कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बदलिँदो माक्र्सवादी चेहरा

अनुभूति
हिंसात्मक आन्दोलन र त्यसले गरेको जनधनको क्षतिका सम्बन्धमा बाबुरामले पश्चात्ताप गर्नुपर्छ । क्षमाशील नेपाली जनताले अवश्य पनि क्षमा दिनेछन् ।
जीवा लामिछाने

काठमाडौँ — एकताका एक जना मिथझैं पात्र थिए— बाबुराम भट्टराई । बाबुराम एसएलसीका बोर्ड फस्ट थिए, पढाइका इन्जिनियर थिए, राजनीतिका उम्दा पात्र थिए । तर, पढाइअनुसार बाबुराम न इन्जिनियर बने, न राजनीतिमा आदर्श बन्न सके । वर्षांैं बोकेको कम्युनिस्ट दर्शनको ‘बाबुराम रंग’ मा पुँजीवादी रंग घुलमिल हुन थालिसकेको छ । यदि कम्युनिस्ट दर्शनलाई एउटा रंग र पुँजीवादी दर्शनलाई अर्को रंग मान्ने हो भने बाबुरामको दर्शन ‘खैरो रंग’ मा परिणत हुँदै छ ।

बदलिँदो माक्र्सवादी चेहरा

हाइस्कुल पढ्दा बाबुराम भट्टराई हाम्रा लागि मिथजस्ता थिए । किनभने उनी एसएलसी बोर्ड फस्ट र पढाइमा कहिल्यै दोस्रो नभएका विद्यार्थी । पढाइमा राम्रो गर्न चाहने सबैका लागि उनी आदर्श थिए । मेरा लागि पनि आदर्श थिए ।


कलेज पढ्दा उनी सपनाजस्ता भए । किनभने म पनि उनीजस्तै इन्जिनियर बन्ने सपना साकार पार्न पुल्चोक इन्जिनियरिङ कलेजमा पढ्दै थिएँ र मैले उनलाई आदर्श बनाएको थिएँ ।
तर, अचम्म त के भने, पढाइ सकेर इन्जिनियर बनेपछि न उनले इन्जिनियर बनेर काम गरे, न मैले । हाम्रो पढाइले हामीलाई आफूजस्तै बनाउन सकेन । उनी राजनीतिमा लागे, म व्यवसायमा ।


राजनीतिक संघर्षका क्रममा ०५२ पछि उनी भूमिगत भए र, फेरि ‘मिथ’ झैं बने । तर, मेरा लागि आदर्श बन्न सकेनन् । किनभने उनले बोकेको राजनीतिक विचार मेरा लागि आदर्श बन्न सकेन । त्यतिले नपुगेर जब उनले हतियार बोक्ने राजनीतिको नेतृत्व गर्न थाले, उनी मेरो आदर्श र सपनाबाट खसे । नेपाललाई जस्तो देश बनाउँछौँ भनेर उनी राजनीतिमा हतियार उठाएर लागेका थिए, त्यही देशमा बसेर उनले चाहेजस्तो व्यवस्थाको दुर्दशा मैले देखिसकेको थिएँ र केही हदसम्म भोगेको पनि थिएँ । त्यो देशको नाम हो—रसिया ।


मेरो कर्मभूमि ।


तिनै व्यक्ति, जो कहिले आदर्श बने, जो कहिले आदर्शबाट खसे, २०१८ को जुलाई/अगस्त महिनामा दुई साता युरोप भ्रमणमा आए । संयोगबस ती दुई सातामध्ये केही दिन मैले उनलाई साथ दिने र केही अन्तरंग कुराकानी गर्ने मौका पाएँ ।


उनीसँग यात्रा गर्दा मैले सबैभन्दा धेरै ती दिनहरू सम्झिएँ, जुन दिन उनी म पढिरहेको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सिनेमाको अतिथि पात्रझैँ भिजिटिङ प्रोफेसरका रूपमा यदाकदा आएका थिए । त्यतिबेला हाम्रा लागि उनी चम्किला विम्ब बनेका थिए ।


कहिलेकाहीँ नभेटीकन बनेको मानिसको धारणा भेटघाट गहिरिंदै जाँदा कम हुँदै जान्छ । तर, डा. भट्टराईको हकमा त्यसो भएन । पहिलो पटक डा. भट्टराईसँग चिनजानको अवसर माओवादी द्वन्द्वको अन्त्यपछि शान्ति प्रक्रिया सुरु भएलगत्तै नयाँ बजारको डेरामा भएको थियो । त्यतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल र डा. भट्टराई एकै घरमा डेरा गरेर बस्थे । त्यही डेरामा गैरआवासीय नेपाली अभियानका विषयमा जानकारी गराउने प्रसंगमा दुई–चार पटक हाम्रो भेटघाट भएको थियो । त्यसयता म नेपाल आएको बखत र उनीसँग समय भएको बखत भेटघाट हुँदै जान थाल्यो । यी भेटमा देशको समृद्धिका लागि गैरआवासीय नेपाली संघले उठान गरेका धेरै विषयमा उनका धारणाहरू स्पष्ट रहेको मैले पाएको थिएँ ।


म गैरआवासीय नेपाली संघको अध्यक्ष हुँदा पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा उनले आर्थिक सल्लाहकार परिषद् बनाएका थिए । सरकारको नेतृत्व गर्ने क्रममा यो परिषद्को उद्देश्य देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने उनको चिन्तनको उपज थियो भन्ने मलाई लाग्छ । उक्त परिषद्मा गैरआवासीय नेपाली संघको अध्यक्ष हैसियतमा मलाई मनोनीत गरिएका कारण केही बैठकमा मैले आफ्ना धारणा राख्ने अवसर पाएको थिएँ । त्यति बेला उनी विद्वान् मात्रै होइन, अरूको विचार धैर्यपूर्वक सुनेर विश्लेषण गर्ने नेताको रूपमा मैले महसुस गरेको थिएँ ।


यी सबै भेटघाटमा जतिसुकै सुमधुर कुरा हुँदा पनि म बेलाबेलामा माओवादी द्वन्द्व अनि त्यसले निम्त्याएका विभिन्न पक्ष सम्झन्थें र, सम्झन्छु । जसले बाबुआमा, छोराछोरी, जीवनसाथी, आफन्त र साथीहरू गुमाए, तिनको टुहुरो अनुहार सम्झन्छु । र, त्यसले ल्याएको परिणामस्वरूप देशको अहिलेको अनुहार सम्झन्छु । अनि अझै पनि डा. भट्टराईको फेसबुक र ट्विटरमा पोस्ट भएका विचारमाथि ठूलो समूहले गरेको विरोध, विद्रोह र गाली सम्झन्छु ।


उनको अध्ययन र विचारसँग प्रभावित भए पनि उनको राजनीतिक विचारसँग पटक्कै प्रभावित नभएको र उनी एक रूढ राजनीतिक विचार बोक्ने नेताको रूपमा धारणा बनिरहेका बेला यो पटक झन्डै एक साता उनीसँग बिताउँदा उनमा देखिएको परिवर्तनले मलाई दुई फरक रंग मिसाउँदा देखापर्ने तेस्रो रंगजस्तै नयाँपनको महसुस भयो । यो लेख त्यही तेस्रो रंग अर्थात् व्यक्तित्वको विषयमा छ, जुन विषयमा नेपाली मिडियामा उति लेखिएको छैन अथवा मैले पढ्न पाएको छैन ।


मानिसको स्वभाव नै हो, ऊ सजिलो बाटो हिँड्न रुचाउँछ । छोटो समयमै सबै किसिमका सुख–सुविधा प्राप्त गर्न चाहन्छ । तर, उनी इन्जिनियरिङमा विद्यावारिधि गरेपछि प्राप्त हुने मान–सम्मानसहितको जागिर वा परामर्शबाट पाउन सकिने ठूलो आम्दानी छाडेर नयाँ तर कठिन राजनीतिक बाटोमा हिँड्न रुचाए । उनको राजनीतिक बाटो र पाटोको म कदापि समर्थक होइन र, त्यसको कडा आलोचक पनि हुँ । तर, देश र समाज परिवर्तन हुन्छ भने आफूले पाएको मान–सम्मान र सुविधा त्याग्न पछि पर्नुहुन्न भन्ने उनको जीवनको आदर्शबाट म प्रभावित भएको छु । व्यक्तिगत रूपमा त्यो बेला म छक्क परेको थिएँ, जब उनले सरकारको नेतृत्वसमेत गरिरहेको शक्तिशाली माओवादी पार्टी र सांसद पद त्यागेर नयाँ शक्ति पार्टीको गठन गरेर नितान्त नौलो बाटो हिँड्ने बाटो रोजेका थिए ।


एउटा उमेरमा मानिसले जोसमा कुनै निर्णय गर्न सक्छ, इन्जिनियरिङबाट कठिन राजनीतिक बाटोमा लाग्नुलाई कतिले त्यस अर्थमा पनि लिने गरेको पाएको छु । हुन पनि युवा उमेरमा धेरै मानिसलाई एकपल्ट कम्युनिस्ट दर्शनले प्रभावित पार्छ भन्ने चलन छ । तर, मैले त्यो बेला उनको कुरा र काममा फरक छैन भन्ने कुरा महसुस गरेको थिएँ, जब भएको सांसद पद त्यागेर नयाँ दलको घोषणा गरे । त्यो बेला उनले देशमा गणतन्त्र आएपछि माओवादी पार्टीको औचित्य सकिएको र देश विकास गर्न नयाँ दलको आवश्यकता भएको दाबी गरेका थिए । यो पटकको भेटमा पनि उनले अबको बाटो देशको समृद्धि हो भन्ने कुरामै जोड दिए ।


कुनै व्यक्तिले समृद्धिको कुरा गर्नु र आफ्नातर्फबाट सक्दो पहल गर्नु फरक कुरा हो । अर्थमन्त्री र प्रधानमन्त्री हुँदा गरिएका केही काम आज पनि सम्झनलायक छन् । र, सत्ताबाहिर रहँदा पनि उनले केही न केही गरिरहेको देख्दा उनको बोली र व्यवहारमा खासै अन्तर म पाउँदिनँ ।
***

नयाँ दल खोल्दा कतिपयले डा. भट्टराईको विचारमा परिवर्तन आएको रिपोर्टिङ गरेका थिए । तर, रुस र जर्मनीको भ्रमणमा यस विषयमा कुरा गर्दा माक्र्सवादप्रतिको उनको रुचि र दर्शनमा अझै पनि आकर्षण रहेको पाएँ । परम्परागत माक्र्सवादलाई जस्ताको तस्तै मान्नेभन्दा पनि समय र परिस्थितिअनुसार परिवर्तन गर्ने कुरामा उनको जोड थियो । तर, माक्र्सवादप्रति जुन जडता र पकड उनमा पहिलेपहिले देखिन्थ्यो, त्यो आजभोलि अर्कै रूपमा परिवर्तन हुन थालेको महसुस गरिरहेँ ।


रुस यात्राको क्रममा मेरो सबैभन्दा विमति रहेको माओवादी द्वन्द्व विषयका केही कुरा कोटयाएँ । एक प्रसंगमा मैले उनलाई सोधे, ‘त्यति धेरै धनजनको क्षति भएको माओवादी आन्दोलनको मुख्य उपलब्धि चाहिं केलाई मान्नुहुन्छ ?’


त्यसको उत्तरमा उनले भने, ‘झन्डै २ सय ५० वर्षसम्म रहेको सामन्ती र अर्धदासजस्तो अवस्थाबाट हामीले मुक्ति पायौं । राजतन्त्र जसरी पनि फाल्नुपर्छ भन्ने मेरो मान्यता थियो, त्यसमा हामी सफल भयौं ।’


उनले भनेजस्तो राजतन्त्र फाल्नु मात्रै मुख्य उपलब्धि हो भन्ने कुरामा पनि मेरो ठूलै विमति छ । के दरबार हत्याकाण्ड नभएको भए राजतन्त्र फ्याँकिन्थ्यो ?


उनलाई सत्कार गरिरहेको अवस्थामा यस्ता विषयमा थप बहस गर्नु उचित ठानिनँ । उसो त घुम्दै गर्दा मैले बेलाबेलामा अलिकति ‘प्रोभोकेटिभ’ प्रकृतिका प्रश्नहरू नगरेको होइन, विशेषगरी द्वन्द्वकालका विषयमा केन्द्रित भएर । त्यस्ता प्रश्नहरूको उनले सहजै उत्तर दिइरहेका थिए । एकपल्ट मैले सोधेँ, ‘द्वन्द्वकालमा भएका कामहरूप्रति कुनै खेद छ कि ?’
मेरो यो प्रश्नमा उनले लामो तर्क गर्दै ‘जनयुद्ध’ पुरानो सामन्तवादी प्रथालाई फयाँक्न सफल भएको दाबी गरिरहे ।


द्वन्द्वकालमा दुवै पक्षबाट भएका ज्यादतीमा धेरै धनजनको क्षति भएको छ । त्यसलाई अब इतिहासको एउटा विषय बनाएर अघि बढ्नुबाहेक अर्को विकल्प छैन । त्यस विषयमा ‘त्यो कदम गलत थियो’ भनेर एक पटक माफी माग्दै अगाडि बढे उनको इज्जत बढ्ने थियो भन्ने मलाई यात्राभर लागिरहयो । उनका नयाँ विचार सुन्दा उनमा परिवर्तन आएको महसुस त हुन्थ्यो नै, साथै पुराना कुराप्रति पश्चाताप नै गर्ने अवस्थामा भने नपुगेको महसुस गरेपछि मैले आफ्नो मनको यो कुरा उनलाई भनिनँ ।


उनीसँग म रुस गएको र उनी जर्मनी आउँदै छन् भन्ने कुरा छोराहरूलाई थाहा थियो । उनका कुरा सुन्न छोराहरू पनि उत्सुक थिए । घरमा नेपाल र राजनीतिक विषयमा कुरा हुँदा मैले बेलाबेलामा भन्ने गर्छु, ‘डा. भट्टराई चिन्तनशील राजनेता हुनुहुन्छ ।’


मेरो यस्तै व्याख्या सुनेका कारण छोराहरू उनलाई भेट्न उत्सुक भएका होलान् । नभन्दै फ्रयांकफर्टमा बिदा हुनु अघिल्लो साँझ उनीसँग पारिवारिक भेटघाट र खानपिन गर्ने अवसर मिलेको थियो । कलेज र माध्यमिक शिक्षा पढिरहेका छोराहरू अनुराग र अनुकृत दुवैले यो मौकामा जमेर उनीसँग तर्क गरे । उमेरले सानै भए पनि आधुनिक शिक्षा पाएका दुवै छोराको विचार मेरो सोचभन्दा फरक नभएकाले छोराहरूको तर्कलाई मैले आफ्नै कुरा मानेर खुसी भइरहेको थिएँ । एक वर्षपहिले मेरै अघि कार्ल माक्र्सको ट्रियरस्थित संग्रहालयमा राखिएको पुस्तिकामा अनुकृतले लेखेका थिए, ‘माक्र्सवाद एउटा उन्नत दर्शन हो र यो दर्शन मानवताका लागि साँच्चै सुन्दर कुरा हुन सक्ला । तर... कहिले ?’ कुरा गर्दै जाँदा अनुकृतले यही प्रश्न डा. भट्टराईलाई सोधे ।


यो प्रश्नमा डा. भट्टराईले मौनताबाट उत्तर दिनुपरेको थियो । दुवै छोराहरू भन्दै थिए, ‘मानव सभ्यता पूर्ण रूपमा रोबोट युगमा प्रवेश गर्‍यो भने मात्रै माक्र्सले परिकल्पना गरेको समाज बन्न सक्ला, अन्यथा त्यो सम्भव नहुने दर्शन हो ।’


छोराहरूको यो निष्कर्षमा डा. भट्टराई मुस्कुराउँदै थिए ।


बिदा हुने बेलामा भने मैले यति बेलासम्म मनमा लागेको कुरा नलुकाई भनें, ‘कार्ल माक्र्स गएको दुई सय वर्षमा उनी सबैभन्दा धेरै पढिएका दार्शनिक चिन्तक हुन् । त्यस अर्थमा म उनलाई सम्मान गर्छु । उनको दर्शन जति पढ्दै जान्छु, उनका कुरा मलाई त्यति नै बढी काल्पनिक र असम्भव लाग्ने गर्छन् । माक्र्सले परिकल्पना गरेको वर्गविहीन र राज्यविहीन आदर्शवादी समाज एक स्वप्नलोक मात्रै हो भन्ने मेरो बुझाइ छ । उनले परिकल्पना गरेको समाज रामायणमा उल्लेख गरिएको ‘रामराज्य’ जस्तै दन्त्यकथा हो ।’


मेरो यो भनाइमा डा. भट्टराईले विमति जनाएनन् । केही वर्षयता उनमा माक्र्सवादी दर्शनका विषयमा निरन्तर परिवर्तन आएको हामी सबैले महसुस गर्दै आएको कुरा हो । यात्राभर पटकपटक माक्र्स आफ्ना गुरुजस्तै भएको बताइरहे पनि समयअनुसार त्यसलाई परिवर्तन गर्नुपर्ने कुरा पनि सँगै बताइरहे । एक अर्थमा मैले यसलाई उनमा आएको परिवर्तनका रूपमा महसुस गरेँ । र, उनको माक्र्सवादी व्यक्तित्वमा पनि क्रमश: परिवर्तन आएर नयाँ रंगको व्यक्तित्व बनिरहेको महसुस यात्राभर गरिरहेँ ।
***

राजनीतिक दर्शनलाई पर राख्ने हो भने डा. भट्टराईलाई आदर्श व्यक्ति मानेर मैले गलत गरिनँ भन्ने पटकपटक लागिरहेको थियो । एक जना नेता कस्तो हुनुपर्छ भनेर राजनीतिशास्त्रीहरूले व्याख्या गरेजस्तै डा. भट्टराईको व्यक्तित्व देखिन्छ । यात्रा अवधिभर मैले महसुस गरेँ, उनको खानपिन निकै सादगी छ । यस्तै खाना खानुपर्ने, यस्तैमा बस्नुपर्ने भन्ने कुनै आग्रह उनमा देखिएन । विशेष खालको सोख पनि पाइनँ । मदिरा केवल औपचारिक टोस्ट प्रस्ताव गर्दा मात्रै उठाउने बानी रहेछ । मदिरालाई मुखसम्म लगेको पनि मैले देखिनँ । टेबुलमा बसिरहेको मदिरा नचलाउने तर एकदुई मासुका टुक्रा लिने, बाँकी भोक शाकाहारी भोजनले पूरा गर्ने बानी रहेछ ।


युरोपको ऐतिहासिकता हेर्न अलि धेरै बेर हिँड्नैपर्ने हुन्छ । ६५ वर्ष पुगिसकेका डा. भट्टराई थाकेको वा थाकेको भाव देखाएको अनुभव गरिनँ । लाग्यो, उनको थकाइ युरोपमा ऐतिहासिक दृश्यले मेटाइदिएका हुन् । आधुनिक सपिङ सेन्टर, सिनेमाघर आदिभन्दा ऐतिहासिक महत्त्वका ठाउँ हेर्नमा उनको बढी रुचि रहेको पाएँ । खर्च गर्नेभन्दा जसरी हुन्छ, मितव्ययी हुन खोज्ने स्वभाव पनि पाएँ । पूर्वप्रधानमन्त्रीको मर्यादालाई सम्मान गर्दै आयोजकका तर्फबाट बिजिनेस क्लासमा टिकट लिन खोज्दा उनले विनम्रतापूर्वक त्यसो नगरिदिन अनुरोध गरे ।
गम्भीर प्रकृतिको व्यक्ति भएकाले यात्रामा उनी खुल्दैनन् भन्ने लागेको थियो तर, यात्राभर भनिएजस्तो अन्तर्मुखी स्वभाव मैले अनुभव गरिनँ । विज्ञान, साहित्य, दर्शन र विश्व इतिहासजस्ता विषयमा हाम्रो रुचि मिलेकाले पनि होला, यात्रा सहज रहयो । सार्वजनिक रूपमा देख्दा प्राय: हँसिलो नदेखिने उनमा केही हदसम्म हास्यचेत पनि रहेछ ।
एकपल्ट मैले उनको ट्विटर फलोवर धेरै भएको कुरा कोटयाउँदा उनले भने, ‘तपाईंहरू धनका हिसाबले मिलेनियर, मचाहिं ट्विटर फलोवरका हिसाबले मिलेनियर ।’


त्यति मात्र होइन, फ्रयांकफर्टको प्रसिद्ध ‘लभ लक ब्रिज’ मा घुम्दै गर्दा उनकी पत्नी हिसिला यमीलाई रमाइलो पारामा भने, ‘ल, यो ब्रिजमा हामी पनि आफ्नो प्रेम लक् गरौँ ।’


उनले हास्यरसमा यी कुरा भनिरहँदा मलाई लागिरहेको थियो— पार्टीका बैठकहरूमा अनावश्यक गफ गर्ने कुरामा मात्र सायद उनमा गम्भीरता देखिन्छ । उनलाई कहाँ कस्तो बेलामा रमाइलो गर्नुपर्छ राम्रैसँग थाहा रहेछ ।


हामी फ्रयांकफर्ट घुम्दै गर्दा त्यस दिन निकै गर्मी थियो । माइन नदी छेउ पुगेपछि मैले उनलाई केही बेर माइन नदीमा नौका विहार गर्ने हो कि भनेर प्रस्ताव गरें । तर, उनले नौका विहारको आनन्द लिनुभन्दा नजिकै रहेको ऐतिहासिक संग्रहालयमा गएर केही ज्ञान बढाउनु राम्रो हो कि भनेर आफ्नो ज्ञानको भोक देखाए । आनन्दको भोकभन्दा जान्नुको भोक धेरै भएका उनमा देश बनाउनुपर्छ भन्ने हुटहुटी प्रचुर रहेको देखेँ । हाम्रै जीवनकालमा आर्थिक प्रगति सम्भव छ भनेर बारम्बार त्यसको सम्भावना देखाइरहेको पाएँ । अबको दिशा भनेको आर्थिक क्रान्तिकै हो । देशमा आर्थिक विकास गर्नका लागि सबै देशको विकासको सूत्र एउटै हुँदैन । हरेक देशले अवलम्बन गरेका नीतिहरूमध्ये आफूलाई सुहाउँदा पक्षहरूलाई लिएर अघि बढ्नुपर्छ भन्ने विचार उनले व्यक्त गरे ।


रुस, फ्रान्स, बेल्जियम, जर्मनीलगायत केही देशहरूका संसद् र थिंकटयांकसँगको भेटघाट तथा अन्तक्र्रियामा पनि उनको गहिरो तयारी देखिन्थ्यो । भेटघाट क्रममा ती देशको राजनीतिक र विकास प्रक्रिया बारेमा उनीहरूकै मुखबाट सुन्ने उत्सुकता निकै रहेको देखियो । रुसका सांसदसँगको भेटमा त्यति विशाल साम्राज्य के कारणले ढल्यो (?) भनेर सत्तारूढ र कम्युनिस्ट पार्टीका सदस्यहरूसँग पनि सोधपुछ गरेका थिए ।


रुस र विशेषगरी अक्टोबर क्रान्तिका विषयमा गहिरो जानकारी राख्नु स्वाभाविक भए पनि विज्ञान, प्रविधि, विश्व राजनीति, भूगोल आदिका विषयमा जति पनि छलफल गर्न सकिने गरी जानकारी देख्दा मेरो मनमा उनीप्रति अझ श्रद्धा बढिरहेको थियो ।


मस्को र सेन्ट पिटर्सबर्गका संरचना हेर्दा उनले भनेका थिए, ‘यो देश भौगोलिक हिसाबले मात्रै ठूलो होइन कि यहाँका नेता र नागरिकमा हरेक चीजहरू विशाल बनाउनुपर्छ भन्ने सोच पनि पहिलेदेखि नै रहेछ ।’


उनको यो भनाइमा नेपालीहरूमा यस्तो सोच चाँडै आइदिए हुन्थ्यो भन्ने भाव झल्किरहेको देखिन्थ्यो ।
***

हरेक मानिसको आफ्नै दर्शन र विचार हुन्छ । शुभचिन्तकका रूपमा अमूक व्यक्तिले यही दर्शन बोकेर हिँडेको राम्रो भनेर इच्छा राखेर केही हुँदैन । तर, यस पटकको यात्रामा उनको दुई फरक विचारको मिश्रण भएको प्रत्यक्ष अनुभव गर्न पाएँ । उनले वर्षौं बोकेको कम्युनिस्ट दर्शनको रंगमा पुँजीवादी रंग घुलमिल हुन थालेको रहेछ । यदि कम्युनिस्ट दर्शनलाई एउटा रंग र पुँजीवादी दर्शनलाई अर्को रंग मान्ने हो भने डा. भट्टराईको दर्शन खैरो रंगमा परिणत हुँदै छ । र, यो रंग वर्षौंअघि लामो भूमिगत राजनीति त्यागेर उनीसहित माओवादी नेता सार्वजनिक हुँदा लगाएको एकैनासे खैरो रंगको पहिरनभन्दा बढी गाढा भएको मैले महसुस गरेँ । र, मलाई लाग्छ, यो रंगले उनमा देशलाई परिवर्तन गर्न हुटहुटीलाई अझ बढी परिपक्व बनाएको छ ।


टुंग्याउनीमा उनलाई भन्न मन लाग्यो, ‘डा. साहेब, तपाईंको परिवर्तित खैरो दर्शन देख्दा खुसी छु तर, अझै पनि पूर्ण सहमत छैन । यद्यपि मलाई यो पनि थाहा छ, बिरालो कालो होस् या सेतो, त्यसले केही फरक पार्दैन, त्यसले मुसा मार्छ कि मार्दैन भन्ने कुराले मात्र फरक पार्छ तर हिंसात्मक आन्दोलन र त्यसले गरेको जनधनको क्षतिका सम्बन्धमा पश्चात्ताप गर्नुपर्छ । क्षमाशील नेपाली जनताले अवश्य पनि क्षमा दिनेछन् । त्यसपछि तपाईंको राजनीतिक जीवनले अझ उचाइ लिनेछ । तपाईंको उचाइले देशको उचाइ बढाउन सघाउनेछ ।’

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?