कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

यो र त्यो मुग्लिन

भुगोल
विकास–विस्तारको हावाले छुनुअघि मुग्लिन भेग त्रिपाठी, सिलवाल र सापकोटा समुदायको धान लगाउने फाँटको रूपमा चिनिन्थ्यो । सडक सुचारु भएपछि खेत मासियो । समतल, डाँडाकाँडा, भीरपाखा सबैतिर घरैघर देखिन थाल्यो ।
गाडीमा आउने यात्रुका लागि मुग्लिनमा ८/९ वटा थकाली होटल मात्र थिए । अहिले क्रेज कतिसम्म छ भने एउटा पन्जाबी वा अर्को सरदारले पनि मुग्लिनमा ‘यहाँ थकाली खाना मिल्ता है’ भनेर खानपिन मुकाम खोल्ने लहर चलेको छ ।
विमल खतिवडा

काठमाडौँ —  मुग्लिन– जनसाधारणको जिब्रोमा झुन्डिएको एक नाम । पूर्व होस् वा पश्चिम । जता गए पनि पनि ‘ट्रान्जिट’ बन्छ, चितवनको मुग्लिन ।

यो र त्यो मुग्लिन

सुरुका दिनमा यो मुग्लिनमा निकै सकस थियो । ट्रक चढेर अन्यत्र जाने बाटोका रूपमा ‘मुग्लिन’ चिनिन्थ्यो । पृथ्वी राजमार्ग खुलेपछि भने टाढाको बाटोबाट आउने चालकले खानपिन, चिया–नास्ताको मुकाम रूपमा मुग्लिन रोज्न थाले । अहिले पनि यो क्रम जारी छ ।


ती दिनमा मुग्लिनमा कुनै गुल्जार थिएन । सामान किन्न आउने हटियाजस्तो मात्रै थियो । दिउँसो सामान्य चहलपहल चल्थ्यो, राति सुनसान हुन्थ्यो । त्यो मुग्लिन देख्नेमध्येका एक हुन् मुस्ताङका ७६ वर्षीय मानबहादुर शेरचन । उनी ०२७ सालमा स्याङ्जा हुँदै मुग्लिन झरे, व्यवसाय होटल थियो । उबेला खरले छाएको घर भाडामा लिएर बसे । अहिलेको बजारभन्दा तल सामान्य बस्ती थियो, अहिले बस्ती भएको ठाउँमा खेतबारी । मुग्लिनमा पहिला टहरा वा काठका घर मात्रै थिए । ०३६ सालबाट मात्रै पक्की घर बन्ने क्रम सुरु भएको हो । मानबहादुरको अहिले मुग्लिनमा डाँफे होटल छ ।


‘एक–दुई जना साथी मुग्लिनतिरै बस्थे,’ पुरानो कुरा सम्झँदै शेरचनले सुनाए, ‘मलाई मुग्लिनमा व्यवसाय सार्न साथीहरूले करकाप गरे, त्यसैले यतै आएँ ।’ त्यो बेला सादा खाना ३ मोहर र खसीको मासुसहित खानाको २ रुपैयाँ मोल थियो । अहिलेजस्तो ब्रोइलर कुखुरा थिएन । पाहुनाले खोजेमा लोकल कुखुरा लिन गाउँ चहार्नुपथ्र्यो ।


त्यो बेला भरतपुर पुग्न एक दिन लाग्थ्यो, पैदल । वर्षको ७ पाथी धानको पैसा तिर्ने सहमतिमा मानबहादुरले जग्गा भाडामा लिएका थिए, टहरो थाप्न । पछि स्थानीय नन्दबहादुर त्रिपाठीको जग्गा ३ सय रुपैयाँ हातको भाउले १७ हात किने । ‘०३२ सालमा जग्गा किने, पास गर्न भरतपुर पुग्नुपथ्र्यो,’ उनी भन्छन्, ‘त्यो बेला एकै पटक २२ वटा घडेरी बिक्री भए, कोही मुग्लिनपारि गएर जुगेडी निस्किए, कोही गोरखाको पालुङटारबाट १६ रुपैयाँमा जहाज चढेर भरतपुर पुगे ।’


‘त्यो बेला खसीको मासु धार्नीको १८ रुपैयाँमा पाइन्थ्यो,’ उनी भन्छन्, ‘ अहिले धार्नीको जमाना हरायो, किलोकाँटाको जमाना आयो ।’ कुखुरा नहुँदा खसीकै मासु–भात धेरै बिक्री हुन्थ्यो । अहिले उनले सादा खाना १ सय ७०, चिकेन खाना २ सय ५० र मटन खाना २ सय ८० रुपैयाँमा बिक्री गर्छन् ।


‘त्यो युगको अन्त्य भयो,’ उनी भन्छन्, ‘बाटो खुल्यो, मुग्लिन चम्कियो, यस्तो होला भनेर त्यो बेला सोचिएको थिएन ।’ उनका २ छोरा र २ छोरी छन् । अहिले छोराले होटल चलाउने पालो दिएको छ । ‘हिजोदेखि आजसम्म अनेक दु:खमा यहाँसम्म आएँ,’ उनी भन्छन्, ‘अब भोलिको पालो छोराको हो ।’


उता शेरचनभन्दा केही भिन्न अनुभव छ— गोरखा भुम्लिचोकका ६९ वर्षीय जयलाल श्रेष्ठको । उनी ०३३ मंसिरमा गोरखाबाट चिया बिक्री गर्न मुग्लिन झरेका थिए । त्यो बेला नारायणगढ जोड्ने सडक खुलेकै थिएन । ०२७ सालमा पोखरा जाने सडक मात्र खुलेको थियो ।


जब चाइनिज टोली आएर नारायणगढ–मुग्लिन सडकको सर्भे थाल्यो, तब सबैको ध्यान मुग्लिनतिर तानियो । मुग्लिनमा जग्गा किन्ने बढ्दै गए, व्यापार–व्यवसाय थपिंदै गयो । ०३६ सालमा यहाँ ट्रयाक खुल्यो, ०३८ सालमा पिच भयो । सेवा–सुविधा विस्तारको आकर्षणमा झन्डै डेढ दर्जन जिल्लाका बासिन्दाले मुग्लिनलाई बसोबास केन्द्र बनाइछाडे । ‘यहाँ नसोचेको परिवर्तन आयो,’ श्रेष्ठ भन्छन्, ‘दुईतिर सडक खुलेपछि मुग्लिन एकाएक चम्कियो ।’ मुग्लिन खेतको फाँटमा बिस्तारै पक्की घर ठडिँदै गए । जता हेर्‍यो, त्यतै कंक्रिट घर ।
***

विकास–विस्तारको हावाले छुनुअघि मुग्लिन भेग त्रिपाठी, सिलवाल र सापकोटा समुदायको धान लगाउने फाँटको रूपमा चिनिन्थ्यो । सडक सुचारु भएपछि खेत मासियो । बस्ती बस्ने क्रमले तीव्रता पाउँदै गयो । समतल, डाँडाकाँडा, भीरपाखा सबैतिर घरैघर देखिन थाल्यो ।


यो र त्यो मुग्लिनका साक्षी श्रेष्ठका अनुसार त्यो बेला काठमाडौंका लागि ६ वटा मात्र यात्रु बस दिउँसो चल्थे । नाइट बस थिएनन्, ट्रक बढी गुड्थे । ट्रक चढ्न लाइन बस्नुपथ्र्यो । लामो दूरीका लागि मात्रै बस चल्थे । गाडीमा आउने यात्रुका लागि खानपिनमा ८/९ वटा थकाली होटल मात्र थिए । अरू पसल पनि औंलामा गन्न सकिने थिए । अहिले क्रेज कतिसम्म छ भने एउटा पन्जाबी वा अर्को सरदारले पनि मुग्लिनमा ‘यहाँ थकाली खाना मिल्ता है’ भनेर खानपिन मुकाम खोल्ने लहर चलेको छ ।


‘सुरुमा चियापसल गरें,’ जयलाल सम्झन्छन्, ‘त्योबेला ३५ पैसा कप चिया बेच्थें, अहिले २० रुपैयाँ पुग्यो, जमाना फेरियो ।’ आजको जमानाको उनले कल्पनासम्म गरेका थिएनन् । थोरबहुत परिवर्तन होला भन्ने लागेको थियो । तर, आकाश–पाताल भइदियो, नसोचेको हेराफेरी । यसरी मुग्लिन फेरिनुमा ‘सडक’ मुख्य कुरा थियो, अरूभन्दा पनि ।


श्रीमती तिलकुमारीसँगै मुग्लिन झरेका जयलाल श्रेष्ठका ३ सन्तान यतै जन्मे हुर्के । सुरुमा भाडाघरमा बसे । उनले जग्गा किन्ने बेलामा हातको १ हजार थियो । १५ हजारमा १५ हात जग्गा लिए । ‘सानो फुसको घर थियो,’ उनी भन्छन्, ‘०५२ सालमा पक्की बनाएँ ।’ अहिले उनले किराना पसल चलाएका छन् । चितवनमा साविकका ५ गाविस दारेचोक, चण्डिभञ्ज्याङ, काउले, दाहाखानी, कविलास र तनहुँका छेप्केश्वरी, आँबुखैरनी तथा गोरखाको ताक्लुङ, मकैसिंह, भुम्लिचोक, मनकामनाको व्यापारिक केन्द्र भन्नु नै मुग्लिन थियो । यहाँसम्म पैदल आई डोकोमा दैनिक उपभोग्य वस्तु बोकेर फर्किनेको ताँत लाग्थ्यो ।


४० साल छेकदेखि क्रमिक रूपमा मुग्लिनमा भीड बढ्दै गयो । नेवार जातिको बसोबास अन्यभन्दा बाक्लो छ । त्यस्तै थकाली, क्षत्री, बाहुन, गुरुङ, मगर, मुस्लिम, दलित समुदायको बसोबास पनि यहाँ छ ।


सुरुका दिनमा धेरैको एउटै अनुमान थियो । पूर्वतर्फ जान बीपी राजमार्ग खुलेपछि नारायणगढ–मुग्लिन सडकमा गुड्ने गाडीको संख्या घट्नेछ । मुग्लिन सुनसान बन्छ भन्ने हल्ला थियो । ‘पूर्वतिर सडक खुल्यो, अब यता सुक्छ भन्दै हल्ला गर्नेहरू धेरै थिए,’ मुग्लिन बजारमा होटल व्यवसाय गर्दै आएका मोहम्मद अलाउद्दिन भन्छन्, ‘सुरुमा त डर पनि लाग्यो, हरेस खाएनौं । हल्लाहल्लै बन्यो, चहलपहलमा कुनै कमी आएन ।’


मुग्लिनमा १ सयभन्दा बढी होटल छन् । ५० वर्गमिटर क्षेत्रफलमा फैलिएको मुग्लिनको जनसंख्या १ हजार २ सय छ । ‘पहिलाभन्दा अहिले मुग्लिनको चर्चा चुलिएको छ,’ होटल व्यवसायी तेजबहादुर शेरचन भन्छन्, ‘व्यापार व्यवसाय गर्ने पनि बढेका छन् ।’ अहिले मुग्लिन बजार आसपासमा जग्गा पाइँदैन । छेउछाउको पाखोभित्तो पनि बिक्री भइसक्यो ।
मुग्लिनको छाती भएर करिब १५ हजार सवारी साधन दैनिक गन्तव्यतर्फ लाग्ने गरेका छन् । राजधानी काठमाडौंलाई नुन–तेल भित्र्याउने प्रमुख बाटो नै यही हो । राजधानीसँग जोडिएको धमनी हो, मुग्लिन । विगतमा मुग्लिन दारेचोकको ४ नम्बर वडामा पथ्र्यो, अहिले इच्छाकामना–५ मा पर्छ । मुग्लिनबाट नारायणगढको दूरी ३६ किमि छ । मुग्लिनबाट पोखरा ९० किमि र काठमाडौं १ सय १० किमि दूरीमा पर्छ ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?