२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

उनी थिए जीएस नेपाली

पात्र
मेरो धन हो स्वाधीन कलम
डा ध्रुवचन्द्र गौतम

काठमाडौँ —  लोकप्रिय लेखक प्रेमचन्द, जयशंकरप्रसाद, जानकीवल्लभ शास्त्री, रामधारी दिनकर आदिले समेत बारम्बार सराहना गरेका लेखक हुन्— जीएस अर्थात् गोपालसिंह नेपाली । उनले नेपाली, अंग्रेजी, हिन्दी, भोजपुरी भाषामा लेखे । काठमाडौंकी ‘मखना मैयाँ’ लाई बिहा गरे । तैपनि नेपाल–भारत दुवैतर्फ धेरै स्रष्टाका लागि अपरिचित र गुमनामझैं रहे— गोपालसिंह नेपाली ।

उनी थिए जीएस नेपाली

संवत् २०१४ सालतिरको एक अपराह्न । हामी धेरै जना वीरगन्जको ‘ब्यारेक ग्राउन्ड’ मा जम्मा भएका थियौं । त्यस बखत स्टेडियम थिएन । नगरका ठूल्ठूला खेलकुद त्यही ग्राउन्डमा आयोजित हुन्थे । त्यस दिन फुटबल म्याच थियो । मैले आफ्नो जीवनमा हेरेको खेल र खेलेको खेल फुटबल नै हो, अति बाल्यकालीन खेलबाहेक । खेल हेर्न बस्नेका लागि लाइन बनाइएको हुन्थ्यो, त्यसबाहिर बस्ने हो । फुटबल खेलमा एउटा लाइन्स–म्यान हुन्थ्यो । त्यसको मुख्य काम जोसमा आएर लाइन छुँदै बस्न पुग्ने दर्शकलाई हकार्दै हटाउनु नै हुन्थ्यो । त्यसको ‘हकार’ बेलाबेलामा म पनि पाउथें । किशोर वयका हामी बेलाबेलै जोसमा आउँथ्यौं स्वभावत: । आज कुनै खेलमा रुचि छ भने फुटबलमै बढी छ । यो रुचिको जरो खोज्ने हो भने वीरगन्जको त्यही ब्यारेक ग्राउन्डसम्म पुग्नुपर्ने हुन्छ ।


लिग, नकआउट सब हुन्थे । वीरगन्जको त्यो ग्राउन्डमा खेल्न चकिया, रमगढवा, बेतिया, मोतीहारी, मुजफ्फरपुर र पटनाबाट समेत खेलाडीहरू आउँथे । तिनको खेलकौशल चर्चा पनि हुन्थ्यो । ‘मेवालाल’ भन्ने नामी खेलाडी एक पटक आए, तिनको चर्चा पनि खुबै चल्यो । मुजफ्फरपुरबाट ‘लालबाबु’ भन्ने एक खेलाडी आएका थिए । तिनको उग्र चर्चा छाएको थियो जो धोती लगाएरै खेल्थे, तर छकाउनमा अद्भुत थिए । वीरगन्जका त एकएक खेलाडीको खेल र कला हामीलाई कण्ठै थियो ।


त्यस्तैमा एक दिन एउटा खबर आयो— यसपालि बेतियाबाट बमबहादुर भन्ने एउटा खेलाडी आएको छ, गज्जब खेल्छ रे ।


त्यो सुनेर म मुसुक्क हाँसें । यसकारण होइन कि म उसलाई चिन्दथें र उसको खेल मैले हेरेको थिएँ । साथीहरूले सोधे पनि— ‘किन हाँसिस् ? चिनेको छस् त्यसलाई ?’
मैले भनें— ‘त्यो गोपालसिंह नेपालीको भाइ हो, त्यसैले ।’


तिनको नाउँ थियो बमबहादुरसिंह नेपाली, आफ्नो उपनाम राखेका रहेछन्— ‘मगन’ । उपनाम सुन्दा त यी कवि हुनुपर्ने तर, उनको ‘कवित्व’ कहिल्यै पत्तो भएन । मेरा लागि उनको महत्त्व बरु गोपालसिंहका भाइ भन्नेमैं थियो ।


एसएलसी तहको नेपाली गद्यसंग्रहमा एउटा शीर्षक थियो, ‘कल्पना’ जसलाई गद्य–काव्य भनिएको थियो । त्यसमा रहस्यवादी तरिकाले एउटा लेख थियो जसमा कल्पना नामक कुनै पात्रलाई रोमान्टिक किसिमले सम्बोधन गरेर लेखिएको थियो । मैले त्यो गद्यांश नबुझे पनि, आफ्नै माने लगाएर धेरै पटक पढें पनि । गद्य लेखकको नाउँ थियो— गोपालसिंह नेपाली ।
त्यसैगरी एसएलसी पद्यसंग्रहमा पनि एउटा कविता संकलित थियो, जसको पहिलो पंक्ति थियो : त्यो नील गगन कस्तो होला ?
यो कविताको बिसौनी थियो : हाम्रो सावन कस्तो होला ?
यो पनि गोपालसिंह नेपालीकै रचना भएर म बारम्बार पढ्थें, यद्यपि यो कविता पनि मेरो कोर्सबाहिर थियो ।
हिन्दी पद्यसंग्रहमा पनि गोपालसिंहको एउटा कविता थियो, जसका केही पंक्ति मलाई त्यसै बेलादेखि कण्ठ थियो (खिन्नता के थियो भने यो कविता पनि कोर्समा राखिएको थिएन ।) :
‘कदम–कदम पर ताल दे रहा,
गरज–दमक हुँकार पलीता,
मरते हैं डरपोक घरों में,
बाँध गले रेशमका फीता
यह तो समर है, यहाँ मुठ्ठीभर
मिट्टी जिसने चूमी, जीता ।’
***

गोपालसिंह नेपालीमा मेरो रुचि किन भयो भने, उनी ‘नेपाली’ लेख्थे । उनी ठूला कवि हुन् भन्ने ज्ञान कसरी भयो भने, उनका कविता त्यस बखतको प्रख्यात हिन्दी पत्रिका ‘धर्मयुग’ मा छापिन्थे, जसका सम्पादक हिन्दीका त्यस्तै प्रख्यात साहित्यकार धर्मवीर भारती थिए ।


हाम्रो टोलमा, दुई जना हिन्दीका शिक्षक बस्थे, एउटा त हिन्दी–भोजपुरीका निकै राम्रा कवि थिए— रामदेव द्विवेदी ‘अलमस्त’ । उनको पनि बेतियामै घर थियो क्यार । उनका आफ्ना कविता त हामी सुन्थ्यौं नै, बेलाबेलामा अन्य चुनिन्दा कविका कविता पनि पाठ गरेर उनी सुनाउँथे । त्यसैगरी परमानन्द झा पनि आफू कवि नभए पनि, पत्रपत्रिकाबाट अरू हिन्दीका कविता पाठ गरेर सुनाउँथे । यिनीहरूकै मुखबाट मैले गोपालसिंह नेपालीका ‘धर्मयुग’ मा प्रकाशित दुई कविता सुनेको याद छ । जस्तो :
१.मृग–नयनी, पिक–बयनी
तेरे सामने बाँसुरिया झूठी है
रगरग में इतना रंग भरा
रंगीन चुनरिया झूठी है ।
***


२.मैके को चली जो डोली तो
बेदर्द कहारो ने लूटा
मेरी दुल्हन सी रातों को
नौ लाख सितारों ने लूटा ।
बदनाम हुए बटमार मगर
घर तो रखवारों ने लूटा
मेरी दुल्हन सी रातों को
नौ लाख सितारों ने लूटा ।
त्यही १३/१४ वर्षे उमेरतिर होला, ‘धर्मयुग’ मा छापिएका यी कविता सुनेको थिए । अलिक पछि मात्रै थाहा भयो— गोपालसिंहका यी दुई कविता ‘मेहफिल’ लुट्ने र श्रोताले अत्यन्त मुग्ध भएर सुन्नेमध्ये पर्ने रहेछन् ।


गोपालसिंहबारे केचाहिँ थाहा भयो भने उनको सम्बन्ध नेपालसँग छ अर्थात् उनी नेपाली भएरै ‘नेपाली’ लेखेका रहेछन् । तर भारत कसरी आए, बेतियामा कसरी बसे ? आदि, उनको पुख्र्यौलीसँग सम्बद्ध कुराहरू आजसम्मै थाहा भएन । उनका छोरी, भाइहरूले पनि बताएका छैनन् । अरूको के कुरा स्वयं गोपालसिंहले नै पनि यसबारे धेरै उल्लेख गरेको मैले देखिनँ । एउटै जानकारी पाएको हुँ, गोपालसिंहको विवाह काठमाडौंमा भएको थियो । विणा रानी नाम थियो श्रीमतीको, घरमा ‘मखना मैंया’ भनिन्थ्यो । तर, थातथलोको ‘डिटेल’ भने थाहा भएन ।


गोपालसिंहले आफ्नैबारे लेखिएका केही पंक्तिबाट उनी आफूलाई नेपाली नै मान्दछन् भन्नेचाहिँ बुझियो । उनले लेखेका छन् : ‘एउटा कुराको सम्झना भयो । देहरादून सर्दीका लागि प्रसिद्ध छ । तर जब गर्मी आउँछ, तब रातिराति खाटहरू चउरमा ओछयाइन्छन् । त्यस्तै समय थियो त्यो । रातको दुई–अढाई बजेको थियो । केहीबेर हाहु भइरहयो । पछि यसको स्थान कथा–कहानीले लियो । यस्तै समय पर पहाडको चुचुरामा । कोइली कुक्दथ्यो— कुक्कुकुक्कु, कुक्कुकुक्कु ! उता करौंदाजस्तो एउटा फल हुन्छ । हामी त्यसलाई आफ्नो नेपाली भाषामा ‘काफल’ भन्छौं । त हामी यस ‘कुक्कुकुक्कु’ को भाषान्तर अर्को किसिमले गथ्र्याैं । भन्थ्यौं, कोइली गाउँदछ— ‘काफल पाक्यो, काफल पाक्यो ।’ पाक्योलाई तपाईं ‘पक गया’, बुझ्नुस् । र, काफल पाक्छ पनि यसै समयमा । कोइलीको त्यो सन्देश (अर्थात् काफल पाक्यो) त्यो बाल्यकालमा हाम्रो क्रीडाको बडो प्यारो साधन थियो ।’


यो गोपालसिंह नेपालीकै आत्माभिव्यक्ति हो । यसमा केही अन्तर देखिन्छ, त्यो के हो ? तर हामीले बुझेअनुसार ‘काफल पाक्यो’ भन्ने चरो कोइली होइन, अर्कै छ । हुन सक्छ, नेपालीले आफ्नो कुरो हिन्दीका आफ्ना पाठकलाई बुझाउन यस्तो सजिलो उदाहरण दिएका हुन् ।


उनी नेपाल अर्थात् काठमाडौं आएका थिए । यो त उनीबाटै प्रमाणित हुन्छ । तर काठमाडौंमा आएर कहाँ बसे, त्यो थाहा हुँदैन । हो, बाटोमा नेपाली प्रकृतिको सौन्दर्य देखेर उनी मुग्ध र प्रेरित पनि भएका थिए, यो छर्लंग हुन्छ, उनैको भनाइबाट : ‘हिमाञ्चल, नेपाल र दार्जिलिङमा मैले जुन नयनाभिराम प्राकृतिक दृश्य देखेको छु, तिनको मैले यस कवितामा पाँच चरणमा कल्पनाको सहाराले उभ्याउने प्रयास गरेको छु । ‘वसन्त–गीत’ मा मैले वसन्तलाई एक नयाँ ढंगबाट हेरेको छु ।’


अर्को अनुपम छवि देखें, नेपाल जाँदा : रातको नौ बजेको समय छ । भर्खर पहाड उक्लेर थाकेर म एउटा पहाडी बंगलाबाहिर बसेर शान्ति र सौन्दर्यको खोजमा छु । १५ हात तल्तिर एउटा पहाडी खोलो भीम–वेगले बहिरहेको छ । चारैतिर अग्ला पहाडहरू ‘उचकी–उचकी’ (खुट्टाको पञ्जा बलले जुरुकजुरुक उभिनु) हेरिरहेका छन् । यत्तिकैमा चन्द्रोदय हुन्छ । चारैतिर दगुरीदगुरी चन्द्रमाका चञ्चल किरणहरू पहाडको ‘जोवन’ झल्काइदिन्छन् । मेरो कवि चकित, अवाक् मुग्ध र गदगद भएर चारैतिर दृष्टि फयाँक्छ, किन्तु चन्द्रमाको कतै पत्तो छैन ।’
गोपालसिंह नेपालीले आजभन्दा लगभग ७६ वर्षअगि लेखेका यी पंक्तिले उनले नेपाली प्रकृतिलाई कति आत्मसात् गरेका रहेछन्, त्यसबाट कति प्रेरित भएका रहेछन्— त्यो सहजै बुझ्न सकिन्छ ।
***

हिन्दी छायावादी कविमा सर्वोच्च मानिन्छन्— जयशंकर प्रसाद, सुमित्रा नन्दन पन्त र सूर्यकान्त त्रिपाठी ‘निराला’ । यिनको ‘त्रयी’ प्रसाद–पन्त–निराला भनेर प्रख्यात छ । पाठकहरूलाई अवश्य सम्झना होला, भारतीय विद्वान् पण्डित राहुल सांस्कृत्यायनले, हाम्रा महाकवि देवकोटालाई, एउटैमा ‘प्रसाद–पन्त–निराला’ रहेको भनेका थिए । तिनै प्रसाद–पन्त–निराला गोपालसिंहलाई कसरी मान्दथे, त्यो हेरौं ।
एक दिन बिहान ठूला कवि र गीतकार पं.नरेन्द्र शर्माले गोपालसिंह नेपालीलाई भने, ‘जयशंकरप्रसादसित परिचय छ ?’
नेपालीले भने, ‘अहँ, छैन ।’
‘त्यसो भए जाऊँ, म परिचय गराइदिन्छु ।’
एक बिहान दुवै जना प्रसादको घरमा गए । प्रसाद बाल्टिनबाट पानी खन्याईखन्याई हलुको कम्पित स्वरमा, गीत गुन्गुनाउँदै नुहाइरहेका थिए । नुहाईवरी सकेपछि धोती फेरेर प्रसाद नरेन्द्र शर्मा र नेपाली कुरिरहेको ठाउँमा आए । नमस्ते लेनदेनपछि उनले सोधे, ‘उहाँ को नि ?’
नरेन्द्र शर्माले मुसुक्क हाँस्दै भने, ‘उहाँ त्यो हो जसको गीत अगि नुहाउँदाखेरि तपाईले गुन्गुनाइरहनुभएको थियो, कवि गोपालसिंह नेपाली ।’
त्यसपछि जयंकशर प्रसादले गोपालसिंहलाई स्नेहसिक्त अंकमाल गरे । वास्तवमा, नुहाउँदा जयशंकर प्रसादले गुन्गुनाएको गीत थियो :
देहरादून के मधुर बेर
वन में मिलते हैं धेर ।
यो गीत त्यसबखत धेरैको जिब्रोमा झुन्डिएको थियो । गीतका अन्य पंक्तिहरू भाव र लयले भरिपूर्ण थिए । पन्त त झन् मुग्ध थिए नेपालीको कवितादेखि, लेखे :
‘तपाईंका कविताहरू मलाई प्रिय छन् । तिनको प्रतिभाको आलोकदेखि म धेरै अगिदेखि परिचित छु । तपाईंकी सरस्वती स्नेह, सहृदयता र सौन्दर्यकी सजीव प्रतिभा हुन् । तपाईंको कवि–कण्ठ, निर्मल निर्झर समाज अवश्य पनि मन्सुरीको बेंसीमा फुटयो होला । त्यसकारण तपाईंका रचनाहरूमा उन्मुक्त वातावरण र स्निग्ध आलाप पाइन्छ । तपाईंको भाषा यति मधुर, सरस एवं प्राञ्जल छ, कि त्यो तपार्इंको विशेषता बनेको छ ।’
निरालाले लेखे : ‘मलाई उनको शक्ति, प्रवाह, सौन्दर्यबोध तथा चारु–चित्रण एक विशेषताका साथ देखिए । गोपालसिंहजी, मेरो हार्दिक कामना छ, नेपालका प्रतिनिधि कविका हैसियतले राष्ट्रवादीताको पावन वीणा बजाउनुहोस् ।’
***

नेपालीलाई ‘गीतका राजकुमार’ भनिन्थ्यो । उनलाई कवि सम्मेलनमा कविता पढ्न निम्त्याउँदा, कतिले भन्थे—अब ‘कवि सम्मेलन सम्राट्’लाई आफ्नो कविता वाचन गर्न सादर निम्त्याउँदछु ।
गोपालसिंह नेपाली पहिलो पटक सन् १९३२ अर्थात् आजभन्दा ८६ वर्षअगि आफ्नो प्रारम्भिक कवि सम्मेलनमा कविता वाचन गर्न प्रयाग गए । उनले त्यहाँ ‘घाँस’ शीर्षकको कविता सुनाए :
यस्तै नै थ्यो, त्यस्तै नै छ मेरो आँगनमा हरियो घाँस
यो घाँस होइन, उम्रेको हो, मेरो जीवनको मधुर आस (अनूदित)
(प्रिय पाठक सहज हुने ठाउँमा नेपाली अनुवाद गर्दा उचित देखेकाले अनुवाद गरिएको हो, मूल भावना खजमजिएको देखिने ठाउँमा हिन्दी नै राखिएको छ ।)
त्यसदिन यो कविता सुनेपछि हिन्दी आख्यान–सम्राट् मानिएका प्रेमचन्द आफ्नो ठाउँबाट जुरुक्क उठेर गए, र गोपालसिंहलाई स्नेहपूर्वक अंकमाल गरे धेरै बेरसम्म, अनि त्यसपछि भनें, ‘बाबु, तिमीले त कविता आमाकै पेटदेखि सिकेर आयौ कि क्या हो ?’


एक्काईस वर्षका कलिला कवि, जसले दिग्गज–दिग्गज त्यसबखतका कविका साथ कविता पाठ गर्न पाउनु नै ठूलो हर्षको विषय थियो भने प्रेमचन्दजस्ता हिन्दीका महान् लेखकले त्यस्तो स्याबासी दिँदा, कति विभोर भए होलान् ?


गोपालसिंह नेपालीले त्यसपछि फर्केर हेर्नुपरेन । उनको लोकप्रियताको ‘ग्राफ’ आकाश छुने गरी बढयो । हिन्दी कविता वा गीतका राजकुमार, शाहज्यादा वा कवि सम्मेलन सम्राट् आदि सम्बोधन उनलाई त्यसपछि गरिन थालेको हो । अनि त्यसपछि हो— प्रसाद, पन्त र निरालासँगको साहचर्य । यी कवि र त्यसबखतका अन्य सबै कवि भन्थे, ‘गोपालसिंह नेपाली मेहफिल लुट्ने कवि हो, आफ्नाअघि अरू कसैलाई टिक्नै दिँदैन ।’


बच्चन, दिनकर, नीरज आदि धेरै लोकप्रिय कवि उनका समकालीन हुन् । सबै लोकप्रिय थिए, यसमा सन्देह छैन, तर गोपालसिंहलाई भने यी जति मान्यता दिएनन्, किन ? यो प्रश्न आज पनि कविहरू उठाउँछन् ।


एउटा कारण दिइन्छ, उनी फिल्ममा गए । सही रुपमा उनले हिन्दी फिल्मका गीतहरूलाई उठाएका छन् । प्रदीप, भरत व्यास, शैलेन्द्र साहिरजस्ता केही गीतकारले हिन्दी फिल्मी गीतहरूलाई जसरी स्तरीय बनाएका छन्, गोपालसिंह नेपाली यीभन्दा कम पनि छैनन्, यीभन्दा अलग उनको उचाइ थियो । त्यस बखतका दर्शक अनायास, गीतकार को हो भन्ने थाहा नपाए पनि गीतको मधुरताले तानेर गीत गुनगुनाउँथे, पछि थाहा हुन्थ्यो— यो गीतको गीतकार गोपालसिंह नेपाली हो ।


हाम्रो केटाकेटी बेलामा वीरगन्ज कुमाल टोलमा नाटकको ‘रिहर्सल’ चल्थ्यो । हामी पनि रमिते थियौं । त्यहाँ खाली समयमा सबै जना गाइरहन्थे, म पनि गाउँथें :
दर्शन दो घनश्याम नाथ मोरी अँखिया प्यासी रे...
त्यसबखत मलाई थाहा थिएन, यो भजन गोपालसिंह नेपालीले फिल्म ‘नरसी भगत’ का लागि लेखेका थिए । यसलाई मन्ना डे, हेमन्तकुमार आदिले गाएका हुन् । यसले लोकप्रिय लोक–भजनको रूप लिएको थियो । तैपनि उनी फिल्ममा टिक्न सकेनन् भने, त्यो उनको दोष होइन ।


गोपालसिंहले फ्ल्याट खरिदेका थिए, मलाड (बम्बई) मा । उनको गाडी थियो, सानसौकत थियो । तैपनि फिल्मी दुनियाँ महत्त्वाकांक्षाको दुनियाँ हो, यहाँ सबैजना सफल हुन सक्छन् भन्ने हुँदैन । गोपालसिंह नेपाली पनि गीतमा सफलतम थिए । तर, उनी फिल्म–निर्माण, निर्देशनतिर लागे । यहीं उनीद्वारा अलिकति भुल भएजस्तो देखिन्छ । तीन फिल्म बनाए गोपालसिंह अर्थात् जीएस नेपालीले । तीनै फिल्म (नजराना, नइ रायें, खुश्वु)का गीत हिट भए । तर, फिल्म असफल भए अनि, उनी आर्थिक रूपले सखाप भए । एउटा फिल्मको पोस्टर मैले कुनै बखत देखेको थिएँ, जसमा निर्माताका रूपमा जीएस नेपालीका साथ इन्दुशमशेर राणाको पनि नाउँ थियो । ती कहाँका थिए, को थिए— त्यो म जान्दिनँ ।
फिल्मी असफलता पनि उनको मृत्युको एक प्रमुख कारण बन्यो भनिन्छ । होइन भने कविता र गीतमा त तिनताक उनी साँच्चिकै ‘शहन्शाह’ नै मानिन्थे । कवि सम्मेलनमा जान अन्य खर्चबाहेक उनी १०१ रुपैयाँ अनिवार्य लिने गर्दथे । कहिलेकाहीं दुई सिफ्टमा पनि वाचन हुन्थ्यो भने २०२ रु लिन्थे ।
एक पटक एउटा रेलको डब्बामा एक भिखारिनीलाई जति गीत गाउँदै मागे पनि पैसा हात परेन । अनि उसले एउटा गीत रोजेर गाई :
रोटी न किसीको, किसिको मोतियो का ढेर
भगवान् तेरे राज में अन्धेर है अन्धेर
त्यसपछि त उसलाई पोल्टामा समेत नअटाउने गरी पैसा दिए श्रोताहरूले । त्यो गीत केटाकेटीमा म पनि गुनगुनाउने गर्थे । मेरा पिताजी पनि यो गीत सुसेल्नुहुन्थ्यो । गीतका रचयिता थिए, उनै जीएस नेपाली ।
एक पटक कवि सम्मेलनमा गोपालसिंह नेपालीले कविता पढेपछि उनीमाथि ‘असर्फी’ बर्सियो । (यो मिथ पनि हुन सक्छ ।) धनीमानी श्रोता थिए होलान् । यसको वर्णन एक अर्का कविले गरेका छन् । उनी भन्छन्, ‘म आफ्नो पालो पर्खेर बसेको थिएँ । मेरो हातमा पनि उहाँलाई बर्साइएको एक असर्फी परेको थियो ।’
***

हिन्दीका ठूला कवि र साहित्यकार जानकी वल्लभ शास्त्री भन्थे, ‘मिल्टन, सेली र किट्सका संगम हुन्— गोपालसिंह नेपाली ।’
एक पटक बेतिया जाने सडकमा दुई कोसदेखि मान्छे र बैलगाडाको ताँती देखेर कतै अन्तै गइरहेका एक यात्रुले अर्कासँग सोध्यो, ‘कहँवा जा तार हो, कतहुँ मेला बा का ?’ (कहाँ जाँदै छौ, कतै मेला छ कि ?)
गाडीमा चढेको वहलवानले भन्यो, ‘ना नेपालीजी के गीत सुने जाता लोग ।’
यो त दुई कोसको कुरा थियो । कविहरू भन्थे, उनको कविता सुन्न, दस–बीस कोसदेखि मान्छे आउँथे रे । रातभरि उनको कविता मन्त्रमुग्ध भएर सुन्थे र, बिहान भएपछि फर्कन्थे ।
प्राय: नेपालीको कविता पाठ सबैभन्दा पछाडि राखिन्थ्यो अरू कविभन्दा, किनभने कुनै बाधा–व्यवधानबिना रातभरि नेपालीले एकपछि अर्को कविता सुनाऊन् । यस्तो आग्रह, आयोजकभन्दा श्रोताहरूकै बढी हुन्थ्यो । कहिलेकाहीं, नेपालीलाई सुन्न आएका श्रोता ‘नेपाली नआउने रे’ भन्ने घोषणा हुँदा खिन्न मनले फर्कन्थे पनि, आएको खेर गयो भन्दै । त्यस्तो थियो—जादु । उनलाई मूल रूपमा प्रेम, सौन्दर्य र प्रकृतिका कवि मानिन्छ । तर, उनका कविता ओजस्वी र प्रगतिशील पनि छन् । उत्तर छायावादी कालका यी कविका :
१. मन की ज्योति प्राण की बाती
दीपक जलता रहा रातभर
२. सुनहरी सुबह नेपाल की
रूपहली गाम बंगाल की
३. पीपल के पत्ते गोलगोल
कहते रहते कुछ डोलडोल
***


४. निकै मिल्दाजुल्दा दुई लोक,
गगन पनि नील, नयन पनि नील (अनुवाद)
अर्कातिर यस्तो पनि छ :
दिन गए बरस गए
रोटियाँ गरीब की प्रार्थना बनी रही ।
अर्कातिर, उनी जति ‘गरिब कबि’बारे मैले पढेको छैन, कतै पनि । एक पटक एक कवि उनको कोठामा पुगेछन् । कोठामा खाट थिएन, ओछयान थिएन, तकिया थिएन । भुइँमा एउटा फाटेको पातलो सानो दरी, एउटा गिलास पानी खान । पढ्नलाई किताब अनि, तकिया पनि किताबकै बनाइएको थियो ।
तर उनी स्वाभिमानी थिए । दिनकर र बच्चन सत्ताको निकट थिए । दिनकर राज्यसभाका सदस्य हुँदा एक दिन नेपालीलाई भने रे—‘एक पटक दिल्ली आउनु न, केही गर्न सकिन्छ कि ?’ गोपालसिंह नेपाली त गएनन्, बरु एउटा कविता लेखे :
तिमी झैं लहरमा बग्दो हुँ त
म पनि सत्तामा पस्दो हुँ
इमान बेच्दै हिँड्दो हुँ त
म पनि महलमा बस्दो हुँ ।
***


तिमी राजनीतिमा मर्‍यौ
यहाँ लेख्नमा तल्लीन कलम
मेरो धन हो स्वाधीन कलम ! (अनुवाद)
­नेपालीको स्वाभिमान र यो कविताको आज पनि सम्झना गर्छन्—हिन्दीका स्वाभिमानी कविहरू । उनी उदार थिए । पैसा दिनुपर्ने ठाउँमा रुपैयाँ दिन्थे । गरिबी, निराशाबीच पनि उनको हास्य–चेत अद्भुत थियो ।
एउटा कवि सम्मेलनमा नेपालीले रोमान्टिक कविता सुनाएर खुब प्रशंसा पाए । एउटा कुरा भन्नुपर्छ यहाँ, उनको कण्ठको मधुरता पनि अद्भुत थियो रे । उनका कवितालाई लोकप्रिय बनाउनमा उनको स्वरको माधुर्यता पनि एक कारण थियो । उनी गाएर कविता पाठ गर्दथे । त्यस्तै सम्मेलनमा उनले पूरा ताली र वाहवाही बटुलेका थिए र, मञ्च पछिल्तिर विश्राम गरिरहेका थिए । त्यत्तिकैमा एक महिलाले उनीनिर आएर भनिन्, ‘नेपालीजी तपाईंको उमेर कति होला ?’
नेपालीले छक्क पर्दै भने, ‘पचासभन्दा केही बढी ।’
उनले भनिन्, ‘जुन मानिसको उमेर चालीसभन्दा बढी होस्, त्यसले यस्तो प्रकारको प्रेम कविता
लेख्नु हुँदैन ।’
वरपरका मान्छे नेपालीतिर हेर्न थाले । महिला विजय भावले गर्वोन्मत्त भएर हाँस्न थालिन् । त्यसपछि नेपालीले सोधे, ‘क्षमा गर्नुहोस् म्याडम, तपाईंको उमेरचाहिँ
कति होला ?
उनले भनिन्, ‘पैंतीस जति ।’
त्यसपछि नेपालीले भने, ‘म्याडम, जुन स्त्रीको उमेर तीसभन्दा माथि होस्, त्यसले यसरी हाँस्नु उचित हैन ।’ वरिपरिका बेस्सरी हाँस्न थाले । महिला मुख ढाक्दै त्यहींबाट पलायन भइन् रे ।
***

मैले यो लेख लेख्ने क्रममा भोजपुरी कविता गोपालसिंह नेपालीले लेखेनन् कि क्या हो भनेर सोचेको थिएँ । तर खोज्दा थाहा भयो, बेतियाको उक्त सम्मेलनमा उनले थालनी नै भोजपुरी कविताबाट गरेका थिए रे, त्यसैका केही पंक्ति :
रामनगर राजा नेपाली
मागन कबो ना लौटे खाली
इन्हा अजब कुछ माया बा
एही नदी में स्वर्ण दहेला
चम्पारण के लोग हँसेला ।
गोपालसिंह नेपाली वास्तवमा बहुमुखी प्रतिभाका धनी थिए । निबन्ध, कथा, संस्मरण पनि लेखेका छन् । हिन्दी त भइहाल्यो, नेपालीमा पनि लेखेका छन् । एक पटक एउटा किताब उनले कुनै अंग्रेजी विशेषज्ञलाई उपहार दिंदा अंग्रेजीमा लेखेर दिए । विशेषज्ञलाई थाहा थियो होला कि थिएन पनि होला, उनी म्याट्रिक फेल हुन् । भने, ‘तपार्इं हिन्दीको कवि भएर यस्तो राम्रो अंग्रेजी कसरी लेख्नुभयो ?’ नेपालीले हाँस्दै भने, ‘म अंग्रेजीमा पनि कविता लेख्छु ।’ तत्काल आफूले लेखेको एक अंग्रेजी कविता त्यो पनि गाएर सुनाए :
‘ओह ह्वाट ए वल्र्ड ! हेयर मनी फ्लाइज् एन्ड म्यान डाइज !
बिटविन टु पर्सन्स, सिल्भर क्वाइन्स आर द वन्ली टाइज
ए वेल ड्रेस्ट म्यान विथ वेल–प्रेस्ड लाइज इज एक्सेप्टेड एज वाइज
प्रेजेन्ट–डे ‘लाइफ मिन्स नन–स्टप फाइटिङ एगेन्सट लायर्स एन्ड लाइज’ !
अंग्रेजीको उनको कवितामा जति पनि आधुनिक यथार्थ पाउन सक्छौं । अर्थ के हो भने उनलाई चलनचल्तीअनुसार केवल ‘उत्तर छायावादी’ कवि मात्र भनेर पुग्दैन ।
हामी धर्ती र आकाश बदल्ने मान्छे हौं
हामी कवि हौं, हामी त इतिहास बदल्ने मान्छे हौं । (अनुवाद)
***

यस्तो लेख्ने कविले साँच्चिकै हिन्दी कविताको इतिहास बदल्ने काम त आफ्नो समयमा गरेकै हुन् । तर, यिनले आफ्नो आर्थिक इतिहास भने जति गर्दा पनि बदल्न सकेनन् । आज जुन घर (बेतिया) मा उनी जन्मेका थिए, त्यो घर जाने बाटोको नाउँ ‘गोपालसिंह नेपाली पथ’ राखिएको छ । तर, विडम्बना हेरौं, त्यो घर भने उनकै समयमा पन्ध्र सय रुपैयाँ तिर्न नसकेर लिलाम भयो । ‘घर जाने बाटो मेरो हो, घर भने मेरो होइन’ भन्दा कस्तो लाग्ला ? आज नेपाली जीवित भएका भए, उनले यही भन्नुपथ्र्यो— योभन्दा अझ काव्यात्मक भाषामा ।
गोपालसिंह नेपालीको जन्ममा ११ अंकको निकै संयोग छन् । हेरौं— जन्म सन् १९११, अगस्त ११, राति ११ बजे, कृष्णाष्टमीका दिन । पछि हामी देख्नेछौं, उनको मृत्यु पनि ११ बजे नै भएको थियो तर दिनमा ।


कृष्णाष्टमीमा जन्मेकाले उनको नाउँ गोपाल राखियो । उनले आफ्नो कविताको थालनी ११ वर्षकै उमेरमा गरे भन्ने पनि छ । १६ वर्षतिर भने खुलेर आए । आफ्नो घर अगिल्तिरको चउरमा कविता लेखे, फुटबल खेले । कुशल खेलाडी बने, गोपालसिंह र उनका सुरुमा उल्लेख गरिएका भाइ बमबहादुर पनि ।
सरल हृदय तर स्वाभिमानी, यी हिन्दीका बहुमुखी प्रतिभाशाली कविको एक दिन अचानक, दु:खद र मार्मिक निधन भयो ।
उनका किंवदन्ती कैयौं छन् जीवनका । मृत्युका पनि छन् । त्यसअनुसार भागलपुर स्टेसन नम्बर २ मा उनका हजारौं प्रशंसक उनको स्वागतमा जम्मा भएका थिए । स्टेसनमा गाडी रोकियो । तर, रेलको डब्बाबाट कवि गोपालसिंह होइन, उनको शव पो निस्कियो ।


सम्भवत: यही किंवदन्ती आधारमा साहित्यकार/सम्पादक नगेन्द्रराज शर्माले मसँग भनेका होलान्, ‘ऊ त देवदासजस्तै मर्‍यो रे, होइन ?’
यसरी त हो । तर रविन–शा पुष्प जो गोपालसिंह नेपालीका निकटका मित्र र राम्रा कहानीकार थिए, उनका अनुसार त्यस्तो थिएन । नेपाली प्रसन्न मुद्रामा भागलपुरको प्लेटफर्म–२ मा बसेका थिए । कुनै क्षण उनी आफू बसेको बेन्चबाट उठे । केही कदम हिँडे पनि । त्यतिकैमा उनी एक्कासि लर्बराएर ढले ।
त्यसपछि उठेनन् ।
उनको देहान्तपछि भारतका राष्ट्रकवि रामधारी दिनकरले श्रद्धाञ्जलीमा मार्मिक र व्यंग्यात्मक
कविता लेखे :
तिमीले दियौ देशलाई जीवन
देशले तिमीलाई के देला
आफ्नो आँच जगाउनलाई
मात्र नाउँ तिम्रो लेला ।
(अनुवाद)
राजकीय सम्मानसाथ तिरंगा झन्डा ओढाएर उनको शवयात्रा गरियो । आवाल–वृद्ध सबै गरेर बीस हजारभन्दा बढीको शोकाकुल समूह त्यहाँ थियो ।


यसको सबैभन्दा मार्मिक र करुण पक्ष के थियो भने टिकटको पैसा नभएर उनकी श्रीमती छोरी र परिवारको कुनै सदस्य बम्बईदेखि भागलपुर आउन सकेन । कसैले सहायता पनि गरेन । रविन शा पुष्पलगायत अन्य केही लेखक–कविले दागबत्ती दिए । यसरी ती कवि पञ्चतत्त्वमा विलीन भए । एक त्यस्तो कविको यस्तो अवसानको गाथा सुन्दा कुनै पनि संवेदनशील व्यक्तिलाई कस्तो लाग्ला ?

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?