कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘सबै पुरस्कार दोषरहित हुँदैनन्’

कुराकानी

काठमाडौँ — पाल्पा, गोठादी मूलघर भएकी नीलम कार्की ‘निहारिका’ केही वर्षयता अमेरिकावासी बनेकी छन् । ‘मौन जीवन’ (२०५१) उपन्यासबाट साहित्यिक चिनारी बढाउन थालेकी नीलमका कथा, कविता, उपन्यास गरेर एक दर्जन प्रकाशित कृति छन् । उनको गत वर्ष प्रकाशित ‘चीरहरण’ र यो वर्षको ‘योगमाया’ उपन्यास विषयवस्तुको ऐतिहासिकता, नयाँपन र खोजका कारण पनि निकै चर्चामा छन् ।

‘सबै पुरस्कार दोषरहित हुँदैनन्’

अझ यस पटक ‘योगमाया’ उपन्यासका लागि मदन पुरस्कार पाएपछि नीलमको साहित्यिक नाम–काम चुलिएको छ । आफूलाई ‘पूर्णकालिक लेखक’ भनेर चिनाउन चाहने र हाल अमेरिकाको नर्थ क्यारोलिना बसोबास गरिरहेकी नीलमसँग गरिएको छोटो साहित्यिक संवाद :

‘चीरहरण’ र ‘योगमाया’ लेखन गर्दा बढी अध्ययन–अनुसन्धान केमा गर्नुपर्‍यो ? आफूलाई कुन बढी ऐतिहासिक र आधारसम्मत लाग्यो ?
‘योगमाया’ लेख्नुपूर्व छरिएर रहेका आधारभूत सामग्रीहरू, लेखरचना भेला पारें । तत्पश्चात् स्थलगत अध्ययनका लागि योगमायाको जन्मस्थल भोजपुर पुगेर विभिन्न सरोकार सम्बद्ध व्यक्तिहरूसँग भेट/अन्तर्वार्ता गरें ।
‘चीरहरण’ भने मुख्यतया सेकेन्डरी (द्वितीय) स्रोतमा आधारित हो । घरमै बसेर अध्ययन गरें र वर्तमान बाँचेको समाजसँग तादात्म्यता गरी हेरें । ‘योगमाया’ नेपालको एक इतिहास हो । उत्खनन गरेर नेपालकै माटो र परिवेशमा मैले त्यसलाई पुनर्लेखन गरें । ‘चीरहरण’ का निम्ति भने महाभारतका ठेली साथै अन्य सन्दर्भ पुस्तकहरू पढें । अध्ययन त दुईमै गर्नुपर्‍यो तर ती दुई पृथक् थिए । ऐतिहासिक हिसाबमा म ‘योगमाया’ लाई बढी लिन्छु ।

अधिकांश लेखकहरू आफ्नो लेखनको मूल्यांकन र पुरस्कारको छनोटमा निष्पक्षता छैन/रहन्न भन्छन् । तपाईं प्रवासमा रहेर र लगातार मूल्यांकनमा परेर पनि गुनासो लिएरै बस्नुभएको छ ?
लेखनको मूल्यांकन गर्ने सर्वप्रथम पाठकले हो । कहिलेकाहीं पाठकहरू अलि हल्लाले प्रभावित हुने भए पनि त्यो टिक्ने कुरा होइन । एकदुई पटक झुक्किएर पुस्तक पसलसम्म पुग्नेका निम्ति मात्रै त्यस्तो हल्लाखोर कामको अर्थ रहन्छ । होइन भने पाठक त निरपेक्ष हुन्छन् नै । रहयो, पुरस्कारको कुरा । आफूले प्राप्त नगर्दासम्म त्यसको निष्पक्षतामाथि प्रश्न उठाउने अनि, प्राप्तिपछि ‘निर्णय उत्तम थियो’ भनिनु हुँदैन । स्थापित पुरस्कारहरू तमाम् छन् । सबै दोषरहित या प्रभावरहित छन् भन्न सक्दिनँ । तर, यसो भन्दैमा सबैलाई प्रश्न उठाउन पनि सक्दिनँ । म आफैं मोती पुरस्कार नपाउनेमा पर्छु । तर, मैले कहिल्यै गुनासो गरिनँ । निर्णयको आफ्नै सीमा हुन्छन् भन्ने मलाई लाग्छ ।

अहिले कतिपय पाठक र समीक्षकको तपाईंमाथिको मूल्यांकन कृति, लेखन वा शैलीभन्दा पनि ६३ वर्षको इतिहासमा ‘मदन पुरस्कार पाउने चौथी नारी लेखक’ का रूपमा भइरहेको छ । यो लैंगिक मूल्यांकनको अर्थ कत्तिको छ ?
सिर्जनालाई लैंगिक कित्तामा उभ्याएको त मलाई पटक्कै सहय हुँदैन । सिर्जना सिर्जना हो । त्यसमाथि लैंगिक र भूगोलको आधारमा पुरस्कृत भएको अवस्थामा स्वयम्को हृदयलाई स्वीकार्य पनि हुँदैन । तर, २०१३ सालदेखिको लामो मदन पुरस्कार इतिहासमा बल्ल चार महिला सर्जकले प्राप्त गरे भन्ने हिसाबमा यसरी चर्चा भएको होला ।

‘योगमाया’ पात्रको छनोट किन र कसरी गर्नुभयो ? नेपाली समाजमा इतिहासको गर्तमा हराएका यस्तै अरू पात्रहरू कत्तिको छन् ? तपाईंले अरू पात्रमाथि कुनै सोधखोज थाल्नुभएको छ ?
रेडियो नेपालमा मैले साहित्य संसारमा काम गर्न प्रारम्भ गर्दैदेखि (२०५३–५६) मेरा गुरु दाहाल यज्ञनिधि हुनुहुन्थ्यो । (गत साउन २५ गते उहाँ दिवंगत हुनुभयो ।) मैले गत वर्ष ‘चीरहरण’ कृतिका लागि पद्मश्री पुरस्कार पाएपछि मलाई ‘योगमाया’ लेख्ने गृहकार्य/अभिभारा दिनुभएको थियो, यज्ञनिधिज्यूले । त्यस्तै, अमेरिकामा रहेका भाइ केशव ज्ञवालीले पनि मलाई यसबारे निकै पटक सुझाएका थिए ।


हामीले शासकले लेखाएको स्तुतिलाई अक्सर इतिहास भनेर पढ्दै आएका छौं । त्यहाँ जनताको सही इतिहास पक्कै हुँदैन नै । हो, माटोमा जन्मिएका बलिदानीजनको इतिहास हामीले माटोमै टेकेर लेख्नुपर्छ । अन्यथा सही इतिहास पहिल्याउन धेरै ढिला हुनेछ । तर, योगमायाजस्तै पात्रको सोधीखोजी भइरहे पनि तत्काल लेखनका निम्ति अहिले विषयगत सोच र योजना बनाइसकेकी छैन ।

यस पटक मदन पुरस्कारको उत्कृष्ट आठमा परेका कृतिको तपाईंको आफ्नो मूल्यांकन कस्तो रह्यो ?
गुठीलाई प्राप्त पुस्तकमध्येबाट आठ छानिएका हुन् । निर्णायकमण्डलले विभिन्न क्राइटेरियामा बसेर निर्णय गर्नुभएको होला । पोहोर फागुनसम्म ‘योगमाया’ लेखनमै व्यस्त थिएँ, अहिले भने विद्यावारिधिका निम्ति प्रारम्भिक अध्ययनमा अलि समय खर्चनुपरेको छ । दु:खसँग भन्नुपर्दा मैले सबै पुस्तक पढिसकेकी छैन ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?