२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

भाषा म्वा:सा जाति म्वाइ

पात्र
अब धेरै नेवारलाई आफ्नो भाषामा बोल्न आउँदैन, बुझ्न सक्दैनन् । हामीले नेपाली सिकाउनु हुन्न त भनेकै छैनौं । सक्छौ भने चिनियाँ भाषा पनि सिकाऊ, अब त अंग्रेजीले मात्र हुन्न, एउटा अर्को अन्तर्राष्ट्रिय भाषा पनि नेपालीले सिक्नु आवश्यक भइसकेको छ ।
हिमेश

काठमाडौँ — महाकवि सिद्धिदासको प्रख्यात भनाइ छ, ‘भाषा म्वा:सा जाति म्वाइ’ अर्थात् भाषा बाँचे मात्र जाति पनि बाँच्छ । पद्मरत्नका बुझाइमा, नेवारका लागि अझ बढी लागू हुन्छ । नेवारबीच पनि धेरै विविधता छ । उनीहरूबीच धर्म र संस्कृतिमै फरक छ । खालि एउटै समानता भनेको भाषा हो । अब यो भाषा नै रहेन भने कसरी नेवार पनि रहन्छ ?

भाषा म्वा:सा जाति म्वाइ

त्यसो त पद्मरत्न तुलाधर धेरैपल्ट जेल परे । उनले पहिलोपल्ट ०३७ सालमा जेलको अनुभव बटुले । जनमतसंग्रहपछि पुष्पलाल स्मृति कार्यक्रममा उनले बोलेका रहेछन्, ‘जनमतसंग्रहले देशको भाग्य निर्धारण गर्छ भने त्यसको प्रचार सबै भाषामा हुनुपर्छ । सबै जनताले बुझ्ने भाषाहरूबाट प्रचार हुनुपर्छ ।’ त्यति बेला रेडियो नेपालबारे एउटा सर्वेक्षण आएको थियो, करिबकरिब ४७ प्रतिशतले मात्र रेडियो नेपालमा बज्ने भाषा बुझ्ने रहेछ ।


त्यसको अर्थ बहुसंख्यकले रेडियो नेपालको भाषा नै बुझ्दैनथिए । ‘त्यसैले एउटै भाषाले मात्र जनमतसंग्रहको प्रचार गरेको हुन्छ र ?’,पद्मरत्नले प्रश्न गरेका रहेछन्, ‘सम्पूर्ण जनताले नबुझ्ने भाषाले मात्र प्रचार भएको जनमतसंग्रह गर्ने अधिकार राजा वीरेन्द्रलाई पनि छैन ।’ त्यसको भोलिपल्ट बिहानै उनी पक्राउमा परे, राजामाथि आक्षेप लगाएको आरोपमा । उनी फेरि ०४० सालमा जेलमा परे । उनको बसाइ भद्रगोल जेलमा थियो ।


एक दिन उनलाई भेट्न आमा आइन् । अब आमासँग कुरा गर्ने त आफ्नै भाषाले त हो नि । त्यसो भनेको नेपाल भाषा । आमाले सिकाएको भाषा भएकै कारण त मातृभाषा । कतै आफ्नी आमासँग अरू भाषामा कुरा गर्ने कल्पना गर्न सकिन्छ र ? तर, जेलका सुरक्षाकर्मीले भनेछन्, ‘हामीले यो भाषा बुझ्दैनौं । त्यसैले यो भाषामा कुराकानी गर्न पाइन्न । कुरा गर्ने हो भने नेपालीमा मात्र ।’ त्यसमाथि आमालाई नेपाली भाषा राम्रोसँग बोल्न नै कहाँ आउँथ्यो र ?


पद्मरत्न त के पनि भन्छन् भने उनी आपैंmलाई पनि अझैसम्म राम्रो ढंगले नेपाली बोल्न आउँदैन । गैरनेपाली मातृभाषा हुनेका लागि यस्ता घटना निकै पीडादायी हुने गर्छन् । पद्मरत्नले धेरैपल्ट भोगेका रहेछन्, यस्ता अरू पनि घटना । जस्तो उनी आपैंm नेपाल भाषाका राम्रै गनिएका साहित्यकार हुन् । उनले एकपल्ट संसद्मै बोले, ‘म आपैंm नेपाल भाषाको साहित्यकार हुँ तर कोही त मेरो नेपाली भाषाका साहित्यकारको जस्तो चर्चा ? यो विभेद होइन भने के हो त ?’


राज्यबाट दिइने पुरस्कार पनि नेपाल भाषाका साहित्यकारले विरलै पाएका छन् होला, पद्मरत्नको अनुमान छ । अनि लोकसेवाको जाँच पनि आफ्नो मातृभाषामा दिन पाएको भए ? नेवारले मात्र होइन, अरू भाषाभाषीले पनि यस्तैयस्तै अनुभव गरेको हुनुपर्छ । त्यसैले उनी बरोबर भन्ने गर्छन्, नेपालमा राजनीतिक स्वतन्त्रता आयो भनियो, लोकतन्त्र र गणतन्त्र पनि आयो भनियो । मानवअधिकारको बहाली भयो भनियो । पञ्चायतकालमा जे जति प्रतिबन्धित थिए, धेरै स्वतन्त्रता अहिले प्राप्त छ ।


विशेषत: वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता । तर, भाषा स्वतन्त्रता भने आएको छैन । उनको विश्लेषण यस्तै छ । ‘पञ्चायतका बेला त नेपाल भाषा मात्र होइन, नेपाली छाडेर अरू कुनै भाषालाई मान्यता नै थिएन । देवनागरीमा लेखिएको नेपाली भाषा मात्र आधिकारिक थियो । त्यो मात्र राष्ट्रिय भाषा थियो । ०४७ को संविधानपछि नेपाली राष्ट्र भाषा भयो, अरू राष्ट्रिय भाषा भए,’ उनले भने । अबको संविधानले सबै मातृ भाषालाई राष्ट्र भाषा भनेको छ ।


‘तर यति लेखेर मात्र त भएन, अरू केही हुन सकेको छैन । हाम्रो प्रमुख माग भनेकै मातृ भाषामा शिक्षा हो । त्यो पनि अनिवार्य । ०४७ सालको संविधानले आ–आफ्नो भाषाले स्कुल खोल्न पाउँछ त भन्यो तर सरकारले खोल्नुपर्छ भनेन । राज्यले कत्ति पनि खर्च गरेन, यसमा । निजी क्षेत्रबाट केही काम त भयो तर यो दिगो हुन सकेन,’ उनले भने । ०४७ सालपछि त हो केहीले जगतसुन्दर ब्वनेकुथि भनेर खोलेको । तर, यसका आफ्नै सीमितता थिए ।
***

यसपछि यस्तो स्कुल फेरि खुलेन । अहिले आएर ‘नेवार बस्ती नेवार स्कुल’ भनेर अभियान चलाइरहेका छन्, दीपक तुलाधर र उनका केही साथीले । तर, यी स्कुल न अनिवार्य छन्, न त नि:शुल्क नै छन् । केही समयअगाडि नेवा: देय् दबुको अधिवेशन धनकुटामा भएको थियो, त्यसका प्रमुख अतिथि थिए, तत्कालीन प्रधानमन्त्री प्रचण्ड । पद्मरत्नले प्रधानमन्त्रीकै अगाडि आफ्नो मनको कुरा खोल्ने अवसर पाए । प्राय: केही गम्भीर विषय भयो र त्यसले मनलाई छुन्छ भने पद्मरत्न आफूलाई सम्हाल्नै सक्दैनन् ।


रोइहाल्छन् । एकपल्ट होइन, दुईपल्ट होइन, उनी धेरैपल्ट रोएका छन् । त्यस दिन पनि रोए र प्रचण्डलाई सुनाए, ‘नेपालमा १ सय २३ भाषा बोलिन्छ । तर, नेपालीबाहेक अरू कुनै भाषामा शिक्षा छैन । अहिले तत्काल सबै भाषामा यो सम्भव नहुन सक्छ, तर, जत्तिमा सम्भव हुन्छ, कम्तीमा सरकारीस्तरबाट एउटा प्राथमिक स्कुल त बनायौं ।’ पदमरत्न जत्ति रोए, उनको स्वर पनि उत्तिकै ठूलो हुँदै गयो । पछि प्रचण्डको बोल्ने पालो आयो ।


उनले भने, ‘अब पद्म दाइले भनेजस्तै हुन्छ । अब सम्भव भएका प्रमुख भाषामा कम्तीमा एक–एक प्राथमिक स्कुल खोलिनेछ ।’ त्यसको केही समयपछि नै उनी प्रधानमन्त्री रहेनन् । उनको वचन पनि त्यसै तुहियो । सबैले बिर्से पनि । ‘तर, कम्तीमा प्रचण्डले त सम्झिनुपर्ने हो । अरू धेरैले पनि मातृ भाषामा शिक्षा भनेको पनि त अनिवार्य हुनुपर्छ भनेर बुझेको हुनुपर्छ नि ?’ पद्मरत्न उल्टै प्रश्न गर्छन् । हुन पनि विज्ञहरू भन्ने गर्छन्, मातृ भाषामा शिक्षा लिनु जत्ति सजिलो र वैज्ञानिक छ, त्यो अरू भाषामा सम्भव छैन ।


अझ बच्चाहरूले एकैपल्ट पाँच भाषा सिक्न सक्छन् । जस्तो पद्मरत्नकै एक नाति छन्, सानै । उनी पनि पाँच भाषा बोल्ने भइसके । घरमा नेपाल भाषा । स्कुलमा नेपाली पनि सिके, अंग्रेजी पनि सिके । टीभी हेर्दाहेर्दै हिन्दी पनि सिके । तिब्बतेली स्कुलमा पढेका हुँदा यी नाति तिब्बतेली भाषा पनि बोल्न सक्ने भए । यसरी उनी पाँच भाषाका ज्ञाता भए । एकपल्ट आफ्नै अर्को नातिसँग उनी पोखरा गएका रहेछन् र कोही अर्को नेवारको घरमा उनलाई खानाको निम्तो थियो ।


त्यहाँ आफ्नो नातिसँग नेपाल भाषामा कुरा गर्दा त अरू सबै दंग परेछन् । सबैको प्रश्न थियो, ‘यत्रो सानो बच्चाले पनि नेपाल भाषा बोल्न सक्छ र भने ?’ ‘तर अहिले आफ्नो सन्तानलाई चलाख बनाउन आमाबुबाले सबैभन्दा पहिले गर्ने काम नै मातृभाषा छाड्ने भइरहेको छ,’ पद्मरत्न भन्छन्, ‘आफ्ना वच्चालाई मातृभाषा सिकाउनुपर्छ भन्ने नै रहेन । फेरि यो बच्चाको नैसर्गिक अधिकार पनि त हो । यो अधिकार खोस्ने नै अहिले आमाबुबा भइरहेका छन् ।’


उनलाई यस्तो प्रवृत्ति नेपालीभाषीमा पनि आइसकेकोमा अझ चिन्ता छ । उनकै अनुभवमा उनको केही नेपालीभाषीका सन्तानले अब अंग्रेजी बोल्ने भएका छन् । नेपाली भाषामाथि हिन्दी प्रभाव बढ्दै छ । यो सबै हाम्रो भाषा नीति गलत भएकै कारणले हो, उनको निचोड छ । ‘सबैले नेपाल विविधताको देश भन्छन्, धर्ममा विविधता, जातिमा विविधता, भाषामा विविधता । अब यही विविधतालाई बचाउन सकेन भने नेपाल कहाँ रहन्छ र ?’ पद्मरत्नले भने ।


यो विषयमा नेपालीभाषीले पनि बोलिरहेका छन्, जस्तो दमननाथ ढुंगाना, खगेन्द्र संग्रौला । अरू पनि धेरै छन् । धेरैले बोलिरहेका छन्, धेरैले लेखिरहेका छन् । तर, यो आवाज सिंहदरबारसम्म भने पुग्दैन । फेरि धेरैले के पनि बुझ्नुपर्छ भने भाषा आन्दोलन नेपाली भाषाविरुद्ध पनि होइन । आफ्नो भाषाको लागि बोल्नु कहिले पनि साम्प्रदायिक हुन सक्दैन । ‘नेपालमा सबै भाषा समान भन्नुको अर्थ नेपाली भाषाप्रति पनि सम्मान हो । हाम्रै दाइभाइको भाषा हो । हाम्रै मातृभाषामध्ये एक हो, यो ।


विश्वभरि छ हजारको हाराहारीमा भाषा बोलिन्छ, त्यसमध्ये प्रत्येक वर्ष एक भाषा लोप हँुदै छ । ‘मातृभाषामा शिक्षा भएन भने अब नेपाल भाषा नै कत्ति वर्ष टिक्ने हो त ?’ पद्मरत्नलाई डर छ, ‘अब धेरै नेवारलाई आफ्नो भाषामा बोल्न आउँदैन, बुझ्न सक्दैनन् । हामीले नेपाली सिकाउनु हुन्न त भनेकै छैनौं । सक्छौ भने चिनियाँ भाषा पनि सिकाऊ, अब त अंग्रेजीले मात्र हुन्न, एउटा अर्को अन्तर्राष्ट्रिय भाषा पनि नेपालीले सिक्नु आवश्यक भइसकेको छ ।’


उनको विश्लेषणमा नेवारले आफ्नो भाषा छाड्नु भनेको देशकै लागि घाटा हो । यो त राष्ट्रिय सम्पदाकै नास हो । फेरि महाकवि सिद्धिदासको प्रख्यात भनाइ नै छ नि, ‘भाषा म्वा:सा जाति म्वाइ’ अर्थात् भाषा बाँचे मात्र जाति पनि बाँच्छ । ‘नेवारका लागि अझ बढी लागू हुन्छ । नेवारबीच पनि धेरै विविधता छ । उनीहरूबीच धर्म र संस्कृतिमै फरक छ । जात्रा पनि फरक । खालि एउटै समानता भनेको भाषा हो । अब यो भाषा नै रहेन भने कसरी नेवार पनि रहन्छ ?’ पद्मरत्न मान्छन् ।


कुनै समय थियो, त्रिभुवन विश्वविद्यालयमा स्नाकोत्तर स्तरमा सबैभन्दा बढी विद्यार्थी हुने नै नेपाल भाषामा थियो । पद्मरत्न आपैंm एक विद्यार्थी थिए । उनीजस्तो विद्यार्थी कति धेरै थिए भने यसको संख्या अंग्रजी र नेपालीको तुलनामा पनि बढी थियो । पछि पञ्चायतकालमा नीति नै आयो, सरकारी कर्मचारीको बढुवाका बेला नेपाल भाषामा गरिएको एमएको कुनै अर्थ हुने छैन । यो नीति के आयो, पढ्ने विद्यार्थी ह्वात्तै घटे । एकपल्ट फेरि पद्मरत्न रोए, यो विषयमा ।


फेरि भाषा आन्दोलन आपैंmमा शिथिल हुँदै गएकोमा पनि उनलाई ठूलै चिन्ता छ । त्यसो त नेपाल भाषा आन्दोलन आपैंmमा लामो छ, राणा शासनदेखि सुरु भएको हो, यो । त्यति बेला पनि यो भाषामाथि दमन भएको थियो । पञ्चायतकालमा नेपाल भाषामा दिइआएको समाचार र ‘जीवन दबु’ नामको कार्यक्रम पनि हटाइयो र सुरु भयो, अर्को साहित्यिक र सांस्कृतिक आन्दोलन । यो ०२२ सालको आन्दोलनको नामले पनि प्रख्यात छ ।
***

‘अहिले यही आन्दोलन कमजोर स्थितिमा छ । हाम्रो काम डेलिगेसन जानु नै सीमित छ,’ उनले माने, ‘आन्दोलन पक्कै कमजोर भएको छ । तर, रोकिएको भने छैन ।’ उनी उत्तिकै सकारात्मक छन्, अब आउने दिनमा धेरै राम्राराम्रा काम हुन सक्छन्, मातृ भाषाको शिक्षाका लागि, यसको विकास र विस्तारका लागि । भाषिक चेतना बढ्ने छ । अब प्रश्न, पद्मरत्न र उनीबारे यत्ति धेरै प्रसंग किन त ? उनी अर्को साता शनिबार ठयाक्कै ७ दिनपछि ७७ वर्ष, ७ महिना, ७ दिन, ७ घण्टा, ७ मिनेट र ७ पल हुँदै छन् ।


सांस्कृतिक र धार्मिक रूपमा यसको महत्त्व ठूलै छ । यसलाई ‘जंको यायेगु’ भनिन्छ, अर्थात् भीमरथारोहण । उनलाई माया गर्नेहरूले यसलाई उत्सवकै रूपमा मनाउने प्रयास पनि गरिरहेका छन् । अनि यसबीच प्रश्न पनि उत्तिकै सान्दर्भिक देखिन्छ, आखिरमा पद्मरत्न किन रुन्छन् सबैका अगाडि, बच्चाजस्तै, सदनदेखि सडकसम्म ? एकपल्ट उनी आपैंmलाई लागेछ, साँच्चै म किन रुन्छु ? कतै यो कमजोरी त होइन ? अचेल उनी यसलाई कमजोरी नै मान्दैनन् र यसका लागि दुई जनालाई श्रेय दिन्छन् ।


एकपल्ट राष्ट्रिय पञ्चायतमा रुँदा यसबारे धेरै चर्चा भयो । कृष्णसिंह प्रधान त्यसको भोलिपल्ट पद्मरत्नकै घरमा पुगे र उनलाई गाली गर्न सुरु गरे । उनको तर्क थियो, रुनु कसरी कमजोरी हुन्छ ? अभिव्यक्तिको धेरै माध्यममध्ये रुनु पनि त एक हो । हात लेखेर, मुखले बोलेर अभिव्यक्ति दिइन्छ । त्यस्तै रोएर पनि त अभिव्यक्ति हुन्छ, आँखाको माध्यमबाट । कवि दुर्गालालले त भनेकै पनि छन्, ‘म कविता लेख्छुं, पद्मरत्न कविता रुन्छन् ।’


राष्ट्रिय पञ्चायतमै फेरि रुँदा पद्मसुन्दर लावतीले नियमापत्ति गरेका रहेछन् । उनको तर्क थियो, ‘यस्तो गरिमामय स्थानमा रुन पाइन्छ ?’ यसमा अध्यक्षबाट रुलिङ आएन । यस्तोमा रूपचन्द्र विष्ट जुरुक्कै उठेछन् र भनेछन्, ‘हातले लेख्न नदिएपछि मुखले बोल्न नदिएपछि आँखाले बोल्छ, हो कि होइन, अध्यक्षज्यू ? थाहा चाहियो ।’ त्यसपछि पद्मरत्नलाई रुनु पनि अभिव्यक्ति नै रहेछ भनेर लाग्यो । त्यसैले आफ्नो मातृभाषाको प्रसंग आयो कि उनी आँसु राक्ने सक्दैनन् ।
अब मूलप्रश्न, उनलाई साँच्चै रुनु नपर्ने दिन कहिले आउँछ त ?

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?