२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जकार्ता डायरी

यात्रा
माटोमा खेलेर एकै पटक म्याटमा खेल्दा पदक होइन, अनुभव मात्र आउँछ । पदक ल्याउन त्यहीअनुसारको पूर्वाधार पहिला बनाउनु जरुरी हुन्छ नै । यो अनुभूति भइरहयो ।
किरण पाण्डे

काठमाडौँ — जकर्ताको संस्कृत नाम ‘जयकृत’ हो अर्थात् जय भनेको सफलता कृत भनेको आर्जित हो । इन्डोनेसियाको राजधानी जकार्ता मुख्य रूपमा प्रशासनिक र व्यापारिक नगर हो । आठ लेनभन्दा माथिका रोड, वरिपरि हरियाली वातावरण र गगनचुम्बी महलहरूले जाकर्तालाई भव्य सहरको रूपमा चिनाएको छ ।

जकार्ता डायरी

जनसंख्या हिसाबमा संसारमै पाँचौं ठूलो राष्ट्रमा पर्ने इन्डोनेसियाको जकार्ता र पालेङ्गबाङ्ग सहरमा यसपालि १८ औं संस्करणको एसियाली खेलकुद सम्पन्न भएको थियो । यसको एक साक्षीका रूपमा म पनि जकार्ता पुगेको थिएँ, एक तस्बिरकर्मीका रूपमा ।


विश्वकै ठूलो मुस्लिम समुदायको बसोबास रहने इन्डोनेसियामा हिन्दु धर्म मान्नेहरू पनि प्रशस्तै छन् । इतिहासमा इसापूर्व चौथो शताब्दीताका यहाँका बासिन्दा हिन्दु धर्म मान्थे । त्यसपछिको करिब दुई हजार वर्ष हिन्दु राज्यसत्ता यहाँ रहयो । त्यो समयमा इन्डोनेसियाको चीन र भारतसँग बढी व्यापारिक सम्बन्ध थियो । साथै अन्य विदेशी मुलुक पनि
आफ्नो प्रभाव जमाउनमा लागेका थिए ।


यही बढ्दो प्रभावकै कारण मुस्लिम व्यापारीहरू पनि आफ्नो व्यापार विस्तार गर्न इन्डोनेसिया छिरेका थिए । व्यापार पनि अघि बढयो, धर्मको प्रभाव पनि देखियो । यसको सीधा असर हिन्दु धर्ममा पर्न गयो । फलस्वरूप एउटा सिंगो देशमा धार्मिक रूपान्तरण भयो, इस्लामिक राज्यका रूपमा ।


जकार्ता, बालीजस्ता सहरमा घुमिरहँदा कतिपय व्यक्ति, ठाउँ, कम्पनीको नामहरू पनि संस्कृत भाषामा लेखिएको छ । इन्डोनिसयाको राष्ट्रिय ध्वजाबाहक गरुडा एयरलायन्स पनि संस्कृत भाषाबाटै राखिएको नाम छ । अहिले पनि विद्यालय र कलेजमा रामायणको पढाइ हुन्छ । मुस्लिम समाज भए पनि त्यति कट्टरता देखिंदैन, बुर्काको त्यति फेसन देखिएन ।
आश्चर्य लाग्ने गरी यत्रतत्र बिरालाहरू देखिए—बाटो, घर, होटल सबैतिर । कुकुर भने देखिएन, धर्मको ‘हराम’ प्रतीक भनेर हो कि ? जब साँझ पर्छ, सडकमा बग्रेल्ती रेस्टुरेन्ट खुल्न थाल्छन् । मेनुमा सी फुडको बाहुल्य भए पनि खानामा गुलियो हाल्ने स्वाद उति ‘टेसिलो’ थिएन । त्यहाँको परिचित खाना भनेको ‘नासी गुराङ्ग’ हो जुन हाम्रो हिसाबमा बिरयानीजस्तै हो । खानाको स्वादको कुरा आफ्नै ठाउँमा छ । बिल तिर्ने बेलामा भने सातै जान्थ्यो । किनकि त्यो हजारमा होइन, लाखमा हुन्थ्यो, ‘रुपियाँ’ को कम भाउका कारण । ‘टिप्स’ मै १० हजारभन्दा बढी रुपैयाँ जान्थ्यो । रेस्टुरेन्ट र्छिनासाथ पछि लाग्दै बाजाधारीहरू आइहाल्थे । रात्रिकालीन जीवन उस्तै रौनक थियो । डान्स–बार, बियर–बार र डिस्कोले रातैभर स्वागत गरिरहन्थ्यो ।
***

१८ औं एसियाली खेलकुद आयोजना हुने स्थल यति भव्य थियो कि एउटा देशले खेलकुदलाई कति प्राथमिकतामा राखेको छ भन्ने छर्लङ्गै हुन्थ्यो । सडकमा बसेर स्क्रिनमा हेर्दै होस् वा कभर्डहलमा, स्थानीय दर्शकहरू खेलाडीको हौसला बढाउन कुनै कन्जुस्याइँ गर्दैन्थे । लाग्थ्यो— राज्यले विकास निर्माण, स्वास्थ्य, शिक्षासँगै खेलकुदलाई पनि एकैसाथ लगेको छ । एसियाली खेलकुदको मलाई लागेको सबैभन्दा सुन्दर पक्ष यसलाई सफल बनाउन खटिएका स्वयंसेवीहरू थिए । झन्डै १३ हजार ५ सय स्वयंसेवी दिनरात नभनी खटिएका थिए ।
एसियाली खेलकुदको त्यो संरचना देख्दा ‘यहाँबाट जुन हिसाबमा तयारी गरेर त्यहाँ पुगेका हाम्रो खेलाडीले धन्न खेलेका छन्’ जस्तो लाग्थ्यो । पूर्वाधारबिना नेपाली खेलकुद आखिर कहिलेसम्म धानिन्छ र ? माटोमा खेलेर एकै पटक म्याटमा खेल्दा पदक होइन, अनुभव मात्र आउँछ । पदक ल्याउन त्यहीअनुसारको पूर्वाधार पहिला बनाउनु जरुरी हुन्छ नै । यो अनुभूति भइरहयो ।


२९ वटा खेलमा भाग लिएको नेपालले पहिलोपटक समावेश प्याराग्लाइडिङमा रजत पदक जितेर धन्न पदकविहीन हुनबाट जोगियो । एउटै ‘फिल’ भएको कुरा के भने नेपालले यति धेरै विधा ओगटेर आखिर एसियाडजस्तो खेलमा किन उतार्छ ? नेपालले एसियाको महाकुम्भमा पदक जित्ने सम्भावना भएका निकै थोरै मात्रै खेल छन् । बरु त्यही खेलमा अलि बढी लगानी गरे पदक थपिन सक्छ ।


जकार्ताको भव्य ‘ट्राफिक जाम’ एकातिर थियो । त्यसलाई घटाउन झन्डै तीन साता चलेको एसियाली खेलकुद दौरान सवारी साधनमा जोर–बिजोर लगाइएको थियो । नेपालले पदक जित्ने आशा गरिएका कतिपय खेलहरू तेक्वान्दो, कराँते, उसु र कुस्तीमा क्यामरा सोझ्याउँदा–सोझ्याउँदै नेपाली खेलाडीको हार शृंखला सुरु भइसकेको हुन्थ्यो । उनीहरू निरीहजस्तै देखिन्थे । नेपालमै तयारी नपुगेको पो हो कि ? राजनीतिक सिकारको नतिजा पो हो कि ? खेलाडी प्रदर्शनले पनि यस्तै उत्तर दिइरहेको देखिन्थ्यो । भन्र्नैपर्छ— खेलाडीले खेल्नै नसक्नै भने होइन । अनु अधिकारी, चञ्चला दनुवार र रीता कार्की पदकको नजिक पुगेर हारेका थिए । आपसी झैझगडा र कलहमा अल्झिनुभन्दा यी खेलाडीलाई समय दिएको भए पदक आउँथ्यो कि भन्ने अहिले आएर पदाधिकारीलाई लाग्दो होला ।


ट्राफिक जाम छिचोलेर खेलस्थल पुग्नु पनि ठूलै उपलब्धि हुन्थ्यो । कतिपय खेलस्थलमा पुग्दापुग्दै खेल सकिसकेको हुन्थ्यो । त्यसमा नेपाली खेलाडी क्षणभरमै पराजित भइसकेका हुन्थे ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?