कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

देउता बनाउने मान्छे

कला
पढेर होइन, परेर मूर्तिकला सिकेका रामकृष्ण भण्डारी कीर्तिपुरको ज्यापू समाजमा पनि आलुसरी मिलेर बसेका छन् । उनले बनाएका देवीदेवताका मूर्तिहरू कीर्तिपुरकै घरघरमा पुजिन्छ । उनलाई लाग्न थालेको छ— ढुंगाको पनि बोली हुन्छ ।

काठमाडौँ — सबै कलाकार पढेर मात्रै महान् हुन्नन् । पढाइले मात्रै कलाकार बन्छन् भन्ने पनि होइन । निरन्तरको कलाकारिताबाटै कलाकार बढी महान् बनेका छन् । कलाको लामो इतिहासको विरासतमा कर्मबाट निखारिएका एक पात्र हुन्— मूर्तिकार रामकृष्ण भण्डारी । भण्डारीको हालै आएको पुस्तक ‘अक्षरमा मूर्तिकला’ मा छोटालामा ६९ आलेख छन् जहाँ उनको अन्तर्हृदयको कुरा झल्कन्छ— कला अनुरागको ।

देउता बनाउने मान्छे

रामकृष्णले आफ्ना पितालाई ‘कलागुरु’ मानेका रहेछन् । ‘कलाका सारा कुरा मलाई बाले सिकाउनुभयो । कलाकारितामा पनि बा नै मेरा गुरु हुनुहुन्छ,’ स्वत:स्फूर्त लेखनको उदाहरण ‘मेरा कलाबार बा’ शीर्षकमा रामकृष्णले भनेका छन् । पिताको प्रेरणाजत्तिकै कीर्तिपुरस्थित बागभैरव, उमामहेश्वर र चिलन्चोका मूर्तिकलाबाट रामकृष्ण प्रभावित देखिन्छन् । उनमा प्रभाव माक्र्सवादी चिन्तकको पनि देखिन्छ । उनले बनाएको बागभैरवको मूर्तिकला अमेरिकाको कोलोराडोमा प्रतिस्थापन भएको रहेछ । ‘ढुंगा सबैभन्दा बढी महत्त्वपूर्ण चीज हो, प्रत्यक्ष मानिस र सभ्यतासँग ढुंगा जोडिन्छन्, ढुंगाकै मूर्तिकलामा बढी जोड दिनु,’ पिताले दिएको गुहय मन्त्र रामकृष्णले भुलेका छैनन् ।


मच्छेगाउँको चम्पादेवीमा राणाकालीन समयदेखि चलेका ढुंगाखानीहरू बन्द हुँदा अहिले काठमाडौंमा ढुंगाको अभाव खट्किएको छ । ढुंगेअड्डाको चिनारी इतिहास बनिसक्यो । हात्तीवन गल्दा र दक्षिणकाली डुडेचौरको ढुंगाखानी पनि इतिहासमा सीमित छ । यो इतिहासबारे पनि किताबले बोलेको छ । मूर्तिकला भर्ने ढुंगा कसरी छनोट गर्ने र त्यसमा कला कसरी भर्ने भन्ने अभ्यास पनि रामकृष्णले सिकाएका छन् ।


उनले कुँदेको मूर्ति ‘सबैकी आमा’ मातातीर्थमा प्रतिस्थापित गर्ने सन्दर्भमा जोडिएका कथाव्यथा निकै मर्मस्पर्शी छन् । त्यस्तै कथा छ— शंखधर साख्वाको ५ फिट अग्लो सालिकलाई प्रतिस्थापन गर्दाको दृश्य । १५ इन्च अग्लो कमल र १० फुट अग्लो उचाइको ढुंगालाई १८ इन्च चारपाटे जगमाथि राखिएको छ । कीर्तिपुरमा प्रतिस्थापित यो मूर्तिकला १२ फुटको फिलरमाथि सजाइएको छ । कीर्तिपुरमै ४ सहिदका सालिक निर्माणका लागि १० हजार ‘एडभान्स’ लिँदा पहिलो पटक इतिहासमै सबैभन्दा धेरै रकम पाएको भान भएको थियो, उनलाई । त्यसपछि, म्हैपीमा पारिजात (२०५१), बुटवलमा मदन–आश्रित (२०५१), काठमाडौं बाफलमा मदन–आश्रित र पुष्पलाल (२०५३), दार्चुलामा प्रेमसिंह धामी (२०५६), धनकुटामा मदन भण्डारी (२०५७), खोटाङमा मधुबर राई (२०५७), रामेछापमा गंगालाल श्रेष्ठ–कृष्णलाल अधिकारी र पुष्पलाल (२०५८) र अन्य थुप्रै सालिक निर्माणका अनुभव पनि रामकृष्णसँग छँदैछ ।


एकल प्रदशनी मात्रै ६ वटा सम्पन्न गरिसकेका भण्डारी भन्छन्, ‘मूर्तिकारको आजको आवश्यकता भनेको निरन्तर काम गर्नु हो ।’ उनको निवास, ग्यालरी र कर्मथलोको अवलोकन गरिसकेपछि अझ स्पष्ट भयो— वास्तवमै उनी श्रमजीवी मूर्तिकार हुन्, सोखिन कलाकार होइनन् । निरन्तर काम गर्ने मूर्तिकारकै मूर्तिहरू बढी सुन्दर र तिख्खर हुन्छन् । उनको अनुभवमा पनि नपढेका तर काममा निरन्तर खटिने कलाकारकै कला बढी बिक्छन् । यथार्थमा भगवान्कै मूर्ति बढी बेचेर बाँचेका कलाकार रहेछन् उनी । उनले माक्र्स, एन्गेल्स, लेनिन, स्टालिनलगायत विश्वविख्यात कम्युनिस्ट पात्रका मूर्तिकला थुप्रै कुँदेका रहेछन् । बेचेका पनि रहेछन्, विदेशीलाई ।


अहिले पनि कीर्तिपुर किल्लाभित्र उनी निरन्तर मूर्ति कुँदिरहेको भेटिन्छन् । अहिलेभन्दा बढी पर्यटकीय स्थल थियो पहिले, कीर्तिपुर किल्ला । पुरानोपनले हराभरा । खुर्सानी, सुकेको साग, लसुन, बिडामा फर्सी, मकैका झुत्ता अनेक परम्परागत पाराले तन्द्रयाङतुन्द्रुङ झुन्डिएका हुन्थे, टोलभर । साँझ परेपछि घरभरि झुन्डयाइएका माटाका पानस बत्ती बालिन्थ्यो । प्रत्येक घरअगाडि मण्डला सजिन्थे । कीर्तिपुर किल्लाभित्र २०५१ सालदेखि लायकु बागभैरवमा भण्डारीका बुवाले पेन्टिङको र उनले मूर्तिकलाको पसल थापेका थिए । भण्डारी भन्छन्— कलाले खान पुग्दैन भन्थे सबै, हामीलाई त राम्रैसँग पुग्यो । कीर्तिपुरवासी रामकृष्णलाई ‘द्य दयेकिम्ह मनु’ (देवता बनाउने मान्छे) भनी सम्मान गर्ने रहेछन् । अहिले पनि ७ सय जति मूर्तिकला उनको दुई आनामा बनेको तीनतले घरभरि सजिएका छन् । जहाँ रंगीन ढुंगामा कुँदिएका झन्डै २ सय साना मूर्तिकलाको एकल प्रदर्शनी आयोजना गरिसकेका छन् ।


भण्डारी भन्छन्, ‘पहिला पकेट खर्च नभएपछि गणेश, बुद्ध र मायादेवीको मूर्ति बनाउँथेँ, नसिद्धिँदै हारालुछ हुन्थ्यो, हजार–बाह्र सय तुरुन्तै आइहाल्थ्यो, गर्जो टरिहाल्थ्यो । यसर्थ मलाई भगवान्ले पालेका हुन् ।’ उनका शब्दमा, मायादेवी र बुद्धका मूर्तिहरू अझ बढी बिक्थे । अहिले पनि बढी नै बिक्छन् । पहिले फोटो खिच्ने चलन थिएन, टिपोट पनि राखिएन । पछिपछि भने कुन देशका आगन्तुक, कसले मूर्ति किनेर लग्यो भनेर लेखाजोखा राख्न थालेका रहेछन् । भण्डारी भन्छन्— ‘अहिले पनि भ्याईनभ्याई छ, सातवटा अर्डर ठूला सालिककै छन् अर्जेन्ट... काम भ्याउनै सकिराख्या छैन ।’


श्रमजीवी ६० वर्षे भण्डारीलाई ‘ढुंगा बोल्छ’ भन्ने कुरामा सन्देह छैन । ‘ढुंगामा कलात्मक आत्मा भर्न सक्नुपर्छ, ढुंगा बोल्छन्,’ उनी भन्छन् ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?