१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खोइ, खुला चउर ?

सरोकार
दीपक भेटवाल

काठमाडौँ — हामी बाँचेको समाजमा दुई चीज मात्र बलशाली र प्रभावशाली छन्— सत्ता र बजार । समाज, जीवन, भावना सबै यी दुई बलियाको आखेटमा परेका छन् । माथि बहुमतीय सरकारको सत्ता छ, तल बजार साम्राज्य हाँकेर बसेका नाफखोरहरू छन । बहुमतीय ओली सरकारलाई रेलको लिक बिछयाउन पैसाको खाँचो छ, नाफाखोरहरूलाई बजार विस्तार गरेर नाफा असुल्न । हाम्रा नानीबाबुहरूलाई भने खेल्ने खुला चउर चाहिएको छ ।

खोइ, खुला चउर ?

आज नेपाल बन्दको दिन । हिजो साँझ नानीहरूको स्कुलले पठाएको म्यासेजले मोबाइल ट्वाङ्ङ बज्यो । म्यासेज पढे, टार्न नसकिने अवस्थाको कारणले भोलि स्कुल बन्द रहनेछ । नानीहरू भोलि घरमै कैद हुने भए । स्कुल बिदा भएको दिन केटाकेटीहरू बाहिर घुम्न जान पाएनन् भने घरेलु कैदमा थुनिनुपरेजस्तो गर्छन् । मेरा दुई छोराछोरी पाँच र सात वर्षका भए । विदेशमा जन्मेर उतै हुर्केका नानीहरू नेपालीपनमा भर्खर घुलमिल हुँदै छन् । मनभरि जिज्ञासा र कौतूहल छचल्किने यो उमेरका कलिला नानीहरू घरबाहिरको संसारमा चुलबुलिन हुरुक्क हुन्छन । तर, पछौटेपनले गाँजेको हाम्रो समाजको विकासे योजनामा कलिला बालबालिकाहरू फुक्काफाल भएर खेल्ने खुला ठाउँको नक्सा कतै देखिँदैन ।


बिदाको पटयारलाग्दो दिन काट्न दिक्क लागेपछि दिदी–भाइ मिलेर मलाई प्रस्ताव राखे— लेट्स गो टु पार्क, डयाड । मेरो डेरा खुमलटार हाइटमा छ । घरको सामुन्ने अगाडि प्रिमियर स्कुल छ । प्रिमियर स्कुलको ठीक पछाडि एउटा खुला चउर छ । त्यसैलाई उनीहरू पार्क भन्छन् ।


केटाकेटीको पछि लागेर पार्क गइयो । हिलाम्मे खुला चउरमा गाई–बाख्रा चरिरहेका थिए । काठको लाठो बोकेर केही जवानहरू क्रिकेट खेल्दै थिए । ससाना नानीहरू फुक्काफाल घुम्दै थिए । यसअघि जाँदा चौरको वरिपरि बार लगाउन ठडिएका कंक्रिटको पिल्लरहरू आज भुइँमा सुतिरहेक देखिए । एउटा अनलाइन पत्रिका पढेर थाहा पाएको थिएँ— यो चउर सरकारले भाडामा दिइसकेको छ । सरकारको यो निर्णयविरुद्ध जागरुक स्थानीयहरू एकमत भएर उभिएका छन् । सायद स्थानीय अभियन्ताको आक्रोशको निसानामा परेर हो कि ? ढाड भाँचिएको कंक्रिटका पिल्लरहरू घाममा सुतिरहेका थिए ।


हिजो बेलुका मात्र दर्केको झरीले छपक्कै भिजेको चउर, आजको निम्छरो घाममा ओभाइसकेको थिएन । बल खेल्ने भनेर हातमा भकुन्डो बोकेर गएका दिदी–भाइले चिसो चउरमा बल खेल्न पाएनन् । बसिबियाँलो गर्न मैले यिनीहरूलाई चरिरहेका एक हूल बाख्रातिर डोर्‍याएँ । बाख्रा हेर्न खटिएको अधबैंसे गोठालो हातमा आफूभन्दा अग्लो लौरो टेकेर उभिइरहेको थियो । बाख्रा अगाडि जान दुवै जना अलि डराएजस्तो गरे । उनीहरूले विद्यालयको पुस्तकमा पढेको भाका समात्दै मैले बाख्रा ‘डोमेस्टिक एनिमल’ हो, यसले मान्छेलाई हानि गर्दैन भनेर सम्झाएँ । दुवैले अलि सहज माने । छोरीले एउटा खसीको थुतुनोमा भकुन्डो लगेर जोड्न थाली । यसो सुँघेजस्तो गरेर खसीले मुन्टो बटार्‍यो । बगरेको पसलमा पुग्न ठिक्क परेजस्तो अर्को एउटा बूढो खसीलाई मैले हात दिएँ । बूढो खसीले हात चाटुँलाजस्तो गरेर सुँघ्न थाल्यो । मैले टाउको मुसारें । ऊ सन्चो मानेर उभियो । नानीहरू मेरा नजिक आए । हल्का धक मान्दै कलिला हातहरूले खसीको ढाडको रौं मुसारे । दुवै दंग परे । खसीसँग जिस्किँदै मेरो पछाडि लुक्न आए । घरी फुत्त खसीको ढाड मुसार्दै र घरी मेरो पछाडि आएर लुक्दै गर्न थाले । खसी मलाई चिनेजस्तो गरेर आनन्द मान्दै मेरो अगाडि उभिएको छ । म उसको टाउको मुसार्दै छु । दुई चिचिला बूढो खसीसँग लुकामारी खेल्दै छन् ।


जिब्रोले मेरो हात चाट्दै बूढो खसीले मबाट केही खान्कीको अपेक्षा गर्न थाल्यो । अलिकति घाँसको मुन्टो चिमोटेर मुखमा हालिदिए । अल्छी बूढो दंग पर्दै घाँस उग्राउन थाल्यो । दुई चिचिलाले पनि मेरो सिको गर्दै सकीनसकी घाँस चुँडेर ल्याए । परैबाटै हात तन्काएर खसीको मुखमा हाल्न थाले । कलिला नानीहरूले खुवाएको घाँस बूढो खसीले स्वाद मानेर खान थाल्यो । चिचिलाहरू पुलकित भए । चउरमा चरिरहेका चौपायासँग डर र धक हट्दै जान थाल्यो । बूढो खसीसँग सहज हुँदै जान थाले । यिनीहरूले बाख्राहरूका सिङ गने । कान गने, खुट्टा गने । कुनको सिङ ठूलो छ, कुनको सानो दाँजे ।


उतापट्टि दुई खसी सिङ जुधाएर कुस्ती खेल्न थाले । दुई लडाकुहरू एकआपसमा सिङ ठोक्नुअघि अगाडिको दुई खुट्टा माथिसम्म उठाउँथे । अनि खुट्टा भुइँतिर झार्दै एकअर्काको सिङ ठोक्थे । ठ्वाक्क ! यो दृश्य हेरिरहेको दुई चिचिलाको चञ्चल मन झन् तरंगित भयो । पर बसेर यी दुईले निकै स्वाद मानीमानी खसी जुधाइ हेरे । ठूलो स्वरमा चिच्याई–चिच्याई ‘अगेन–अगेन’ भनेर लडाकु खसीलाई जुध्न उत्प्रेरित गर्न थाले । अघिसम्म भयभीत चिचिलाहरूले बाख्राको हूललाई खेद्न थाले । पुस्तकमा पढेका यी ‘डोमेस्टिक एनिमल’ सँग नानीहरू झ्याम्मिन थाले ।


नेहरूले छोरीलाई लेखेको पत्रमा भनेका थिए— ब्रह्माण्ड खुला पाठशाला हो । दुई चिचिलाहरूले हिलाम्मे घाँसे चउरमा मनोरञ्जन मात्र लिएनन्, खुला पाठशालामा टेकेर मसिना ज्ञान पनि बटुल्न पाए । कक्षाकोठामा कैयांै दिन लगाएर घोक्नुपर्ने घरेलु चौपायासँग खेल्दै, लखेट्दै, आनन्द लिँदै सिकिरहेका थिए । घरेलु चौपायाको खान्की, व्यवहार सिकिरहेका थिए । घरेलु चौपायासँग मित्रवत् व्यवहार गर्ने संस्कार सिक्दै थिए ।


तर, यो खुला पाठशाला सरकारले भाडामा दिने निर्णय गरिसकेको छ ।


खुला ठाउँमा उभिएर सास फेर्न मात्र होइन, सार्वजनिक जीवनका मसिना बान्कीहरू नियाल्दै आनन्दित हुन पनि हामीलाई खुला पार्क चाहिन्छ । खुला ठाउँमा उभिएर एकअर्काको जीवन, अस्तित्व, हाउभाउ नियाल्दै हिँड्दा जीवन अझ जीवन्त लाग्छ । त्यसैले सार्वजनिक पार्क मलाई निकै सजीव लाग्छ । गतिशील लाग्छ । जीवनजस्तै लाग्छ ।


सार्वजनिक पार्क मान्छेको जीवनको अभिन्न अंग हो । तर, हाम्रोजस्तो पछौटे समाजको विकासको नक्सामा सार्वजनिक पार्कको रेखांकन खासै देखिँदैन । स्कुले नानीहरू खल्याङ्ग खुट्टी गर्दै उफ्रिन अथवा खुला ठाउँमा बसेर गफिन, प्रौढ बा–आमाहरूलाई लौरो टेकेर घाम ताप्न, वयस्कहरू कुइना जोडेर धित मरुन्जेल गफिनलाई सार्वजनिक पार्क चाहिन्छ । पार्कमा बसेर कडा रंग हालेको चिया पिउँदै गफिनु, भुटेको बदाम छोडाउँदै सम्झना साटासाट गर्नु, सुन्तलाको केस्रा छोडाउँदै पहारीलो घाम ताप्नु ! आहा, सार्वजनिक पार्क हाम्रो मनोविज्ञानको ग्रन्थिसँग कति धेरै निकट छ । तर, आज यो खुला चउर ओहो ! कति टाढा भइसकेको छ ।


तर, गज्जबको पार्क बनाउन मिल्ने घर अगाडिको खुला चउर गणतन्त्र नेपालको दुईतिहाइ सरकारले निसानी छाप ठोकेर भाडामा दिइसकेको छ । खुला चउरमा पिलर गाड्ने कार्य सुरु भइसकेको छ । सरकार विकास गर्न मरिमेटेर लागेको छ । यस्तो विकास जहाँ जनताको भावना जोडिएको छैन, जनताको जीवन जोडिएको छैन ।


हामी बाँचेको समाजमा दुई चीज मात्र बलशाली र प्रभावशाली छन् । सत्ता र बजार । समाज, जीवन, भावना सबै यी दुई बलियाको आखेटमा परेका छन् । माथि बहुमतीय सरकारको सत्ता छ, तल बजार साम्राज्य हाँकेर बसेका नाफाखोरहरू छन् । बहुमतीय ओली सरकारलाई रेलको लिक बिछयाउन पैसाको खाँचो छ, नाफाखोरहरूलाई बजार विस्तार गरेर नाफा असुल्न । हाम्रा नानीबाबुहरूलाई भने खेल्ने खुला चउर चाहिएको छ । यी दुई बलियाहरूले निल्न लागेको खुला चउर जोगाउन स्थानीय नागरिकहरू कस्सिएका छन् । जागरुक स्थानीयहरू सिंहदरबार धाएका छन् । यो खुला चउर हाम्रो सास फेर्ने ठाउँ हो भाडामा नदिऊ भनेर हात जोडेका छन् । भर्खरै जीवनको लय सिक्न थालेका मेरा नानीहरू भोलिदेखि खुला चउर खोज्दै कहाँ जालान् ? क्याट स्टेभेन्सको गीत जस्तै :
‘मलाई थाहा छ,
हामी निकै लामो बाटो नाघेर आएका छौं
हामी दिनानुदिन बदलिंदै छौं
तर मलाई भन,
केटाकेटीहरू खेल्ने ठाउँ कहाँ छ ?’

twetter: @deepakbhetwal

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?