१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

राल्फासँग म

संस्मरण
आजभन्दा पाँच दशकअगाडि २०२३ सालताका मञ्जुलबाट नामकरण गरिएको राल्फा एउटा बलियो समूहमा बाँधियो । ठूलो सानोको विभेदमा विश्वास नराख्ने राल्फामा एकअर्काप्रति अपार अपनत्व र अनुराग थियो ।
निरन सापकोटा

काठमाडौँ — दाइले राल्फाको उत्पत्ति तथा आफ्नो अनुभूतिबारे प्रकाश पारिदिए जिज्ञासुहरूको जिज्ञासा मेटिने थियो ।’

राल्फासँग म

भाइ राजु तुलाधरको आग्रहलाई साँचिरहन मन लागेन । उनको श्रद्धा एवं शालीनतालाई शिरोपर गर्दै राल्फाको उत्कर्षमय इतिहास पल्टाउन जाँगर पलायो । पुस्तान्तरणको अनुकूल घडी मान्दै सत्यतथ्य ओकल्न मुख खोलें । यथार्थलाई दोबाटो वा चौबाटोमा चटक्क नछलेर लेखकको मूलकर्म र धर्मलाई साक्षी राख्दै कम्मर कसियो र लेख्न बसियो— यो निजी अनुभूति । राल्फाको उत्पत्तिबारे मित्र डा. हरि श्रेष्ठ (नोरेम) बाट उपयुक्त जानकारी आइसकेको हुँदा उल्लेख गर्न आवश्यक परेन ।


आजभन्दा पाँच दशकअगाडि २०२३ सालताका मञ्जुलबाट नामकरण गरिएको राल्फा एउटा बलियो समूहमा बाँधियो । ठूलो सानोको विभेदमा विश्वास नराख्ने राल्फामा एकअर्काप्रति अपार अपनत्व र अनुराग थियो । राल्फामा आत्मीयताको धरातल फराकिलो थियो । राल्फा समूह अभिन्न थियो । राल्फा निस्सारवाद, शून्यवादमा विश्वास नगर्ने कार्यशीलको जमात उज्यालो दिनको प्रतीक्षामा थियो । राल्फा मेघ गर्जनसहितको घनघोर वर्षा थियो, दायाँ–बायाँबाट आउने वाछिटा थिएन । आखिर पारिजात दिदीले पनि राल्फा ग्रहण गर्दा सुनमा सुगन्ध थपियो ।


राल्फा एउटा वक्तव्य र मन्तव्य थियो । यो एउटा गन्तव्य थियो । राल्फा अर्थविहीन तर सम्झनैपर्ने एकलव्य थियो । गीत, संगीत, कविता, निबन्ध आदिको सशक्त माध्यमबाट जनता ब्युँझाउने र मुक्ति ल्याउने राल्फाको उद्देश्य थियो । निरंकुश पञ्चायती शासनविरुद्ध गीत–संगीतको आवाजले थर्काउनु र विरोध चर्काउनु मुख्य लक्ष्य थियो ।


पिरतीका सस्ता गीतबाट टाढा बस्न रुचाउने राल्फा होजे मार्टीको ‘ग्वान्ताना मेरा’, पिट सेगारको ‘वी स्याल ओभरकम’ जस्ता कालजयी गीत सुनेर अभिप्रेरित भएको थियो । कवि गोकुल जोशीको ‘भोकभोकै मर्न थाले कवि–कलाकार, तड्पाएर मार्नुभन्दा झुन्डयाएर मार’ जस्ता प्रभावशाली गीतबाट राल्फाले आफ्नो बाटो समातेको थियो ।


जहानियाँ शासनले मुख सिइदिएको बेला जनताको कान खोल्नुलाई आफ्नो दायित्व सम्भँmदै पंक्तिकारले रचेको थियो, ‘के पाटीमा लेखेका हामी खरी अक्षर हौँ ? हामीलाई जति पनि लेखेर मेटे हुन्छ । तर, हामी त्यस्ता अक्षरहरू होइनौं, जसलाई जति पनि लेखेर मेटे हुन्छ ।’


मञ्जुल र रामेशले यस गीतलाई पूर्वी नेपालको कुनाकन्दरासम्म घन्काएर लोकप्रिय बनाए । त्यस्तै ‘आँधी आयो, उडाई के लेरायो ? असम्भव ठानेको जम्मै सम्भव भएर आयो ।’ आजको अवस्था असम्भवबाट सम्भव भएको दृष्टान्त हो । २०४६ सालको जनआन्दोलन सफल भएको अवसरमा टुँडीखेल खुलामञ्चमा रामेशले यो गीत गाएर असम्भव ‘सम्भव भएको’ सन्देश फैलाएका थिए ।


राल्फाको सांगीतिक कार्यक्रममा विशेषगरेर सुन्न र हेर्नलायकको कुरो मञ्जुलको सशक्त भूमिका हुने गथ्र्यो । उनले गीत अगाडि भूमिका बाँधेपछि दर्शक/श्रोतालाई त्यसले तताउने मात्र नभई रसादी चटाउँथ्यो । माहोल जीवन्त बन्न पुग्थ्यो । मञ्जुलले लेखेका थिए, ‘भोकै मर्ने महाकविका पेटका सारंगीहरू, हाम्रा गीतहरू । नांगै मर्ने गाइने दाइका झुत्रा लुगाहरू,
हाम्रा गीतहरू ।’


रामेशको संगीत अनि मञ्जुल, रायन, अरिमको संयुक्त स्वरले हलचल मचाउने गथ्र्यो । प्रत्युत्पन्न मतिका मञ्जुलले ‘निनुरोल्ला निनुरोल्ला’, ‘रिङ्लापेम्बो रिङलापेम्बो’ जस्ता अर्थहीन शब्द त रचे तर प्रतिभाशाली रामेशलाई पारा चढिहाल्यो । उनले ती शब्दमा संगीत रचेर पानीमाथि आगो बालेर देखाइदिए ।


राल्फाले गाउने लोकगीतहरू पनि शोषित–पीडितकै आहतले भिजेका हुन्थे । ‘गरिबलाई नगर हेलाँ, छेउको सियो माझैमा कोही बेला’ जस्ता लोकभाकासित राल्फाले गामबेंसी सबै रन्काएको थियो । आफूलाई बहुतै घरानियाँ ठान्ने एकथरीले राल्फालाई ‘हिपोक्य्राट’ को आरोप लगाएका थिए भने अर्का एकथरीले ‘रोएल फायर’ भनेर राल्फाको अर्थ लगाएका थिए । तर, राल्फाले रोजेको बाटो बदलेन ।


दुर्भाग्य, २०२९ सालबाट अभिन्न राल्फा छिन्नभिन्न भयो । एउटा ढिक्का नराम्ररी चकनाचुर भयो । अचम्म मञ्जुल र निरनको दूरीमा चाहिँ फरक आएन, शून्यमै रहयो । राल्फालाई भर्‍याङ बनाएर उक्लिनेहरू सय तला माथि पुगे । राल्फा छिँडीको छिँडीमै डल्लियो । एकता टुटयो, अनेकता जुटेको परिणाम यस्तै भयो ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?