जयपृथ्वी : मिथक र यथार्थ

श्रद्धासुमन
राजा, महाराजा र दरबारीया कर्मचारीविरुद्ध कुरा पनि गर्न नपाइने त्यो बेला ‘यदि दरबारले समेत अन्याय गरेमा त्यसविरुद्ध फिराद गर्ने प्रणालीको स्थापना’ जयपृथ्वीले गरेका थिए ।
वसन्तप्रताप सिंह

काठमाडौँ — सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दु:ख भाग्जन: गोरखापत्र दैनिकमा प्रकाशित हुने यो संस्कृत श्लोक नपढ्ने नेपालीहरू सायदै होलान् । अहिलेको सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ नाराको भावसँग मेल खाने यो श्लोकलाई आजभन्दा १ सय ७ वर्ष (१९५८) पहिला तत्कालीन गोरखापत्रका सञ्चालक तथा सम्पादक जयपृथ्वीबहादुर सिंहले प्रचलनमा ल्याएका थिए ।

जयपृथ्वी १९३४ भदौ ७ गते तत्कालीन बझाङ राज्यको राजघरानामा जन्मिएका थिए । जयपृथ्वी जन्मिएको झन्डै १ सय ४१ वर्ष भइसक्दा पनि यो थलो दुर्गम र पिछडिएको क्षेत्रकै रूपमा चिनिन्छ । त्यो दुर्गम भेगमा जन्मिएर पनि मानवता सन्देश फैलाउँदै विश्व भ्रमण गर्ने पहिलो नेपाली जयपृथ्वीले तत्कालीन समाज सुधारका लागि गरेका प्रयास र उनका बारे बझाङमा प्रचलित मिथक भने सधैं स्मरणीय छ ।


बझाङको विकास
सानै उमेरदेखि नेपालको सामाजिक रूपान्तरणमा चिन्तनशील रहने जयपृथ्वीले संवत् १९५५ सालमा दलित परम्परागत पेसाको आधुनिकीकरण प्रयास गरेका थिए । साविकको कडेल–७, मुम्ला गाउँका रनी लुहार, सोही गाविसको मण्डिदयका कलु भुल (सार्की), चैनपुरका रविदास दमाईलगायतका ८ जनालाई विभिन्न सीप सिकाउन उनले काठमाडौं लगेका थिए । कृषि औजार, छालाजुत्ता, हातेकागज उद्योग, निगालाको काम, तामा तथा ढलौट प्रशोधनसम्बन्धी तालिम दिलाई बझाङमा उद्योग खोल्ने वातावरण उनले बनाएका थिए ।
संवत् १९५६ सालमा बझाङी जनतालाई कानुनी अधिकार दिलाउन अदालत स्थापना गरी यसको प्रचारमा गाउँगाउँमा सूचना प्रकाशित गर्न लगाएका थिए । राजा, महाराजा र दरबारीया कर्मचारीविरुद्ध कुरा पनि गर्न नपाइने त्यो बेला ‘यदि दरबारले समेत अन्याय गरेमा त्यसविरुद्ध फिराद गर्ने प्रणालीको स्थापना’ गरेका थिए ।

Yamaha


जयपृथ्वीले १९५८ मा ‘अक्षरांक शिक्षा’ नामक पुस्तक लेखी पाठशालामा पढाउने व्यवस्था गरे । नेपाली भाषामा लेखिएको यो पुस्तक पहिलो भएको इतिहासकारको दाबी छ । उनले १९६२ सालमा काठमाडौं, नक्सालमा रहेको आफ्नै निवासमा सत्यवादी माध्यमिक विद्यालयको स्थापना गरी सर्वसाधारणलाई पनि पढ्ने व्यवस्था मिलाएका थिए । सर्वसाधारणलाई शिक्षा दिने उनको यो कदम राणाहरूले मन नपराएपछि सोही नाममा उनले बझाङको मेल्लेकमा विद्यालय खोली पठनपाठन सुरु गरेका थिए ।


बालबोध, ज्ञानमाला, श्रेस्ता दर्पण, पदार्थ तत्त्वबोध, भूगोल विद्या, प्राकृत व्याकरण, शिक्षा दर्पण, तत्त्व प्रशंसा, व्यवहारमालाजस्ता थुप्रै पुस्तकहरू आफैंले लेखेर विद्यालयमा पढाउने व्यवस्था उनले गरेका थिए । त्यसपूर्व नेपाली भाषामा कुनै पनि पाठयपुस्तकहरू लेखिएका थिएनन् । सर्वसाधारण नागरिकलाई शिक्षा दिनका लागि उनले एक गाउँबाट चार जनालाई नि:शुल्क शिक्षा दिने व्यवस्था गरेका थिए । सत्यवादी विद्यालयमा यो नियम २०२६ सालसम्म पनि कायमै रहेको जयपृथ्वीको जीवनबारे जानकार विष्णुभक्त जोशी बताउँछन् । त्यसताका सत्यवादी स्कुल नजिकै खोलिएको नेपाली हातेकागज उद्योगमा शिक्षक र विद्याथीहरू आफैंले कागज उत्पादन गरी त्यसैमा लेखपढ गर्ने गरिन्थ्यो ।


जयपृथ्वीले बंगलादेशबाट बझाङमा चिकित्सक ल्याएर रानी खगेश्वरीको नामबाट खगआयुर्वेद औषधालयको स्थापना गरेका थिए । १९६३ देखि लगातार चार वर्षको समय बझाङमा बिताएका जयपृथ्वीले भूमिसुधार व्यवस्था लागू गरी सर्वसाधारणका नाममा दर्ता गर्ने चलन पनि चलाएका थिए । उनले बझाङबाट डोटी हुँदै भारतको टनकपुरसम्म जाने घोडेटो बाटो निर्माण गर्न लगाएका थिए । बझाङ सदरमुकाम चैनपुरदेखि तिब्बतको मानसरोवर जाने बाटो पनि उनैको पहलमा बनेको थियो ।


उनले यो अवधिमा खनिज सम्पदाको पनि उत्खनन गर्न लगाएको देखिन्छ । साविकका व्यासी र कैलाशमा रहेका तामाखानी, कडेल, धमेना र पिलकोटमा रहेको फलाम खानीको उत्खनन र स्थानीय स्तरमै प्रशोधन गरी भाँडाकुँडा बनाउने उद्योग उनले स्थापना गराएका थिए । उनले भारतबाट बाणा (सुनको काम गर्ने मान्छे) मगाएर साविकको सुर्मा गाविसमा रहेको सुनखानी उत्खनन–प्रशोधन गर्न लगाएका थिए ।


उनले मेल्लेक (हालको जयपृथ्वीनगर) मा हावाबाट चल्ने बिजुलीघट्टको समेत निर्माण गर्न लगाएका थिए । उनले बझाङमा हुलाक, कारागार आदि पनि स्थापना गरेर यहाँको सामाजिक सुधारमा काम गरेका थुप्रै लिखत भेटिन्छन् ।


विश्व भ्रमण
नक्साल दरबार छाडेर जयपृथ्वी बझाङमै बस्न थालेपछि तत्कालीन राणा शासकमा उनको गतिविधिप्रति शंका उब्ज्यो । उनलाई निगरानीमा राखिरहने उद्देश्यले संवत् १९६४ मा उनलाई भारदारी अड्डाको प्रमुखको जिम्मेवारीसहित पुन: काठमाडौं बोलाइयो । त्यसअघि १९५७ मा छापाखानासम्बन्धी सामान मगाई उनले गोरखापत्रको प्रकाशन सुरु गरेका थिए । भारदारी अड्डा प्रमुख भएको समयमा उनले निजामती सेवामा प्रवेश गर्दा परीक्षा लिने व्यवस्था मिलाए जसलाई ‘जयपृथ्वी पास’ भनिन्थ्यो । अहिलेको लोकसेवा आयोग यसैको विकसित रूप हो ।


जयपृथ्वीले संवत् १९६५ सालमा बेलायत भ्रमण गरेका थिए । उनको बहुमुखी प्रतिभा र मानवतावादी विचारबाट प्रभावित भएर तत्कालीन बेलायत सम्राट् एडवर्ड सप्तम्ले उनलाई मानार्थ ‘कर्णेल’ उपाधि दिएका थिए । पहिलो विश्वयुद्धमा लाखौं मानिस मरेको घटनाले बेचैन भएर राजकाजको काम बुबालाई सुम्पिँदै उनी भारतको नैनिताल गएर बस्न थालेका थिए ।


नैनितालको झन्डै ६ वर्षे बसाइमा जयपृथ्वीले ‘मानवतावाद’ नामको पुस्तक लेखेका थिए । बुबाको मृत्युपछि भाइ देवीजंगबहादुर सिंहलाई राज्य कार्यभार जिम्मा लगाएर उनी भारतको बंग्लोरमा बस्न गएका थिए । त्यहाँ मैसुरका राजा जयसावे राडे रावसँग मितेरी सम्बन्ध बनाएका उनले मैसुरको कुर्ग भन्ने ठाउँमा नेपाली बस्ती नै बसालेका थिए । त्यहाँ बसाइ क्रममा उनले ‘द फ्ल्याग अफ पिस’ नामक किताब अंग्रेजीमा लेखेका थिए । यो कालखण्डमा उनले फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, बेलग्रटे, हंगेरी, भियना, अस्ट्रिया, अमेरिका, थाइल्यान्ड, चीन, जापान, स्विजरल्यान्ड, इटली, बर्मालगायतका मुलुकको भ्रमण गरेका थिए । भ्रमणकै क्रममा उनले वर्मामा जेपी इन्स्टिच्युट र नेपाली भाषा पाठशाला खोलेका थिए ।


सन् १९३३ मा अमेरिकाको सिकागोमा भएको एक सम्मेलनमा मानवतावादी विषयमा उनले प्रवचन दिएका थिए । उनले भ्रमणकै क्रममा बेलायतको संसद्मा पनि मानवतावादसम्बन्धी प्रवचन दिएका थिए । भ्रमण क्रममा उनले विश्वका विभिन्न मुलुकमा सयभन्दा बढी मानवतावादी संस्था खोलेका थिए । ‘द हयुमानिस्ट क्लब’ नामक संस्था अहिले पनि भारतलगायतका देशमा क्रियाशील छन् । मानवतावाद प्रचारमै रहेका बेला भारतको कर्नाटका राज्यमा रहेको श्रीजयभवनमा संवत १९९७ असोज १ गते ६३ वर्षको उमेरमा उनको निधन भएको थियो ।


यसरी जयपृथ्वीले बझाङलाई मात्र हैन, त्याग–तपस्या र मानवतावादी कर्मका माध्यमबाट विश्वलाई नै गुन लगाएका थिए । तर, यी व्यक्तित्व बझाङ जिल्लामा मिथकमा मात्र जीवित छन्, कहींकतै उनलाई राष्ट्रिय विभूति सम्मान दिनुपर्ने स्वर उठेका छन् । तर, सुनुवाइ भएको छैन।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हिंड, डीभी भरौं

कविता
मीनकुमार नवोदित

काठमाडौँ — एक दिन मिल्ने साथीले भन्यो–हिंड डीभी भरौंअर्को दिन व्यस्त सडकमा रोकेर अर्को साथीले थप्यो–यो देशमा बसेर के गर्नु ?

एक दिन मिल्ने साथीले भन्यो–
हिंड डीभी भरौं
अर्को दिन व्यस्त सडकमा रोकेर
अर्को साथीले थप्यो–
यो देशमा बसेर के गर्नु?
हिंड, स्टुडेन्ट भिसामा युरोप छिरौं
अनायास एक दिन फेरि भेटें
कलेज पढ्दाको अर्को साथी
उसले पनि दोहोर्‍यायो उही संवाद।

मेरा प्रिय मित्रहरु
जसलाई जति पटक भेटें
ओकलिरहे बेरोजगारी
पोखिरहे पीडा
अनवरत खोला भएर बगे साथीहरु
बिदाइको हात हल्लाउादै
थकित किनारा भएर उभिरहें म।

लाग्यो सबैले देश छाड्दा
यहाा को रहन्छ?

सम्झिएा–
डुब्न लागेको घाम भएर
गाउामा जीवनको अन्तिम खुड्किलो
चढ्दै गरेका बा–आमा

मलाई मुटुभरि माया गर्ने
पहिलो पटक प्रेम गरेकी प्रेमिका
र, निश्चल उनको गुलाबी मुस्कान

अनि भर्खर फक्रादै गरेका बगैंचाका फूल
एकोहोरो सम्झिरहें–
वृद्धाश्रमजस्तो देश
पीडाको झरीले रूझेका नागरिकहरु
सोच्न नसक्दा अनायास चिप्लिएको स्वर्णिम समय।

परदेश सोच्नेहरु अहिले
सुखमा छन्/ आनन्दमा छन्
देश सोच्ने म
गाउादै अभावको गीत
हिंडिरहेछु सिमानाबाटै अपहरित
जंगेपिलर खोज्न।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT