कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बानेश्वरमा छ टक्सार

समाज
विद्या राई

काठमाडौँ — भाँडाकुँडा बन्न छाडे पनि टक्सारको ब्रान्ड अहिले पनि बिकिरहेको छ । टक्सारमा बसेर भाँडाकुँडा बनाउँदै आएका बुद्धराज शाक्य भन्छन्, ‘हामीले टक्सारे भाँडाकुँडाको माग धान्न गाह्रो भइरहेको छ, दु:खको कुरा अरू ठाउँमा टक्सारे भन्दै नाम बिक्री भइरहेको छ ।’

बानेश्वरमा छ टक्सार

७४ वर्षका काशीनाथ तमोटले बानेश्वरमा १२ आना जग्गा १० हजार रुपैयाँमा किनेका थिए, २०३१ सालतिर । उनले सुरुमा टहरो बनाए, बिस्तारै घर बनाए । अहिले सहरीया सुख उनका आँगनमा आएको छ । तमोटजस्तै भोजपुर, टक्सारबाट बसाइ सरेर बानेश्वर क्षेत्रमा आउने टक्सारिया नेवारहरूको घरधुरी ६५ भन्दा बढी भइसकेको छ ।


सुरुका दिनमा, तमोट त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन क्याम्पसमा नेपाल भाषाका प्राध्यापक थिए । सरकारी सेवाबाट अवकाश लिएको एक दशक भइसकेको छ । २०१९ सालमा भोजपुरबाट एसएलसी गरेपछि प्राविधिक विषय पढ्न काठमाडांै छिरेका तमोट जागिरका कारण त्यही बेलादेखि काठमाडौंवासी बने । यतिबेला भोजपुर, टक्सारको पुख्र्यौली तमोट घर भत्किसकेको छ । जग्गाजमिन बाँझै छ । बानेश्वरमा टक्सार–बस्ती बसाएर बसेका छन् तमोट र अरू नेवारहरू ।


टक्सार पुख्र्यौली घर भएका नरेश ताम्राकारले पनि बानेश्वरमै ०३६ सालमा ९ आना जमिन १ लाख रुपैयाँमा किनेका थिए । उनले त्यही जमिनमा एकतले घर बनाए । टक्सार बसेर भाँडाकुँडा व्यापार गर्ने नरेश एकाएक बानेश्वरवासी बने, आफ्नो थातथलो भुलेर । भोजपुर छँदै उनका दुई छोरी दुई पटक सिकिस्तै बिरामी बनेका थिए । उपचारका लागि विराटनगर हुँदै काठमाडौं आएका थिए । मेनिन्जाइटिसले थलिएकी छोरी कान्ति बाल अस्पताल ल्याएर धन्न बाँचिन् तर तिनै छोरीको शिक्षादीक्षाका लागि उनी पनि यतैका भए ।


०३५ सालमा टक्सार विमानस्थल बन्यो । अनि धेरै टक्सारेका लागि काठमाडौं पानीपँधेरो बन्यो । भाँडाकुँडा बनाउने कुरामा भोजपुरे खानीहरूमा कच्चापदार्थ रित्तिँदै गएपछि टक्सार नाम मात्रैको बन्दै गयो ।


ताम्राकार अहिले नेवा: देय् दवूको केन्द्रीय अध्यक्ष हुन् । उनका दुई छोरा इन्जिनियर छन् भने एक छोरा डाक्टर । बानेश्वरमा स्थायी बसोबास भए पनि ताम्राकारको टक्सारस्थित घर जग्गा छँदैछ । टक्सारबाट अन्यत्र बसाइ सर्ने नेवार समुदायमध्ये अधिकांशले घरजग्गा बेचेका छैनन्, न आफू गाउँ फर्केरै गएका छन् । कुनै बेला दिनरात घनको टङटङ आवाजले गुल्जार रहने टक्सार यतिखेर सुनसान छ, स्थानीय बुद्धिजीवी धीरेन्द्र श्रेष्ठका अनुसार अहिले टक्सारमा ४/५ घर मात्रै बसेका छन्— टक्सार व्यवसाय धानेर ।


टक्सारबाट बसाइ सरेका नेवार समुदाय अहिले पनि भाँडाकुँडा व्यवसायमैं छन् । सीमित जागिर वा अन्य व्यवसायमा छन् । धातुजन्य उत्पादनमा कोही लागेका छन् । जस्तो टक्सारका मोतीकृष्ण ताम्राकार वीरगनजमा आल्मुनियमको उद्योग चलाउँछन् । उत्तम ताम्राकारको धरानमा रोलिङ मिल सञ्चालनमा छ नारायण तुलाधारको बल्खुमा करुवा–कसौडी व्यापार गर्छन् । अर्जुन ताम्राकारको बालाजुमा रोलिङ मिल छ, राजेन्द्र शाक्य (इमाडोल) र सुनील उदासले विदेशमा पठाउने धातुका भाँडाकुँडाको उद्योग चलाउँछन् । टक्सारका ६३ वर्षीय विश्वराज तुलाधार बानेश्वरमै भाँडा पसल गर्छन् । उनी पनि व्यापार सिलसिलामा २०४२ सालमा बानेश्वर बसाइ सरेर आएका थिए ।

काशीनाथ तमोट


शाहवंशाीय राजा गीवार्णयुद्धविक्रम शाहको पालामा भोजपुरको टक्सार अड्डा पूर्वी नेपालकै मुख्य व्यापारिक तथा औद्योगिक केन्द्र थियो । पछि विसं १८७२ मा स्थानीय भीमसेन परिसरमा खानी अड्डाको स्थापना भएको थियो । अड्डामा तामाको एक पैसे, दुई पैसे, पाँच पैसे डोली पैसा छापिने गथ्र्याे । तामाको टक (सिक्का) काटिने भएकैले यसलाई टक्सार नामकरण गरिएको इतिहास छ । भोजपुरकै दक्षिणी भेगमा पर्ने धोद्लेखानी, सिरिसेखानीबाट तामा निकालेर डोली पैसा बनाउने गरिन्थ्यो ।


यसरी टक्सार स्थापना भएको २०३ वर्ष हुँदै छ । २०० वर्ष पुगेको अवसरमा २०७२ सालमा द्विशतवार्षिकी मनाइएको थियो । व्यापारिक, औद्योगिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक हिसाबले पुरानो टक्सार अचेल भने सुनसान र उजाड छ ।


व्यापारिक गतिविधिमा सक्रिय मानिने नेवार समुदायको यो संख्या अहिले इतिहास भइसकेको छ । उनीहरूको मौलिक पहिचान, वेशभूषा र संस्कृति आधुनिकतासँगै लोप हुँदै गएको छ । मुख्य गरेर धातु उद्योगका लागि चाहिने आवश्यक कच्चापदार्थ कोइला र कालीगढको अभावले बसाइसराइ बढेपछि नेवार समुदाय घट्दै आए ।


भोजपुरबाट सुरुमा बसाइ सर्नेहरू बानेश्वरमा आएका थिए । त्यसपछि भक्तपुर, इमाडोल, कीर्तिपुर, हात्तीवन, न्युरोड, बूढानीलकण्ठ, त्रिपुरेश्रवरतिर सरेर आए । जहाँ बसाइ सरेर गए आफूलाई भोजपुरको टक्सारिया अझ खिकामाछाको टक्सारियाका रूपमा चिनाउँछन् ।


भाँडाकँुडा बन्न छाडे पनि टक्सारको ब्रान्ड अहिले पनि बिकिरहेको छ । टक्सारमा बसेर भाँडाकुँडा बनाउँदै आएका बुद्धराज शाक्य भन्छन्, ‘हामीले टक्सारे भाँडाकुँडाको माग धान्न गाह्रो भइरहेको छ, दु:खको कुरा अरू ठाउँमा टक्सारे भन्दै नाम बिक्री भइरहेको छ ।’


टक्सारमा नेवार समुदायको बाहुल्य हुँदा नेवारभित्रकै शाक्य, हलुवाई, ताम्राकार, श्रेष्ठ विभिन्न थर र गोत्रका थिए । उनीहरूबीचमा पनि सांस्कृतिक विविधता छ । घरैपिच्छे मठमन्दिर, देवीदेवताका थान, चैत्य छन् । भीमसेनथान, गणेश थान, रणेश्वर शिवालय, अजिमा देवीलगायत छन् जसलाई ‘सानो पाटन’ को उपनाम पनि दिइएको छ ।


थुपै्र ठाउँमा बसाइ गएका मध्ये बानेश्वरका टक्सारीया नेवारहरू लाखेजात्रा र बुद्धजयन्तीलाई धुमधामका साथ मनाउन थालेका छन् । बानेश्वरको पार्कदेखि भित्रपट्टि छक्कुबक्कु भगवती मन्दिर लाखेको केन्द्र मान्छन् । शान्तिनगर नजिकैको विश्व शान्ति विहारलाई टक्सारको शाक्यमुनि विहार मानेर बुद्धजयन्ती धुमधाम मनाउँछन् । यी दुई चाडमा उपत्यकामा छरिएका टक्सारीयाहरू एकजुट हुन्छन् । भोजपुर टक्सारका गतिविधिलाई जीवन्त राख्न उनीहरूले भएका मन्दिर र विहारलाई मानेको बताउँछन् । लाखेजात्रा टक्सार सेवासमाज र बुद्धजयन्ती शाक्य समाजको नेतृत्वमा हरेक वर्ष मनाइन्छन् । बानेश्वरका टक्सारीयाहरूमा यो चलन सुरु भएको एक दशक पुग्दै छ ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?