आई हेट ‘स्कुल’

सिकाइ
विषयको गहिराइमा पुग्ने, विश्लेषण गर्ने अनि असल जिन्दगीसँग जोड्ने प्रक्रियालाई हाम्रो शिक्षा प्रणालीले अँगालेकै छैन ।
मिलन पाण्डे

काठमाडौँ — जेलमा दिनभरि कैदीको निगरानीका लागि जेलर हुन्छ भने स्कुलमा प्रधानाध्यापक । जेलमा जस्तै स्कुलमा पनि घण्टी हुन्छ । जेलमा कैदीहरू सजाय काटिरहेका हुन्छन्, आजभोलि स्कुल अनि पढाइ विद्यार्थीका निम्ति बोझ बन्दै छ । त्यसैले त घण्टी बज्नेबित्तिकै विद्यार्थीहरू स्कुलबाट दौडिएर भाग्ने गर्छन् ।

२० औं शताब्दीका प्रख्यात फ्रेन्च दार्शनिक मिसेल फुकोले स्कुललाई बडो रोचक तथा यथार्थपरक ढंगले जेलसँग तुलना गरेका छन् । जेलमा कैदीले ‘युनिफर्म’ लगाउँछन्, स्कुलमा पनि विद्यार्थीले ‘युनिफर्म’ लगाउँछन्, जेलमा कैदी नम्बर हुन्छ, स्कुलमा पनि विद्यार्थर्ीको रोल नम्बर हुन्छ । स्कुलमा पनि सबै एकै ठाउँ भेला भएर सभा (असेम्बली) गर्छन् जुन जेलमा पनि हुन्छ ।

जेलमा दिनभर कैदीको निगरानीमा ‘जेलर’ हुन्छ भने स्कुलमा प्रधानाध्यापक हुन्छन् । जेलमा जस्तै स्कुलमा पनि घण्टी हुन्छ । जेलमा कैदीहरू सजाय काटिरहेका हुन्छन् । आजभोलि स्कुल अनि पढाइ विद्यार्थीका निम्ति बोझ बन्दै छ । त्यसैले त घण्टी बज्नेबित्तिकै विद्यार्थीहरू स्कुलबाट दौडिएर भाग्ने गर्छन् ।

Yamaha


केही वर्षयताको तथ्यांक हेर्ने हो भने कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये करिब ३५ प्रतिशत मात्र कक्षा १० मा पुग्ने गरेको पाइएको छ । ६५ प्रतिशत विद्यार्थी बीचमै गायब हुन्छन्, पढ्न चाहँदैनन्, पाउँदैनन् । अनि त्यहीमध्ये पनि नतिजा आएको दिन विद्यार्थीले आत्महत्या गरेको समाचार हामीले सुन्नुपर्छ । अहिले नेपालमा मात्र होइन, सार्कलगायत एसियाकै धेरै मुलुकमा विद्यार्थीले आत्महत्या गर्ने दर बढ्दै गएको छ । विद्यार्थीलाई तनाव दिने, मर्न प्रेरित गर्ने शिक्षा कसका लागि ? अब बहस गर्ने बेला आएको छ । मैले ४ कक्षादेखि स्नातक तहसम्म ‘ह्वाट इज कम्प्युटर’ भनेर पढेको छु । एउटै अनि उस्तै कुरा प्रत्येक वर्ष उही शैलीमा पढेको छु, अनि परीक्षा दिएको छु । खालि वर्ष कटाएर, मार्कसिट बटुलेर मेरो ऊर्जावान उमेर बितेको अनुभूति हुन्छ ।


हाम्रा परीक्षाहरू पनि बडो विचित्रकै हुने गर्छन् । परीक्षामा निकै सामान्य अनि निर्धारित प्रश्नहरू सोधिन्छन् । ती प्रश्नहरू ‘गेस पेपर’ मै १२५ रुपैयाँमा कैद हुन्छन् । परीक्षाका प्रश्नहरूजस्तै हाम्रो जिन्दगीका प्रश्नहरू पनि यस्तै ‘पूर्वनिर्धारित’ छन् ? छैन भने, हामी किन यस्तो अभ्यास गर्दै छौं त ? यसको पछाडि एउटा तीतो सत्य छ । हामी ‘बजारीकरण र विज्ञापन’ ले भरिएको शिक्षा प्रणालीमा छौं । जहाँ हामीलाई नम्बर चाहिन्छ जसलाई देखाएर हामी हाम्रो स्कुलको नाम, संस्थाको नाम देखाउन लालायित छौं । अनि, नम्बर कसरी आउँछ ? किताबकै प्रश्न सोधेर । त्यही कुरा रटाएर । तर्क— किताबको प्रश्न सोध्न हुँदैन भन्ने होइन । बरु तर्क— त्यस्तो प्रश्न जुन प्रश्नले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्न सकोस् । विद्यार्थीलाई नै भुत्ते बनाउने प्रश्नको के औचित्य ?


यसमा दोषी शिक्षा प्रणाली मात्रै होइन, हामी पनि छौं । यदि विद्यार्थीलाई पाठयक्रममा रहेकै कुरा सिर्जनात्मक तरिकाले सोध्ने हो भने पनि हाम्रो अभिभावक अनि विद्यार्थी आफैं पनि ‘यो त कोर्समै छैन’ भनी उफ्रन्छौं । किनकि हामीलाई जेनतेन, जसरी हुन्छ नम्बर चाहिएको छ । धेरै अवस्थामा शिक्षकले पनि टालटुल गरेर पढाएको हुन्छ, उसले पनि ‘नपढाएको’ कुरा सोधेर जवाफदेही हुने हिम्मत गर्न सक्दैन । यति धेरै नम्बर लिएर निस्केका विद्यार्थीहरू किन असफल हुँदै छन् त ? छलफल गर्ने कहिले ?

असफल शिक्षक
यदि तपाईं शिक्षक भएर कुनै स्कुलमा पढाउन जानुभयो भने तपाईंलाई स्कुलले पाठयक्रम टुंग्याउने समयतालिका दिन्छ । अथवा कतिपय अवस्थामा त एउटा पुस्तक मात्रै पढाउन दिइन्छ । र, शिक्षकलाई सम्पूर्ण पाठयक्रमबारेमा थाहै हुँदैन । एउटा समयतालिका तोकिन्छ, पाठयक्रम भ्याउने समयसीमा दिइन्छ । कति पढाउनुहुन्छ वा कसरी पढाउनुहुन्छ, कति छिटो वा कति ढिलो ? त्यो मतलब छैन । विद्यार्थीलाई कस्तो लागेको छ, त्यो पनि मतलब छैन । एउटा शिक्षक कक्षामा जान्छ, चुपचाप पढाउँछ । विद्यार्थीले प्रश्न खोजे उल्टै असान्दर्भिक प्रश्न विद्यार्थीलाई सोध्छ, अनि आफ्नो बुझाइअनुरूपको कुरा पढाइ टोपल्छ र बाटा लाग्छ ।


यहींनेर हाम्रो शिक्षा असफल हुँदै छ । शिक्षक, पाठयक्रम अनि विद्यार्थीबीच हामीले सम्बन्ध स्थापित गर्नै सकेका छैनौं । शिक्षकले पढाउने प्रक्रियामा विद्यार्थीलाई संलग्न गराउनै सक्दैन अथवा चाहँदैन । विद्यार्थर्ीले म यो विषय किन पढ्दै छु (?) भन्ने नै बुझ्दैन, शिक्षकले बुझाउन सक्दैन । त्यसैले विद्यार्थी अलमलमा पर्छ, कहींकतै हराइरहन्छ ।


शिक्षाको अर्थ नै सिकाइ हो । धेरैजसो शिक्षकमा मैले सबै कुरा जानेको छु, मलाई सबै कुरा आउँछ भन्ने भ्रम हुन्छ । शिक्षकभन्दा विद्यार्थी पनि विषयको ज्ञाता हुन सक्छ, जानकार हुन सक्छ । हाम्रो शिक्षा प्रणालीले शिक्षकलाई त्यो ‘चेत’ दिन सकेको छैन । विद्यार्थीको नयाँ तर्क, नयाँ विचारको एउटा कक्षाकोठामा कुनै मतलब रहन्न । शिक्षकलाई नै सबै आउँछ भन्ने भ्रम हाम्रो शिक्षा प्रणालीको अर्काे बाधक बन्दै छ । शिक्षक–विद्यार्थीबीच सिकाइ र बुझाइको तालमेल हुन नसक्नाको कारण पनि यही हो ।

शिक्षा प्रणालीको समस्या
हामी हाम्रा विद्यार्थीलाई वास्तविक गतिशील संसारमा प्रतिस्पर्धाका निम्ति तयार गर्दै छौं । तर, स्कुल आफैं वर्षौंवर्षदेखि परिवर्तन भएको छैन । हालको शिक्षा प्रणाली अठारौं दशकको बेलायतको औद्योगिक क्रान्तिका लागि निर्मित शिक्षा प्रणालीबाट प्रेरित छ । विद्यार्थीहरूले कामदारजस्तै निर्देशन मान्नुपर्छ । उठ, बस, पाना नं ७० पल्टाऊ आदि । अनि, कामदारजस्तै ‘जसले गुरुले भनेको मान्यो, त्यही उत्कृष्ट विद्यार्थी ।’ यो शिक्षा प्रणाली त्यति बेलाका लागि सही थियो होला तर, अहिलेका लागि सान्दर्भिक छैन । तसर्थ, हाम्रो शिक्षा प्रणालीमा आधारभूत परिवर्तन अति आवश्यक भइसकेको छ ।

विद्यार्थी स्वतन्त्र छन् ?
हाम्रा विद्यार्थीहरू स्वतन्त्र भएर सोच्न पाउँदैनन् । हामी दिनको ८ घण्टा अरूको निर्देशनमा कक्षामा पढ्नुपर्ने प्रणालीमा छौं । हामीले विद्यार्थीलाई धेरै नै ‘कन्ट्रोल’ गर्दै छौं जसले गर्दा उसले विवेक प्रयोग गर्न भुल्दै जान्छ । अनि खालि निर्देशन मात्रै कुर्दै बस्छ । तर, असल अर्थमा यो जिन्दगीमा हामीले ‘आफ्नो निर्णय आफैंले गर्ने’ हो । तर, हाम्रो शिक्षाले यो कुरालाई आत्मसात् गर्न सकेको छैन । हालको शिक्षा र सिकाइले बच्चाहरू ‘तिमीहरू आफ्नै जिन्दगीको मालिक होइनौ’ भन्ने एकदम डरलाग्दो सन्देश दिँदै छ ।


अहिले हाम्रो शिक्षा प्रणालीले गाह्रो–गाह्रो कुरा रट्न सक्ने विद्यार्थीलाई सक्षम घोषित गर्दै छ । तर, विषयको गहिराइमा पुग्ने, विश्लेषण गर्ने अनि असल जिन्दगीसँग जोड्ने प्रक्रियालाई हाम्रो शिक्षा प्रणालीले अँगालेकै छैन । तसर्थ, पढेको भोलिपल्टै बिर्सने शिक्षा अँगालेर विद्यार्थी असल जिन्दगीमा सफल हुन सक्दैन ।

क्षमता देखाउने ठाउँ
अहिले प्रत्येक विद्यार्थी प्रत्येक मिनेट अन्य विद्यार्थीले जे पढिरहेका छन्, त्यही पढ्न बाध्य छन् । यो कुरा हाम्रो मानवीय गुणकै विरुद्ध छ । हरेक विद्यार्थी फरक हुन्छन् । हरेक विद्यार्थीको आफ्नै इच्छा, आकांक्षा, क्षमता हुन्छ । के हाम्रो स्कुलले अहिले हाम्रा विद्यार्थीलाई उसको क्षमता पत्ता लगाउन सहयोग गरेको छ त ? यदि हाम्रो शिक्षा प्रणालीले ‘म जिन्दगीमा के बन्न चाहन्छु अथवा के विषयमा राम्रो छु ?’ भन्ने आधारभूत प्रश्नलाई सम्बोधन गर्न सक्दैन भने यो प्रणालीले हामीलाई सिर्जनात्मक बनाउन सक्दै सक्दैन ।

विद्यार्थीहरू एकैनास हुन्छन् ?
हाम्रो शिक्षा प्रणालीले सबै विद्यार्थीको क्षमतालाई समान रूपमा हेरेको छ, जुन सम्भव छँदै छैन । प्रत्येक व्यक्तिले फरक तरिकाले पढ्न सक्छ अनि, त्यही कुरा बुझ्नका लागि पनि फरक समय, साधन अनि विधि लाग्न सक्छ । तर, हाम्रो शिक्षा प्रणालीले यो कुरालाई पनि स्विकारेको छैन । यदि विद्यार्थीले बुझ्न अलि ढिला गर्‍यो भने ऊ असफल । तर, त्यो विद्यार्थीलाई कुन विधिबाट कति समयमा सिकाउन सकिन्छ भन्ने उपाय हाम्रो शिक्षा प्रणालीभित्र छँदे छैन ।

विद्यार्थी सहभागिता खोइ ?
हाम्रो शिक्षा प्रणाली व्याख्यान (लेक्चारिङ) विधिबाट निर्देशित छ । शिक्षक आउने अनि पढाउने । विद्यार्थीको भूमिकै कहींकतै छैन । सबै विद्यार्थीको बुझाइको स्तर एउटै हुँदैन । विद्यार्थीले आफूलाई प्रस्तुत गर्न पाउँदैन । तसर्थ, पूरै कक्षाभरि अल्छीपनसहित वा दुविधा बोकेर विद्यार्थीरू बस्न बाध्य हुन्छन् जसका लागि पढाइँदै छ, त्यसमा विद्यार्थीको संलग्नता खोइ ?

अन्त्यमा,
अब पनि हामी यो शताब्दीऔं पुरानो प्रणाली बोकेर शिक्षामा सुधार गर्न सक्दैनौं । तसर्थ, शिक्षा प्रणालीको आधारभूत कुरा नै परिवर्तन गर्न जरुरी छ । केही दिनअघि एक जना साथीले भन्थे, ‘हाम्रो शिक्षा प्रणालीमा शिक्षकले विद्यार्थीलाई अनि विद्यार्थीले शिक्षकलाई उल्लु बनाउँदै छन् । पहिला केही नबुझेका शिक्षकले विद्यार्थीलाई पढाउँछन्, फेरि त्यही विद्यार्थीहरू रटेको उत्तर लेखेर शिक्षकलाई उल्लु बनाउँछन् ।’


नत्र, परीक्षाको नतिजासँगै आत्महत्याको समाचार सुन्नुपर्दैन थियो होला । नत्र, पढ्न नसकेर डिप्रेसनमा पुगेको खबर सुन्नुपर्दैन थियो अथवा यसरी पढाइ र पद्धति बोझ बन्दैन थियो होला । पढाइ त रमाइलो हुनुपर्ने थियो । केही विद्यार्थीलाई मात्र सफल बनाउने अनि अधिकांश विद्यार्थीलाई असफल घोषित गर्ने शिक्षालाई हामीले अब रोक्नैपर्छ । हाम्रो शिक्षाले ‘सफलता’ मात्रै सिकाएको छ तर ‘असफलता’ पनि जिन्दगीकै भाग हो भनेर सिकाएकै छैन । आज हाम्रै शिक्षा नयाँ कुरा सिक्नका निम्ति बाधक बन्दै छ । हाम्रो शिक्षा प्रणालीले हामीलाई रचनात्मक र सकारात्मकभन्दा पनि नकारात्मक र भुत्ते बनाउँदै छ । अलबर्ट आइन्स्टाइनको यो भनाइ फेरि सम्झन चाहन्छु, ‘मेरो सिकाइको सबैभन्दा ठूलो बाधक नै मेरो शिक्षा बनेको छ ।’

Esewa Pasal

प्रकाशित : भाद्र २, २०७५ ०८:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लोकतन्त्रमाथि अधिनायकवादको छाया

सरकार लोकतन्त्रलाई खुम्च्याई शक्तिशाली बनेर विकास गर्न सकिन्छ भन्ने मनस्थितिमा छ ।
मिलन पाण्डे

काठमाडौँ — पुस्तक ‘हाउ डेमोक्रेसिज डाई’मा स्टेभिन लिभित्स्की र डेनियल जिबलटले लेखेअनुसार लोकतन्त्रबाटै अधिनायकवादी बनेका शासकहरूमा केही समानता भेटियो । ती अधिनायकवादी नेताहरूले लोकतन्त्रको पद्धतिलाई बेवास्ता गर्ने, प्रतिपक्षको वैधानिकतालाई उपेक्षा गर्ने, नागरिक वा विरोधीको अधिकारलाई निलम्बित गर्ने अनि सञ्चार माध्यमलाई नियन्त्रणमा लिने जस्ता चरित्र प्रदर्शन गरेका थिए । नेतृत्वमा यी चरित्र देखिन थालेपछि लोकतन्त्र खतरामा पर्नथालेको हामीले देखेका अनि पढेका छौं ।

लोकतन्त्रमा मूलभूत पाँच स्तम्भ हुन्छन्– सरकार, प्रतिपक्ष, अदालत, प्रेस अनि नागरिक समाज । लोकतन्त्रका निम्ति यी पाँच स्तम्भबीच सन्तुलन अनि नियन्त्रण एकदमै आवश्यक छ । हालको अवस्थामा एउटै पार्टीको बहुमतसहित दुई तिहाइको बलियो सरकार छ । तर प्रतिपक्ष आफै अन्योलमा छ । अदालत कमजोर छ । प्रेस स्वतन्त्र रहनसकेको छैन । नागरिक समाज पार्टीको ट्यागले लत्पतिएको छ । अधिनायकवादी चरित्र यस्तै अवस्थामा उदाउने हो ।

ल्याटिन अमेरिकी नेताहरू अल्बर्टो फुजिमोरी, ह्युगो चाभेज, इभो मोरालेज, लुसियो गुटिरेज लगायतका नेताले ‘पपुलिस्ट’ नारा लिएर चुनाव जितेर व्यवस्था भित्रैबाट व्यवस्थालाई खोक्रो बनाउँदै अधिनायकवाद लादेका थिए । हंगेरी, निकारागुवा, पेरु, फिलिपिन्स, पोल्यान्ड, रूस, टर्की र युक्रेन पनि अधिनायकवादको सिकारबाट बच्न सकेनन् । ती देशहरूमा अतिवाद, उग्रराष्ट्रवाद अनि लोकप्रियतावाद अँंगालेर अधिनायकवाद आएको थियो । अहिले नेपालमा पनि यस्तै केही हुन लाग्दैछ कि भनेर शंका उब्जिएको छ ।

केन्द्रदेखि प्रदेशसम्म कम्युनिस्ट पार्टीकै सरकार छन् । सरकारलाई तुलनात्मक रूपमा नागरिकको साथ छ । तर सरकारले एक्कासी लोकतन्त्र अनि संविधानको मर्म मिचेर राजधानीमै ७ ठाउँ बाहेकलाई निषेधित क्षेत्र तोकेको छ । यसले सरकारको लोकतन्त्रप्रतिको आस्थामा ठूलो शंका अनि प्रश्न उब्जाएको छ । प्रदर्शन अनि विरोध गर्न पाउने आम नागरिकको मौलिक हक हो । संवैधानिक हक अनि लोकतन्त्रमाथि भएको यो अनावश्यक प्रहारले सरकारको अनुदार चरित्र छताछुल्ल बनाएको छ ।

चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर हतार–हतार पास गर्न खोज्नुले सरकारको स्वार्थ अनि अपारदर्शिता उजागर गरेको छ । सरकार आफू निकट व्यापारी अनि समर्थकका निम्ति खुलेर वकालत गर्दैछ । जसका निम्ति उसले नैतिकता अनि नीति दुबैमा सम्झौता गरेको प्रस्ट देखिन्छ । सत्तारूढ नेकपाले संविधान र कानुनको मर्म अनुरुप आफ्नो पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्‍याउन सकेन ।

सभामुख अनि उपसभामुख फरक पार्टीको हुनुपर्ने संविधानमै लेखिएको छ । तर नेकपाले यो विषयलाई पनि पेलेरै लान खोज्दैछ । संस्कृत विश्वविद्यालय उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट नियन्त्रणमा लिएर सरकारले पञ्चायतको झल्को दिएको छ । सरकार गठनयता पार्टीका कार्यक्रम अनि बैठक सरकारी निवासमा गर्दै सरकारी स्रोतसाधन दुरुपयोग गरिँदैछ । जवाफदेहिता छैन । छ त केवल दुई तिहाइको दम्भ । सरकारका कदमहरूमा अधिनायकवादको गन्ध आउन थालेको छ ।

सरकार लोकतन्त्रलाई खुम्च्याई शक्तिशाली बनेर विकास गर्न सकिन्छ भन्ने मनस्थितिमा छ । तर शक्ति नागरिकलाई साथमा लिएर, नागरिकको दिनचर्यामा परवर्तन ल्याउने सानो–सानो काम गरेर आउने हो । पानीजहाज, रेल, रकेट आदिका गफले जनताको मन जित्न सकिँदैन ।

केपी ओली सरकार नागरिकलाई विरोध गर्न नदिने अनि गोविन्द केसीलाई गलाउने रणनीतिमा देखिन्छ । केसीलाई जागिरबाट निकाल्न खोज्दैछ । प्रधानमम्त्री ओली नै वक्तव्यबाजीमा उत्रँदैछन् । पुरै देशको अभिभावक प्रधानमन्त्री यसरी केही व्यक्तिमा खुम्चनु सरकारकै निम्ति राम्रो संकेत होइन । लोकतन्त्रका निम्ति शुभ होइन । हुन त सत्ता कब्जाको प्रशिक्षण लिएर आएका नेतृत्वहरूले सरकार सञ्चालन गरिरहँदा यस्तो देखिनु अनपेक्षित होइन ।

साथै अहिलेका राजनीति अनि सरकार सञ्चालनका प्रमुख दुई व्यक्तिहरू ओली अनि प्रचण्डलाई सैद्धान्तिक हिसाबमा लोकतन्त्रप्रति विश्वास छैन । हुँदो हो त जसरी पनि दुई तिहाइ बहुमत पुर्‍याउने होडमा लाग्दैनथे । लोकतन्त्रको सुन्दरता नै प्रतिपक्ष हो । तर ओली संसदलाई एकलौटी बनाउनतिर लागे । यसबाट पनि उनीहरूको लोकतन्त्रप्रतिको आस्था बुझ्न सकिन्छ । यो सरकारले के बुझ्न जरुरी छ भने लोकतन्त्रमा मत अनि सत्ता एउटा पाटोमात्र हो । सर्वसम्मतले निर्णय गरे पनि जनताको हितमा छैन भने त्यो लोकतान्त्रिक हुन सक्दैन ।

ली क्वान युले सिंगापुरमा सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा लगाएको प्रतिबन्ध अनि त्यसपछि गरेको उपलब्धिबारे पढेर वा पढेकाको सुझावमा ली क्वान यु बन्न निस्केका नेताहरूले के बुझ्न जरुरी छ भने नेपाली समाज अनि अहिलेको यो डिजिटल युगमा त्यो सम्भव छैन । यो खुला समाज हो । नेपाली समाजको चरित्र लोकतान्त्रिक छ । नेपालमा अंकुश लगाएर शासन गर्न सम्भव छैन । विगतमा जसले प्रयास गरे, सबै असफल भएका छन् ।

२०६५ सालमा प्रचण्डको बहुमत सरकारले प्राथमिकता तोकेर काम नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको थियो । शक्ति प्रदर्शन गर्न सेनापतिमा हात हाल्दा सत्ताबाटै हात धुनुपर्‍यो । करिब १० वर्षपछि ओलीको सरकारले पनि आफ्नै घोषणापत्रमा उल्लिखित प्राथमिकता छाडेर निषेधित क्षेत्र तोक्ने, वक्तव्यबाजी गर्ने, गोविन्द केसीको आन्दोलनलाई अवमूल्यन गर्ने काम गरिरहेको छ ।

२० औं शताब्दीमा धेरै देशमा लोकतन्त्रकै सिँढी टेकेर अधिनायकवाद आएको थियो । सैनिक आक्रमण, संवैधानिक कू, राजनीतिक दलमाथि प्रतिबन्ध, नरसंहार, बल प्रयोग गरेर अधिनायकवादीहरू सत्तामा पुगेका थिए । तर २१ औं शताब्दीमा अधिनायकवादीहरू चुनावबाटै जितेर सरकारमा पुग्छन् । जनतालाई सपना अनि योजनाका ठूलठूला वाचाले लठ्याइन्छ ।

साथै कार्यकर्ता अनि राजनीतिक दलालहरूमार्फत नागरिकलाई अलमल्याउने, झुक्याउने काम गरिन्छ । अनि गणितको राजनीतिमार्फत नियम, कानुन बनाउँदै लोकतन्त्रको आवरणमा अधिनायकवादलाई प्रोत्साहन दिइन्छ । ओली सरकार पनि त्यही पथमा अग्रसर देखिन्छ । उसले प्रतिपक्ष मानेको देखिएको छैन । प्रेसलाई अंकुश लगाउन खोज्दैछ । सरकार नागरिक समाजलाई कमजोर बनाउने अनि बेवास्ता गर्ने रणनीतिमा देखिन्छ । नागरिकको हक–अधिकार कटौती गर्दैछ । आफ्नो प्राथमिकताभन्दा बाहिरका विषयहरूमा हात हालेर शक्ति आर्जन गर्न खोज्दैछ । तसर्थ लोकतन्त्र खतरामा छ । लोकतन्त्र बचाउन हामीले सरकारलाई कमजोर बनाउनेतर्फ होइन कि प्रतिपक्ष, मिडिया, नागरिक समाज अनि अदालतलाई बलियो बनाउने दिशातर्फ अघि बढ्नुपर्छ । यो अधिनायकवादको छायालाई लोकतन्त्रको प्रकाशले हटाउन जरुरी छ ।

पाण्डे विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : असार २९, २०७५ ०७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT