देश सम्झेर नाति

पुस्तकवार्ता*

काठमाडौँ — पाँचथर, मिक्लाजुङमा जन्मे–हुर्केका नरेश माङपाहाङको कवि–लेखक चिनारी भिन्न छ— नरेश नातिका रूपमा । पेसाले बेलायती गोर्खा सैनिकका लाहुरे नरेशले आफ्नो जागिर र अनुभूतिका अनेकन क्षणलाई कथाका रूपमा ल्याएका छन्, ‘देश बिर्सेर’ नाममा ।

धेरैका लागि सपनामयीजस्तो लाग्ने सैन्य पेसा र जीवनका सजिलाभन्दा अप्ठ्यारा प्रसंग कथाहरूभित्र छन्, नरेशले आफ्नो माटो/मुलुक छाडेर गएपछिको स्मृति–विस्मृति पनि कथामा उत्रिएका छन् । सैन्य जीवनका अनुभव–अनुभूति भिन्न रूपमा आए पनि यसरी आख्यानका रूपमा भने निकै कम लेखिएको थियो, यस अर्थमा नरेशले सराहनीय काम गरेका छन् ।


कथासंग्रहका टिप्पणीकार महेश पौड्यालका बुझाइमा ‘अर्कै मुलुकमा बसोबास गर्नु भनेको एउटा सभ्यता, संस्कृति, सामाजिक मूल्य र मान्यता र परिवेशबाट टाढिनु र कुनै बिरानो मुलुकको परिवेशलाई स्वीकार गर्नु हो । यस स्थितिमा पहिचान खण्डित हुन्छ मान्छेको, न सजिलै उताको हुन सक्छ, न यताको नै रहिरहन सक्छ । यो हुनु र नहुनुबीच अल्झिएका आप्रवासीहरूको स्वअस्तित्वको खोजी पनि यस कथासंग्रहले गरिरहेको छ ।’ तर, कथा लेखनमा कहीं–कतै नियात्राजस्तो र संस्मरणजस्तो लेखाइ पनि नरेशले मिसाएका छन् ।

Yamaha

‘अफगानिस्तान’ कथामा नरेशले २०११ अप्रिल २१ देखिको अफगानिस्तान कथा बुन्ने हुँदा हुबहु नियात्राजस्तो विवरण समेटेका छन् । यो आफैंमा रोचक छ, तर कथाभन्दा पृथक् ।
रत्न पुस्तक भण्डारले प्रकाशित गरेको संग्रहको नाम शैली, विषय र कथानकका आधारमा ‘देश बिर्सेर’ होइन, ‘देश सम्झेर’ हुनुपर्नेजस्तो लाग्छ । ११४ पृष्ठको पुस्तकको मूल्य १९९ रुपैयाँ छ ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रिय आकिता र पियानो

स्मृति
किशोर गुरुङ

काठमाडौँ — जीवनमा कति सन्दर्भ, कुरा र पात्रहरू निकै महत्त्वका हुन्छन् । सधैं सम्झनामा रहिरहे पनि समीक्षा गर्ने र केलाउने फुर्सद मिलिरहेको हुँदैन । जापानी नागरिक यसोहिरो आकिता यस्तै मूल्यका पात्र थिए जो पियानोको कर्ड र ट्युनिङमै रमाइरहे । अघिल्लो महिना झन्डै ८० वर्षे उमेरमा उनको निधन भएपछि मात्रै आकिताको सम्झना धेरैले गरे । र, मैले पनि सम्झिरहें— समवेदनामा ।

पहिलो पटक २०२५ सालितर यसोहिरो आकिता जापानबाट नेपाल आएका थिए । नेपालप्रति यिनको गहिरो माया थियो । नेवार समुदायको पाटनबासी लक्ष्मीसँग आकिताको विवाह भयो र एउटा छोरा छ— तोरा । आकितासँग मेरो भेट पाँचतारे होटल याक एन्ड यतीमा भएको थियो । होटलले राखेको पियानोको सुर (तारहरू) कस्न आकिता आएका रहेछन्, र काम सिध्याएपछि नारायणगोपालले गाएका गीतहरू पियानोमा बजाइराखेका रहेछन् ।


याक एण्ड यतिमा आवतजावत क्रममा मैले आकिताले बजाएको पियानो सुनेको थिएँ । नेपाली गीत यति प्रस्ट बजाएकोमा कृतज्ञता पनि जनाएको थिएँ । त्यसअघि आफनो गितारबादनमा रुची भएको भन्दै आफ्नो परिचय दिएको थिएँ । आकिताले ‘तुरुन्तै तपाईंसँग भेट्न चाहेको थिएँ’ भनेर मलाई आश्चर्यमा पारेका थिए । त्यही भेटबाट हाम्रो लामो मित्रताको सुरुआत भयो । आकिता पियानोवादक मात्र थिएनन्, उनी पियानोको सुर कस्ने काम पनि गर्थे । कुरा के भने पियानोवादक आफैंले पियानोको तार कसेर सुर मिलाउने काम गर्दैनन् वा यो सीप सिकेकै हुँदैनन् । यो तकनिकी काम ‘पियानो टयुनर’ ले मात्र गर्छ । यो अवस्था विश्वभरि कायम छ । अब यो पृष्ठभूमिलाई केही प्रस्ट पार्दा आकितालाई बुझ्न केही सजिलो हुन्छ भन्ने लाग्छ ।


नेपालमा पियानो राणाकालीन समयमा भित्रिएको हो । जसरी राणाहरूले गाडी भरियाको काँधमा बोकाएर भित्र्याएका थिए, त्यसरी नै पियानो पनि काँधमा बोकाएरै भित्र्याएका थिए । राणाकालीन समयमा पियानो सम्भ्रान्त नेपाली परिवारका सदस्यहरूले मात्रै बजाउँथे । मलाई केही थाहा भएसम्म राणाकालीन समयमा काठमाडौं वसन्तपुरनिवासी एक नेवारले सुरुवातमा पियानो–गुरुको काम गरेका थिए । त्यसबारे उप्रान्त बिस्तृत कुरो थाहा छैन तर, के थाहा छ भने त्यसताकाको आयात गरेको पियानोको नोटेसन किताबहरू आजसम्म पनि केशर पुस्तकालयमा सुरक्षित छन् ।


साधारणत: गितार, भायोलिन, तबला, सारंगी, मादल आदि बाजाको सुर वादक आफैंले मिलाउँछन् तर किबोर्ड बाजाहरू जस्तै— हार्पसिकोर्ड, अरगन, हारमोनियम, पियानो आदिका तार अरूले नै मिलाउने गर्छन् । गितारमा ६ वटा र कुनैकुनैमा ७ वा १२ वटा तार रहेका हुन्छन् भने सितारमा २०, २१ वटा तार हुन्छन् । पियानोको हकमा यी संख्या बढेर २२० वा २४० पुग्छ । ग्रीसमा छैटौं शताब्दीमा बाँचेका पाइथागोरसले आवाजबारे वैज्ञानिक अध्ययन सुरु गरेपछि हरेक युगले यसबारे नयाँ आयाम थपेको अवस्था छ । वैज्ञानिक हिसाबले सुर कस्ने काम गणितसँग गाँसिएको छ । खुला तारमा जुन स्वर बज्छ, त्यस तारको ठीक मध्यमागमा थिच्दा त्यही स्वर माथिल्लो सप्तकमा (केही पातलो भएर) बज्छ । यसरी नै अरू स्वरहरूको विभाजन निम्नअनुरूप हुन्छ ।


छोटो उदाहरण राख्न चाहन्छु । ६४ सेमिको तारको आधा भाग ३२ सेमि हुन्छ, यो सर्वविदितै छ । ग स्वर ४/५ भागमा पर्ने हुनाले क्रमश: तीनपल्ट हिसाब निकाल्दा ३२ सेमिको बदला ३२–७६८ को संख्या निक्लन्छ ।


६४/५–१२.८ . ५१.२, ५१.२/५–१०.२४ . ४०.९८, ४०.९६–८.१९२ . ३२.७६८
हुनुपर्ने संख्या ३२ सेमि मात्र हो, ३२.७६८ होइन ।


‘पहिलो घण्टी’ नामकरण गरेको चिनियाँ शास्त्रले के निचोड निकालेको छ भने ब्रह्माण्डमा कुनै पनि कुरो ठीक र बराबरीमा छैन, त्यसैले सांगीतिक स्वरहरू पनि बराबर नभएको हो । यो कुरो बेग्लै हो कि चीनले ३२ पटक सुर कस्ने नयाँनयाँ प्रयासहरू गरेको छ (आज हामी कहाँ छौं भन्ने सन्दर्भमा) । अब पियानो तारको सुर कस्दा यसप्रकारका गुणत्वहरूको जानकारी साथै अनुभवको पनि आवश्यकता परेको हुन्छ ।


नेपालमा पहिले पहिले भारतबाट कुनै एक पियानो टयुनर काठमाडौं छिरेर (काठमाडौंबाहेक अरू कहाँ पियानो थियो होला र ?) आफ्नो सेवा प्रदान गर्ने गरेका रहेछन् । दूरदर्शी राजा महेन्द्रले दरबारमा रहेको पियानो कमलादीमा रहेको प्रज्ञाप्रतिष्ठानलाई अनुदान दिएपछि त्यो पियानो त्यहाँ कार्यरत मेरो बुवा अम्ब्र गुरुङले बजाउनुहुन्थ्यो र, बेलाबखत भारतीय टयुनर उपलब्ध नभएको बेला ‘पियानो बेसुर भएको’ जिकिर गर्नुहुन्थ्यो । पछि प्रसिद्ध ज्याज पियानोवादक लुई ब्यांकस् (नेपाली नाम डम्बरबहादुर बुढापिर्थी) को बुवा जर्ज ब्यांकस्ले प्रज्ञा प्रतिष्ठानलगायत होटल र एम्बेसीहरूमा रहेको पियानो ‘टयुन’ गर्नुहुन्थ्यो । यो कुरो त मलाई प्रस्ट थाहा छ, कारण म उहाँसँगै पनि संगीत सिक्थें । उहाँको देहान्तपछि नेपालमा पियानो टयुनरको आवश्यकता खड्किरहेको समयमा आकिता प्रकट भएका थिए । आकिताले केही नेपालीलाई पियानो टयुन गर्ने सीप सिकाए तर उनी भन्थे, ‘ट्युनिङ गर्न सधैंभर नि:शुल्क सिकाउँदा पनि केही समयपछि नै यो सीप सिक्न छाडे ।’


आकिता पियानोबाहेक फुकेर बजाउने ‘रेकर्डर’ पनि बजाउँथे । यिनले एकपल्ट जीवनयापनको निम्ति थाङ्का व्यवसाय पनि सुरु गरेका थिए । यिनले पछि विशेष प्रकारको जापानी मसाज गर्ने विधि(सोताइ) नेपाल भित्र्याए र, सो व्यवसाय आज उनको परिवारले झम्सिखेलमा चलाइराखेको छ ।


आकिता भन्थे, ‘संगीत गहिरो विषय हो र, यसका निम्ति निरन्तरको अभ्यास–एकाग्रता चाहिन्छ । यो कुरो जापान वा नेपाल वा जहाँ पनि उही हो ।’
एकदिन मैले सोधेको थिएँ, ‘तपाईं कसरी संगीतसँग आबद्ध हुनुभयो ?’


‘मेरो घर परिवारमा पियानो बजाउनु एउटा गृहकार्य झैं थियो र, यसमा मलाई आमाले विशेष प्रोत्साहन दिनुहुन्थ्यो । अनि, जापानमा ठूलाठूला पियानोवादकको कन्सर्ट सुन्न पाउँदा म प्रेरित भई अभ्यासमा अरू दृढ भइ लाग्ने गरेको थिएँ,’ आकिताको जवाफ थियो, ‘लोकप्रिय पियानोवादकको कन्सर्टपछि उनीहरूसग हात मिलाउँदा पनि म अति हर्षित हुन्थें र, अहिले आएर बुझ्दा त्यसो गर्नु पनि सिकाइका क्रममा निकै महत्त्वपूर्ण हुँदो रहेछ ।’


आकिताजीले मलाई जहिले पनि प्रोत्साहन दिइरहेका हुन्थे र, भन्थे, ‘संगीतबारे लेख्ने काम पनि गर्नुहोस् है ।’ त्यही प्रोत्साहनका कारण मैले अंग्रेजी र नेपालीमा प्रकाशन हुन गइरहेको ‘संगीतको आवश्यक शब्दकोश’ को भूमिकामा आकितालाई ह्दयदेखि धन्यवाद टक्र्याएको छु । यी सह्दयी, सहयोगी आकिताको गत महिना मात्रै निधन भएको खबर मैंले ढिलो गरी सुनें ।


आज आकिता हामीबीच नरहे पनि हामीमाझ रहेसरह अनुभूति भइरहन्छ । अलविदा आकिताजी !

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT