साहित्यमा ‘बुबाको मुख’

अनुभूति
कोमलप्रसाद फुयाल

काठमाडौँ — भगवान्ले आइतबार भनेको आरामका लागि बनाएका हुन् भनेर बाइबलमा भनिए पनि कवि हेडनका बा यो कुरालाई बेवास्ता गर्छन् । उनी आफ्नो परिवारको संरक्षण सर्वोपरि ठान्छन् । विद्यालय जाने बेलामा आफ्ना जुत्ता पनि पालिस गरिदिने बाप्रति कृतज्ञता व्यक्त गर्न भुलेकोमा उनी थकथकी मान्छन् ।

साहित्यमा बालाई एउटा विशिष्ट अवधारणाका रूपमा प्रयोग गरिएको पाइन्छ । हुन त साहित्य लेखनमा आमालाई सबैले संवेग र भावुकतासँग जोडेर प्रयोग गर्ने गरेको पाइन्छ । तर, बाका बारेमा पनि उत्तिकै काव्यिक विमर्श भएको पाइन्छ । बालाई एउटा बहुआयामिक अवधारणाको रूपमा साहित्यमा विभिन्न कोणबाट बुझ्ने प्रयत्न गरिएको देख्न सकिन्छ ।


यस आलेखमा बामाथि लेखिएका तीनवटा पश्चिमेली अंग्रेजी कविता थियोडोर रोथ्केको ‘माई पापाज् वाल्ज’ (मेरा बाको नृत्य, १९४८), रवर्ट हेडनको ‘दोज विन्टर सन्डेज्’ (ती हिउँदका आइतबारहरू, १९६२) र सिल्भिया प्लाथको ‘डयाडी (बा, १९६२) र नेपाली कवयित्री नीरा शर्माको ‘बा (२०१६)’ माथि समीक्षा गरिएको छ । रोथ्के र हेडन काव्यिक अभिप्रेरणा स्रोतको रूपमा बालाई जीवन रूपान्तरणको केन्द्रका रूपमा प्रस्तुत गर्छन् भने प्लाथ र शर्मा बालाई क्रमश: नकारात्मक र सकारात्मक शक्ति स्रोतका रूपमा उभ्याउँछन् । दुवै कविलाई बा शक्तिका परम स्वरूप हुन भन्ने लागेको छ । फरक एउटै मात्र के हो भने प्लाथले बाको संरक्षण नपाएको हुनाले सम्पूर्ण पितृसत्ताको संरचनाविरुद्ध विद्रोह गरेकी छन् भने शर्मा ‘बा पनि यसै सिर्जनाका अंश हुन्’ भन्ने मान्यता राख्छिन् ।

Yamaha


बा एउटा बहुआयामिक अवधारणा हुन् । रोथ्केका बा सामान्य न्यून वर्गका रक्स्याहा पात्र हुन् । टन्न रक्सी पिएर कामबाट फर्किएका बाको मुखबाट स्वासमार्फत आउने गन्धले नै एउटा बच्चालाई नशा लाग्ने भए पनि रोथ्के आफ्ना बाको कमिजमा झुन्डिएर ओछयानसम्म जान्छन् । उनको स्मृतिमा भएका बाले उनको शरीरका हरेक कोषलाई रोमाञ्चित पार्छन् । उनका बाको नृत्यले उनमा सञ्चार गराएको प्रेम र आध्यात्मिक जागरणलाई झल्काउँछ । बाको नृत्य उनका लागि काव्य सिर्जनाको स्रोत बन्छ । त्यस्तै हेडन आइतबारका दिन सबैले विश्राम लिइरहँदा आफ्ना बाले गरेका ‘आभारविहीन’ काम सम्झन्छन् । आफूले आफ्ना बालाई अपरिपक्वताका कारण बुझ्न नसकेको कुराप्रति खेद व्यक्त गर्छन् । भगवान्ले आइतबार भनेको आरामका लागि बनाएका हुन् भनेर बाइबलमा भनिए पनि हेडनका बा यो कुरालाई बेवास्ता गर्छन् । उनी आफ्नो परिवारको संरक्षण सर्वोपरि ठान्छन् । विद्यालय जाने बेलामा आफ्ना जुत्ता पनि पालिस गरिदिने बाप्रति कृतज्ञता व्यक्त गर्न भुलेकोमा उनी थकथकी मान्छन् । यही चेतनाले उनमा काव्यिक ऊर्जा पलाउँछ र, बालाई प्रतीक मानेर कविताको स्वरूप ग्रहण गर्छ ।


सिल्भिया प्लाथ उनका बालाई एकदमै क्रूर शासकको रूपमा चित्रण गर्छिन् । उनी आफ्ना बालाई पितृसत्ताको अन्तिम अवशेष, दमन पराकाष्टाको प्रतीक जोड्दै हिटलर तानाशाह समकक्षी मान्छिन् । प्लाथलाई आफ्ना बालाई मार्ने (सम्मको) रहर छ तर उनका बा अत्यन्त, सशक्त रूपमा हिटलरको समकक्षी कदमा उदाइरहेका हुन्छन् । किनभने यहुदी शरीरजस्तै नारी शरीरमा अत्याचारका कथा लेख्न र नात्सी शासकले यहुदीको छालाको ल्याम्पसेड बनाए जस्तै आफ्नो अहम् शान्त पार्न सक्ने शक्ति उनले आफ्नो नियन्त्रणमा राखेका छन् । प्लाथ सम्पूर्ण पुरुषलाई एउटै शृंखलाका ससाना अंशका रूपमा हेर्दछिन् । उनी हरेक पुरुषलाई बाका अनेक आवरणका रूपमा लिन्छिन् र प्रत्येक पुरुष पितृसत्ताको फरक अभिव्यक्ति हो भन्ठान्छिन् । यस अर्थमा, प्लाथलाई बा भन्नु नै पितृसत्ताको अन्तिम प्रतीक हो ।


प्लाथ मान्दछिन्— बा नै समाजमा शक्ति अभ्यासका अन्तिम सेतु हुन् । यो सेतुलाई प्रतिस्थापन गर्नका लागि उनी आफ्नो काव्यिक ऊर्जा उत्सर्ग गर्छिन् । र, विद्रोही चेत पूर्ण रूपमा बाका विरुद्ध खन्याउँछिन् । तर, प्लाथले मार्न चाहेका बा उनमा बल, बैंस चढ्नुअघि नै मरेका हुनाले उनको जैविक बासँगको अगाध श्रद्धा र बाले प्रतिनिधित्व गर्ने सम्पूर्ण सामाजिक संरचनाप्रति उनको विद्रोह कविता सिर्जनामा देखिएको छ । कविताको अन्तिम पंक्तिमा उनले भनेकी छन्, ‘बा, बा, तिमीलाई बास्टर्ड, भो मलाई पुग्यो !’


त्यस्तै नीरा शर्माका बा रोथ्के वा हेडनका बाजस्तै भद्र छन्, उनी संरक्षण वृत्तिका परम उदाहरण हुन् । आफ्नो जीवनमा संघर्षशील यी बा कसैले ‘आफूलाई बुझ्छ वा बुझ्दैन’ भन्ने कुराभन्दा निकै माथि उठेर आफ्नो कर्तव्य मार्गमा चलिरहन्छन् । ‘भित्रभित्रै आफ्नो योगदानलाई गर्वको प्रतिमाजस्तै पालेर बस्ने तर बाहिरी दुनियाँले पहिचान गर्न पूर्ण रूपमा अस्वीकार गरेको’ एक तिरस्कृत अनुहार हुन् । शर्माले इतिहासको मूल प्रवाहमा बिर्सिएका बालाई केन्द्रमा राखेर ब्युँताउने कम गरेकी छन् ।


रूपगत पक्षबाट हेर्ने हो भने जम्मा १६ पंक्ति, ४ हरफ, ८५ शब्दमा लेखिएको रोथ्केको ‘माई पापाज् वाल्ज’ मा छोराले आफ्नो बाल्यकालीन स्मृति उधिनेको छ जहाँ रक्स्याहा बासँग गरेको अन्तक्र्रिया केन्द्रमा आएको छ । भान्छामा भाँडाकुँडा खस्दा आमाको बिग्रिएको अनुहारले आमाले बाप्रति अभिव्यक्त गरेको घृणालाई संकेत गरेको छ ।


‘भान्छाको दराजबाट भाँडाहरू नखसुन्जेल हामी उफ्रिन्थ्यौँ’ भन्दै आफूलाई बासँग एकाकार गर्ने रोथ्केभन्दा अत्यन्त फरक रूपमा हेडन देखा पर्छन् । १४ पंक्ति, ३ हरफ, ९७ शब्दमा लेखिएको उनको ‘दोज विन्टर सन्डेज’ बाप्रति उनका सन्तानले गर्ने बेवास्ताको पराकाष्टा उदाहरण हो । हो, हेडनले आफ्नो बाल्यकालमा नबुझेको कुरा नै उनका बाको दीर्घ रिस हो । बाले उनको जीवनमा पुर्‍याएको योगदानलाई कर्तव्यबोधको समीपमा आफूलाई पाउँछन् ।


प्लाथको ८० पंक्ति, १५ हरफ, ५१२ शब्दमा लेखिएको कविता ‘डयाड्डी’ मा आफ्ना बाप्रतिको अनुपम प्रेम पोख्ने क्रममा पूर्ण रूपमा विपरीत भावका विम्ब, प्रतीक र अलंकार प्रयोग भएको छ । उनको जीवनको उद्देश्य बालाई मार्नु थियो तर उनका बा उनले मार्न सक्ने हुनुभन्दा अगाडि नै मरिसकेका रहेछन् ।


यस्तै, ७४ पंक्तिमा शीर्षकबाहेक २४१ शब्द खर्चेर कवयित्री नीरा शर्माले लेखेको ‘बा’ कवितामा आमालाई पृष्ठभूमिमा राखेर बाबाको भूमिकालाई सरल–सहज भावमा उतारिएको छ । नारीवादी सैद्धान्तिक चेतनाले साहित्यिक कृतिको विश्लेषण र छलफल हुने हाम्रो युगमा पुरुषलाई इतिहासको मानकका रूपमा स्थापित गर्ने गरिएको छ ।


त्यसविरुद्ध गरिने विद्रोहलाई स्वाभाविक मानिने परम्पराका भिन्न कित्तामा आफूलाई उभ्याउँदा उनलाई ‘पितृसत्ताकी पुल्पुलिएकी, उत्ताउली छोरी’ भन्ने आरोप पनि सहजै लगाउन सकिन्छ । तर, शर्माले आफूलाई निकै फरक धारमा उभ्याएकी छन् । रोथ्केको रोमाञ्चक र प्रेरणादायी बा, हेडनका कर्तव्य परायण बा र प्लाथका क्रूर बाभन्दा अत्यन्त फरक किसिमका बाको तस्बिरलाई शर्माले यस कवितामा उतारेकी छन् । यो छोटो कवितामा रूप, भाव र संयोजन पक्षलाई हेर्दा उनले पितृसत्तालाई ‘पुरुषको व्यवसायभन्दा परको विषय हो’ भनेर स्विकारेकी छन् । बालाई पितृसत्ताको उत्तराधिकारी मान्न अस्वीकार गर्दै ‘बालाई सत्ताले निर्माण गरेको उत्तरसंरचनावादी प्रतीक’ का रूपमा अभिव्यक्त गरेकी छन् ।
कविताको सुरुमा नै कवयित्री शर्मा कविताको वक्ता ‘म’ मार्फत एउटा दैनिक जीवनको सामान्य सत्यलाई पाठकसामु प्रस्तुत गर्छिन् । उनी भन्छिन्— आमालाई भावनात्मक रूपमा साहित्यले प्रस्तुत गर्‍यो, इतिहासले आमाको उत्सव मनायो, राज्यलाई आमाको विम्बका रूपमा चित्रित गरियो । शर्मा लेख्छिन् :

‘मैले धेरै पढें
आमाका वेदनाका कथाहरू
तर कहिल्यै पढिनँ
बाका अनुहारमा सलबलाएका
दु:खका बक्ररेखाहरू
धेरै पटक कविहरूले
आमाकै तारिफमा कविता कोरें
आमाकै गीत–संगीत भरें
आमालाई धर्ती भन्नेहरूले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा सधैं ओझेल परे ।’

आफ्नो समीपमा प्रत्यक्ष दर्शन हुने कुराको मात्र उत्सव मनाइने हुनाले बा सधैं ओझेलमा परेका हुन् भन्नका लागि शर्मा दैनिक जीवनको एउटा तीतो यथार्थलाई विपरीत जोडीका रूपमा उभ्याउँछिन् । उनी भन्छिन्, ‘आमालाई धर्ती हो भनेर स्वीकार गर्नेहरूबाट निश्चित रूपमा एउटा गल्ती भएको छ । त्यो हो, उनीहरूले बालाई आकाश मानेनन् ।’ यही भूलले बा पितृसत्ताका हिमायतीजस्ता देखिए पनि साहित्य, कला, संगीतको मूल प्रवाहबाट बाहिरिए, एक्लिए ।


कवयित्रीले बालाई मोनोरेलसँग तुलना गरेकी छन् । बारीका डिलमा बस्ने अल्छी रूख वा भञ्ज्याङ चौतारीमा बस्ने एउटा अर्धसमान्त गतिहीनता र विलासिताविरुद्ध बा सधैं कर्मशील रहिरहे । बा मैनबत्तीझैं जल्छन् र लालाबाला भविष्यको सम्भावित अन्धकारमाथि हमला गर्छन् । हेडनका बा बिहानै उठ्छन् अनि घरको सिँढीनजिकै आगो बाल्छन् । माथिल्लो तलामा सुतेको छोरालाई रिस उठ्छ । उनी भन्छन्,

‘आइतबार पनि मेरा बा सबेरै उठ्थे
र कालोनीलो जाडोमा कपडा लगाउँथे
सप्ताहान्तको कामको चिसोले फुटेका
दुखिरहेका हातले आगोको
घरभरि लगाउँथे डंगुर
उनलाई कसैले कहिलै धन्यवाद दिएन’

हेडनका बा चिसोलाई घरबाहिर भगाउन दत्तचित्त छन् । तिनी आफ्नो शरीरमा गढेको चिसोको असर ख्याल नगरी आगो बाल्छन् । शर्माका बा पनि कुदिरहन्छन् एक्लै, सन्तानहरूको खुसीको सुनिश्चितताका लागि ।
बा परिवारको खुसीका खातिर आफूला

ई सम्पूर्ण समाजबाट एक्ल्याउँछन् । उनलाई श्वास फेर्नेसम्म फुर्सद छैन । हेडनका बाजस्तै शर्माका बा पनि यन्त्रवत् कुद्छन् । रोथ्के र हेडनका कवितामा बालाई छोराको दृष्टिबाट हेरिएको छ र बासँगको सामीप्य/दूरीलाई क्रमश: मापन गरिएको छ । तर, प्लाथ आफ्ना बाको अनुपस्थितिका कारणले भोग्नुपरेको दु:ख–कष्टलाई पितृसत्ताको प्रताडना मान्छिन् । यसर्थ उनी प्रत्येक पुरुषलाई पितृसत्ताको असली कार्यकर्ता र त्यस्तो सत्ताले प्रयोग गर्ने हिंसाको साधनका रूपमा प्रस्तुत गर्छिन् ।


प्लाथ र शर्मा दुवैका कवितामा रोथ्के वा हेडनले अनुभूत गरेके सामीप्य देखिँदैन । प्लाथ बाको अनुपस्थितिलाई नै उनको दु:खको कारण मान्दछिन् । शर्मा भने बाको अन्तरचित्तलाई बुझ्न असमर्थ मनलाई एउटा नैतिक बाटो पहिल्याउने प्रयासमा चित्तभित्र पस्नेभन्दा बाको उपस्थितिले पुर्‍याउने लाभको लेखाजोखामा व्यस्त हुन्छिन् । हो, प्लाथ र शर्माका बालाई उत्तरसंरचनावादी धारबाट हेरिनुपर्छ किनभने दुवैको निहितार्थ बाहय दृष्टिबाट अगम्य देखिन पुगेको छ ।


शर्माले बाको हारमा उत्पन्न विजय भावलाई चित्रण गरेर बाको महानता र कर्तव्य परायणतालाई हेडेनका बाभन्दा माथि पुर्‍याएकी छन् भने त्यसो गरिरहँदा रोथ्केको सामीप्य कायम गर्न सकेकी छैनन् । तर, प्लाथले गरेको बाको अनुपस्थितिविरुद्धको विद्रोहलाई शर्माले बाको उपस्थितिमा नै गरेकी छन् । सबैभन्दा रोचक पक्ष भनेको शर्माका ‘बा नै एउटा सीमान्तकृत प्रतीक हुन्’ जसलाई मौजुदा समाज र नारीवादी चिन्तनले वर्गीय रूपमा गलत व्याख्या गरेको छ भनेर शर्माले भिन्न दृष्टिकोणबाट बाप्रतिको श्रद्धा व्यक्त गरेकी छन् ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रेलबहादुरका छोरा हुन् गोपालसिंह

प्रतिक्रिया
कान्तिपुर संवाददाता

काठमाडौँ — भदौ १६ कोसेलीमा प्रकाशित ध्रुवचन्द्र गौतमको लेख ‘उनी थिए जीएस नेपाली’ पढ्न पाउँदा खुसी लाग्यो । आजभन्दा एक सय सात वर्षअघि सन् १९११ मा जन्मेका गोपालसिंहका बारेमा छरिएर रहेका तथ्य संकलन गरी गौतमले गरेको प्रस्तुति रोचक र सूचनामूलक छ । उनै जीएस नेपालीका बारेमा थप जानकारी होस् भनेर केही तथ्य–तथ्यांक लेख्न चाहेको छु ।

‘गीतको राजकुमार’ नामबाट प्रसिद्ध गोपालसिंह नेपालीलाई एउटा यस्तो व्यक्तिको रूपमा स्मरण गरिन्छ जसले साहित्यसँगै फिल्म उद्योगमा पनि आफ्नो अमीट छाप छाडेका छन् । नेपालीको जन्म बिहारको पश्चिम चम्पारण जिल्लाको बेतियामा ११ अगस्त, १९११ भएको थियो । नेपालीले आफ्नो अन्तिम कविता पाठ भागलपुरको सुदूर गाउँ एकचारीमा गरेका थिए । १७ अप्रिल, १९६३ को त्यस कार्यक्रमबाट घर फर्कंदै गर्दा भागलपुर रेल्वे प्लेटफर्ममा उनको निधन भएको थियो ।
उनका पिता रेलबहादुर सिंह फौजमा हवल्दार थिए । उनी नेपाली थिए र पछि बेतियामा बस्न थालेका थिए । गोपालसिंहको रचना पाठको शैली गज्जबको थियो । उनी जुन कुनै कार्यक्रममा पुग्थे, त्यस कार्यक्रमको प्रमुख आकर्षण उनै हुन पुग्थे । उनको गीत श्रोताले सजिलै बुझ्थे र अनायास गुनगुनाउन थाल्थे । गोपालसिंहको परिवारमा आर्थिक कठिनाइ उस्तै थियो, सकस पर्ने खालको । त्यसैले कवि सम्मेलनबाट प्राप्त हुने रकमबाट परिवारको लालनपालन गर्न कठिन भइरहेको थियो । उनले चाहेको भए नेपालमै उनका लागि सम्मानजनक अवसर उपलब्ध हुन सक्थ्यो किनभने उनकी पत्नी नेपालको राजपुरोहित परिवारसित सम्बन्धित थिइन् । तर, स्वाभिमानी गोपालसिंह यसका लागि मञ्जुर थिएनन् । उनले बेतियामै बस्ने निश्चय गरेका थिए ।


सन् १९४४ मा उनी अखिल भारतीय कवि सम्मेलनमा भाग लिन बम्बई पुगेका थिए । त्यस कवि सम्मेलनमा फिल्म निर्माता शशिधर मुखर्जी पनि पुगेका रहेछन् जो उनको कविता सुनेपछि अत्यधिक प्रभावित भएका रहेछन् । त्यसै दौरान उनको ख्यातिबाट प्रभावित भएर फिल्मिस्तानका मालिक सेठ तुलाराम जालानले उनलाई मासिक दुई सय रुपैयाँ दिने गरी गीतकारको रूपमा अनुबन्धित गरे । गोपालसिंहले सबभन्दा पहिला १९४४ मा फिल्मिस्तानको ब्यानरमा बनेको ऐतिहासिक फिल्म ‘मजदुर’ का लागि गीत लेखेका थिए । त्यस फिल्मको गीत यति लोकप्रिय भयो कि बंगाल फिल्म जर्नलिस्ट एसोसिएसनको तर्फबाट गोपालसिंहलाई १९४५ को सर्वश्रेष्ठ गीतकारको पुरस्कार प्रदान गरियो । फिल्मी गीतकारको आफ्नो सफलताबाट उत्साहित भएर गोपालसिंह फिल्म उद्योगमै जमे र लगभग दुई दशक (१९४४–१९६२) सम्म गीत लेखनको कार्य गर्दै रहे । त्यस अवधिमा उनले ६० भन्दा बढी फिल्मका लागि लगभग ४ सयभन्दा बढी गीत रचना गरे जसमध्ये कतिपय गीत अत्यधिक प्रसिद्ध भए । महत्त्वपूर्ण कुरा यो छ कि तीमध्ये अधिकांश गीतको धुन उनी आफैंले तयार गरेका थिए । फिल्म उद्योगमा उनको भूमिका केवल गीतकारसम्म मात्र सीमित रहेन । उनी आफू गीतकारको रूपमा स्थापित भएपछि फिल्म निर्माणको क्षेत्रमा पनि हात हाले र हिमालय फिल्म्स तथा नेपाली पिक्चर्स फिल्म्स कम्पनी स्थापना गरी त्यसको ब्यानरअन्तर्गत तीन फिल्म नजराना (१९४९), सनसनी (१९५१) र खुश्बु (१९५५) को निर्माण गरे तर, कुनै पनि फिल्म सफल हुन सकेन । त्यसपछि यिनले फिल्म निर्माणको कार्य त्यागे । गोपालसिंहद्वारा निर्मित कुनै पनि फिल्मले सफलता हात नपारे पनि ती फिल्मका लागि उनीद्वारा लेखिएको गीत अत्यधिक लोकप्रिय भयो । गोपालसिंहले बाँचुन्जेल त्यो सम्मान पाएनन् जसको उनी हकदार थिए । आफ्नो त्यस भावनालाई उनले शब्दमा यसरी व्यक्त गरेका थिए :
अफसोस नहीं हमको जीवन में
कुछ कर न सके
झोलियां किसी की भर न सके
संताप किसी का हर न सके
अपने प्रति सच्चा रहने का
जीवन भर हमने यत्न किया
देखा देखी हम जी न सके
देखा देखी हम मर न सके ।
– अमर कुमार मल्लिक
विराटनगर–१०

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT