँस्दै भने, ‘यहाँ फुटबल खेल्छ भन्दा धेरैले पत्याउँदैनन् ।’ सन् १९९३ को दक्षिण एसियाली खेलकुद (साफ गेम्स) मा स्वर्णपदक विजेता टिमलाई नेपालको इतिहासकै स्वर्णिम टिम मानिन्छ । ढाकामा हात पारेको सफलतामा मुख्य प्रशिक्षक धनबहादुर बस्नेत थिए । त्यस टिमको जग बसाल्ने काम भने यिनै होल्गर ओभरम्यानले गरेका थिए ।


प्राविधिक निर्देशकको रूपमा ओभरम्यानले १२ स्थानमा फुटबल उत्सव सञ्चालन गरेर २ सय खेलाडी छनोट गरेका थिए । त्यसमा उत्कृष्टलाई जर्मनीमा प्रशिक्षणका लागि पठाउने भनिएको थियो । उनले हरि खड्का, उपेन्द्रमानसिंह र राजीव नेपालीलाई जर्मनीमा दुई महिना प्रशिक्षण दिलाएका थिए । अनुभव नै मानव जीवन जिउनको लागि सबभन्दा महत्त्वपूर्ण हतियार मान्छन् उनी । त्यसैका लागि उनले नेपालको यू १८ टिमलाई जर्मनी लगेर प्रशिक्षण दिलाएका थिए, खेल खेलाएका थिए ।


जर्मनीमा नेपाली युवा टिमले १२ खेल खेलेको र त्यसमध्ये नौ खेलमा जित र दुई बराबरी नतिजा निकालेका क्षणहरू उनको दिमागमा उस्तै ताजा छन् । ‘हामीले एक खेल मात्र हारेका थियौं,’ उनले भने, ‘फुटबल खेल्छ भनेर नपत्याउने देशको टिमले जर्मनीमा गएर त्यस्तो गर्नु साँच्चै आश्चर्य नै थियो ।’ युवा टिमको जर्मनी यात्राको दुई वर्षपछि नेपालले ढाका साफ गेम्समा फुटबलको स्वर्ण कब्जा गरेको थियो । उपेन्द्रसहित जर्मन यात्रामा रहेका आधाभन्दा बढी खेलाडीले त्यस बेला राष्ट्रिय टिममा स्थान बनाएका थिए ।


‘१९९० मा नेपाल आएपछि म सीधा युवा फुटबलको परियोजनामा लागें किनभने देशको फुटबल विकासको स्तर युवामा निर्भर हुन्छ,’ उनले भने । उनले दुई तिहाइ समय युवा फुटबलको विकासमा लगाएका थिए भने एक तिहाइ सिनियर टिमलाई दिएका थिए । प्राविधिक निर्देशक भए पनि उनको जिम्मेवारी बारम्बार प्रशिक्षककै रूपमा पनि रहेको थियो । तर, उनको प्रशिक्षकको भूमिका अनौपचारिकमै सीमित रहयो ।


उमेरअनुसार तहगत रूपमा अनुभव बटुल्ने अवसर दिइएमा सफलता हात पार्न सकिने उनी बताउँछन् । ‘टिममा जुनियर र सिनियरको राम्रो सन्तुलन हुनुपर्छ, जुन १९९३ को टिममा थियो,’ उनले भने, ‘युवा गोलकिपर उपेन्द्र राजुकाजी शाक्य र उमेश प्रधानजस्ता अनुभवी खेलाडीसँगै खेलिरहेका थिए । त्यो टिम जितको भोको थियो र त्यसैका लागि अगाडि बढेर सफलता पनि हात पार्‍यो ।’ ढाकामा नेपालले टाइब्रेकरमा भारतलाई हराएर स्वर्णपदक जितेको थियो । त्यो टिमलाई नेपालको अहिलेसम्मकै उत्कृष्ट मान्छन् उनी पनि ।


सन् २०१६–१७ को ११ महिनावीच नेपाली टिमले बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप र यू २३ को साग (पहिला साफ गेम्स) को उपाधि जित्यो । ओभरम्यानले एसियन कप छनोटमा नेपालको केही खेललाई टेलिभिजनमै भए पनि नियालेका थिए । त्यसैले उनी भन्छन्, ‘अहिलेको टिमभन्दा नेपालको १९९३ कै टिम बलियो थियो । राम्रो थियो । त्यस बेला प्रतिद्वन्द्वी पनि बलिया थिए । अहिले विपक्षी टिम पनि कमजोर नै देख्छु । बलियो र राम्रो टिमलाई हराएर सफलता हात पार्नुको उपलब्धि नै फरक हुन्छ । त्यसैले साफ गेम्सको नेपाली टिमप्रति सधैं गर्व लाग्छ ।’


उनी स्वर्ण विजेता टिमका मिडफिल्डर मणि शाहलाई धेरै राम्रो खेलाडी मान्छन् भने उमेशलाई बलिया । देवनारायण चौधरी र सूर्यमान श्रेष्ठलाई आफैले अवसर दिएको उनले बताए । उनी उपेन्द्रलाई आफ्नो जीवनकै उत्कृष्ट गोलकिपर मान्छन् । ‘बालगोपाल बल लिएर अघि बढाउनलाई राम्रो थिए भने लक्ष्मणको क्रस अचुक हुने गथ्र्यो,’ उनले सुनाए । उनलाई यू १८ मा सौगेश श्रेष्ठको खेल जर्मन लिजेन्ड फ्रान्ज बेकेनबाउरको जस्तो लाग्थ्यो । उनी लिबरोमा राजुलाई उत्कृष्ट मान्छन् । नेपालमा उनले देखेका उत्कृष्ट फरवार्ड हरि खड्का हुन् । ‘१६ वर्षमै उत्कृष्ट थिए । बलले आफ्नो खुट्टा छँुदा उनको आँखा अरूतिरै हुन्थ्यो,’ हरेकपल्टको नेपाल यात्रामा तत्कालीन यू १८ टिमको भेला गरिरहेका उनले भने ।


उनी अहिलेका खेलाडीमा जितको मानसिकता र भिडेर खेल्ने शैली गुमाएको देख्छन् । ‘यी दुईसँगै आफ्नो कौशलले खेल जित्नुपर्छ,’ उनले भने, ‘अनि युवा खेलाडी पहिचान गर्ने स्काउट (छनोटकर्ता) पनि प्रशस्तै हुनुपर्छ । त्यसपछि ठूला प्रतियोगिता र राम्रो टिमसँग खेल्ने अवसर दिइनुपर्छ । त्यसैको अनुभवले टिमलाई सफलताको नजिक पुर्‍याउँछ ।’ स्काउट, प्रशिक्षकलगायत ठूलो संख्यामा प्राविधिक जनशक्ति नेपाललाई आवश्यक भएको उनले बताए । उनी १०–१२ वर्षका बालबलिकालकाले फुटबल खेलेको देखेर असाध्यै खुसी हुने गर्छन् ।


ओभरम्यानले प्रशिक्षक र खेलाडीको रूपमा विश्वकप जितेका जर्मन लिजेन्ड फ्रान्ज बेकेनबाउर आफ्नो साथी भएको बताए । ‘उनकै सहयोगमा नेपाल युथ प्रोग्रामका लागि कुलेश्वरमा क्लब भवन बनाइयो । पालुङमा १९९२ मा फुटबल मैदान बनाएको पनि बेकेनबाउरकै सहयोगमा हो । उनको बेकेनबाउर फाउन्डेसनले श्रीलंका, पूर्वी टिमोर र अफगानिस्तानमा पनि सहयोग गरेका छन्,’ उनले सुनाए । विश्वकप १९७४ का विजेता गर्ड मुलर र सेप मायरले पनि साथीको रूपमा आफ्नो अभियानलाई सहयोग गरेको उनले बताए ।


बायर्न म्युनिख, हर्था बर्लिन र इन्ट्रयाक फ्रयांकफर्टबाट संकलन गरेर पाँच वर्षयता मात्र उनले युवा फुटबल विकासका लागि ५ सय केजी जर्सी र खेल सामग्री नेपाल ल्याएका छन् । अब उनको योजना छ, कुलेश्वरमा आर्टिफिसियल टर्फ राख्ने । त्यसका लागि करिब ३ करोड रुपैयाँ जुटाउनु नै आफ्नो चुनौती भएको उनले बताए । जहाँ गए पनि उनको ध्यान युवा फुटबलको विकासमै हुने गर्छ । त्यसैले केही देशमा मुख्य प्रशिक्षकको जिम्मेवारी दिइए पनि मुख्य कामको रूपमा भने उनले युवा फुटबलको विकासलाई नै लिएका थिए ।
रुडी गुटेनडर्फ, जोन फिगी, रेइनहार्ड फाविस, टोर्सस्टेन स्पिटलर, थोमस फ्लाथ पनि नेपाली टिम सम्हाल्न जर्मनीबाट आएका थिए । तर, उनीहरूसँगको सम्बन्ध व्यावसायिक नातामै सीमित रहयो । नेपाललाई माया गरिरहने भने यिनै होल्गर ओभरम्यान निस्किए । उनी पछिल्लोपल्ट नेपाल युथ प्रोग्रामद्वारा आयोजित वार्नर अल्बर कपमा युवा खेलाडीको प्रदर्शनलाई हेर्ने वाहनामा हिमालयको देश आएका थिए ।

भाग्यले बाँचेका
जहाँ समस्या त्यहाँ ओभरम्यान । सन् २०१० सम्म फुटबलमा गरेको यात्रा र पाएको जिम्मेवारीले उनको जीवन यस्तै देखाउँछ । अफगानिस्तानमा तालिबान शासनमा फुटबल खेल्न प्रतिबन्ध लगाइएको थियो । तालिबान शासनको अन्त्यलगत्तै उनी सन् २००३ मा काबुल पुगे । तीस वर्षपछि अफगानिस्तानको राष्ट्रिय फुटबल टिम बनाए । ‘अफगान खेलाडी दिनमा पाँच घण्टा ट्रेनिङ गरेर पनि थाक्दैनथिए । उनीहरूको मिहिनेत र लगनशीलता देखेर मलाई अचम्मै लाग्थ्यो,’ उनले भने ।


उनी युद्धको अन्त्यपछि पूर्वी टिमोर पुगेका थिए । सुनामीपछि श्रीलंकामा बसे । पाकिस्तानमा तनाव भइरहेकै बेला उनी त्यहाँ रहेका थिए । क्यामरुनलगायत अफ्रिकामा पनि थुप्रै टिम हेरे । सत्ताइस देशमा फुटबलको जिम्मेवारी सम्हालेका ओभरम्यानको जीवन झन्डै अफगानिस्तानमा सकिएको थियो । उनी दुईपल्ट बम विस्फोटमा परे ।


‘हामी तीन जना कारमा थियौं । ठूलो आवाजसँगै कार ध्वस्त भयो । हाम्रो ज्यान भने जोगियो,’ काबुलका ती दिन सम्झँदा रातो अनुहार बनाइसकेका उनले भने, ‘अर्कोपल्ट होटलमा पाकिस्तान र अफगानिस्तानका खेलाडीको चेकिङ चइरहेको थियो । बम पड्कियो । इन्टरकन्टिनेन्टल होटलको आधा बिल्डिङ नै ढल्यो । धन्न फेरि बाँचियो । भाग्यले बाँचे । भाग्यमानी रहेछु । म सधैं भाग्यमानी पनि छु । गोलकिपर भएर खेल्दा पनि कहिल्यै घाइते भएको थिएन ।’
Twitter: @rghising

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?