हाउसवाइफ हामीहरू

आवाज
एक अध्यनअनुसार औसत नेपाली महिला दिनको ११ घण्टा काम गर्छन् जुन पुरुषको दाँजोमा तीन घण्टा बढी हुन्छ ।
एउटी महिलाको सम्पूर्ण परिश्रम र पारिश्रमिक घरको चारचौकोसमै सीमित छ । एक महिलाले गृहिणी, भार्या, सुसारे, जाया, भान्से, माली, खजान्ची, धोबी भूमिका निर्वाह गर्न सक्छे । तर, भनिन्छ, ‘मेरी बूढी केही काम गर्दिन, घरभित्रै बसिरहन्छे ।’
भूषिता वशिष्ठ

काठमाडौँ — केही दिनअघि मात्रैको कुरा हो— मेरो एक परिचितले घरमा खाना खान बोलाउनुभयो । त्यसो त मलाई खासै यस्ता जमघटमा जान मन लाग्दैन तर फोनमा उहाँको आवाजमा नजानिदो किसिमको थकान थियो । स्पष्ट आग्रह खानाको भए पनि कताकता ‘गुहार खोजे’ जस्तो गरेर उहाँले भन्नुभयो, ‘आऊ है । धेरै कुरा भन्नु छ ।’

निश्चित दिनमा म उहाँको आलिसान बंगला पुगें । बगैंचामा पंक्तिबद्ध लाममा जिरेनियम फूल फुलेका थिए । भर्खरै झरी थामिएको थियो, सिनित्त परेको अग्लो शिरीषको बोट अझ कल्कलाउँदो देखिएको थियो । घरभित्र छिरेर कोरिडोरमा राखिएको ठूलो भेनेसियन ऐना हेरेपछि यो थाहा पाएँ, हिलोका वाछिटा मेरो सेतो सुरुवालमा बिफर दागझैं खोपिएका रहेछन् । यसो नियालेर चारैतिर हेरें— मैले फोनमा जुन अव्यक्त त्रासको कल्पना गरेकी थिएँ, घरभित्र पस्दा त्यसको कुनै भानसम्म पनि थिएन । सामान्य शिष्टाचार गफ सकिएपछि उहाँले अलि हिच्किचाउँदै भन्नुभयो, ‘मलाई साह्रै आपत् छ, बुझ्यौ ? उसले फेरि मलाई पिट्न सुरु गर्‍यो ।’ उहाँले यसो भनिरहँदा मेरो आँखा हठात उहाँको देब्रे आँखामाथिको सानो खतमा अल्झियो । आलो घाउ थियो, भर्खर खत निस्किएर कलिलो मासु पलाउँदै थियो । त्यो घाउ कसरी भयो भनेर सोध्न मन थियो तर प्रश्न गलामै रोकियो ।


‘यस्तो कतिन्जेल सहने ?’ मैले मनभरि उठेका प्रश्नहरूको थानबाट सबैभन्दा कम व्यक्तिगत प्रश्न छानें । ‘उसले भनेको छ पारपाचुके गरे मलाई केही सम्पत्ति पनि दिँदैन रे । छोराहरू पढाउनु छ । त्यसै पनि मैले काम गर्न छाडेको धेरै भइसक्यो ।’

Yamaha


यसो भनिरहँदा उनका श्रीमान् बैठकमा बसेर टीभी हेर्दै दिए र, उनी धमाधम बोडी केलाउँदै थिइन् । बोडी धोईपखाली ओइरिंदै उनले थपिन्, ‘अब त केही गर्न सकुँला भन्ने आत्मविश्वास पनि छैन ।’


केही वर्षअघि प्रधानाध्यापक भइसकेकी मान्छेको यस्तो निराश कुरा सुनेर मलाई आफ्नै आमाको झल्को आइरहयो । बिहान पाँचै बजे उठेर रात ११ बजेसम्म एकोहोरो घरधन्दा गर्ने महिलाका बारेमा भन्नुपर्दा लोग्नेहरू भन्ने गर्छन्, ‘मेरी श्रीमती केही काम गर्दिनन्, उनी हाउसवाइफ हुन् ।’


अनायासै मेरो मनमा अर्को प्रश्न आयो, ‘काम के हो ?’ माध्यमिक तहको भौतिक विज्ञानमा पढाइन्छ, ‘कुनै ठोस वस्तुलाई कुनै निश्चित दूरीमा सार्न प्रयोग हुने बललाई काम भनिन्छ ।’ यो परिभाषाअन्तर्गत त पक्कै पनि टेबुल–कुर्सीमा बसेर काम गर्ने जागिरेभन्दा एक औसत गृहिणीले एक दिनमा बढी नै काम गर्छिन् । तर हाम्रो समाजमा कामको परिभाषा वैज्ञानिक वा प्रायोगिकभन्दा बढी आर्थिक छ ।


अहिले विश्व अर्थव्यवस्था पुँजीवादी व्यवस्था हो । यहाँ हरेक वस्तुको आर्थिक मूल्यांकन हुन्छ । लत्ताकपडा, तरकारी, चामल वा अन्य उपभोग्य वस्तुको निर्धारित मूल्य हुनु स्वाभाविकै भयो, हिजोआज त मानवीय भावनामा पनि ‘प्राइस–टयाग’ लाग्न थालेको छ । तपाईं कुनै तारे होटल जानुभयो भने अनेकन प्रकारले होटलका कर्मचारीले तपाईंको स्वागत गर्लान् । तर, भोलिपल्ट तपाईंसँग रुपैयाँ नभए तिनै कर्मचारीले तपाईंको कठालो समातेर निकालिदिनेछन् । सम्मान, सेवा, सत्कार यावत् सबैको हिजोआज मोल निर्धारित छ । तर, यस्तो चर्को मोलमलाईको युगमा पनि दासत्वको एउटा यस्तो परम्परा जीवित छ जहाँ आज पनि लाखौंलाख हामीहरू कुनै पारिश्रमिकबिना काम गरिरहेका छौं ।


कार्ल माक्र्सले भनेका थिए— पुँजीवादी व्यवस्थामा आर्थिक मुनाफा मजदुरको ज्यालाबाट काटिन्छ । एउटा मजदुरले कुनै सय रुपैयाँ मूल्य पर्ने जुत्ता बनायो भने उसलाई पचास रुपैयाँ मात्र ज्याला दिइन्छ र, बाँकी रकम पुँजीपतिको मुनाफा बन्छ । यसरी ज्याला र मूल्यबीचको विभेदले नै मुनाफा पैदा हुन्छ । तर, आफ्नो विवेचनामा उनले समाजमा विद्यमान स्थितिलाई तटस्थ नियामक माने— तीमध्ये एक नियामक थियो, ‘घरायसी काम’ । उनका अनन्य मित्र फ्रेडरिक ऐंगल्सले बरु व्यक्तिगत सम्पत्तिको अवधारणा विकाससँगै महिलाको उत्पीडन र निजीकरणको सुरुआत भएको उल्लेख गरेका छन् । औद्योगिकीकरणसँगै मनुष्यको कामको परिभाषा र बाँडफाँड अलग हुँदै गयो । औद्योगिकीकरण अगाडि महिला र पुरुषको कामको बाँडफाँड घरभित्र र घरबाहिर निर्धारित थियो ।

औद्योगिकीकरणपछि पनि यो बाँडफाँड यथावत् रहयो तर के फरक भयो भने एकथरी कामको पारिश्रमिक तोकियो, अर्कोथरी काम (घरायसी काम) लाई भने पारिश्रमिकको लायक ठानिएन । कालान्तरमा उत्तिकै काम गरेर पुरुषहरू आर्थिक, सामाजिक, राजनीतिक हरेक दृष्टिले सबल भए तर महिलाहरू भने पिछडिँदै गए ।


वर्गसंघर्षको मिहिन विमर्श गर्दा पनि माक्र्सले महिला र पुरुषबीचको वर्ग संघर्षलाई सही तरिकाले विश्लेषण गर्न सकेनन् । पछि गेल रुबिनजस्ता महिलावादी चिन्तकले माक्र्सको यो दृष्टिभ्रमको बारम्बार आलोचना गरेका छन् । रुबिन भन्छिन्—‘पुँजीवादी व्यवस्थाको मुनाफा ज्याला र मूल्यको असमानताले हैन, महिलाको घरायसी कामको शोषणमा आधारित छ ।’
प्राक्टिकल एक्सनको एक अध्यनअनुसार औसत नेपाली महिला दिनको ११ घण्टा काम गर्छन् जुन औसत पुरुषको दाँजोमा तीन घण्टा बढी हुन्छ । तर यसका बाबजुद उनको घरायसी कामको कुनै आर्थिक मूल्यांकन नभएका कारण मरेर काम गरे तापनि आफ्नो जीविकोपार्जन निम्ति आफ्ना पिता, पति वा पुत्रमै आश्रित हुन्छिन् । यो त भयो गृहिणी पीडा ।


अझ अफिसमा काम गर्ने महिलाहरूको दु:ख भीमकाय छ । ती महिलाले एक दिनमा ‘डबल सिफ्ट’ वा दुई दिनको काम गर्नुपर्ने बाध्यता छ । धेरैजसो महिला सशक्तिकरणका कार्यक्रम पनि यो तथ्यलाई मनन नगरी सिलाइ–बुनाइ आदि गराई महिलाको चर्को कामको भारलाई अझ लागीपरेका छन् । महिलालाई सशक्तीकरणको आवश्यकता छैन भनेर हामीले कहिल्यै बुझेनौं । महिला आफैंमा सबल, सक्षम छिन्, परिश्रमी छन् । बरु खाँचो छ— यो परिश्रमको मूल्य तिर्ने पारिश्रमिकको । जबसम्म दिनको ११ घण्टा काम गरेर पनि एक महिलाले ‘मैले केही काम गर्दिनँ’ भन्न अभिशप्त छन्, तबसम्म चैते विकासका अनेक मोडल ल्याए पनि संस्थागत पितृसत्तात्मक विभेदको अन्त्य हुन सक्दैन ।


घरायसी कामलाई आर्थिक रूपमा मूल्यांकन गर्ने हो भने मात्रै समानता वा असमानताको यो हिसाब स्पष्ट हुन सक्छ । एक गृहिणीले भार्या, सुसारे, जाया, भान्से, माली, खजान्ची, धोबी इत्यादि भूमिका निर्वाह गरिरहेकी हुन्छिन् । सिर्जनात्मक दृष्टिकोणबाट मात्रै हेर्दा पनि घरायसी धन्दा भनेको आफैंमा एउटा विराट–कला हो । चिटिक्क पारेर कोठा सजाउनु, मीठो पकवान बनाउनु, तरकारी पकाउनु, छोराछोरी हुर्काउनु, कपडा धुनु...† लौ मानिलिनुस्, यदि यी सबै कामका लागि तपाईंले छुट्टै कोही राख्नुपर्ने भए कति तलबमा त्यस्तो श्रम किन्न सकिन्थ्यो होला ? फेरि कार्यकुशलताको कुरो त आफ्नै ठाउँमा रह्यो, जो ‘ममत्व र अपनत्व’को भावसहित एक माता र भार्याले गृहस्थी सम्हाल्छिन्, त्यो ममत्वको मोल कति राख्नुपर्ला ?
हो, ममत्व अमूल्य छ । यसको कुनै मोल तोक्न सकिँदैन । यद्यपि आमाको माया वा श्रीमतीको माया अमूल्य छ, मूल्यहीन हैन । हामीले भावनात्मक रूपमै पनि घरायसी कामलाई न गरिमा दिन सकेका छौं, न हाम्रा आमा–दिदीबहिनीले आफ्नो काममा आत्मगौरव महसुस गरेका छन् । यो काम केवल पुस्तैनी विरासत मात्रै हो, आर्थिक परनिर्भरता जोडिएको बिरासत ।
मलाई खानपिनको निम्तो दिने मेरी परिचित यदि कुनै सरकारी कार्यालयमा पियनकै रूपमा मात्र पनि दिनको ११ घण्टा खटेकी भए २४ वर्ष (उहाँको विवाह भएको २५ वर्ष भयो) मा जागिर छोड्दा पेन्सन, उपदान इत्यादि आउँथ्यो होला । तर आज पनि ‘लोग्नेले घरबाट निकालिदिए सडकमा पुगौंला’ भन्ने भय उनका मनमा छदैछ । जीवनभरको घरायसी कामले सधैं बेफुर्सद उनी ‘दास’ मात्रै बनिन्, स्वाभिमानी बन्न सकिनन् । २५ वर्ष बैंकमा काम गरेर उनका श्रीमान्ले घर कमाए, गाडी कमाए, इज्जत कमाए । तर उनले भने घरको चारचौकोसमा व्यस्ततम दैनिकी गुजारेर ‘मैले काम गरेकी छु’ भन्ने आत्मविश्वाससम्म कमाउन सकेकी छैनन् । कत्रो विडम्वना!

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अस्ट्रेलियाको प्रधानमन्त्रीमा मरिसन

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चयन भएका छन् । ५० वर्षीय मरिसनले शुक्रबार साँझ गभर्नर जनरल पिटर कोसग्रोभसमक्ष शपथ लिएसँगै उनी अस्ट्रेलियाका ३० औं प्रधानमन्त्री बने ।

सत्तारूढ दलमा देखिएको नेतृत्व विवाद चर्कदै गएपछि शुक्रबार भएको निर्वाचनमा पार्टी नेता चयन भएपछि मरिसन प्रधानमन्त्री हुन सफल भएका हुन् । यसअघि उनी पार्टी कोषाध्यक्ष थिए । यसैगरी हालका ऊर्जामन्त्री जोस फयाडनबर्ग पार्टी उपनेता तथा कोषाध्यक्षमा नियुक्त भएका छन् । मरिसनले एक साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् ।

लिबरल पार्टीमा देखिएको एकआपसको नेतृत्व विवादले ३ दिनभित्र रोचक मोड लिएपछि पार्टी निर्वाचनमा मरिसनले प्रतिस्पर्धी पिटर डट्टन तथा जुली विसपलाई पराजित गर्दै प्रधानमन्त्री बन्न सफल भएका हुन् । नेतृत्वका लागि भएको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री माल्कम टर्नबुलले सहभागिता नजनाउने बताएपछि मरिसन उनको समर्थनमा नेतृत्वका लागि अघि सरेका थिए ।

सत्तारूढ लिबरल पार्टीमा तत्कालीन प्रधानमन्त्री माल्कम टर्नबुललाई समर्थन नरहेको दाबी गर्दै ३ दिनअघि प्रभावशाली नेता पिटर डट्टनले चुनौती दिएपछि विवाद सतहमा आएको थियो । दुई दिन पहिले भएको यस्तै निर्वाचनमा टर्नबुल विजयी भए पनि लगत्तै भोलिपल्ट डट्टनले पुन: नेतृत्वका लागि चुनौती दिएपछि शुक्रबार निर्वाचन भएको हो ।

तर शुक्रबार भएको निर्वाचनमा भने टर्नबुलले आफू प्रतिस्पर्धाबाट अलग हुने जनाएपछि मरिसन र विदेशमन्त्री जुली विसपले नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रेका हुन् । शुक्रबार दिउँसो भएको निर्वाचनमा मरिसनले डट्टनलाई ५ मतले पराजित गर्दै पार्टीका नेता तथा प्रधानमन्त्री बन्ने अवसर पाएका हुन् ।

सोसल कन्जरभेटिभ लिबरल नेताका रूपमा चिनिने मरिसन यस पहिले टोनी अबटको सरकारमा अध्यागमन मन्त्री भएका थिए । डुंगाबाट अवैध रूपमा भित्रने आप्रवासीलाई रोक्न महत्त्वपूर्ण भूमिका निभाएर चर्चामा आएका उनी अस्ट्रेलियाको राजनीतिमा महत्त्वाकांक्षी नेताका रूपमा चिनिन्छन् ।

टर्नबुलको प्रधानमन्त्रीकालमा कोषाध्यक्ष रहेर चर्चा कमाएका उनी राजनीतिमा आउनु पहिले टुरिज्म अस्ट्रेलियाको निर्देशकको रूपमा कार्य गरेका थिए । सन् २००७ देखि केन्द्रीय राजनीतिमा पाइला राखेका उनी सरकारको विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका अनुभवी राजनीतिज्ञ हुन् ।

अस्ट्रेलियामा पछिल्लो समय भएको नेतृत्व परिवर्तनको खेललाई यहाँका स्थानीयले भने सकारात्मक रूपमा लिएका छैनन् । १० वर्षको अवधिमा ७ प्रधानमन्त्री पाइसकेको अस्ट्रेलियामा ११ वर्ष सत्ता सञ्चालन गरेका पूर्व प्रधानमन्त्री जोन हवार्डको पालादेखि अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पूर्ण कार्यकाल पूरा गर्न पाएका छैनन् ।

अस्ट्रेलियाको राजनीतिलाई नजिकबाट बुझेका डा. भरतराज पौडेल विगत केही सातादेखि सर्वेक्षणमा विपक्षी दल लेबर अघि देखिएको र लिबरलको आपसी विवाद सतहमा आएका कारण अब ८ महिनापछि हुने निर्वाचनमा विपक्षी दलले सरकार बनाउने सम्भावना बढेको धारणा राख्छन् ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT