१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जयपृथ्वी : मिथक र यथार्थ

श्रद्धासुमन
राजा, महाराजा र दरबारीया कर्मचारीविरुद्ध कुरा पनि गर्न नपाइने त्यो बेला ‘यदि दरबारले समेत अन्याय गरेमा त्यसविरुद्ध फिराद गर्ने प्रणालीको स्थापना’ जयपृथ्वीले गरेका थिए ।
वसन्तप्रताप सिंह

काठमाडौँ — सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दु:ख भाग्जन: गोरखापत्र दैनिकमा प्रकाशित हुने यो संस्कृत श्लोक नपढ्ने नेपालीहरू सायदै होलान् । अहिलेको सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ नाराको भावसँग मेल खाने यो श्लोकलाई आजभन्दा १ सय ७ वर्ष (१९५८) पहिला तत्कालीन गोरखापत्रका सञ्चालक तथा सम्पादक जयपृथ्वीबहादुर सिंहले प्रचलनमा ल्याएका थिए ।

जयपृथ्वी : मिथक र यथार्थ

जयपृथ्वी १९३४ भदौ ७ गते तत्कालीन बझाङ राज्यको राजघरानामा जन्मिएका थिए । जयपृथ्वी जन्मिएको झन्डै १ सय ४१ वर्ष भइसक्दा पनि यो थलो दुर्गम र पिछडिएको क्षेत्रकै रूपमा चिनिन्छ । त्यो दुर्गम भेगमा जन्मिएर पनि मानवता सन्देश फैलाउँदै विश्व भ्रमण गर्ने पहिलो नेपाली जयपृथ्वीले तत्कालीन समाज सुधारका लागि गरेका प्रयास र उनका बारे बझाङमा प्रचलित मिथक भने सधैं स्मरणीय छ ।


बझाङको विकास
सानै उमेरदेखि नेपालको सामाजिक रूपान्तरणमा चिन्तनशील रहने जयपृथ्वीले संवत् १९५५ सालमा दलित परम्परागत पेसाको आधुनिकीकरण प्रयास गरेका थिए । साविकको कडेल–७, मुम्ला गाउँका रनी लुहार, सोही गाविसको मण्डिदयका कलु भुल (सार्की), चैनपुरका रविदास दमाईलगायतका ८ जनालाई विभिन्न सीप सिकाउन उनले काठमाडौं लगेका थिए । कृषि औजार, छालाजुत्ता, हातेकागज उद्योग, निगालाको काम, तामा तथा ढलौट प्रशोधनसम्बन्धी तालिम दिलाई बझाङमा उद्योग खोल्ने वातावरण उनले बनाएका थिए ।
संवत् १९५६ सालमा बझाङी जनतालाई कानुनी अधिकार दिलाउन अदालत स्थापना गरी यसको प्रचारमा गाउँगाउँमा सूचना प्रकाशित गर्न लगाएका थिए । राजा, महाराजा र दरबारीया कर्मचारीविरुद्ध कुरा पनि गर्न नपाइने त्यो बेला ‘यदि दरबारले समेत अन्याय गरेमा त्यसविरुद्ध फिराद गर्ने प्रणालीको स्थापना’ गरेका थिए ।


जयपृथ्वीले १९५८ मा ‘अक्षरांक शिक्षा’ नामक पुस्तक लेखी पाठशालामा पढाउने व्यवस्था गरे । नेपाली भाषामा लेखिएको यो पुस्तक पहिलो भएको इतिहासकारको दाबी छ । उनले १९६२ सालमा काठमाडौं, नक्सालमा रहेको आफ्नै निवासमा सत्यवादी माध्यमिक विद्यालयको स्थापना गरी सर्वसाधारणलाई पनि पढ्ने व्यवस्था मिलाएका थिए । सर्वसाधारणलाई शिक्षा दिने उनको यो कदम राणाहरूले मन नपराएपछि सोही नाममा उनले बझाङको मेल्लेकमा विद्यालय खोली पठनपाठन सुरु गरेका थिए ।


बालबोध, ज्ञानमाला, श्रेस्ता दर्पण, पदार्थ तत्त्वबोध, भूगोल विद्या, प्राकृत व्याकरण, शिक्षा दर्पण, तत्त्व प्रशंसा, व्यवहारमालाजस्ता थुप्रै पुस्तकहरू आफैंले लेखेर विद्यालयमा पढाउने व्यवस्था उनले गरेका थिए । त्यसपूर्व नेपाली भाषामा कुनै पनि पाठयपुस्तकहरू लेखिएका थिएनन् । सर्वसाधारण नागरिकलाई शिक्षा दिनका लागि उनले एक गाउँबाट चार जनालाई नि:शुल्क शिक्षा दिने व्यवस्था गरेका थिए । सत्यवादी विद्यालयमा यो नियम २०२६ सालसम्म पनि कायमै रहेको जयपृथ्वीको जीवनबारे जानकार विष्णुभक्त जोशी बताउँछन् । त्यसताका सत्यवादी स्कुल नजिकै खोलिएको नेपाली हातेकागज उद्योगमा शिक्षक र विद्याथीहरू आफैंले कागज उत्पादन गरी त्यसैमा लेखपढ गर्ने गरिन्थ्यो ।


जयपृथ्वीले बंगलादेशबाट बझाङमा चिकित्सक ल्याएर रानी खगेश्वरीको नामबाट खगआयुर्वेद औषधालयको स्थापना गरेका थिए । १९६३ देखि लगातार चार वर्षको समय बझाङमा बिताएका जयपृथ्वीले भूमिसुधार व्यवस्था लागू गरी सर्वसाधारणका नाममा दर्ता गर्ने चलन पनि चलाएका थिए । उनले बझाङबाट डोटी हुँदै भारतको टनकपुरसम्म जाने घोडेटो बाटो निर्माण गर्न लगाएका थिए । बझाङ सदरमुकाम चैनपुरदेखि तिब्बतको मानसरोवर जाने बाटो पनि उनैको पहलमा बनेको थियो ।


उनले यो अवधिमा खनिज सम्पदाको पनि उत्खनन गर्न लगाएको देखिन्छ । साविकका व्यासी र कैलाशमा रहेका तामाखानी, कडेल, धमेना र पिलकोटमा रहेको फलाम खानीको उत्खनन र स्थानीय स्तरमै प्रशोधन गरी भाँडाकुँडा बनाउने उद्योग उनले स्थापना गराएका थिए । उनले भारतबाट बाणा (सुनको काम गर्ने मान्छे) मगाएर साविकको सुर्मा गाविसमा रहेको सुनखानी उत्खनन–प्रशोधन गर्न लगाएका थिए ।


उनले मेल्लेक (हालको जयपृथ्वीनगर) मा हावाबाट चल्ने बिजुलीघट्टको समेत निर्माण गर्न लगाएका थिए । उनले बझाङमा हुलाक, कारागार आदि पनि स्थापना गरेर यहाँको सामाजिक सुधारमा काम गरेका थुप्रै लिखत भेटिन्छन् ।


विश्व भ्रमण
नक्साल दरबार छाडेर जयपृथ्वी बझाङमै बस्न थालेपछि तत्कालीन राणा शासकमा उनको गतिविधिप्रति शंका उब्ज्यो । उनलाई निगरानीमा राखिरहने उद्देश्यले संवत् १९६४ मा उनलाई भारदारी अड्डाको प्रमुखको जिम्मेवारीसहित पुन: काठमाडौं बोलाइयो । त्यसअघि १९५७ मा छापाखानासम्बन्धी सामान मगाई उनले गोरखापत्रको प्रकाशन सुरु गरेका थिए । भारदारी अड्डा प्रमुख भएको समयमा उनले निजामती सेवामा प्रवेश गर्दा परीक्षा लिने व्यवस्था मिलाए जसलाई ‘जयपृथ्वी पास’ भनिन्थ्यो । अहिलेको लोकसेवा आयोग यसैको विकसित रूप हो ।


जयपृथ्वीले संवत् १९६५ सालमा बेलायत भ्रमण गरेका थिए । उनको बहुमुखी प्रतिभा र मानवतावादी विचारबाट प्रभावित भएर तत्कालीन बेलायत सम्राट् एडवर्ड सप्तम्ले उनलाई मानार्थ ‘कर्णेल’ उपाधि दिएका थिए । पहिलो विश्वयुद्धमा लाखौं मानिस मरेको घटनाले बेचैन भएर राजकाजको काम बुबालाई सुम्पिँदै उनी भारतको नैनिताल गएर बस्न थालेका थिए ।


नैनितालको झन्डै ६ वर्षे बसाइमा जयपृथ्वीले ‘मानवतावाद’ नामको पुस्तक लेखेका थिए । बुबाको मृत्युपछि भाइ देवीजंगबहादुर सिंहलाई राज्य कार्यभार जिम्मा लगाएर उनी भारतको बंग्लोरमा बस्न गएका थिए । त्यहाँ मैसुरका राजा जयसावे राडे रावसँग मितेरी सम्बन्ध बनाएका उनले मैसुरको कुर्ग भन्ने ठाउँमा नेपाली बस्ती नै बसालेका थिए । त्यहाँ बसाइ क्रममा उनले ‘द फ्ल्याग अफ पिस’ नामक किताब अंग्रेजीमा लेखेका थिए । यो कालखण्डमा उनले फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, बेलग्रटे, हंगेरी, भियना, अस्ट्रिया, अमेरिका, थाइल्यान्ड, चीन, जापान, स्विजरल्यान्ड, इटली, बर्मालगायतका मुलुकको भ्रमण गरेका थिए । भ्रमणकै क्रममा उनले वर्मामा जेपी इन्स्टिच्युट र नेपाली भाषा पाठशाला खोलेका थिए ।


सन् १९३३ मा अमेरिकाको सिकागोमा भएको एक सम्मेलनमा मानवतावादी विषयमा उनले प्रवचन दिएका थिए । उनले भ्रमणकै क्रममा बेलायतको संसद्मा पनि मानवतावादसम्बन्धी प्रवचन दिएका थिए । भ्रमण क्रममा उनले विश्वका विभिन्न मुलुकमा सयभन्दा बढी मानवतावादी संस्था खोलेका थिए । ‘द हयुमानिस्ट क्लब’ नामक संस्था अहिले पनि भारतलगायतका देशमा क्रियाशील छन् । मानवतावाद प्रचारमै रहेका बेला भारतको कर्नाटका राज्यमा रहेको श्रीजयभवनमा संवत १९९७ असोज १ गते ६३ वर्षको उमेरमा उनको निधन भएको थियो ।


यसरी जयपृथ्वीले बझाङलाई मात्र हैन, त्याग–तपस्या र मानवतावादी कर्मका माध्यमबाट विश्वलाई नै गुन लगाएका थिए । तर, यी व्यक्तित्व बझाङ जिल्लामा मिथकमा मात्र जीवित छन्, कहींकतै उनलाई राष्ट्रिय विभूति सम्मान दिनुपर्ने स्वर उठेका छन् । तर, सुनुवाइ भएको छैन ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?