१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘स्याब्बास् केटा !’

संस्मरण
मेरा नौनाडी गले, ज्यान शिथिल भएर फत्रक्क भयो, खल्खली पसिना आयो, सय कोस पार गरेपछिको थकाइले चुर छुजस्तो लाग्यो ।
सिपी अर्याल

काठमाडौँ — ए केटा रिजेल्ट आयो अरे उठ् ।’ बुवा बिहान अचानक आएर ओढिराखेको बर्को याँकिदिनुभयो ।
निद्राले मस्तराम थिएँ । जिन्दगीको सबभन्दा आनन्ददायी क्षणमा, एलएलसीपछिको समय । घरकाले पढ् कि पढ् भन्न पनि पाउँदैनथे । म फुक्काफाल । क्या आनन्द !
र, आयो रिजल्ट !

‘स्याब्बास् केटा !’

ठूलाठूला आँखा बनाउँदै असिनपसिन भएर बुवाको अनुहारमा ट्वाल्ल परेर हेरेँ ।

‘नआत्ती ! पास भैहाल्छस् नि !’ बुवाको सान्त्वनाले मन भरिएन । परीक्षाफल आएको थियो तर फल थाहा पाइसकेको थिइनँ । जर्‍याकजुरुक उठेर आँगनमा निस्किएँ । के गर्ने, कहाँ गएर रिजल्ट हेर्ने ? केही मेसो पाइनँ । डरले भाउन्न भएँ । गोरखापत्र साँझ मात्रै आइपुग्थ्यो । रिजल्ट हेर्ने अरू कहाँ होस् उपाय ?


‘प्रकाश दाइलाई हेर्न भन् ।’ ममीले काइदा सुझाउनुभो । ठूलोबुवाको घरमा ल्यान्डलाइन फोन थियो, त्यहीँबाट प्रकाश दाइको काठमाडौँको डेरामा फोन लगाएँ ।
‘हेलो पर्काश दाइ । ०४९०३७७ क्यू को रिजल्ट हेर्दिनू न ।’
‘क्व पर्काश ?’ यति आत्तिएको थिएँ कि, उता फोन उठ्नेबित्तिकै फरर बोलेुँछु । प्रकाश दाइ डेरामा बस्छन्, फोन घरपट्टीले उठाउँछन् भन्ने बिर्सेछु । कर्कश आवाजले झन्डै गाली गरेपछि पो याद भयो । सायद उनी घरपट्टी थिइन् ।
‘त्याँ डेरामा बस्ने...’
‘येकछिनमा गर...’ धडयाम्म फोन राखेको आवाज आयो । एक छिनमा गर्नुपर्ला सोचेर बाहिर आँगनमा निस्कँदै थिएँ, घरअगाडि बाटोमा उभिएको कसैले भनेको फयाट्टै सुनेँ, ‘सिद्धार्थ बोर्डिङका सबै विद्यार्थी फस्र्ट डिभिजनमा पास भए अरे !’
यति भनेर ती मान्छे कता गइहाले । अनुहार चिनिनँ ।


खबर सुनेर आँगनमा आएर पृथ्वीनारायण शाह उभिएको शैलीमा फनन घुम्दै नाचेँ । बुवा, ममीको अनुहार चम्किलो देख्थेँ ।
‘१० पास भइस् बाबु ?’ ओसारामा बस्नुभएको हजुरीले सोध्नुभो । दगुर्दै गएर गम्लङ्गै अँगालो हालेँ, म्वाई खाएँ ।
‘ल राम्रो भो परमेश्वर ।’ हजुरी खुसी हुनुभो ।


तर, अचानक सम्झिएँ । ती बताउने मान्छे को थिए ? फस्र्ट डिभिजनमा पास भएको होइन, फेलै भएको हो रहेछ भने ? सम्झँदा मात्रै कहाली लाग्यो । फेरि प्रकाश दाइ सम्झिएँ । फोन गर्न ठूलोबुवाकोमा लम्किएँ ।


‘सिद्धार्थका सप्पै फस्र्ट डिभिजनमा पास भए अरे । स्कुलबाट फोन आथ्यो...’ ठूलोबुवा कराउनुभो । अब ढुक्क भएँ ।
भोलिपल्ट स्कुल गएँ । पवन सरले उर्दी जारी गरे, ‘साइन्स लिएर पढ्ने, डाक्टर हुने । यताउति होइन...’
‘साइन्स लिएर पढ्ने...’ यत्ति वाक्यले म अचानक गलेँ । म्याथ खास जान्दिनथेँ ।
कसरी पढ्ने साइन्स ? साइन्स नपढी कसरी बन्ने डाक्टर ?


सबैजसो साथीहरू साइन्स पढ्ने तरखरमा थिए । कोही काठमाडौँ जाने भन्थे, कोही इन्डियाको मद्रास, कोही बुटवल, कोही पाल्पा । मेरो ठेगान थिएन । मन त मद्रास जाने थियो, कहिल्यै नगएको ठाउँ । बुवालाई एकदुई फेर भनेको पनि थिएँ । कड्किनुभो, ‘काँ जानी हो इन्डिया ! पर्दैन ।’ त्यसपछि बल गरिनँ ।
‘त्यसो भए काठमान्डु जान्छु । साइन्स पढ्छु ।’ एक दिन निर्णय सुनाएँ ।
‘म्याथ जान्दैनस्, अंग्रेजी जान्याछस् ।
त्यै पढ् ।’


‘ह्वाँ साथीहरू साइन्स पढेर डाक्टर हुनी अरे । सबै साथी डाक्टर हुनी भए मचाहिँ कन्डक्टर हुनी ?’ फन्किएँ ।
छोरोको पढ्ने रहरमा बुवा तगारो बन्नुभएन । कुनचाहिँ बाबु बन्न सक्थ्यो र ?
र, काठमाडौँ जाने दिन आयो ।


काठमाडौँमा मसँगै बस्ने र पढ्ने भनी साथी सन्तोष प्रस्ताव लिएर खोइ कताबाट आयो । ऊ म्याथमा तगडा । म अंग्रेजीमा । जोडी जम्ने भो भन्ने लाग्यो बुवालाई । अब केही उज्यालिनुभयो ।


जानुभन्दा अघिल्लो साँझ ममी राति अबेरसम्म बसेर गुन्द्रुक, मस्यौरा, घ्यू पोको पारिबसेको ट्वाल्ल परेर हेरेँ । गुँड छाडी जान थालेको हुर्कंदै गरेको बचेरोको पँखेटा बलियो पारिदिने प्रयासमा हुनुहुन्थ्यो ममी । घर छाडेर जानुपर्दाको गह्रुंगो मन तर भर्खर युवक हुँदै गरेको पठ्ठोको जोसमा थिएँ ।
भोलिपल्ट बिहान तौलिहवाबाट काठमाडौं जाने डाँफे चढयौँ । बसपार्कबाट छुटेको बस प्रशासन कार्यालयनिर रोकियो । केही मान्छे चढे । कोइराला अंकल पनि चढे । मलाई र बुवालाई बसभित्र सँगै देखेपछि अंकल नजिकै आए ।
‘कता हिँड्नुभो त बाउछोरा नै ?’
‘काठमान्डु जान लाको । यो उतै पढ्छु भन्छ ।’ बुवाले मतिर हेर्नुभो ।
‘के पढ्नी बाबु ?’ अंकलले मलाई हेरे ।
‘साइन्स !’ आँखा जुधाएर नडराई भनेँ ।
‘सक्छौ त ?’ गिज्याएझैँ मानेँ ।


‘पढे त सकिहालिन्छ नि,’ कड्किएँ । जोसिलो केटोलाई ‘तैँले सक्छस् र ?’ भनेको मन परेको थिएन ।
मुठ्ठी कसेर आँखा चिम्लिएँ, ‘जसरी पनि पढ्छु, पास हुन्छु ।’


दाइहरूको नजिक, एउटा कोठामा डेरा पाएँ । केही कलेज घुमेपछि (त्यतिबेला) ताहाचलमा रहेको बर्नहार्ट कलेजमा भर्ना भएँ । सन्तोषचाहिँ अस्कल जान थाल्यो । भर्नासर्ना, ड्रेस गर्दा लगभग ३९ हजार खर्लप्प तिर्नुपर्‍यो । त्यो एकदम ठूलो रकम थियो हाम्रा लागि ।
म भर्ना भएपछि बुवा घर जाने हुनुभो । बसपार्क पुर्‍याएर कोठामा फर्केपछि घोप्टो परेर रोइरहेँ । सन्तोष केही नबोली बसिरहयो ।


अब कलेज नियमित जान थालेँ । शनिबार घर फोन गर्थेँ । अरू दिन मिनेटको १४ रुपैयाँ थियो, शनिबार ७ । बाआमासँग फोनमा कहिले रुन्थेँ, कहिले झर्किन्थेँ, कहिले खुसी पनि हुन्थेँ । पढाइको अधिक प्रेसर थियो । जिन्दगीमा कहिल्यै पढ्नु नपरेको मोटो ठेली म्याथ, फिजिक्स र केमेस्ट्रीको किताबले हायलकायल पारेको थियो ।
त्यस दिन बसमा भेटिएका कोइराला अंकल टनिक भइदिएका थिए । बसको संवाद बेलाबेला सम्झन्थेँ र डेरिभेटिभ र लिमिटका अप्ठयारा हिसाब अर्को एकपल्ट गरेर मिलाउन तम्सिन्थेँ ।


अंग्रेजी, जुलोजी र बोटनी बडो रुचिसाथ पढ्थेँ । जब पालो म्याथ, फिजिक्स र केमेस्ट्रीको आउँथ्यो अनि कुरो अर्कै भइहाल्थ्यो । अंग्रेजीको होमवर्क गर्दा हात सलल बग्थे । अरू विषयमा त्यही हातमा दही जम्थ्यो ।


म्याथका हिसाब नजान्दा बेकारमा पढिएछ भन्ने झल्को आउन थाल्यो । तर, बेलाबेला उनै कोइराला सर झुल्कन्थे दिमागमा ।
सन्तोष खुरुखुरु कलेज जान्थ्यो आउँथ्यो । पढ्थ्यो । उसले मिलाएको हिसाब देखेर ईष्र्या लाग्थ्यो । ‘मलाई किन आउँदैन यार यसरी ?’ आफैँसँग मुर्मुरिन्थेँ ।
र, फस्र्ट टर्म जाँच दिएँ । दसैँतिहार बिदामा घर जाने दिन आयो ।
बिदा नै त थियो, सकियो पनि !
बिदापछाडि कलेज खुलेको एकाध दिनमा रिजल्ट आयो ।
र, म फेल भएँ!!
अंग्रेजी, जुलोजी र बोटनीबाहेकका विषयमा तारा लागे ! जिन्दगीमा पहिलो पटक फेल भएँ !
म फेल भएँ !’
फेलै भएँ !


मजस्तो काम नलाग्ने, लद्दु, खत्तम, खैँराते विद्यार्थी कोही छैनजस्तो लाग्यो । निराशाले खर्लप्पै संसार निल्यो । एकमन लाग्यो मर्छु ! यस्तो फेल हुने विद्यार्थीको काम के संसारमा ?
यो बेला कोइराला अंकल कहाँ गए कुन्नि ! पटक्कै आएनन् टनिक बनेर । म अचानक होमसिक र होपलेस भएँ । घर जान्छु, पढ्न अब सक्दिनँजस्तो लाग्न थाल्यो ।
भोलिपल्ट सन्तोष रुँलारुँला जस्तो गरी हुर्रिएर एक्कासि कोठामा आयो । खाटमुनिको लुगा तानेर पटयाउन थाल्यो । लगभग रोएरै ।
‘के भो सन्तोष ?’ सोधेँ ।


‘म घर जान्छु यार ।’ उसको स्वर भासियो । ‘म सक्दिनँ यार काठमान्डु बस्न । बुवाआमा, बहिनी, भाइको धेरै याद आयो ।’
म अवाक् भएँ । मान्छेलाई अति दु:ख परेर रोइरहँदा के भनेर सान्त्वना दिन्छन् अहिले लगभग १७, १८ वर्ष बितिसक्दा पनि जानेको छैन ।


‘नजाऊ न यार ।’ म पिलपिलिएँ ।
‘म जान्छु शिव । तिमी पढ ।’ ऊ नाडीले आँखा पुछ्दै रुन थाल्यो ।
‘तिमी म्याथ जान्ने मान्छे नै हारेर गयौ भने त म पढ्न झन् कसरी सक्छु ?’
फुल्याउन खोजेँ ।


र, नाइट बसमा जाने भनेर सन्तोष झोला बोकेर हिँडिहाल्यो । हत्केलाले आँसु पुछ्दै ऊ सिँढीबाट तल झरेको हेरिरहेँ, एकदम अवाक् भएर ।


अब मेरा नौनाडी गले, ज्यान शिथिल भएर फत्रक्क भयो, खल्खली पसिना आयो, सय कोस पार गरेपछिको थकाइले चुर छुजस्तो लाग्यो । घाँटीभित्र ब्लेड अड्क्योझैँ लाग्यो । आखिर सन्तोष त गयो । यही कहानीले म गल्न थालेँ ।
भोलिपल्ट गह्रुंगो मनसहित कलेज पुगेँ । सिधै पुरुषोत्तम सरको कोठामा छिरिहालेँ ।
‘सर म फेल भएँ ।’ एक्कैचोटि पिलपिलिएँ ।
‘केही हुन्न नआत्तिऊ । बल्ल फस्र्ट टर्म त गाछ ।’ सरले अँगाले मलाई ।
‘सर म घर जान्छु । सक्दिनँ पढ्न ।’ अचानक आफ्नो निर्णय सुनाएँ ।
‘यस्तो नभन बाबु । एलएलसीपछि एकदमै गाह्रो हुन्छ सबैलाई । तिमी मात्रै होइनौ ।’ सरले अँगालेकै थिए ।
‘नाइँ सर । कहिल्यै फेल भएको थिइनँ । पढेकै थिएँ ।’ रुन थालेँ ।
‘फाइनल एक्जामसम्म राम्रो माक्र्स ल्याउँछौ । नआत्तिऊ । पास गराउने जिम्मा हाम्रो ।’ सर बोल्दाबोल्दै म भक्कानिएँर हिँडेँ ।
कोठामा आएर बेस्कन रोएँ । बाआमा र हजुरआमा सम्झिँदा झन् रुन आयो । केही बेरपछि घर फोन गर्न पीसीओ छिरेँ ।
‘बुवालाई बोलाइदे ।’ दिदीले फोन उठाएकी थिई । यत्ति भनेर ढयाप्प फोन राखेँ । एकै छिनमा फेरि गरेँ ।
‘हेलो...’ बुवाको आवाज सुनेर भक्कानिएँ ।
‘के भो बाबु ?’
म रोइरहेँ ।


‘के भयो भन्त...’ डरको धुन बुवाको स्वरबाट बगेको बुझेँ ।
‘बुवा मैले सकिनँ । म घर आउँछु । म फेल भएँ ।’ एकैसासमा सुनाएँ ।
‘हँ ???’ आश्चर्यचकित हुनुभो बुवा । त्यसपछि धेरै बेर म बोलिनँ । सुँक्कसुँक्क गरिरहेँ । उता बुवा पनि बोल्नुभएन ।
‘आइज त तेसो भा...’ यो वाक्य सुनेपछि शरीरमा परान भरिएझैँ मानँे । हलुका
महसुस भयो ।
‘भोलिको डाँफेमा आउँछु ।’ जाने
पक्का भएँ ।


अब, दाइहरूलाई पनि भनेँ । सम्झाउन खोजेका थिए । संघर्षको परिभाषा दिएका थिए । तर, फेल भएकाले बडो ठूलो चोट परेको मलाई कसैले भनेको मान्न सकिनँ । कोठाका खाट, टेबललगायतका खत्रामत्राङ दाइको जिम्मा लगाएर म घर हिँडँे ।
घर पुगेपछि मान्छेहरूले किन आइस् ? सोध्नेवाला थिए । ‘घरबाट टाढा बस्न सकिनँ’ भनेर उत्तर त दिम्ला, तर ‘एसएलसीमा फस्र्ट डिभिजन ल्याएको मान्छे पढ्न सकिनस् ?’ भने के उत्तर दिने ? उत्तरको खोजीमा दिनभर बसमा रन्थनिएँ ।


घर पुगेर झोला बिसाउँदा साँझ ढल्किँदै थियो । सिधै कोठामा पसेर खाटमा डङ्रंग पल्टिएँ । फनफनी नाचिरहेको पंखा एकटकले हेरिरहेको थिएँ । कोठामा हजुरी पस्नुभो । मछेउ आएर बस्नुभो । मेरो हात समाएर भन्नुभो, ‘के भयो नाति ?’ हजुरीलाई ट्वाल्ल परेर हेरिरहेँ, किनभने घाँटीबाट आवाज आइरहेको थिएन ।
‘अब के गर्चस् त ?’ सोध्नुभो । मलाई रुन मन लागेको थियो । सम्हालिएँ । जिब्रो बाहिर निकालेर ओठको छेउमा लगेँ, जिब्रोलाई दाँतले थिँचेँ, टाउको ढल्काएँ, अनि दुवै आँखा आधा चिम्लिएँ ।


‘धत्, के भनेको हो ?’ डरको कम्पन हजुरीको बोलीमा आएको थियो, ‘फेरि पढ् । यैँको केम्पसमा पढ् । आमाले भात पकार ख्वार पठाउँचिन् । घरको भात खा, पढ्न जा ।’ म बोलिनँ । मेरो हात समाएर धेरै बेरसम्म कोठामा बसिरहनुभयो हजुरी । हजुरीको त्यतिबेलाको साथ मेरा लागि जीवनभरको तागत बन्यो ।
बुवा मसँग रिसाएको अनुभव गरिसकेको थिएँ । म बोल्दा मन लागे सुन्ने, नलागे एकातिर हिँड्ने गर्नुभयो ।


भोलिपल्टबाट टोलमा अनगिन्ती प्रश्नको रकेट बर्सन थाले, किन फर्किइस् ? त्यत्रो फस्र्ट डिभिजन आएकाले पनि पढ्न सकिनस् ? आखिर किन बस्न सकिनस् ?
कपिलवस्तु बहुमुखी क्याम्पसमा अंग्रेजी मूल विषय राखेर भर्ना भएर एक दिन घर फर्किंदै थिएँ । बाटोमा उनै कोइराला अंकल भेट भए । म लाज र डरले इत्रिएँ । चलाइरहेको साइकल मेरो छेउमा रोकेर टक्क अडिए कोइराला अंकल । र, भने, ‘केइ भाछैन बाबु । नआत्तिऊ । अब घरमै बसेर राम्ररी पढ है ।’ मुस्कुराउँदै अघि बढे अंकल । म वाल्ल परेँ ।
बिस्तारै म घरबाटै बाहिर निस्कन एकदमै कम गरेँ । बुवा मसँग नबोल्नुभएको हप्ता बित्यो, महिना बित्यो । हुँदाहुँदा वर्ष नै बित्यो ।
एक दिन, आईएको रिजल्ट लिएर घर आएँ । अफिसबाट घर आएर बुवाले चिया सुर्काइरहनुभएको थियो ।
‘रिजल्ट आयो बुवा ।’ एकतर्फी संवाद सुरु गरेँ । बुवाले थाहै नपाएझैँ, मेरो कुरै नसुनेझैँ गरेर चियातिरै ध्यान दिनुभो ।
‘बुवा मैले आईए टप गरेँ । त्यैभर २५ सय रुपियाँ क्याम्पसले दिने अरे !’
दुई वर्षसम्म नबोल्नुभएको बुवा यसपालि बोल्नुभो । बुवाको ओठमा सूर्यमुखी फुल्यो, मलाई गम्लङ्ग अँगालेर भन्नुभो, ‘स्याब्बास् केटा !’

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?