१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

छाउघर व्यथा: सल्लिपिर ओछ्याएर सुतें...

अनुभूति
मञ्जु भट्ट

काठमाडौँ — महिनावारी भयो भने फेरि त्यही छाउघरमा शरण लिन जानुपर्छ भन्ने डरले सताउँछ । त्यतिखेर मान्छेभन्दा एक स्थान तल झरेजस्तै लाग्छ र घर जान मन लाग्दैन । यो पीडाबाट मुक्त गर्न अरु धेरैलाई नसके पनि मेरै घरबाट सुरु गर्नेछु, मेरी छोरीलाई छाउ महसुस हुन दिने छैन ।

छाउघर व्यथा: सल्लिपिर ओछ्याएर सुतें...

चैतको महिना थियो । वसन्त ऋतुको आगमनले गाउँभरि कोपिला फक्रेर रंगीचंगी फूल फुल्दै थिए । दिनभरि गाउँघरका महिलाहरू रामनवमीको व्रतसँगै रातो साडीमा सजिएका थिए । बेलुका पूजा गर्न सबै जना हाम्रो घरमा जम्मा भइसकेका थिए । आमाले ठूलै भाँडामा आलु उसिनेर राख्नुभएको थियो । पूजा गरेर भजनकीर्तनसँगै फलाहार गरेर सबै जना रमाइलो गरी जाग्राम बसेका थिए । हामी केटाकेटी यो दिन खुबै रमाउँथ्यौं । मज्जाले खेल्न पनि पाइने, मीठामीठा फलफूल खान पाइने तथा सबैबाट टन्न दक्षिणा पनि पाइने । केटाहरूजस्तै हामी केटी पनि भान्छाघर होस् या पूजाकोठा वा मन्दिर नै किन नहोस् जहाँ जान पनि स्वतन्त्र थियौं । कति रमाइलो थियो जिन्दगी ! घरदेखि गाउँभरि सबै जनाको माया, ममता । कुनै पनि कुराको चिन्ता थिएन ।


समयक्रममा हामीहरू पनि हुर्कंदै गयौं । बिस्तारै उमेरसँगै शरीरमा सकस बढ्दै गयो, हुर्काइको स्वाभाविक सकस । यस्तो लाग्न थाल्यो दाइ वा साथीभाइसँग लडीबुडी गर्दै खेल्ने दिनहरू सकिन लागे । चल्दाचल्दै कता पो पिट्ने हुन् वा छोइदिने हुन् कि भन्ने डर लाग्न थाल्यो । किशोरावस्थामा आउने शारीरिक परिवर्तनबारे घर वा स्कुल कतैतिर पनि कसैले केही सिकाएकै थिएन । जब छाती बढ्न थाल्यो, मान्छेको अगाडि पर्न लाज लाग्न थाल्यो । एक दिन त एउटा लुगाको टालोले मजाले छाती कसेर जाँदै थिएँ, एउटा दिदीले पक्रिहाल्नुभयो । ‘के हो बहिनी, गाँठो ठूलो भएछ नि ?’ भनेर जिस्क्याउनुभयो । उसै पनि सानो टालो कहिले माथि त, कहिले तल सरेर अडयाउन गाह्रो भइराखेको थियो । ‘लुगा यसरी लगाउनुपर्छ’ भनेर सिकाउनुसट्टा झनै उल्लीबिल्ली बनाउँदा मलाई निकै रिस उठेको थियो ।


यत्तिकैमा साउन १६ गतेको दिन मेरो लागि झन् अभिशाप भएर आयो । हुन त छोरी मान्छेका लागि यो नभई नहुने प्रक्रिया रहेछ । तर, मलाई त्यो दिन त्यस्तै लाग्यो । त्यो दिन शनिबार परेकाले स्कुल नगएर खेतमा घाँस काट्न गएकी थिएँ । घरमा चर्पीको सुविधा नभएकोले घर फर्किने बेला मेलापातमै चर्पी बसेको त लुगा पूरै रातो भएको देखें । के भएको होला ? कतै कीराले पो टोक्यो कि भनेर हेरें । कतै केही पनि भएको थिएन । न त कतै दुखेजस्तो भएको थियो ।


ओहो, म त नछुने भएकी रहिछु । भन्नुपर्ने त ‘महिनावारी’ हो तर गाउँमा छुन नहुने वा भनौं, छुन नदिने भएकाले नछुने भन्थे । घरमा दिदी नछुने भएको सुनेर मेरो पनि पालो आएछ भन्ने लाग्यो । रगत बगेर पूरै लुगा भिज्न लागिसकेको थियो । मेलामा भेटिएको भटमास पातले रगत पुछपाछ गरिहेरें, साध्य भएन । साँच्चै भन्ने हो भने न हामीलाई सानो हँुदा बाआमाले पेन्टी लगाइदिनुभयो, न त लगाउनुपर्छ भनेर सिकाउनु नै भयो । ठूलो भएपछि पनि न घरमा पेन्टी किन्न पैंसा हुन्थ्यो, न नजिक पसल नै हुन्थ्यो । बल्लबल्ल घर आइपुगें । आमाको काखमा टाउको राखेर रुन मन लागेको थियो । नछुने भएको कुरा आमालाई बताएँ । आमाले त कति सजिलै छोरी भएपछि ‘सबैलाई यस्तै हुन्छ, नजिक नआऊ’ भन्नुभयो । पुरानो सुरुवाल च्यातेर पेन्टी बनाएँ र घुँडामुनिको भागलाई पट्याएर प्याड बनाएँ । घरमा बस्न मन लागेन फेरि डोको बोकेर खेतमा नै घाँस काट्न गएँ । दिउँसो भात खान घरमा आउनुपर्ने तर, त्यो दिन मलाई खेत नै रमाइलो लाग्यो । खेतमा काँक्रा फलेका थिए । त्यही खाएर बेलुकी मात्र घर फर्कें । आमाले छुट्टै भाँडोमा पानी दिनुभयो । राम्रोसँग हातमुख धुन पनि पाएकी थिइनँ, ‘तिम्रो दाइ आउँदै छ, छिटो उता छाउघरमा गइहाल त’ भन्दै आमा कराउनुभयो ।


पहिलेदेखि नै नछुने हँुदा सुत्न बनाएको ‘छाउघर’ हाम्रो घरभन्दा त्यति टाढा त थिएन, तैपनि एउटा निर्दोष र हिजोसम्म घरको सबभन्दा कान्छी छोरीलाई एकाएक दोषीजस्तै बनाएर घरबाट लखेटियो । अँध्यारो भइसकेको थिएन । आमाले एउटा थोत्रो कम्बल, बोरा र सँगै सल्लिपिर (सल्लाको पात) दिनुभयो, ‘सल्लिपिर बोराभित्र हालेर ओछयान बनाऊ’ भन्नुभयो । एक छिनमा आमाले दिउँसोको दालभात दिंदै सानो टुकी पनि दिएर जानुभयो ।


ओहो, मैले केही नराम्रो काम पक्कै गरेको हुनुपर्छ जसको सजाय आज पाउँदै छु जस्तो लाग्यो । अबका आठ दिनसम्म यो सजाय बेहोर्नुपर्ने थियो । पहिलोचोटि एक्लै खान बस्दा कतिखेर अाँखाबाट अाँसु झरेछ पत्तै भएन । बाहिर अँध्यारो भइसकेको थियो । हिजोसम्म आमाले भूतका कथाहरू भन्नुहुन्थ्यो । त्यसैले अँध्यारोदेखि झन् डर लागेर आउँथ्यो । बुबालाई सम्झें । भुइँतलामा खाना खाएर माथि कोठामा सुत्न जाँदा डराउँदै बुबालाई जहिले पनि आफू नसुतेसम्म ढोकामा बस्न लगाउँथें । म कहिले सुत्थें र बुबा कहिले जानुहुन्थ्यो— त्यो कुरा कहिल्यै थाहा पाइनँ ।


फेरि यो घर त गोठ पनि हो जहाँ बाघ पनि आउन सक्छ, बाख्रा खोज्दै । मैले छाडेको खाना खान कुकुर पनि यहाँ आउने गर्छ । कुकुरको गन्धले पनि बाघ आउन सक्छ । यो सम्झेर मलाई अति नै डर लाग्यो । यस्तो भय छाएका बेला ‘मरे मर्, बाँचे बाँच्’ भनेर एक्लै छाडिएको सम्झेर म डाँको छोडेर रोएकी थिएँ । आमाले जाँदाखेरी भनेको सम्झें, ‘राम्रोसँग ढोका लगाउनू, टुकी निभाएर सुत्नू ।’ अनि कम्बलले मुख छोपेर म गुटुमुटु परें ।


तलबाट सल्लिपिरले घोचिराखेको थियो । कतिखेर सुतेंछु पत्तै भएन । बिहान आमाले बोलाउँदा पो उठें । मकैको रोटी र कालो चिया लिएर आउनुभएको रहेछ । हातमुख धुन पर खोलामा गएँ । रोटी खाइसकेपछि कसरी खेतमा घाँस काट्न जाने होला भन्ने सम्झेर जीउ फतक्क गलेर आयो । बाटोमा धामीझाँक्री भेट भयो भने झनै फसाद पथ्र्यो । जहाँ देखियो, त्यहीं टक्क रोकिनुपर्ने । देवता रिसायो भने झन् गाह्रो ।


एक जना दिदी बिहे भएको धेरै वर्षपछि माइतमा बोका बलि दिन आउनुभएको थियो । भएको के रहेछ भने दिदी बिरामी हुनुभएछ । धामी कामेर महिनावारी भएको बेला खोलामा रहेको मन्दिरलाई छोएको हुनुपर्छ, त्यसैले पूजा गरेर एउटा बलि दियो भने सन्चो हुन्छ भनेका रहेछन् । यो देखेर म पनि सजग बनेकी थिएँ ।


ओहो, गाउँभरि म नछुने भएको हल्ला चलिसक्यो होला । गाउँघरमा यस्ता कुरा ओसार्ने हुलाकी पनि हुन्छन् नै । संकोच मान्दै खेतमा गएँ । एउटा काकीले माथिल्लो गह्राबाट कराएर सोध्नुभयो, ‘स्कुल किन नगएको, कहीं तिमी पनि आइमाई भयौ कि क्या हो ?’ म केही बोल्न सकिनँ ।


यसरी डराईडराई तीन दिन बित्यो । बल्ल चार दिनको बिहान आयो । अँध्यारोमा सबै लुगा टाकटुक पारेर सुतेको ठाउँमा लिपपोत गरी परको खोलामा नुहाउन गएँ । उज्यालोमा त कसैले देख्यो भने लाजले मरिन्थ्यो । एक जना दिदी पनि चार दिनको लुगा धुन त्यहीं आउनुभयो । ‘एक्लै सुत्दा डर लागेन काली ? मलाई भनेको भए हुन्थ्यो नि’ भनेर कपाल सुमसुम्याउनुभयो । यतिखेर मलाई यो दिदीले मात्र माया गर्नहुन्छजस्तो लाग्यो ।


हाम्रो गाउँ धेरै ठूलो भएकाले त्यहाँ चारवटा छाउघर थिए । त्यसैले को–कता सुत्छ ? खासै थाहा हँुदैनथ्यो । बल्ल सफासुग्घर भएँ । जीउ हलुका भएर आयो । ठूलै पाप कटेजस्तो लाग्यो । घर जान नपाए पनि आमाले त्यहीं ल्याइदिनुभएको दूधचिया खान पाएँ । भातमा घिउ हालेर खान पाएँ । कचौरामा दही हालेर चाट्न पाएँ । गर्दागर्दै आज आठौं दिन भयो । आजदेखि म घरमा सुत्न पाउने भएँ । बिहानै उठेर खोलामा गई नुहाइधुवाइ गरेर घरमा गएँ । आमाले गाईको गहुँत जीउभरि छर्किनुभयो । यो खायो भने मात्र चोखिन्छ र घरमा सुत्न पाइन्छ भनेर गाईको गहँुत पनि मलाई दिनुभयो । छाउघरको डर सम्झेर केही नबोली घुटुघुटु पिएँ ।


आमाले मेरै लागि भनेर सेलरोटी, खीर इत्यादि मलाई मन पर्ने खाना पकाउनुभएको थियो । दाइ र बुबाको मुख हेर्न पनि मन लागेको थिएन । कृष्णाअष्टमी आउँदै थियो । तर, अब म अशुद्ध भइसकेकी थिएँ । न कसैले मलाई कन्याकुमारी भनेर पूजामा बोलाउनेछ, न मीठोमीठो प्रसाद खान पाउनेछु, न मन्दिरभित्र पस्न पाउनेछु, न त कसैबाट दक्षिणा नै पाउनेछु । यो नछुनेले मेरो स्वतन्त्रता छिन्यो, मलाई एघार वर्षको कलिलो उमेरदेखि कहिलेसम्म सताइरहनेजस्तो लाग्यो । अझै एउटा अन्तिम संघर्ष बाँकी नै थियो जुन मैले अर्को दिन स्कुलमा गुरुहरूको मुखबाट सुन्नुपर्‍यो— यत्रो दिनसम्म किन स्कुल नआको ? पढ्नु पर्दैन ? अनि साथीहरूको मुखबाट सुन्नुपर्‍यो— ए ! तिमी पनि... ।


यो व्यथा यतिमै सीमित रहेन । पढाइको सिलसिलामा पहाडघर छाडेर तराई झरियो । त्यहाँ सानीआमाको घरमा बसेर अध्ययन चल्दै थियो । अरू बेला रमाइलो लाग्ने घरमा महिनावारी भएको बेला चिसो सिमेन्टको भुइँमा सुतेर दिन बिताउनुपर्दा मन कताकता खिन्न हुन्थ्यो । कहिलेकाहीं त चिसोले बिहान आँखा सुन्निएको हुन्थ्यो । सानीमाको घरमा दुई वर्ष पढाइ पूरा गरेर काठमाडौं खाल्डोमा प्रवेश गरें । यहाँ दाइहरूसँग बस्थें । तर, यहाँ छुवाछूतको व्यथाले पिरोलिनु परेन । दाइहरू यस्ता कुरामा विश्वास गर्नुहुन्नथ्यो । तर, कहिलेकाहीं घर जाँदा फेरि पुरानै कथा दोहोरिन्थ्यो । यहाँ आमाबुबाका अगाडि दाइको पनि केही चल्दैनथ्यो ।


अब त बिहे पनि भयो । डेरामा बस्थ्यौं । महिनावारी हँुदा लगाएको लुगा सुकाउन घरपेटीले छतमा जानै नदिने । तलतिरको तलामा अरू घरहरूले छेकेर घामै नदेखिने । एकचोटि प्रयोग गरेको लुगा अर्कोचोटि लाउनै नमिल्ने । साह्रै दु:ख पाइयो । पैसा भएर होइन, यही बाध्यताले पहिलोचोटि प्याड लगाएर रातभरि मस्तसँग सुत्न पाउँदा महिनावारी भएको हो भन्ने महसुस नै भएन । कपडाको प्याड बनाएर लगाउँदा बेलाबेलै राति उठ्नुपर्ने झन्झटबाट पनि मुक्ति मिल्यो । तर पनि घरबाट सासू–ससुरा आएको बेलामा मैले हाम्रो स्नानघर पाँच दिनसम्म प्रयोग गर्न पाउँदैनथें । छुट्टै कोठाको एउटा कुनामा बसेर एक्लै खानुपथ्र्यो भने पानी पनि पनँच दिनसम्म मागेरै पिउनुपथ्र्याे ।


यो महिनावारीले बेलाबेलै मलाई भिन्न ढंगले सताइरह्यो । तर, अब भने मलाई यस्ता कुराको केही चिन्ता छैन । मेरो श्रीमान्ले मेरो इच्छाअनुसार चल्न दिनुभएको छ । म भान्छामा आफंै पकाउँछु । मैले पकाइनँ भने सबैको समयतालिकामा असर गर्छ । महिनावारी नबारेर सबैलाई झन् सजिलो भएको छ । यतिबेला सरसफाइमा म विशेष ध्यान दिन्छु । उहाँ आफैं पनि यस्ता कुसंस्कारमाथि विश्वास गर्नुहुन्न ।


अहिले मलाई कुनै महिनावारी बार्नुपरेको छैन । जब दसैंमा घर जाने दिन आउँछ, आफ्नो मान्छेसँगको भेटघाटको आशाले मन प्रफुल्ल हुन्छ तर त्यही पुरानो कुराले झसंग बनाउँछ । महिनावारी भयो भने फेरि त्यही छाउघरमा शरण लिन जानुपर्छ भन्ने डरले सताउँछ । त्यतिखेर मान्छेभन्दा एक स्थान तल झरेजस्तै लाग्छ र घर जान मन लाग्दैन । यो पीडा धेरैलाई नसके पनि मेरै घरबाट सुरु गरेर मेरी छोरीलाई महसुस हुन दिने छैन । मलाई आशा छ, मेरो घरमा मेरै पिँढीदेखि यो कुरीतिको अन्त हुनेछ र मेरा छोराछोरीका लागि छाउपडी एकादेशको कथाजस्तै हुनेछ ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?