एक युगको अन्त्य

फुटबल
मैदानभित्र रोनाल्डो र मेसीले व्यक्तिगत र टोलीका लागि उपाधिको ओइरो नै ल्याए । यसले विश्व फुटबलको पछिल्लो एक दशक स्पेनले वर्चस्व जमाउन सफल रह्यो ।
सुबास हुमागाईं

काठमाडौँ — रोनाल्डो जति खेलाडीका रूपमा सफल छन्, मैदानबाहिर पनि उनी त्यति नै सफल । मेसी पनि यो क्षेत्रमा कम छैनन् तर दुवैलाई तुलना गर्ने हो भने रोनाल्डो धेरै अगाडि छन् । रोनाल्डोले व्यापारिक क्षेत्रमा पनि हात हालेर आफ्नो ब्रान्ड स्थापित गराइसकेका छन् । उनले फुटबलर मात्र नभएर एक सुपरमोडलको रूपमा पनि आफूलाई स्थापित गराउन सफल भएका छन् ।

एक युगको अन्त्य

विश्व फुटबलमा पछिल्लो एक दशक लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डोको वर्चस्व कायम रहयो । व्यक्तिगत प्रदर्शनले तमाम दर्शकको वाहवाही पाएको यी दुई खेलाडीले रियल म्याड्रिड र बार्सिलोनाको परम्परागत प्रतिद्वन्द्वितालाई आधुनिक परिचय नै दिए । रियल र बार्सालाई नयाँ युगमा प्रवेश गराएका यी दुई खेलाडीले आफूलाई सर्वकालीन महान् खेलाडीको सूचीमा पनि बलियो दाबेदारी प्रस्तुत गरे । जति फाइदा रियल र बार्सिलोनाले लिए, त्यति नै फाइदा यसबीचमा स्पेनी फुटबलले पनि प्राप्त गर्‍यो ।


सन् २००९ मा रोनाल्डो रियल म्याड्रिड पुग्दा मेसी बार्सिलोनाको पहिलो रोजाइमा नियमित पर्न थालिसकेका थिए । ब्यालोन डि’ओर जितेर विश्व कीर्तिमानी रकममा रियल पुगेका रोनाल्डोको आगमनले सोही उपाधिको उपविजेता मेसीलाई आफ्नो प्रदर्शन सुधार गर्न दबाब पर्‍यो । रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि ५३ खेलमा २६ गोल गर्दै प्रिमियर लिग र लिग कप जितेका थिए भने च्याम्पियन्स लिग फाइनलमा मेसीसँग पराजित भएका थिए । त्यसक्रममा मेसीप्रेरित बार्सिलोनाले लिग उपाधि, घरेलु कप र च्याम्पियन्स लिग जितेको थियो ।


रोनाल्डोको आगमनले मेसीलाई आफ्नो प्रदर्शन अझै सुधार्न दबाब पर्‍यो । मेसीले त्यसपछि लगातार ४ सिजन ब्यालोन डि’ओर कब्जा गर्ने क्रममा बार्सिलोनाका लागि सन् २००९–१० सिजन देखि ४७, ५३, ७३ र ६० गोल गरे । रोनाल्डोले पहिलो सिजनमा ३३ गोलमा चित्त बुझाए पनि त्यसपछिका ६ सिजनमा आफ्नो गोलसंख्याको अर्धशतक कटाएर छाडे । मेसीको लगत चार ब्यालोन डि’ओरको सिलसिला तोड्दै रोनाल्डोले लगातार २ उपाधि जिते । मेसीले २०१५ मा रोनाल्डोलाई रोक्दै उपाधि जिते पनि त्यसयता फेरि दुई उपाधि आफ्नो नाम गर्दै रोनाल्डोले समग्रमा ५ उपाधिमा मेसीसँग बराबरी गरेका छन् । पछिल्लो १० वर्ष ५–५ उपाधि जितेका दुई खेलाडी अब एकै लिगमा छैनन् ।


रुसमा गत महिना आयोजित विश्वकप दौरान पोर्चुगल र अर्जेन्टिना क्वाटरफाइनलसम्म पनि पुग्न सकेनन् । व्यक्तिगत रूपमा पनि दुवै मेसी र रोनाल्डोले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोलीको नतिजामा प्रत्यक्ष असर परेको थियो । क्लबबाट खेल्दा हासिल गरेको सफलताको तुलनामा राष्ट्रिय टोलीबाट दुवैले कमै जस पाउने गरेका छन् । रोनाल्डोको कप्तानीमा सन् २०१६ मा पोर्चुगलले युरोपेली च्याम्पियनसिप जित्नुले रोनाल्डो यस पक्षमा अगाडि छन् भन्ने ठाउँ छ तर उक्त प्रतियोगितामा रोनाल्डोको प्रदर्शन उनको स्तरले सन्तोषजनक थिएन । यता मेसी भने अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्न नसक्दा आजित नै भइसकेका छन् । उनकै कप्तानीमा सन् २०१४ को विश्वकप फाइनलमा पराजित अर्जेन्टिना कोपा अमेरिकाको पछिल्लो दुई संस्करणमा फाइनलमा पराजित भएको छ । दुवै पटक चिलीले टाइब्रेकरमा अर्जेन्टिनाको आशालाई निराशामा बदलेको थियो । उनले सन् २०१६ को फाइनलपछि त अन्तर्राष्ट्रिय करिअरबाट संन्यास नै घोषणा गरेका थिए, जुन पछि फिर्ता भयो ।


मैदानभित्र रोनाल्डो र मेसीले व्यक्तिगत र टोलीका लागि उपाधिको ओइरो नै ल्याए । यसले विश्व फुटबलको पछिल्लो एक दशक स्पेनले वर्चस्व जमाउन सफल रहयो । पछिल्लो एक दशकमा युरोपेली च्याम्पियन्स लिगमा रियलले ४ तथा बार्सिलोनाले ३ पटक उपाधि जिते । युरोपा लिगमा पनि पछिल्लो एक दशक ६ उपाधि स्पेनमा आयो जसमा सेभिया र एटलेटिको म्याड्रिडले ३–३ पटक उपाधि हात पारे । स्पेनले सन् २००८ र २०१२ को युरो कपसँगै सन् २०१० को विश्वकप पनि जित्यो । यी सबै प्रतियोगितामा स्पेनको राष्ट्रिय टोलीबाट रियल र बार्सिलोनाका खेलाडीको वर्चस्व रहेको थियो । यो सफलता प्राप्त गर्न लगातार क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेको लयले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहयोग पुगेको आँकलन गर्न सकिन्छ ।


मेसी र रोनाल्डो हालसम्म आधिकारिक खेलमा ३५ पटक आमनेसामने भएका छन् । यसक्रममा मेसीले रोनाल्डोको टोलीविरुद्ध १६ पटक जितेका छन् भने १० पटक रोनाल्डोको टोली विजयी रहेको छ । मेसीले रोनाल्डोको टोलीविरुद्ध २२ गोल गर्दा रोनाल्डो १९ पटक मात्र सफल भएका छन् । पछिल्लो पटक रोनाल्डो र मेसी ला लिगाअन्तर्गत बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा आमने सामने भएका थिए । २–२ को बराबरीमा टुंगिएको उक्त खेलमा दुवै खेलाडीले गोल गरे । दुवै खेलाडी एकै लिगमा खेल्दा मेसीले ४ सय ७६ खेलमा ३९ हयाट्रिकसहित ४ सय ७२ गोल गरे । ठीक यस समयावधिमा रोनाल्डोले ४ सय ३८ खेलमा ४४ हयाट्रिकको मदतले ४ सय ५० गोल गरे । सधैं चर्चामा रहने यी दुई खेलाडी अब एकै लिगमा नहुँदा विश्व फुटबलले एक युग अन्त्य भएको आभास गरेको छ ।


रुसमा विश्वकप चलिरहँदा रोनाल्डोले रियल म्याड्रिड छाडेर युभेन्ट्स जाने हल्ला सुरु भएको थियो । त्यसको केही दिनमै रोनाल्डो युभेन्ट्स जाने औपचारिक घोषणा नै भयो । विश्व फुटबलको महाकुम्भ चलिरहँदा पनि रोनाल्डोबारेको टिप्पणीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राम्रो स्थान पाएको थियो । यसले पनि रोनाल्डोको लोकप्रियता कुन हदसम्म छ भन्ने प्रस्ट पार्छ ।


रोनाल्डोको प्रस्थानपछि रियलको समर्थकहरू नयाँ खेलाडीको प्रतीक्षामा छन् । रियल म्याड्रिडले पछिल्लो समय ठूलो खर्च गरेको छैन । सामान्यतया सिजनको एक पटक मोटो रकम खर्चने म्याड्रिडले पछिल्लो दुई सिजन खुलेर खर्चेको छैन । क्लबले यस पटक रोनाल्डोको अनुपस्थिति परिपूर्ति गर्नकै लागि भए पनि मोटो रकम खर्चिनुपर्ने देखिन्छ । आक्रमणमा करिम बेन्जेमाको विकल्प पनि खोज्ने बेला भइसकेको छ ।


ठीक उल्टो बार्सिलोनाले भने आफ्नो टोलीलाई अझै बलियो पार्न खुलेर खर्चेको देखिन्छ । क्लबले आन्द्रेस इनिएस्टाले क्लब छाडेपछि आर्टुरो भिडाल र आर्थरको रूपमा दुई स्तरीय मिडफिल्ड टोलीमा थपिसकेको छ । यसले पनि अब स्पेनिस लिगमा केही समय समर्थकहरूको अपेक्षा कम हुन सक्छ । मेसी र रोनाल्डो आमने सामने नहुँदा लिगको लोकप्रियतामै पनि असर पर्ने सम्भावना रहन्छ । बार्सिलोनाले त्यसअघि नेयमारको स्थान परिपूर्ति गर्न उस्मान डेम्बेले ल्याएकोमा यस पटक माल्कमलाई पनि साथ दिन भित्र्याएको छ । फिलिपे कोउटिन्होको आगमनले टोलीमा झनै नयाँ विकल्प र सम्भावना ल्याएको छ ।


ला लिगाको पहिलो खेलमा रियल म्याड्रिडको ९० हजार दर्शक क्षमता सान्टियागो बर्नाबाउमा झन्डै ४८ हजार दर्शक मात्र उपस्थित थिए । यो संख्या पछिल्लो एक दशककै सबैभन्दा कम हो । यो असर रोनाल्डोको प्रस्थानको नतिजा हुन सक्छ । मैदानभित्र पनि रोनाल्डोको स्थान ग्यारेथ बेल, मार्को एसेन्सियो र इस्कोले लिने अपेक्षा गरिएको छ । यी तीनमध्ये बेल त्यसका लागि उचित भए पनि उनले सार्वजनिक रूपमै आफू रोनाल्डोको स्थान लिनेभन्दा पनि आफ्नै स्थान बनाउन अग्रसर रहेको बताएका छन् ।


यता रोनाल्डो युभेन्ट्स गएदेखि इटालियन लिगको चर्चा चुलिएको छ । विगतमा बल्लबल्ल टिकट बिक्ने क्लबहरू युभेन्ट्सविरुद्धका खेलमा टिकट रकम बढाएर पनि अहिले नै टिकट ’सोल्ड आउट’ भएको सूचना टाँस्न थालिसकेका छन् । रोनाल्डो युभेन्ट्स पुगेको पहिलो साता क्लबले प्रतिमिनेट एक जर्सीको दरले रोनाल्डोको नाम अंकित जर्सी बेचेको थियो । यति मात्र हैन रोनाल्डोको आगमनसँगै युभेन्ट्सको सेयर मार्केटमा ३० प्रतिशतले भाउ बढेको छ । सामाजिक सञ्जालमा युभेन्ट्सको लोकप्रियता हालसम्मकै उच्च स्थानमा छ र यसले रोकिने कुनै संकेत देखाएको छैन ।


रोनाल्डो युभेन्ट्स जानुले फुटबल मात्र हैन मैदानबाहिर पनि सबै पक्षलाई फाइदा पुग्ने देखिन्छ । इटालीमा रोनाल्डोको व्यक्तिगत बजार, युभेन्ट्सको प्रभाव र इटालियन लिगको लोकप्रियता सबैलाई फाइदा पुग्छ । मैदानभित्र रोनाल्डोको उपस्थितिले युभेन्ट्स च्याम्पियन्स लिगको खडेरी तोड्ने लक्ष्यमा छ । लगातार घरेलु उपाधिमा वर्चस्व जमाएको युभेले च्याम्पियन्स लिगमा अधिपत्य जमाएको रोनाल्डोबाट सोही उपाधि आस गरेको छ । रोनाल्डोको आगमनले इटालियन फुटबल र युभेन्ट्सलाई जति फाइदा हुन्छ ठीक विपरीत स्पेनिस लिग र रियल म्याड्रिडलाई भने रोनाल्डोको प्रस्थानले असर भने पारेको छ । आउने दिनमा यसको लेखाजोखा हुने नै छ ।


अब आम समर्थकले मेसी र रोनाल्डो आमनेसामने भएको हेर्न च्याम्पियन्स लिग कुर्नुपर्ने हुन्छ । विश्व फुटबलकै सबैभन्दा बहुप्रतीक्षित खेल मानिने एल क्लासिको पनि केही फिका हुन्छ । मेसी यस सिजन युरोपको शीर्ष ३ खेलाडीमा अटाउन सकेनन् । रोनाल्डो भने विगत एक वर्षदेखि लगातार सो सूचीमा समावेश हुँदै आएका छन् । ३३ वर्षीय रोनाल्डोले रियल छाडेर युभेन्ट्स जानुले पनि उनले अब आफ्नो करिअरको अन्त्यमा नयाँ आयाम ल्याउन खोजेको बुझिन्छ । उनले अहिले ४ वर्षको सम्झौता गरेका छन् जसले उनलाई सन् २०२२ को विश्वकपसम्म पुर्‍याउनेछ । मेसी पनि अर्को विश्वकप खेल्ने धुनमा छन् । दुवै खेलाडी उक्त लक्ष्यसम्म पुग्लान नपुग्लान् त्यो हेर्न बाँकी छ ।


विश्व फुटबलमा आशालाग्दा प्रतिभा उदाउने क्रम जारी छ । ब्राजिलका नेयमार, बेल्जियमका इडेन हाजार्ड, इंग्ल्यान्डका हयारी केन तथा फ्रान्सका फरवार्डद्वय किलियन एमबाप्पे र एन्टोइन ग्रिज्मन हाल चर्चाको शिखर चढ्ने क्रममा छन् । मेसी र रोनाल्डो करिअरको उत्तराद्र्धमा आउँदा नयाँ प्रतिभा आफ्नो प्रभाव जमाउन तत्पर छन् । मेसी र रोनाल्डो एकै लिगमा नहुँदा पनि दुई खेलाडीबीचको प्रतिद्वन्द्विता कायम रहन्छ नै । युभे र बार्सिलोना युरोपका महान् टोलीमध्येमा नै पर्छन् । एकै लिगमा प्रतिस्पर्धा नभए पनि दुवै खेलाडी व्यक्तिगत रूपमा राम्रो खेलेर टोलीको सफलतामा मुख्य पाटो बन्ने नै छन् । तर, रोनाल्डोको इटालियन लिग प्रस्थानले आधुनिक फुटबलको एउटा युगलाई भने पूर्णविराम लगाएको छ ।

@SubasTheOne

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?